12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

संपादकीय


एनआईसी बैंकको नयाँ शाखा पोखरामा

एनआईसी बैंकको नयाँ शाखा पोखरामा


काठमाडौं, फागुन ९ । पोखरामा एनआईसी एशिया बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले  पोखरा महानगरपालिका वडा नं.२९, पावरहाउस चोकनेर उक्त शाखा विस्तार गरेको हो । 

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले गरेका थिए । 
 


अख्तियारमाथि प्रश्नचिन्हः भ्रष्टाचारको अखडा  

अख्तियारमाथि प्रश्नचिन्हः भ्रष्टाचारको अखडा  


काठमाडौं, फागुन ४ । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घुस प्रकरणमा विवाद भएपछि पदबाट राजीनामा दिए ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने आश्वासन दिएर ७८ लाख घूस लिएको सार्वजनिक भएपछि संघीय संसदले पाठकलाई महाअभियोग लगाउने तयारी गरेको थियो । तर महाअभियोग नलाउँदै पाठकले राजीनामा दिए । पाठकले पदबाट दिएको राजीनामा राष्ट्रपतिबाटसमेत स्वीकृत भएको छ ।

संसदबाट महाअभियोग नलाउँदै पाठकले राजीनामा दिएपछि घुस लिएको विषय साम्य भएको छ । तर पाठकले घुस लिएर स्वीकार गरेको भिडियो नै सार्वजनिक भइसकेको छ । उनले विवाद मिलाइदिने भन्दै घुस लिएर पनि काम गर्न नसकेपछि यो विषय छताछुल्ल भयो । सार्वजनिक भएको भिडियोमा पाठकले आफूले घुस लिएर जीवनमै ठूलो गल्ती गरेको स्वीकार गरेका छन् ।

पाठकले घूस लिएर पनि विवाद नमिलाइदिएको भन्दै कलेजको तर्फबाट भएको भेटघाटका क्रममा घुस लिएको स्वीकार गरेको भिडियोमा स्पष्ट छ । यो विषयले गर्दा अरु मात्र होइन, आफ्नै श्रीमतिलेसमेत गाली गर्ने गरेको पाठकले बताएका छन् । भिडियोमा केही आवाजहरु बीचबीचमा काटिएका छन् । गोप्य रुपमा गरिएको रेकर्ड भएकाले भिडियो धमिलो भएपनि पाठकसँगको कुराकानी स्पष्ट छ ।

उक्त सार्वजनिक भएको भिडियोमा पाठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगको प्रमुख आयुक्त बन्नेसमेत दाबी गरेका छन् । त्यसपछि सबैलाई ठीक पार्नेसमेत चेतावनी उनले दिएका छन् । सो भिडियोमा कुराकानी गर्ने ब्यक्तिले पाठकलाई घुस लिएर पनि केही नहुने भन्दै ढुक्क हुन गरेको आग्रहपछि अझै खुशी देखिन्छन् । भिडियोमा कुरा गर्ने ब्यक्ति पनि २ नम्बर प्रदेशकै भएको कुराकानीमै स्पष्ट छ ।

महोत्तरी स्थायी घर भएका पाठकले यसअघि पनि आफू निकटस्थहरूसँग आफूलाई भविश्यको प्रदेश प्रमुखका रुपमा प्रस्तुत गर्ने गरेका थिए । त्यसैको तयारीमा पाठकले दुई नम्बर प्रदेशमा गएर बाटो तथा पुल उद्घाटनसमेत गर्ने गरेका थिए ।

०७१ सालमा आयुक्त बनेर टंगाल प्रवेश गरेदेखि नै पाठकले खुल्लेआम घुस लिने गरेको खुलासा भइसकेको छ । यसअघि पक्राउ गर्नुपर्ने ब्यक्तिसँग पाँच लाख रुपैयाँ घुस लिन अख्तियारमै कार्यरत एक प्रहरी नायव उपरीक्षकलाई निर्देशन दिएको समेत खुलासा भएको छ । पाठकले अनुसन्धान अधिकारीलाई बोलाएर सिधै रकम बार्गेनिङ गर्न लगाउने गर्थे ।

२०१४ साल बैशाखमा महोत्तरीमा जन्मेका पाठक शान्तिनगर, काठमाडौंमा बस्दै आएका छन् । त्रिभुुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका पाठक अख्तियारमा जानुअघिसम्म नजराना लिने सरकारी वकिलका रुपमा परिचित थिए ।

०३९ सालमा शाखा अधिकृतबाट करिअर सुरु गरेका उनी ०४९ सालमा उपन्यायाधिवक्ता बनेका थिए भने ०५४ सालमा सहन्यायाधिवक्तामा बढुवा भई ०६६ सालमा नायब महान्यायाधिवक्तामा बढुवा भएका थिए । भ्रष्टाचार रोक्ने काम गर्ने ब्यक्ति आफै घुस लिएको प्रमाणित भइसक्दा पनि पदबाट राजीनामा दिएर निस्किएपछि छुट दिनुले भविष्य गलत नजिर बस्छ । त्यसैले कानूनसम्मत् नमिल्ने भएमा कानून संशोधन गरेर भए पनि पाठकलाई तत्काल जेल हाल्नुपर्छ ।

अख्तियार प्रमुखदेखि पदाधिकारीहरु आफै भ्रष्टाचारी हुन् भन्ने आलोचकहरुको भनाइलाई तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्की हुँदै एकपछि अर्को प्रकरणले अदुअआमाथि नै प्रश्नचिन्ह खडा भएको छ । अदुअआ भ्रष्टाचार रोक्ने संस्था होइन, भ्रष्टाचार गर्ने अखडा हो भन्ने आलोचकहरुको आरोप पनि मिथ्या भएको छ । अब अदुअवा विघटनतर्फ लैजानुपर्छ । 


हैकम चलाउने पति होइन, साथी चाहिन्छ

हैकम चलाउने पति होइन, साथी चाहिन्छ


५ वर्षअघि नै भारतीय टेलिभिजन च्यानल स्टार प्लसबाट प्रशारण भइसकेको आमिर खानले सञ्चालन गर्ने ‘सत्यमेव जयते’ कार्यक्रममा भारतमा लामो समयदेखि महिलाका अधिकारको क्षेत्रमा काम गरिरहेकी कमला बशिनले बोलेको कुरा अहिले पनि फेसबुकमा धेरै जनाले शेयर गर्ने गरेका छन्। जसमा उनले पुरूषले आफूलाई सर्वशक्तिमान ठान्ने गरेकाले महिला र पुरुषबीच भेदभाव हुने गरेको र पुरूषले महिलामाथि हिंसा गर्ने गरेको बताएकी छन्।

