08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


माइतीघरमा आन्दोलन गर्न पाइने

माइतीघरमा आन्दोलन गर्न पाइने


काठमाडौं, ३० चैत । माइतीघरदेखि वानेश्वरसम्म निषेधाज्ञा लगाउने निर्णयलाई गृहमन्त्री रवि लामिछानले उल्टाएका छन् । शुक्रबार निर्णय गर्दै उनले बानेश्वरको कृष्ण टावरसम्म आन्दोलन गर्न पाउने गरी निषेधाज्ञा हटाएका छन् ।

यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनले गत मंसिरमा माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएका थिए । अब सो क्षेत्रमा आन्दोलन गर्न पाइने भएको छ । तर, सार्वजनिक सम्पत्तिमा क्षती भएमा आन्दोलनको आयोजकले नै क्षती तिनुपर्ने नियम कडाईका साथ पालना गर्न लागिएको छ ।

यससम्बन्धि निर्णय जानकारी गराउँदै गृहमन्त्री लामिछानले फेसबुकमा लेखेका छन्,‘ शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।’ जसअनुसार राप्रपाले गत २७ चैतमा गरेको आन्दोलनमा भएको क्षतीको उसैलाई तिर्न लगाउने गृह मन्त्रालयको तयारी छ ।


 


ईद उल फित्र मनाइँदै, आज सार्वजनिक बिदा

ईद उल फित्र मनाइँदै, आज सार्वजनिक बिदा


काठमाडौं, २९ चैत । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन्। ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।
 


चिकित्सा सेवा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक [प्रतिवेदनसहित]

चिकित्सा सेवा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक [प्रतिवेदनसहित]


काठमाडौं, २८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’ को प्रतिवेदन ६ वर्षपछि सार्वजनिक गरेको छ। तत्कालीन सरकारले २०७४ मा बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो।  

चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ।

तत्कालिन सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको थियो।

शिक्षा मन्त्री सुमना श्रेष्ठले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने प्रतिबद्धता जनाएकी छन्।

आयोगले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितकोे सिफारिस गरेको थियो ।


१५ हजार घुससहित वडाध्यक्ष पक्राउ

१५ हजार घुससहित वडाध्यक्ष पक्राउ


काठमाडौं, १८ चैत । कपिलवस्तुमा एक जना वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ । स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको टोलीले महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको हो ।

घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कार्यालयबाट नै उनलाई नियन्त्रणमा लिएको हो । अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरीप्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
 


सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित

सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित


काठमाडौं, ७ फागुन ।  सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ । सोमवार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घट्नामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको हो ।

सन् २०२३ (२०७९ पुस १७ देखि २०८० पुष १५ गतेसम्म) मानव अधिकार उल्लङ्घनका घटनामा १ सय ४६ जना महिला र ८ सय ४२ पुरुष गरी जम्मा ९ सय ८८ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ज्यादतीका घटनामा ७ हजार ७ सय १६ महिला, २ जना क्यु र ६ सय ८२ जना पुरुष पीडित भएको तथ्यांक छ । इन्सेकले सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको उल्लेख गर्दै सन् २०२३ मा यो संख्या सन् २०२२ भन्दा २ हजार १२ जना बढी भएको जनाएको छ ।

सन् २०२३ मा राज्य पक्षबाट ६ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी यातनाको घटनामा २ जना, गिरफ्तारीको घटनामा २ सय ४० जना, जातीय विभेदका घटनामा ६२ जना, कुटपिटका घटनामा ४ सय १४ जना, अमानवीय व्यवहारका घटनामा ३१ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ५ सय ५ जना पीडित भएको इन्सेकले अभिलेख राखेको छ । इन्सेकको अभिलेख अनुसार प्रहरी हिरासतमा २ जना र कारागारमा ५१ जनाको मृत्यु भएको छ । संखुवासभा कारागारमा प्रहरीको यातना तथा कुटपिटबाट २ जना बन्दीको मृत्यु भएको पनि उल्लेख गरिएको छ । त्यसैगरी, राज्य पक्षबाट एक जना बेपत्ता पारिएको र अन्य पक्षले २ जनालाई बेपत्ता पारेको इन्सेकको प्रतिवेदनले उल्लेख गरेको छ ।

