07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा युवक पक्राउ

पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा युवक पक्राउ


काठमाडौं, २३ फागुन । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रामेछाप उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोबिन्द थापालाई पक्राउ गरेको हो । 
थापाले इन्द्रकुमार खवासलालई पोल्याण्ड पठाइदिन्छु भनी  ३ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । मंगलबार पक्राउ परेका थापालाई प्रहरीले आज सार्वजनिक गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग कार्यालय ताहाचाल पठाइएको प्रहरीले जानकारी दिएको छ ।  
 
 


फेरि दिल्ली यात्राको तयारीमा भारतीय किसान 

फेरि दिल्ली यात्राको तयारीमा भारतीय किसान 


एजेन्सी । आफ्नो बालीको न्यूनतम मूल्य सुनिश्चितता माग गर्दै आन्दोलनरत भारतीय किसानहरूले फेरि दिल्लीसम्म र्‍याली गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनका क्रममा एक युवा किसानको ज्यान गएपछि अघिल्लो हप्ता आन्दोलन स्थगित गरेका किसानहरूले फेरि र्‍याली शुरु गर्न लागेका बीबीसीले जनाएको छ ।

किसानहरू दिल्लीतर्फ जाने तयारी भएपछि दिल्लीको सिमानामा ब्यारिकेड लगाएको र ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरेको बीबीसीले जनाएको छ । भारतमा आमचुनाव हुन केही महिनामात्र बाँकी रहेका बेला किसानले आन्दोलन गरेका हुन् । गएको फेब्रुअरी महिनाको शुरुमा किसानहरूको आन्दोलन शुरु भएपछि सरकारले वार्ता गरेको थियो । तर वार्ता सफल भएको छैन ।


 


पाकिस्तानले सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै 

पाकिस्तानले सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै 


एजेन्सी । पाकिस्तानमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । त्यहाँको संसदमा एउटा प्रस्ताव पेस गरिएको छ । यसमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् । पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसदमा सो प्रस्ताव पेस गरेका हुन् ।
‘सामाजिक सञ्जालको नकारात्मक असरबाट युवा पुस्तालाई जोगाउन यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ प्रस्तावमा भनिएको छ । सामाजिक सञ्जालले देशको युवा पुस्तालाई नराम्ररी प्रभावित गरिरहेको अनि धर्म र संस्कृतिविरुद्ध सामाजिक सञ्जालको प्रयोग भइरहेको प्रस्तावमा उल्लेख गरिएको छ । यसले गर्दा आम मानिसबिच भाषा र धर्मका आधारमा घृणा बढ्दै गएको पनि प्रस्तावमा बताइएको छ । 


रूसद्वारा ४८ युक्रेनी ड्रोन नष्ट

रूसद्वारा ४८ युक्रेनी ड्रोन नष्ट


एजेन्सी । पश्चिमी सेनाको समूहको रूसी वायु रक्षा बलले विगत २४ घण्टामा ४८ युक्रेनी ड्रोनहरू नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

पश्चिमी सेनाको समूहको हवाई रक्षाको क्रममा एकै दिनमा ४८ वटा मानवरहित हवाई सवारी साधनहरू नष्ट गरेको रूसको तास समाचार एजेन्सीले सेनाको प्रेस केन्द्रका प्रमुख इभान बिगमालाई उद्धृत गर्दै जनाएको छ । पूर्वी युक्रेनस्थित कुप्यान्स्क खार्कोभ क्षेत्रमा रहेको सहर हो । 

युक्रेनमा १४५ जनाको ज्यान गएको बताउँदै रूसी हवाई आक्रमणमा व्यापक हतियारको प्रयोग गरिएको बिगमाले जनाएको छ । आक्रमण सम्बनधमा युक्रेनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
 

 