उनका अनुसार म पुरूष भएकै कारण सबैभन्दा बलियो छु, त्यस कारण म सही छु भन्ने सोचाईका कारण उनीहरुले महिलामाथि हिंसा गर्ने गरेका हुन्। प्रकृतिले बच्चा जन्माउने र स्तनपान गराउनसक्ने बाहेक महिला र पुरुषबिच कुनै किसिमको भेदभाव नगरेको भन्दै उनले भनेकी छन्– ‘पुरुषलाई खाना नबनाउ, बच्चा नहेर, घरको काम नगर भनेर प्रकृतिले छुट्याएको छैन। पुरूष पनि ममतामयी बन्न सक्छन्, अनि महिला क्रुर पनि बन्न सक्छन्। महिला भएकै कारण कोमल हुनुपर्छ र पुरूष भएकै कारण रूनुहुदैँन भन्ने दुबै किसिमको मान्यता गलत हो। ’

अर्को प्रसंगमा उनले भनेकी छन्– ‘आफू सर्वशक्तिमान छु भन्ने सोच पुरूषमा रहिरहे उसले कमजोर ठानेका महिलाहरुमाथि हिंसा गरिरहन्छ र जति धेरै हिंसा गर्दै जान्छ, त्यतिनै मात्रामा उसभित्र रहेको मानवता संकटमा पर्दै जान्छ अनि अन्त्यमा उसको अस्तित्व नै नामेट हुनसक्छ।’

यो प्रशंग सगैँ अब जोडौँ हाम्रो समाजको कुरा। हाम्रो समाजमा एउटा भनाई छ, पति र पत्नी एक रथका दुई पांग्रा हुन्। यसको मतलब हुन्छ, समान, बराबरी, न कोही बढी न कोही कम। एउटा पांग्राले रथ नचलेजस्तै पति वा पत्नीबिना घरबार पनि सम्भव छैन। बृहत् नेपाली शब्दकोषमा ‘पति’ शब्दको परिभाषा यसरी दिइएको छः कुनै वस्तु वा व्यक्तिको धनी। कुनै विवाहित स्त्रीको लोग्ने। राष्ट्रको सर्वोच्च शासक। पाशुसत दर्शनानुसार अपरिमित ज्ञानशक्ति र प्रभुशक्तिले युक्त। यस अनुसार पति भनेको सर्बश्रेष्ठ व्यक्ति हो, ऊ मालिक हो, उभन्दा माथि कोही पनि छैन भन्ने बुझिन्छ। मालिक भनेको शासक हो। शासकले जहिले पनि शासन नै गरिरहन खोज्छ। कोही आफूभन्दा माथि आउन मात्र खोज्यो भने त्यसलाई दबाउन खोज्नु शासकको धर्म हो। यसअर्थमा शाब्दिक रुपमा पती शासक हो।

हाम्रो समाजमा पती र पत्नीलाई एक रथका २ पांग्रा भनिए पनि व्यवहारिक त्यो हुन सकेको छैन।  कमला बशिनले भनेको जस्तो म पुरूष भएकै कारण शासक हुँ किनकी म सर्वशक्तिमान छु भन्ने मानसिकताले यसरी जरो गाडेको छ कि चाहेर पनि उनीहरुले आफ्नी पत्नीको अस्तित्वलाई आफूजतिको अर्थात बराबरीका रुपमा स्वीकार्न सकिरहेका छैनन्। मान्नुहोस् या नमान्नुहोस् यो हाम्रो समाजको यर्थात हो, कटु सत्य हो। त्यही भएर त कानुनी रुपमा धेरै अधिकार पाए पनि यथार्थमा महिलाहरु बराबरीको लडाईँ लडिरहन अझै बाध्य छन्।

कतिले तर्क दिनुहोला, महिला र पुरुष कहिले पनि बराबरी हुँदैनन्। प्रकृतिले नै महिला र पुरुषलाई फरक बनाइदिएको छ। महिलाले बच्चा जन्माउन सक्छे भने पुरुषले सक्दैनन्। बास्तवमै यो कुरा सही हो, त्यही भएर त महिलाले प्रकृतिले दिएको कुरामा बराबरी नखोजी समाजले छुट्याइदिएको कुरामा बराबरी खोजिरहेका छन्। महिला भएकै कारण उसले घरभित्रको काम गर्नुपर्छ, महिला भएकै कारण उसले राति हिँड्न हुँदैन, महिला भएकै कारण ऊ सानो स्वरमा बोल्नुपर्छ, महिला भएकै कारण उसले परिवारको मानमर्यादामा ध्यान दिनुपर्छ, महिला भएकै कारण घर सम्हाल्नुपर्छ अनि पुरुष भएकै कारण ऊ राति हिँड्दा इज्जत जाँदैन, पुरुष भएकै कारण उसले घरभित्रको, घर सम्हाल्ने काम गर्नुपर्दैन, पुरुष भएकै कारण जति ठूलो स्वरमा बोले पनि उसलाई कसैले केही भन्दैन आदि।

माथि उल्लेखित कामहरु पुरुष  महिला जसले भ्याउँछ त्यसले गर्ने हो, महिला वा पुरुष भएकै कारण यो गर्ने र यो नगर्ने भनेर छु्ट्याउने अधिकार कसैलाई छैन। समझदारीमा सबै काम दुबैले मिलेर गर्ने हो।

आजकल सामाजिक सञ्जालहरुमा महिलाका विषयमा धेरै कुराहरु पोष्ट हुन्छन्। महिलाहरु महान हुन्छन्, महिलाहरु घर पनि सम्हाल्छन्, बच्चा सम्हाल्छन्, कार्यालय सम्हाल्छन्, समाज अनि पुरै देश सम्हाल्छन्। हो महिलाहरु जे काम पनि गर्न सक्छन् तर यसको मतलब यो होइन कि उनीहरुलाई फूर्क्याएर सबै जिम्मेवारी थोपरिदिने। समानता उनीहरुलाई पनि चाहिन्छ भन्ने लाग्ने हो भने व्यवहारिक रुपमा त्यसको अनुभूति गराउन सक्नुपर्छ। स्वतन्त्रता र समानता भन्ने कुरा तपाईँले अरुलाई दिने होइन, स्वयम् व्यक्तिले अनुभव गर्ने कुरा हो।

आजकल खास गरेर शहरमा बस्नेमध्ये केही बाहेक अधिकांश पती र पत्नी दुबै जनाले जागिर खान्छन्। पती जागिर खाने अनि पत्नीचाहीँ घरै बस्नेहरु एकाद बाहेक छैनन्। दुबै पति पत्नी कामकाजी भएपछि घर चलाउने जिम्मा पनि दुबैको हो। यसमा समानता, असमानता, महिला अधिकार लगायतका कुराहरु जोड्न आवश्यक नै छैन तर हाम्रो समाज हाम्रो अगाडि छ, जसले हामीलाई हाम्रो लिंगका आधारमा नै हाम्रो कामको बाँडफाँड गरिदिएको छ र हामी चित्त बुझे पनि नबुझे पनि सरासर त्यही कुरा मान्न तयार छौँ। नमानेर के गर्नु समाजको विरुद्धमा बोल्नेहरुको हालत कस्तो हुन्छ नदेखेको होर?

