16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने

सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने


काठमाडौं, १० मंसिर । सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । आइतबार अर्थमन्त्रालयमा पत्रकारसम्मेलन गर्दै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो ।   

सो सम्मेलनका लागि अर्थमन्त्रीको नेतृत्वमा सम्मेलन तयारीका लागि निर्देशक समिति गठन भएको छ । सो समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र सहरी विकासमन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सदस्य छन् । स्वदेशी, गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ ।

निर्देशक समितिको बैठकले मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समितिलाई कार्ययोजना, कार्यक्रमको ढाँचा, आवश्यक विज्ञ नियुक्ति गर्ने, उपसमिति बनाउनेलगायतका विषयमा प्रस्ताव पेस गर्ने जिम्मेवारी दिएको छ ।


डलरको भाउ हालसम्मकै उच्च

डलरको भाउ हालसम्मकै उच्च


काठमाडौं, ६ मंसिर । अमेरिकी डलर बलियो हुँदा नेपाली मुद्रा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको खरिद दर १ सय ३३ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ६८ पैसा पुगेको छ। डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ। राष्ट्र बैंकका अनुसार यो सटही दर हालसम्मकै उच्च हो।

यसअघि गत कात्तिक २५ गते डलरको भाउ १ सय ३३ रुपैयाँ ६५ पैसा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। आज बुधबार त्यो रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड कायम भएको छ। डलरको सटही दर धेरै हुँदा विदेशबाट आउने रेमिट्यान्सबाट फाइदा हुन्छ। तर, नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले वस्तु आयात गर्दा डलर भुक्तानी गर्नुपर्ने भएकाले घाटा हुन्छ।

विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डलर बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ। तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ।

जसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमानसमेत नकारात्मक असर पार्छ। त्यस्तै डलरको भाउ बढ्ने बित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ।


विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च 

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च 


काठमाडौं, २४ कात्तिक । विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार असोजसम्ममा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको हो। यसअघि कोभिड कालिन समयमा यस्तै सञ्चितिमा रेकर्ड बनेको थियो। 

२०७८ मंसिरमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब रूपैयाँ पुगेको थियो। डलरको आधारमा भने यस्तो सञ्चिति २०७७ चैत यताको उच्च हो। डलरमा यस्तो सञ्चिति हाल १२ अर्ब ३३ करोड डलर रहेको छ। २०७७ चैतमा १२ अर्ब ३६ करोड थियो। अहिले नेपाली मुद्राको तुलनामा डलरको भाउ उच्च रहेकोले पनि रूपैयाँको आधारमा पनि यस्तो सञ्चिति हालसम्मकै उच्च पुग्न सहयोग पुगेको हो। 

हाल भइरहेको वस्तु तथा सेवा आयात अनुसार यस्तो सञ्चितिले मुलुकको १० महिना ९ दिन आयात धान्छ। रेमिटेन्समा वृद्धि हुँदा, पर्यटक आगमनमा भइरहेको वृद्धि र आयातको वृद्धिदर खुम्चिएकोले पनि विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको हो।
 


३० प्रतिशतले बढ्यो रेमिट्यान्स, ३ महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो

३० प्रतिशतले बढ्यो रेमिट्यान्स, ३ महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो


काठमाडौं, २४ कात्तिक । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३० प्रतिशतले धेरै हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ११३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेको थियो ।

यस अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वढेर ४०४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।


 


एमडीएमएस प्रणाली लागु,अवैध मोबाइल नचल्ने

एमडीएमएस प्रणाली लागु,अवैध मोबाइल नचल्ने


काठमाडौं, २० कात्तिक । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।

गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । “पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौँ,” उनले भने । उनका अनुसार अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने छन् ।


प्राधिकरणले एमडिएमएस लागु गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।

प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ तर त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएकाले त्यस्ता सेट सञ्चालनमा रोक लगाइने जनाएको छ । प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् ।

प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो। वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन्।


तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं, १५ कात्तिक । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।
राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुनेछ ।

यस्तै चाँदीको मेडालियन सिक्का पनि १२५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ । २५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । 
१९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।


तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा रोक

तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा रोक


काठमाडौं, १५ कात्तिक । सरकारले तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ। यसवर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएकाले भारतीय माला आयातमा रोक लगाएको बागमती प्रदेश पुष्प विकास केन्द्रले जनाएको छ।
केन्द्रले कात्तिक १ गतेदेखि नै आयातमा रोक लगाइएको जनाएको छ। नेपालमा तिहारमा अत्यधिक मात्रामा सयपत्री फूलको मालाको माग हुने गर्दछ। हिउँदको समयमा मौसमको प्रतिकूलताको कारण उत्पादनमा कमी हुने भएका कारण स्वदेशी उत्पादनले माग पूरा नहुने भएकाले भारतीय सयपत्री मालाको आयात गर्नु परिरहेको थियो।


घट्यो डिजेल र मट्टीतेलको मूल्य

घट्यो डिजेल र मट्टीतेलको मूल्य


काठमाडौं, १४ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।  भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।


भारतले प्याज निर्यातमा तोक्यो  न्यूनतम मूल्य 

भारतले प्याज निर्यातमा तोक्यो  न्यूनतम मूल्य 


काठमाडौं, १४ कात्तिक । भारतले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिटन ८ सय अमेरिकी डलरको न्यूनतम निर्यात मूल्य तोकेको छ।

स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो। यो नियम आईतवारदेखि पुस ३१ गतेसम्म लागू हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ।
यस निर्णयसँगै सरकारले बफरका लागि थप २ लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने ५ लाख टनभन्दा बढी खरिद भइसकेको मन्त्रालयले जनाएको छ।
भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको प्रतिवेदनले जनाएको छ।
 


थाई एयरले पुनः थाल्यो काठमाडौं–ब्याङ्कक उडान  

थाई एयरले पुनः थाल्यो काठमाडौं–ब्याङ्कक उडान  


काठमाडौं, १३ कात्तिक । थाई एयरवेज इन्टरनेसनलले आइतबारदेखि काठमाडौं–ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाडौंको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौँ गन्तव्यको उडान बन्द गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले आजदेखि उडान पुनःसुरु गरेको छ । यसअघि थाइल्याण्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाडौँ उडान कार्तिक १२ गते देखि बन्द भएको छ । थाई स्माइल थाइल्याण्डको आन्तरिक उडानमा थियो ।
थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो सयम उडान गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । गत असोज ३० गते हालसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो साता एक सय १० हाराहारी उडान भएको थियो ।