newsajako.com
-रुपा थापा-
सयपत्रिका केहि थुङ्गाहरु जब मुस्कुरायो
आमाले पनि मुस्कुराउँदै भनिन्
पख यो दसैमा मेरी छोरीलाई पनि परदेशबाट आउन दे
समयको त्यो झुलालाई सुम्सुम्याउँदै भनिन्
पख थोरै मलाइ पनि झुल्न दे

भरिदिएकी छु मैले मेरी छोरीको नामको
त्यो स्यानो खुत्रुकेलाइ औसि र पुर्णेमा
त्यो खुत्रुकेलाई सुम्सुम्याउँदै भनिन्
पख यो दसैँमा मेरी छोरीलाइ पनि परदेशबाट आउन दे
आफ्नै हत्केलाबाट छुटेका ति समयका पंखहरुलाई
पख केहि समय भए पनि मलाइ भेट्न दे
बारीको काक्रोलाइ जोगाएर
राखेकि छु बट्टामा खल्पीलाई
यो अमिलो खल्पीसंग टक्क जिब्रो फडकार्नलाई
पख यो दसैमा मेरी छोरीलाइ पनि परदेशबाट आउन दे
जिद्दि गर्थिन आमा सम्हालेर राखिदिनु ल
मेरो यो लट्टाइलाई
फेरि पनि त्यसै गरि
आँगनिको डिलबाट चङ्गाहरु उडाउनलाई
पख यो दसैँमा मेरी छोरीलाई पनि परदेशबाट आउन दे
खै के जादु छ आमा
तिम्रो हातको कवाफमा भन्दै चाख्नलाई
कसौँडीलाई सुम्सुम्याउदै भन्छिन्
पख यो दसैँमा मेरी छोरीलाइ पनि परदेशबाट आउन दे
न्यानो तिम्रो माया हो कि आमा
त्यो तिम्रो पछयौरी
त्यो निलो पछयौरिलाइ सुम्सुम्याउदै भन्छिन
पख यो दसैमा मेरी छोरीलाई पनि परदेशबाट आउन दे
जब जुनहरु उदायो त्यसैगरी आकाशमा
त्यो जुनलाइ हेर्दै भनिन्
ए जुन केहि छिन पर्खि है
मेरो हातको तातो चिया पिउँदै
यो दशैमा फेरि पनि त्यसै गरी
जुनलाइ हेर्दै टोलाउने त्यो केटिलाइ भेट्न
पख यो दसैमा मेरी छोरीलाइ पनि परदेशबाट आउन दे