ऊबेला समाजले तोकिदिएको कुरा अहिले पनि लागू गर्न खोज्ने र त्यो कुरा नमान्दा समाजविरोधी, संस्कारविरोधीको संज्ञा दिने यो समाज सुध्रनुपर्छ। आखिर समाज भन्ने छुट्टै कहाँ छ र यँहा ? तपाईँ हामी नै होइनौ र समाज भनेका। पहिले पतीहरु बाहिर हलो जोत्थे, खेत खन्थे र पत्नीहरु खाना बनाउँथे, भाँडा माझ्थे। बरू पहिला उनीहरु मिलीजुली काम गर्थे तर अहिले जमाना फेरिएको छ। खास गरेर शहरी भेगमा बस्नेहरु पती र पत्नी दुबैले एकै किसिमको काम गर्ने गर्छन् अर्थात दुबैजना अफिसमा काम गर्छन्। यो परिवेशमा पनि महिलाले अर्थात पत्नीले चाहीँ अफिसको काम गरेर घरको काम गर्नुपर्ने बाध्यता नै छ, जुन कुरामा मलाई आपत्ति छ। पति पत्नी कार्यालयमा चाहीँ एकै किसिमको काम गर्ने अनि घरको खाना बनाउने, भाँडा माझ्ने काम पत्नीले अर्थात महिलाले नै गर्नुपर्ने बाध्यता किन? पतीले चाहीँ सघाउने मात्र रे? के उसको चाही घर होइन र, के उसको पनि समान दायित्व होइन र घर चलाउने? ऊ चाहीँ बाहिरको मान्छे हो र पत्नीलाई सघाउन भन्ने।

कार्यालयबाट घर पुगेपछि पती चाहीँ टिभी हेरेर वा इन्टरनेट चलाएर बस्ने अनि पत्नी चाहीँ जति थकाई लागे पनि हतार हतार लुगा फेरेर बालबच्चालाई खाजा दिएर खाना बनाउनतिर लाग्ने। ठिक छ पत्नीले आफ्नो दायित्व पुरा गर्नु गलत होइन तर पत्नीलाई त्यही कुरा बाध्यता, अनि पतीलाई चाहीँ अप्सन। एक रथका दुई पांग्राबिच यो असमानता किन?

यो सोच कसले स्थापित गरेको ? एउटै काम गरेर आउने दुई जनाबीच यति भेदभाव? अनि अर्को अचम्म लाग्ने कुरा, पतीले खाना बनाउने, लुगा धुने, बालबच्चा हेर्ने काम गर्दा यो समाजले नै त्यो कुरा पचाउन नसक्ने? ओ हो फलानाकी श्रीमती, फलानाकी बुहारी त आफ्नो श्रीमानलाई सबै काम लगाएर आफू बस्छे ? कस्ती संस्कार नभएकी रहिछे रे। उफ् समाज। छोरा भएकै कारण उसले घरको काम गर्न नपर्ने अनि केही काम गर्दा पनि दोष चाहीँ छोरी मान्छेले पाउनुपर्ने।

केही दिन अघि मेरा एक मित्रले बढो गर्वका साथ भन्नुभयो, मैले त मेरी पत्नीलाई पुरा स्वतन्त्रता दिने गरेको छु। उसलाई खान, लाउन, हिँड्न केही कुरामा पनि रोकटोक गर्दिन। अनि किचेनमा पनि म उसलाई पुरा सहयोग गर्छु। उसको कुरा सुनेर सुरुमा त मलाई एकदम खुसी लाग्यो तर पछि यसो सोच्दै गएँ अनि लाग्यो –स्वतन्त्रता, समानता भन्ने कुरा अनुभव गर्ने हो, कसैले दिने होइन। न त पतीले पत्नीलाई दिने हो न त बाबुले छोरीलाई न त बुहारीलाई नै। अनि फेरि लाग्यो–ए बाबा पत्नीलाई यसो गर्न दिन्छु र उसो गर्न दिन्छु भन्नु स्वतन्त्रता दिएको नभई उसलाई बन्धनमा राखेको चाहीँ हो नत्र नैसर्गिक अधिकारका रुपमा पाएको स्वतन्त्रता  दिने तपार्इँ को हो?, पती पत्नी एक रथका २ पांग्रा पनि भन्ने अनि फेरि म पत्नीलाई यति स्वतन्त्रता दिन्छु भन्ने। हामी दुबै मिलेर काम गर्छौ भन्नुहोस् न बरु, त्यो चाहीँ हो नारीले खोजेको समानता । यस्तो कुरा गर्दा म अतिनै नारीवादी जस्तो देखिन्छु होला तर मैले भन्न खोजेको एउटै कुरा भनेको नारी र पुरुष बराबरी हुनुपर्‍यो। कोही कसैको मालिक वा कोही कसैको दास होइन। बराबरी, समान। अनि मात्र हुन्छ, व्यवहारिक रुपमा विकास। जबसम्म म पति हुँ अर्थात म मालिक हुँ भन्ने अहम सोच पुरुषमा रहन्छ तबसम्म नारीहरु कहिले पनि माथि पुग्न सक्दैनन्। अहिले सम्बन्धविच्छेद हुनुको एउटा कारण भनेको पुरुषहरुले आफ्नो सोच बदल्न नसक्नु पनि एक हो। जब घरमा पत्नीले बराबरीको कुरा गर्न थाल्छे उनीहरुभित्र भएको पुरुषबादी तत्वले आफ्नी पत्नीले आफू बराबर अधिकार खोजेको स्वीकार गर्न सक्दैनन्। जसका कारण झगडा हुने, मनमुटाव हुने र अन्त्यमा सम्बन्धविच्छेदसम्म हुने गरेका धेरै उदारहणहरु हाम्रो समाजमा आइरहेका छन्।