अमेरिकी निजी कम्पनीले चन्द्रमामा पठाएको अन्तरिक्षयानको स्पष्ट तस्बिर सार्वजनिक

अमेरिकी निजी कम्पनीले चन्द्रमामा पठाएको अन्तरिक्षयानको स्पष्ट तस्बिर सार्वजनिक


एजेन्सी । चन्द्रमाको सतहमा अमेरिकाले पठाएको ओडिसियस रोबोटको पहिलो स्पष्ट तस्बिरहरू सार्वजनिक भएको छ । तस्बिरमा अन्तरिक्षयानको एउटा खुट्टा भाँचिएको अवस्थामा चन्द्रमाको एक छेउमा अवतरण भएको देखिएको बीबीसीले जनाएको छ । यद्यपि यसले काम गर्न थालेको छ ।

अन्तरिक्षयानले चन्द्रमाको वातावरणबारे जानकारीहरु पठाइरहेको खबरमा उल्लेख छ । अप्ठ्यारो परिस्थितिका बाबजुत यसले काम गर्न थालेकाले रोबोटलाई कमजोर सोच्न नहुने अमेरिकी अन्तरिक्ष एजेन्सी प्रशासक बिल नेल्सनले बताउनुभएको छ । गएको बिहीवार ओडिसियसले निजी कम्पनी इन्ट्युटिभ्स मेसिन्सको पहिलो अन्तरिक्षयानको रुपमा चन्द्रमामा सफल अवतरण गरेर इतिहास रचेको थियो ।

आठ दिने मिसनको प्रक्षेपण गरिएकामा छैटौँ दिनसम्म पनि चन्द्रमाबाट जानकारीहरु पठाइरहेको कुरालाई सफलताको रुपमा हेर्न सकिने कम्पनीले जनाएको छ ।


दक्षिण कोरियाको जन्मदर झनै घट्यो

दक्षिण कोरियाको जन्मदर झनै घट्यो


एजेन्सी । विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा देशको जन्मदर आठ प्रतिशतले घटेर शून्य दशमलव ७२ प्रतिशतमा झरेको छ ।

हरेक वर्ष जन्मदर घटिरहेको दक्षिण कोरियामा सन् २०२२ को जन्मदर शून्य दशमलव ७८ प्रतिशत र सन् २०२१ मा शून्य दशमलव ८१ प्रतिशत थियो । विकसित देशको जनसङ्ख्या स्थिर राख्न प्रतिमहिला जन्मदर दुई दशमलव एक आवश्यक हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

दक्षिण कोरियामा जन्मदर घट्ने क्रम यही गतिमा रहने हो भने अबको ५० वर्षमा काम गर्ने उमेरका मानिसको सङ्ख्या आधा हुने र सन् २१ सयसम्ममा जनसङ्ख्या नै आधा हुने भन्दै काेरियाली अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सन् २१ सयसम्ममा दक्षिण कोरियाको आधा जनसङ्ख्या ६५ वर्षमाथिको हुने देखिएको छ ।

यसले देशको अर्थतन्त्रसँगै निवृत्तीभरण र सामाजिक सुरक्षामा नराम्रो असर पुग्ने भन्दै दक्षिण कोरियाका राजनीतिज्ञहरूले यसलाई राष्ट्रिय सङ्कटकाल भनेका बीबीसीले जनाएको छ । दक्षिण कोरियाका महिलाहरूले कामको निरन्तर चक्रमा अड्किनुपर्दा आफूहरूसँग बच्चा जन्माउन पर्याप्त समय नभएको प्रतिक्रिया दिएका छन् ।
 


मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गयो, दश जना घाइते

मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गयो, दश जना घाइते


एजेन्सी । मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ । बस केनिबाको मालियन शहरबाट छिमेकी बुर्किना फासो जाँदै गर्दा बागोई नदी पार गर्ने पुलबाट खसेको हो ।

हिजो भएको दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर छ । बसमा मालीका नागरिक र पश्चिम अफ्रिकाका विभिन्न क्षेत्रका नागरिकहरू रहेका बीबीसीले जनाएको छ । 