सन् २०२३ मा ३ सय २३ जना व्यक्तिहरुको हत्या भएको प्रतिवेदनमा देखाइएको छ । जसमध्ये राज्य पक्षबाट ६ जना र अन्य पक्षबाट ३१७ जनाको हत्या भएको पाइएको छ । प्रतिवेदनकाअनुसार कोशी प्रदेशमा राज्यपक्षबाट ३ र अन्य पक्षबाट ६० जना गरी ६३ जना, मधेस प्रदेशमा राज्य पक्षबाट १ र अन्य पक्षबाट ६४ गरी ६५ जना, वागमती प्रदेशमा राज्य पक्षबाट २ र अन्य पक्षबाट ५६ गरी ५८ जनाको हत्या भएको छ । त्यस्तै गण्डकी प्रदेशमा अन्य पक्षबाट २८ जना, लुम्बिनी प्रदेशमा अन्य पक्षबाट ५५ जना, कर्णाली प्रदेशमा अन्य पक्षबाट ३८ जना र सुदूरपश्चिम प्रदेशमा अन्य पक्षबाट १६ जनाको हत्या भएको जनाइएको छ ।


भू–माफियालाई कारबाहीको माग गर्दै सिडिओ कार्यालय घेराउ

भू–माफियालाई कारबाहीको माग गर्दै सिडिओ कार्यालय घेराउ


काठमाडौं, ६ फागुन । कोल्हवी नगरपालिका-९ रमपुर्वाका स्थानीयहरूले आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा सर्वसाधारणहरूलाई बेच्ने भू–माफियाहरूलाई कारबाहीको माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेर प्रदर्शन गरेका हुन्।

कोल्हवी नगरपालिका–९ साबिक रमपुर्वा २ का कित्ता नम्बर १६ को २ बिघा १२ कठ्ठा क्षेत्रफलको सार्वजनिक जग्गा प्रदीप खरेल र युवराज मैनाली नामका व्यक्तिले बिक्री गरिरहेको आरोप प्रदर्शनको नेतृत्व गरेका प्रकाश चौधरीले लगाएका छन्।
 


आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै


काठमाडौं, २ फागुन । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । 

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।


आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेल विवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ ।

 काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ ।
 


आइतबार धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

आइतबार धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं, २० माघ । पछिल्लो एक सातादेखि बढेको चिसो र पहाडी तथा हिमाली क्षेत्रमा भइरहेको वर्षा र हिमपात आइतबार पनि धेरै ठाउँमा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनअनुसार आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुनेछ। यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ। यद्यपि सोमबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने उल्लेख गरिएको छ।

२०८० माघ २१ गते (आइतबार)

दिउँसो: देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ २२ गते (सोमबार)

दिउँसो: कोशी प्रदेश लगायत देशको बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ कोशी, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले  दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।
 


अब काठमाडौंका धारामा मेलम्चीको पानी नियमित आउँछः  प्रधानमन्त्री

अब काठमाडौंका धारामा मेलम्चीको पानी नियमित आउँछः  प्रधानमन्त्री


काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन्। 

सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताए।

कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाको जनसंख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभाष समाधान गर्नुपर्नेमा जोड दिए।

‘काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ,’ उनले भने।

कार्यक्रममा प्रधानमन्त्रले आयोजनाको दीर्घकालिन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको काम कार्यान्वयन गरिने बताए। 

उनले हाल प्रयोग हुँदै आएको बैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई आफूले निर्देशन दिएको जानकारी दिए।

हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
नेपाल सरकार खानेपानी मन्त्रालयले मिति २०७८ आषाढ १ गते तथा तत्पश्चात मेलम्ची नदीमा आएको विनासकारी बाढी पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनालाई बैकल्पिक व्यवस्थापन गरी काठमाडौं उपत्यकाभित्र खानेपानी आपूर्ति गर्दै आएको छ। यस वर्षको वर्षायामपछि आयोजनाको क्षतिग्रस्त क्षेत्र र प्रणालीको मर्मत कार्य सम्पन्न भई मेलम्चीबाट पथान्तरित पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्राप्त भएको छ। प्रशोधित मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्र वितरण गर्नका लागि आवश्यक व्यवस्थापन मिलाउन खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड लगायतका सबै सरोकारवाला निकायहरूलाई आवश्यक निर्देशन भएमुताविक २८ दिनको सघन कार्ययोजनाको साथ मेलम्ची पानी पथान्तरण गर्न हामी केही दिन अगाडि नै सफल भएका छौं।  

दीर्घकालीन रूपमा समस्या समाधान नहुञ्जेलसम्मका लागि हरेक वर्ष मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गर्दै अरबौं लगानीमा निर्मित मुख्य संरचनाको रूपमा रहेको २७ कि।मि। लामो सुरूङलाई क्षति हुनबाट जोगाउन मनसुन अवधिभर सुरूङ सञ्चालन बन्द गर्नुपर्ने बाध्यताका कारण बाह्रै महिना पानी आपूर्ति गर्न नसकिएकोप्रति आम उपभोक्ताहरूमा जानकारी गराउँदै यस वर्षको बाढीले मेलम्ची हेडवक्र्समा गत वर्षको तुलनामा धेरै क्षति पुर्याएकोले मेलम्ची पानी आपूर्तिमा केही विलम्ब हुन गएकोप्रति पनि हाम्रो दायित्ववोध भएको छ। 

खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी विकास समितिको प्रयासमा यस वर्ष खानेपानी पथान्तरण कार्य सम्पन्न भई पुनः वितरण शुभारम्भ कार्यक्रममा हामी सरिक भइरहेका छौं। आयोजनालाई दीगो रूपमा सञ्चालन गर्ने विषय नेपाल सरकारले प्राथमिकतामा राखेको छ। दीर्घकालिन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिनेछ। आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको बैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई मैले निर्देशनसमेत दिएको छु।  

मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग निर्माणमा संलग्न इटालियन निर्माण कम्पनी सि।एम।सी।सँग ठेक्का रद्द भएपश्चात उक्त कम्पनीसँग आवद्ध विभिन्न स्थानीय आपूर्तिकर्ता र गोदाम एवं भण्डारणका लागि घर भाडामा दिएका घर तथा जग्गाधनीहरूले भुक्तानी नपाएको समस्या लगायत विविध कारणले आयोजनाको काम पटकपटक अवरुद्ध हुन गएकोले सो समस्या समाधानका लागि सिएमसीबाट पछि सरकारी बाँकीसरह असुलउपर गर्ने गरी नेपाल सरकारले तत्काललाई राहत प्रदान गर्ने विषयमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा। दिल बहादुर गुरूङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिनेछ। 

काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ।  

सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ। केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु।

मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्र पुनः वितरण गर्ने कार्यको शुभारम्भका लागि आयोजक खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड तथा अन्य सरोकारवाला निकायहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

अन्तमा, बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनालाई विषम परिस्थितिको वावजुद पनि पुनःसञ्चालन गरी तोकिएको कार्ययोजनाभन्दा अगाडि नै काठमाडौं उपत्यकामा वितरणको कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण प्राविधिक, परामर्शदाता तथा निर्माण व्यवसायी सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद।


माघे सङ्क्रान्ति पर्व मनाइँदै

माघे सङ्क्रान्ति पर्व मनाइँदै


काठमाडौं, १ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदैछ ।

माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।

सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।

मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।