एकजना अलि बुज्रुक महिलाले यही नारीपुरुष समानताको विषयमा कुरा हुँदै गर्दा मलाई भनेको सन्दर्भ यहाँ जोडौँ। उनका पतीलाई उनले तरकारी ल्याइदिनुस् वा केही भनेर काम अह्राएको मन पर्दैन रे, कारण उनको पुरूषवादी सोच, हैकमवादी सोच। उहाँ जस्ता पत्नी भएर मलाई अह्राउने भन्ने सोच भएका धेरै पुरुषहरु हाम्रो समाजमा छन् अनि तरकारी ल्याइदिएर के के गरेँ भनेर फूर्ति लगाउनेहरु पनि यहाँ छन्। मलाई यी २ वटै वर्गमा पर्ने पुरुषहरु मन पर्दैन। दुबैजना मिलेर किचेनमा काम गर्दा, पत्नीसँग र पत्नीबिना पनि परेको बेला खाना बनाउने र परिवारलाई खुवाउने र त्यसो गर्दा उसलाई हिनताबोध हुनुको सट्टा गौरब लाग्ने पुरुष अर्थात जिवनसाथी चाहान्छन् अहिलेका महिला।

हामीले खोजेको भनेको न कम हो न बढी। बराबरी मात्र हो। गरिदिएँ वा लौ दिँए यति भनेर विरासतमा दिएको जस्तो नभई यो तिम्रो अधिकार हो, मेरो जति हक छ तिम्रो पनि उतिनै हक छ भन्ने सोच खोजेको हो। हामीलाई यस्तो जिवनसाथी चाहिएको हो, जोसँग हरेक काम गर्दा सहज होस्, एकअर्काप्रति सानो ठूलोको भावना नआओस्। घरको काम तिम्रो हो भन्ने सोच नआओस अनि बाहिरको काम तिम्रो हो भन्ने सोच पनि नआओस्। जसले जे देख्छ त्यो काम एकअर्काको बाटो नहेरी गर्न सकियोस्। हैकम चलाउने बानी दुबैमा नहोस्। शब्दकोषको अर्थ जस्तो मालिक पति होइन जीवनभर साथीको व्यवहार गर्ने जिवनसाथी खोजेको हो।


मध्यरातसम्म उम्मेदवारी दर्ता, यस्तो देखियो तस्विरमा

मध्यरातसम्म उम्मेदवारी दर्ता, यस्तो देखियो तस्विरमा


जनकपुर—  २ नम्बर प्रदेशमा हुन गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका  लागि बुधवार विहान १० बजेबाट शुरु भएको उम्मेद्वारी दर्ता राती १२ सम्म पनि सकिएन ।
 बुधवार राती ११ बजे मुख्य निर्वाचन अधिृकतको कार्यालय जनकपुरमा पुग्दा धमाधम उम्मेद्वारी दर्ता भैरहेको थियो । 
उम्मेद्वार आफै थकित थिए र कर्मचारी पनि उस्तै मुद्रामा देखिन्थे । तर, २० बर्षपछि हुन लागको स्थानीय तहको चुनावको रौनक चाहीँ कायमै थियो । 

बाहिर उम्मेद्वारका समर्थकको भीड थियो । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए । राती साढे ११ बजे मुख्य निर्वाचन अधिृकतको कार्यालय रातोपाटीको टोलीसँग कुरा गर्दै एक जना उम्मेद्वारका समर्थक भन्दै थिए, ‘हाम्रो उम्मेद्वारी दर्ता चाडो गराउन भनेर विहान ११ बजे नै आएका थियौँ । तर, अहिले राती ११ बज्दा पनि पालो पाइएन् ।’ 

उम्मेदवारी दर्ताका लागि ६ वटा टेवल राखिएको थियो । तर, जनकपुर उपमहानगरपालिकाका २४ वडाका सवै उम्मेद्वारीका लागि दर्ता संख्या कम देखियो । दिउँसो पनि दर्तामा निकै भीड थियो । केही पार्टीका उम्मेद्वारहरुले कर्मचारीमाथि आरोप लगाएका थिए । जस्तो कि एक जना राजपाका समर्थकले भनेका थिए, ‘तीन दलका उम्मेद्वार आउदा चाडो दर्ता गरियो । राजपालाई हस्ताक्षर मिलेन, फोटो मिलेन भनेर जानी जानी ढिला गरियो ।
निर्वाचन कार्यतालिका अनुसार २१ गते उम्मेद्वारको मनोनयन दर्ता, त्यसै दिन उम्मेद्वारको सूचि प्रकाशन, २२ गते उम्मेद्वारको विरोधमा उजुरी दिने, २२ गते नै मनोनयन पत्र जाँच गर्ने, २३ गते मनोनयन भएकाको नामवली प्रकाशन गर्ने, २३ गते नै उम्मेद्वारको नाम फिर्ता लिने कार्यतालिका छ ।
 २४ भदौमा उम्मेद्वारको अन्तिम नामवली, त्यसैदिन उम्मेदवारलाई चिन्ह र असोज २ मा मतदान हुनेछ  |

 

 


कर्णेल गंगाराज मुकारुङको जीवन : त्यसपछि प्रहरीचौकी पुर्याए

कर्णेल गंगाराज मुकारुङको जीवन : त्यसपछि प्रहरीचौकी पुर्याए


गंगाराजमुकारुङ राईनेपाली सेनाका कर्णेल हुन् । कर्णेल राईले काठमाडौंको छाउनीमा रहेको आर्मी हस्पिटलको प्रशासन रजिष्ट्रारको भूमिका निर्वाह गर्दै आएका छन् । 

९२ वर्षअघि चन्द्रशमशेरको पालामा निर्मित मिलिट्री हस्पिटलमा ६३५ शय्या छन् । हस्पिटलमा २ सय चिकित्सक र त्यति नै स्टाफ नर्स कार्यरत छन् । कर्णेल राईसँग मेरो जीवनका लागि कुराकानी गरिरहँदा अस्पतालमा ४ सय ५५ बिरामी उपचाररत थिए ।

उनी तेस्रो गीतिसंग्रह प्रकाशन तयारीमा छन् । ‘इलामे सहर चियाबारी राम्रो त्यही पर घर हाम्रो’ जस्तो लोकप्रिय गीत लेख्दै आएका गीतकारसमेत रहेका कर्णेल गंगाराज मुकारुङ राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
विशेषतः दालभात, तरकारी र कुखुराको मासु मन पर्छ । खानका रेष्टुरेन्ट यदाकदा पुग्ने गर्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःम, सेकुवा रोजाइमा पर्छन् । पकाउने रुचि भए पनि ढंग छैन । तर पनि सामान्य खाना पकाउँछु । 

मेरो पोसाक
सकेसम्म कटनको पोसाक मन पर्छ । पोसाक ‘लुज’ हुनुपर्छ । लगाउँदा सजिलो हुनुपर्छ । पोसाकमा वार्षिक खर्च १०÷१५ हजार रुपैयाँ होला । नीलो सर्ट, खैरो रङको पाइन्ट मन पर्छ । समय छैन भने रेडिमेड किन्ने गर्छु नत्र कपडा किनेरसमेत सिलाउने बानी छ । तर, धेरैजसो रेडिमेड पोसाक नै किन्दै आएको छु । यात्रामा निस्कँदा पिक्याप लगाउन सजिलो लाग्छ । 