सडक र गाडीको खराब अवस्थाका साथै क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले मालीमा बारम्बार गाडी दुर्घटना भइरहन्छन् । यसअघि यही महिनाको शुरुमा एउटा बस ट्रकसँग ठोक्किँदा १५ जनाको ज्यान गएको थियो ।
 


नाइजेरियामा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु

नाइजेरियामा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु


एजेन्सी । नाइजेरियामा यस वर्षकाे प्रारम्भमा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु भएकाे छ। अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको हाे।  

सार्वजनिक स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी)ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ। 
पुष्टि भएका मामिलामध्ये ६५ प्रतिशत तीन राज्य ओन्डो, एडो र बाउचीमा रिपोर्ट गरिएको थियो भने ३५ प्रतिशत मामिला अन्य १८ राज्यमा देखिएको थियो। 

राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कुल दुई हजार एक सय २२ मामिला रेकर्ड गरिएको छ। यो सन् २०२३ को यसै अवधिमा रेकर्ड गरिएको आठ हजार दुई सय ८० भन्दा उल्लेखनीय रूपमा कम हो। 


मध्य गाजामा इजरायली आक्रमणः ४० जनाको मृत्यु, सय घाइते

मध्य गाजामा इजरायली आक्रमणः ४० जनाको मृत्यु, सय घाइते


एजेन्सी ।  मध्य गाजापट्टीमा इजरायलीले हवाई आक्रमण गर्दा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ। साथै सयभन्दा बढी घाइते भएका छन्।

प्यालेस्टाइनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली विमानहरूले देइर अल–बालाह शहरका धेरै आवासीय घरहरूमा आक्रमणहरू गरेका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको जनाएको छ। 

इजरायली आक्रमणहरूले छिमेकलाई गम्भीर रूपमा क्षतिग्रस्त बनाएपछि एम्बुलेन्स र नागरिक रक्षा टोली मानिसहरूलाई बचाउन हमला भएको ठाउँमा पुगेका थिए। चिकित्सा स्रोतहरूले अल–अक्सा शहीद अस्पताल अहिले हजारौं घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको बताएका छन्।
 


ईआरएस टू नामको युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खस्यो

ईआरएस टू नामको युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खस्यो


एजेन्सी । विभिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्न प्रयोग हुँदै आएको युरोपेली उपग्रह, ईआरएस टू नामको अन्तरिक्ष यान पृथ्वीमा खसेको छ ।

अत्यधुनिक प्रविधियुक्त यो अन्तरिक्ष यान पृथ्वीमा खसेर क्यालिफोर्नियाको झण्डै दुई हजार किलोमिटर पश्चिममा प्रशान्त महासागरको वायुमण्डलमा जलेको बीबीसीले जनाएको छ । यसअघि कुनै पनि मिसन पृथ्वीको सतहमा पुगेर कसैले देख्ने गरी ध्वस्त भएको घटना नभएका खबरमा उल्लेख छ ।

युरोपेली अन्तरिक्ष एजेन्सीले सन् १९९० मा वायुमण्डल, जमिन र महासागरको नयाँ तरिकाले अध्ययन गर्न थालेको दुई वटा मिसनमध्येको एउटा ईआरएस टू  हो ।

ईआरएस टूले बाढीको अनुगमन, महाद्वीपीय र महासागर–सतहको तापक्रम मापन र भूकम्पको समयमा जमिनको अवस्थाका बारेमा पनि अध्ययन गरी प्रक्षेपण गर्ने काम गरेको थियो । यसले विशेष गरी, पृथ्वीको सुरक्षाका लागि ओजोन तहको नयाँ क्षमताबारे पत्ता लगाएको थियो । ईआरएस टू अन्तरिक्ष यान अनियन्त्रित भएर पृथ्वीमा फर्किने कुरा यसअघि नै प्रक्षेपण भइसकेको थियो ।