मेरो फिटनेस
समय भएमा एक÷डेढ घन्टा हिँड्छु । दिन बिराएर कार्यालयमा एक घन्टा जिम गर्छु । एक घन्टा साउना लिन्छु । डाइटिङ छैन । 

मेरो अध्ययन
एलेन ठुले राईको ‘लोहोरुङ राईहरू’ नामक किताब पढ्दै छु । जीवनी, संस्मरण विधाका किताब पढ्न जाँगर चल्छ । गीतिसंग्रह प्रकाशन तयारीमा जुटेको छु । मेरो निजी पुस्तकालयमा झन्डै दुई सय किताब होलान् ।

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । आठ÷नौ जिल्लाबाहेक नेपालका सबै जिल्ला पुगेको छु । झन्डै २० देश घुमेको छु । घुमेकामध्ये इजरायल असाध्यै मन पर्यो । सफासुग्घर, अनुशासित देश हो– इजरायल । एकपटक जापान र अमेरिका पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ । 

मेरो फुर्सद
अत्यन्तै व्यस्त छु । अस्पतालमा परेकाले बिदा लिन पाउँदिनँ । महिनामा दुई दिनभन्दा बढी बिदा लिन पाइँदैन । फुर्सद भइहालेमा पत्रपत्रिका पढ्ने, सानी नातिनी छन्, उनीसँग खेलेर रमाउँछु । काठमाडौंमै रहेकाले परिवारलाई धेर÷थोर समय दिन पाएको छु । २० वर्षपहिले हलसम्म पुगेर चलचित्र हेर्ने गर्थें । प्रविधि विकाससँगै हिजोआज घरमै हेरिन्छ । महिनामा एकपटक मुस्किलले रेष्टुरेन्ट पुगेर खाइन्छ । 

मेरो खेलकुद
फुटबल असाध्यै मन पर्छ । घरमा सबैले क्रिकेट हेरे पनि मचाहिँ बुझ्दिनँ । हेर्न अल्छी लाग्छ । ‘सिभिल लाइफ’ मा क्याम्पस पढ्दासम्म खेलें । सैनिक जीवनमा पनि क्षेत्रीयस्तरसम्म फुटबल खेलेको थिएँ । ब्राजिल, अर्जेन्टिना र जर्मनीका फुटबल टिम मन पर्छन् । 

मेरो मोबाइल
दुई मोबाइल सेट प्रयोग गरेको छु । आइफोन फाइभ भाइले उपहार दिएका हुन् । अर्को साधारण सेट हो । यसको सात÷आठ हजार परेको थियो । 
फुर्सदमा भाइबर, फेसबुक, मेसेन्जर प्रयोग गर्छु ।

मेरो टीभी
टीभी हेर्दा समाचारले प्राथमिकता पाउँछ । कार्यालयबाट फर्केपछि बेलुका टीभी हेर्ने साइत जुर्छ । घरमा रहेको सोनीको ३३ इन्चको टीभी छ । 

मेरो चलचित्र
पछिल्लो समय ‘छक्कापन्जा’ हेरेको थिएँ । त्यतिबेला हेरेको माइतीघर, सिन्दुर र मासुम असाध्यै मन परेको थियो । सबै कलाकार मन परे पनि दयाहाङ राईको अभिनय जीवन्त लाग्छ । टेलिशृंखलाका कलाकार पनि मन पर्छन् । 

मेरो रोग
युरिक एसिड पारिवारिक रोग नै हो । उच्च रक्तचापले समातेपछि औषधि सेवन गर्दै आएको छु । सालिन्दा एकपटक ‘होलबडी चेकअप’ गराउँछु । 
दैनिक शारीरिक अभ्यास गर्ने र खानपानमा ध्यान दिए तन्दुरुस्ती रहन सकिन्छ । म बेलुका दुई रोटीमात्रै खान्छु । बिहान एक गिलास दूध पिउँछु ।

मेरो भाषणशैली
कुशल वक्ता नभए पनि आफूले गर्न खोजेको विषयवस्तु प्रस्तुत गर्छु । सुन्नेले मैले भन्न खोजेको विषयवस्तु बुझिन्छ भन्छन् । आफूलाई थाहा नभए पनि भाषण गर्दा ‘अँ, अँ’ भन्छु कि जस्तो लाग्छ । आक्रामक भाषण कहिल्यै गर्दिनँ । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन तर कहिलेकाहीं सम्बन्धितले नबुझ्दा वा मैले बुझाउन नसक्दा स्टाफ अफिसरमा सामान्य विवाद हुन्छ ।

मेरो मापसे
दैनिक नगरे पनि चाडबाड र साथीभाइबीच जमघटमा मापसे गर्छु । पहिले÷पहिले जे पनि खाइन्थ्यो, पछिल्लो समय भोड्का खाने गरेको छु । सामान्यतया दुई पेगसम्म खाने गर्छु । 

मेरो संगीत
आफू गीतकार भएकाले गीत असाध्यै सुन्छु । अंग्रेजीमा नयाँ, हिन्दीका पुराना गीत सुन्छु । नेपाली गीत धेरै सुन्ने बानी परेको छ । नारायणगोपाल, दीप श्रेष्ठ, राजेशपायल राई, मेलिना राई, अञ्जु पन्तलगायतको आवाज कर्णप्रिय लाग्छन् । 
गीतकार र सुनेका हिसाबले पनि गीत गुनगुनाउँछु । स्वर नभए पनि गीत गाउन मन लाग्छ । 

मेरो भूल
जीवनमा पश्चाताप लाग्नेगरी भूल गरेको सम्झना छैन । तर, कहिलेकाहीं अन्जानमै कार्यालयीय काममा आफूले भनेको सम्बन्धितले नबुझ्दा आफूले सामान्य भूल गरेको अनुभूति हुन्छ । 

हाम्रो गुरुआमा जयलक्ष्मी राई हुनुहुन्थ्यो । उहाँ कडा स्वभावको हुनुहुन्थ्यो । उहाँबाट धेरैपटक पिटाइ खाएको थिएँ । 

संवत् २०३५ तिर हुनुपर्छ । म भोजपुर फर्कन लागेकाले चिट्ठी लिन साथीको डेरा पुगेको थिएँ । त्यहाँ विवाद भइरहेको रहेछ । के विषयमा विवाद परेको थियो मलाई थाहा भएन । प्रहरी जम्मा भएका थिए । म त्यहाँ पुग्दा स्थानीयले यो मानिस पनि हो भनेर त्यत्तिकै अभियोग लगाएपछि मलाई प्रहरीचौकीसम्म पुर्याए । तात्कालिक समयमा गल्ती नै नगरी सजाय पाएको थिएँ ।

मेरो घर
म बस्दै आएको घर ०६५ मा बनाएको हुँ । घर आफ्नै कमाइले बनाएको थिएँ । धेरै पैसा थिएन । थोरैभन्दा थोरै पैसामा घर कसरी बनाउन सकिन्छ भनेर इन्जिनियरसँग सल्लाह गरें । त्यस्तै ३०÷४० लाख रुपैयाँ घर ठडिएको हो । वास्तुशास्त्र हेराइनँ । केवल घामपानीबाट ओतिन सकिने घर बनेको छ ।

मेरो राशी
मेरो राशी कुम्भ हो । ग्रहदशा राम्रै छ । मेरो जन्मदिनमा ग्रहशान्ति गराउँछु । लगाइरहेको नीलम हो । ज्योतिषशास्त्रअनुसार माझीऔंलामा नीलम लगाउँदा राम्रो हुन्छ भनेर लगाएको हुँ । घरपरिवारमा धार्मिक संस्कारमा जोड थियो । परिवारले हिन्दु र किरात धर्मलाई आत्मसात् गरेको थियो । हिन्दु धर्मको प्रभाव अलि बढी थियो । त्यसको छाप ममा पनि छँदै छ ।

मेरो सौन्दर्यचेत
कपालमा कहिलेकाहीं तेल लगाउँछु । फेसियल गर्दिनँ । अनुहारमा क्रिम लगाउने बानी छैन । निबियाको ‘बडी स्प्रे’ प्रयोग गर्छु । दिन बिराएर साउना बस्छु ।

मेरो प्रेम
मैले प्रेमविवाह गरेको हुँ । त्यतिबेला श्रीमतीको दाजु मेरो साथी हुनुहुन्थ्यो । साथी भएपछि उहाँको घर गइन्थ्यो । त्यहाँ श्रीमतीसँग देखादेख भयो । देखादेख भएपछि मन परापर भयो । त्यसपछि बिहेको कुरा उठ्यो । कुरा चलाइयो । बुवाआमाले दिनुभयो भनेमात्रै म बिहे गर्छु भन्ने श्रीमतीको भनाइ थियो । लामो समय प्रेम गर्यौं । पछि माग्न गयौं । परिवारबाट हुन्छ भन्ने उत्तर आयो । त्यसपछि बिहे गर्यौं ।

मेरो सपना
मुलुक प्राकृतिक स्रोतसाधनले सम्पन्न छ । हामी मिहिनेती र बहादुर पनि छौं । प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि हामी दुःखी छौं । 
मैले बोल्न मिल्छ कि मिल्दैन तर मुलुक सञ्चालन गर्ने सिष्टम भएन कि भन्ने लाग्छ । हिजोआजको संस्कार ३०÷३५ वर्षअघिको भन्दा फरक छ । ३५ वर्षअघि काठमाडौंका सडकमा भेटिएका स÷साना वस्तु हामीले प्रहरीचौकीमा लगेर बुझाउँथ्यौं । हिजोआज भेटिएका पाउनु त परै जाओस्, हिँड्दाहिँड्दै खल्तीबाटै हराउन थालेको छ ।

तर, सिष्टममात्रै बसाउने हो भने नेपाललै संसारकै नमुना देश बनाउन सकिन्छ ।

मेरो परिवार
परिवारमा मसहित श्रीमती सम्झना खालिङ राई, छोरी आयामिका मुकारुङ राई, छोरो अनिकेत मुकारुङ राई र नातिकी छन् । छोरी स्नातकोत्तर अध्ययनरत छन् भने छोरोले दस जोड दुईको अध्ययन सकेको छ । 

मेरो मृत्यु
मृत्यु प्राकृतिक नियम हो । मृत्युदेखि डर लाग्दैन । 

घरछेउ (भोजपुर) मा खोला थियो । खोलामा दह बनेको हुन्थ्यो । हामी दहमा पौडी खेल्थ्यौं । स्कुल बिदाका दिन भतिज शरद मुकारुङ राईसँग पौडी खेल्न त्यही दहमा पुग्यौं । दह गहिरो थियो । म ‘स्वीमर’ हुँ । म दहमा पसें । शरद ‘ननस्वीमर’ थिए । उनी बाढीले बगाएको सुकेको भालुबाँस समातेर दहको छेउछेउ पौडिन थाल्यो । 

म दहमा भित्रबाहिर गर्दै गएँ । एकछिनपछि हेर्दा भजित देखिनँ । चिन्ता लाग्यो । दहबाहिर निस्केर चिच्याउँदा दहको सबैभन्दा गहिरो ठाउँमा फुत्त निस्केर उसले हात दियो । म समात्ने प्रयासरत छु । उसलाई पानीले घुमाउँदैघुमाउँदै म रहेको ठाउँमा ल्याइपुर्यायो । वनमाराको बुटा समातेर, बाढीले बगाएर ल्याएको निगालोको लठ्ठी दिएँ । उसले एक हातले लठ्ठी र अर्को हातले मलाई समात्यो । म पनि बुट्टासँग दहमा पसें ।

हामी दहबाट फुत्त निस्कन्छौं, डुबाइहाल्छ । किनकि उसले मेरो काँधमा टेकेको थियो । मलाई छोड न छोड म तँलाई निकाल्छु भन्दा पनि उसले छाडेन । दुवैले पानी खाएका थियौं । तर बाँच्ने दिन, म जति तल पुग्थें, ‘जम्प’ गर्नुपर्छ भन्ने मलाई थाहा थियो । मैले त्यसै गरें । म दहछेउको त्यस्तो ठाउँमा पुगेछु, खुट्टाको बूढीऔंलाले टेक्दा आँखाआँखासम्म पानी थियो । बिस्तारै घुमाउँदैघुमाउँदै मैले भतिजलाई उद्धार गरेको थिएँ ।

अस्पतालमै काम गर्ने भएकाले मृत्युसँग संघर्ष गरिरहेका धेरै बिरामी देखेको छु । मृत्यु पारिवारिक बोझ र आफूलाई हीनताबोध हुने नहोस् ।


सिया र सुन्नी विवादमा अमेरिकी भूमिका

सिया र सुन्नी विवादमा अमेरिकी भूमिका


काठमाडौँ । सिया र सुन्नीबीचको विभाजन इस्लाम इतिहासको सबैभन्दा ठूलो र पुरानो विवाद हो । यी दुई सम्प्रदायका सदस्यहरु शताब्दीयौँदेखि सहअस्तित्वमा छन् । तिनका धेरैजसो आधारभूत विश्वास र अभ्यासमा समानता पाइन्छ । तर ती नियम, रीति, धार्मिक पाठ र सङ्गठनहरु भने फरक छन् ।

तिनका नेताहरु पनि धेरैजसो आन्तरिक प्रतिस्पर्धामा देखिन्छन् । लेबनान र सिरियादेखि इराक र पाकिस्तानसम्म पछिल्लो समयका धेरै द्वन्द्वले यही साम्प्रदायिक विभाजनलाई जोड दिएका छन् । यसले समुदायहरुमै चिरा पारेको स्पष्ट देख्न सकिन्छ । 

को हुन् सिया ?
सियाले सम्पूर्ण मुस्लिमको लगभग १० प्रतिशत भाग ओगट्छन् र संसारभरी उनीहरुको सङ्ख्या १५ देखि २० करोड रहेको अनुमान गरिएको छ । सिया मुस्लिमहरु इरान, इराक, बहराइन, अजरबैजान र यमनमा बहुसङ्ख्याका रुपमा रहेको केही तथ्याङ्कमा उल्लेख गरिएको छ । 

त्यस्तै अफगानिस्तान, भारत, कुवेत, लेबनान, पाकिस्तान, कतार, सिरिया, टर्की, साउदी अरब, संयुक्त अरब इमिरेटमा पनि सियाहरु रहेका छन् । इस्लामको प्रारम्भिक इतिहासमा सियाहरुको उद्भव आन्दोलनका रुपमा भएको थियो । ‘सियात अली’बाट स्थापित आन्दोलनको नामपछि ‘अली पार्टी’को रुपमा विकसित भएको पाइन्छ । 

सियाहरुले सन् ६३२ मा मोहम्मद (अल्लाहको दूत अर्थात मुस्लिम समुदायका प्रवर्तक) को मृत्युपछि सम्पूर्ण मुस्लिम समुदायको ‘इमाम’को रुपमा साँचो उत्तराधिकारी अलि भएको दाबी गर्छन् ।

अलिको सन् ६६१ मा हत्या गरियो । उनको पाँच वर्षे ‘क्यालिफ’ कार्यकाल गृहयुद्धमा बित्यो । सियाहरु अलिका छोरा हसन र हुसेनलाई तिनको हक लाग्ने ठानिएको ‘क्यालिफ’ (धर्मको राजनीतिक नेतृत्व) लिनबाट वञ्चित गराएको विश्वास गर्छन् । 

सुन्नीले शासित देशहरुमा सिया समाजको सबैभन्दा गरिब तप्का हुने अवस्था छ । सियाले धेरैजसो आफूहरुलाई विभेद र दमनको पीडितको रुपमा व्याख्या गर्ने गरेका छन् । ‘सुन्नी अतिवादी’हरु बारम्बार सिया सम्प्रदायकालाई मार्नु लायकको ‘धर्म भ्रष्टहरुको समूह’को रुपमा व्याख्या गर्ने गर्छन् । 

हुसेनको सन् ६४० मा हत्या गरियो । हुसेनलाई प्रतिस्पर्धी मुयावियाले विषको खुवाएर मारेको सियाहरुले विश्वास गर्छन् । मुयाविया सुन्नी उमायाद वंशबाट क्यालिफ भएका व्यक्ति हुन् । हसन सन् ६८१ मा प्रतिद्वन्द्वी उमायाद वंशसँगको युद्धमा मारिएका थिए । 

यही घटना घटेको दिनलाई लिएर सियाहरुले यो दिनलाई सहादत र शोक मान्ने दिनको रुपमा प्रचलनमा ल्याए । आजका मितिमा सिया इस्लामका तीन शाखा रहेका छन्, जसमा ‘जैदिज’, ‘इस्माइलिज’ र ‘इथ्ना असरिस’ रहेका छन् । 

यीमध्ये ‘इथ्ना असरिस’ सबैभन्दा ठूलो समूह हो । जसले मोहम्मदको धार्मिक नेत्तृत्व, आध्यत्मिक एकाधिकार र परालौकिक अगुवाइ गर्दै उनको बाह्र वर्षसम्म अगुवाइ गरेको विश्वास गरिन्छ । 

बाह्रौँ इमाम मुहम्मद अल–महदी सन् ८७८ मा एउटा मस्जिद मुनिको गुफाबाट अलप भएको सिया धर्मावलम्बीको विश्वास रहेको छ । इथ्ना असरिस यी अन्तिम इमाम नमरेको र समयको अन्त्यमा पृथ्वीमा न्याय स्थापनाका लागि फर्किने विश्वास गर्छन् ।

को हुन् सुन्नी ?
विश्वका डेड अर्बभन्दा बढी मुस्लिममा सुन्नीको सङ्ख्या बहुसङ्ख्यकमा रहेको छ । तथ्याङ्कहरुले ८५ देखि ९० प्रतिशतसम्म विश्वमा सुन्नी रहेको देखाएको छ । पश्चिम एसियाका इजिप्ट, जोर्डन र साउदी अरबको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या सुन्नी बहुल रहेको छ । 

सुन्नीहरु आफूलाई इस्लामको पुरातन हाँगा भएको मान्छन् । सुन्नि नाम ‘अहल्–अल–सुन्नाह’ पदावलीबाट लिइएको हो । जसको अर्थ ‘जनताको परम्परा’ (पिपुल्स अफ टे«डिसन) हुन्छ । यो सन्दर्भमा परम्पराले ‘हजरत महम्मद’ले भनेका, गरेका, स्वीकारेका वा विरोध गरेका कुराको अभ्यासलाई जनाउँछ ।

सबै मुस्लिमहरु सुन्नाह (परम्परा)बाट निर्देशित हुन्छन् । तर सुन्नीहरु यसको प्रधानतालाई जोड दिन्छन् । सियाहरु पनि मोहम्मदका ज्वाइँ र भतिजा अलीतर्फका वंशजको ज्ञानबाट निर्देशित हुन्छन् । 

सुन्निको जीवन न्यायिक विचारधाराको चार स्कुलबाट निर्देशित हुन्छ । जसमा प्रत्येक सुन्नाहको व्यावहारिक प्रयोग विकासमा केन्द्रित हुन्छन् ।

आजको तनावमा सम्प्रदायवादको भूमिका 

सुन्नीले शासित देशहरुमा सिया समाजको सबैभन्दा गरिब तप्का हुने अवस्था छ । सियाले धेरैजसो आफूहरुलाई विभेद र दमनको पीडितको रुपमा व्याख्या गर्ने गरेका छन् । ‘सुन्नी अतिवादी’हरु बारम्बार सिया सम्प्रदायकालाई मार्नु लायकको ‘धर्म भ्रष्टहरुको समूह’को रुपमा व्याख्या गर्ने गर्छन् । 

आज पूरै मध्यपूर्वमा भइरहेको द्वन्द्वको विस्तरित रुपलाई अमेरिकाले साम्प्रदायिक र राजनीतिक सैन्य रुप प्रदान गरेकाले यो झनै बल्झिएर गएको हो ।

सन् १९७९ को इरानी क्रान्तिले सिया इस्लामको उग्र मुद्दा अघि सार्यो । यसलाई खाडीमा रहेको पुरातन सुन्नी शासकलाई चुनौतीको ठानियो । तेहरानको संस्थापन धार्मिक सरकारले आफ्नो सीमाभन्दा बाहिरका विभिन्न समूहहरुलाई समर्थन र सहयोग गर्ने नीति लिएपछि विश्वभरका अन्य सुन्नी समर्थित सरकार र आन्दोलनहरुले आफूलाई सिया सरकारले चुनौती दिन खोजेका रुपमा बुझ्यो । 

सिया बहुल क्षेत्रमा इरानको संस्थापनले लिएको नीतिलाई अमेरिकाले खुलेर विरोध गर्ने तथा सिया बहुल क्षेत्रमा रहेका विरोधीहरुमा आफ्नो घुसपैठ बढाउँदै उनीहरुलाई आर्थिक र सैन्य सहयोग जारी राखेका कारण नै हालको द्वन्द्व झनै विस्तारित भएको विश्लेषकहरुको बुझाइ रहेको छ । 

आज पूरै मध्यपूर्वमा भइरहेको द्वन्द्वको विस्तरित रुपलाई अमेरिकाले साम्प्रदायिक र राजनीतिक सैन्य रुप प्रदान गरेकाले यो झनै बल्झिएर गएको हो । सिया र सुन्नीको आफ्नो धार्मिक विभाजन र गहिरो अविश्वासबीच अमेरिकाले आगोमा घिउ थप्ने काम गरेकाले यो क्षेत्र र समु्दायका बीच शताब्दीयौँदेखिको असन्तुष्टी कम गर्ने प्रयासहरु भए पनि त्यसले सार्थक रुप लिन नसकेको हो । 

उदाहरणको रुपमा सिरियाली गृहयुद्धमा सिया धर्म सम्प्रदायका बसर–अल–असदको सरकारलाई समर्थन गर्ने हेजबुल्लाह लडाकु (छिमेकी लेबनानी सिया लडाकु समूह) र इरानको सैन्यले सिया सरकारलाई जोगाउन भूमिका खेलिरहेका छन् । 

उता साउदी अरबको सुन्नी सम्प्रदाय नेतृत्वको सरकारलाई सिरियाको सिया सम्प्रदाय समर्थित असद सरकार ढाल्न अमेरिका र अमेरिकासँग आबद्ध नाटोले आर्थिक र सैन्य सहयोग जारी राखेका छन् । साउदी अरेबिया र पश्चिमा राष्ट्रहरुले असद सरकार ढाल्न इस्लामिक स्टेट र सुन्नी जहादिस्ट समूहलाई सघाइरहेका छन् । 


आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त, अब के गर्लान् ?

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त, अब के गर्लान् ?


 काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । ‘

विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएकाले खड्कालाई बर्खास्त गर्ने प्रस्ताव लगिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए ।मन्त्रालयको ठाडो प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो’ उनले भने ।

बैठकमा इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिताबारे पनि छलफल भएको थियो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बस्नेतले भने- ‘जीएम हटाउने विषयमा आपूर्ति मन्त्रीज्यूले केही कुराहरु भन्नुभएको छ । काममा राम्रोसँग सहयोग नगर्ने र गुटबन्दी गर्ने । त्यसैले असहयोग भयो भन्ने किसिमले उहाँले प्रस्ताव ल्याउनुभएको छ ।’

खड्काले भ्रष्टाचार गरेकोतर्फ संकेत गर्दै मन्त्री बस्नेतले अगाडि भने- ‘अनियमितताका बारेमा त तपाईहरु सबैलाई जानकारी नै छँदैछ । म आफैंले पनि नवलपरासीमा हेरेर आएको हुँ अनुगमन भ्रमणको सिलसिलामा । त्यो विषय पनि उठान भएको छ ।’

निगमले पेट्रोलियम भण्डारणका लागि खरिद गरिएको जग्गामा अनियमितता भएको समाचार सार्वजनिक भएको दुई महिनापछि मात्र सरकारले बर्खास्तीको निर्णय लिएको हो ।

जग्गा खरिदमा अनियमितताबारेका समाचार गत साउन पहिलो साता सार्वजनिक भएका थिए ।

निगमले जग्गा खरिद गर्दा भ्रष्टाचार भएको ठहर संसदका पाँच वटा समितिले गरेका थिए । उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध, सार्वजनिक लेखा, अर्थ, सुशासन तथा अनुगमन र विधायन समितिले जग्गा खरिदमा अनियमितता भएको निष्कर्ष निकालेका थिए ।

लेखा समितिले जग्गा खरिदमा सीधै घोटाला भएको ठहर गर्दै अख्तियारलाई छानविनको जिम्मा दिएको थियो । यस्तै, उद्योग वाणिज्य समितिले जग्गा खरिद गरिएका स्थानको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । चलनचल्तीको मूल्यभन्दा चार गुणासम्म बढी मूल्य तिरेर अनियमितता गरिएको उक्त समितिको ठहर थियो ।

सुशासन समितिले त खड्कालाई तुरुन्त निलम्बन गर्न पत्राचारै गरेको थियो । विधायन समितिले जग्गा खरिदमा गम्भीर कानूनी त्रुटी औंल्याएको थियो ।

खड्काले अब के गर्लान् ?

पदच्युतको निर्णय मन्त्रिपरिषदबाट भएपछि खड्काले अब के गर्लान् भन्ने प्रश्नमा धेरैको चासो देखिएको छ । कतिपयले अब खड्का सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत जान सक्ने अनुमान गरेका छन् ।

यद्यपि अदालत जाने निर्णय खड्काका लागि आफैंमा आत्मघाती हुन सक्ने खतरा रहेकाले उनले त्यस्तो निर्णय गरिहाल्ने सम्भावनामाथि पनि कतिपयले प्रश्न उठाएका छन् ।

सरकारले बर्खास्त गरेपछि अब के गर्ने भनेर अनलाइनखबरले प्रश्न गर्न खोज्दा खड्का सम्पर्कमै आउन चाहेनन् ।

आयल निगमको जग्गा खरीद प्रकरणमा अनियमितताको आरोप खेपिरहेका खड्कामाथि अनुसन्धान गरी कानूनी कारवाही हुनुपर्ने माग सामाजिक सञ्जालमा निकै जोडतोडका साथ उठिरहेको छ ।

तर, खड्काका विरुद्धमा अख्तियारमा परेको मुद्दामा पनि अहिलेसम्म कुनै कारवाही अघि बढ्न सकेको छैन ।


अपहरित बालकको उद्धार

अपहरित बालकको उद्धार


अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ ।