16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


'गाजामा ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेकाे सङ्ख्या एक लाखभन्दा बढी'

'गाजामा ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेकाे सङ्ख्या एक लाखभन्दा बढी'


एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धका कारण गाजामा ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेकाे स‌ङ्ख्या एक लाखभन्दा धेरै रहेकाे जनाएकाे छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको चार दशमलव तीन प्रतिशत रहेकाे डब्ल्यूएचओले जनाएकाे छ । 

जेरूसेलमबाट भिडियो लिङ्कमार्फत संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसङ्ख्याले सुरक्षा, खाना, स्वास्थ्य र न्यानोपनजस्ता आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेका बताए । 

गाजामा रहेका ३६ अस्पतालहरूमध्ये १३ वटा मात्र आंशिक रूपमा सञ्चालनमा रहेका र ७३ प्राथमिक स्वास्थ्य केन्द्रहरूमध्ये १३ वटा मात्र सञ्चालनमा रहेका डब्ल्यूएचओले जनाएको छ । युद्धबाट घाइते भएका तथा अरु रोगका बिरामीहरुले गाजामा उपचार पाउन असम्भव जस्तै हुन थालेको छ । कतिपय स्वास्थ्यकर्मीले तीन महिनादेखि लगातार काम गरिरहेका छन् ।


युक्रेनलाई ५५ अर्ब डलरको सहायता प्याकेज उपलब्ध गराउन ईयू देश सहमत

युक्रेनलाई ५५ अर्ब डलरको सहायता प्याकेज उपलब्ध गराउन ईयू देश सहमत


एजेन्सी । युक्रेनलाई ५५ अर्ब डलरको सहायता प्याकेज उपलब्ध गराउन युरोपेली युनियन (ईयू) मा आबद्ध सबै देश सहमत भएका छन् ।

बेल्जियमको ब्रसेल्समा आज बसेको युनियनका २७ वटै देशका नेताहरूको बैठकले युक्रेनलाई ५५ अर्ब डलर अर्थात् ७३ खर्ब रुपैयाँ बराबरको सहायता दिनेबारे सहमति गरेको हो । युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले सम्झौतामा सबै एकमत भएको र यसले रुससँग लडिरहेको युक्रेनलाई ठूलो राहत हुने बताएका छन् ।

यसअघि गएको डिसेम्बरमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सहमति नदिँदा सहायता रकमबारे निर्णय हुन सकेको थिएन । आजको सहमतिपछि ईयू आयोगकी अध्यक्ष उर्सुला भोन डरलेनले युरोपका लागि खुसीको दिन भएको बताए । यो सहयोगले युक्रेनले रुसविरुद्ध लड्न थप हतियार, प्रविधि र जनशक्तिको जोहो गर्नेछ ।
 


पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री कुरैशीलाई १० वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री कुरैशीलाई १० वर्ष जेल सजाय


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्ष जेल सजाय सुनाइएको छ । गोपनीयता अधिनियमअन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले पूर्वप्रधानमन्त्री खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि १० वर्ष जेल सजाय सुनाएको छ ।

कुरैशीलाई कूटनीतिक पत्राचार चुहावट गरेको आरोपमा सजाय सुनाइएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । वासिंटनर इस्लामाबादबीचको कूटनीतिक दस्ताबेज सार्वजनिक गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।

पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध लगाइएको आरोप अमेरिकी षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ(पीटीआई) ले झूटो मुद्दामा सजाय सुनाइएको प्रतिक्रिया दिएको छ ।

पीटीआईले भनेको छ, 'झूटो साइफर मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खान र विदेशमन्त्री महमूद कुरैशीलाई १० वर्ष जेल सजाय सुनाइएको छ । यसमा न मिडियालाई पहुँच दिइएको छ न यसको ट्रायल सार्वजनिक गरिएको छ ।' पीटीआईले यस फैसलाविरुद्ध उच्च न्यायालयमा चुनौती दिने र उक्त सजाय उल्टिने अपेक्षा गरेको जनाएको छ । पाकिस्तानमा आम चुनावको केही दिनअघि इमरानमाथि सजाय सुनाइएको हो । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ ।


आतंकवादी हमलामा तीन अमेरिकी सैनिकको मृत्यु

आतंकवादी हमलामा तीन अमेरिकी सैनिकको मृत्यु


एजेन्सी । उत्तरपूर्वी जोर्डनमा रहेको अमेरिकी सैन्य आधार शिविरमा आतंकवादी हमला भएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार राति भएको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको र २५ जना घाइते भएको बताएको छ ।

गाजामा युद्ध सुरु भएदेखि मध्यपूर्वमा शत्रुको गोलीबाट अमेरिकी सैनिक मारिएको यो पहिलो पटक हो । यो आक्रमणको पछाडि इरान समर्थित मिलिशियाको हात रहेको दाबी गरिएको छ । 
यी मिलिशियाहरू सिरिया, इराक, लेबनान र लिबियामा सक्रिय छन् । यसअघि पनि इराकस्थित अमेरिकी एयरबेसमा हमला भएको थियो तर मानवीय क्षति भने भएको थिएन । यस आक्रमणपछि राष्ट्रपति जो बाइडेनले बदला लिने चेतावनी दिएका छन् ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार आक्रमण उत्तरपूर्वी जोर्डनमा रहेको एउटा बेसमा भएको हो । सेन्टकमले आफ्ना आफन्तहरूलाई सूचित नगरी २४ घण्टासम्म सैनिकहरूको पहिचान गोप्य राखिने बताएको छ । अर्कोतर्फ, अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार साँझ अमेरिकी सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै सिरिया र इराकमा इरान समर्थित मिलिशियाले आक्रमण गरेको आरोप लगाएका छन् ।


अभिमुखीकरण तालिम नलिई विदेश जाने कामदार संख्या शून्यमा झारिने

अभिमुखीकरण तालिम नलिई विदेश जाने कामदार संख्या शून्यमा झारिने


काठमाडौं, १४ माघ । विदेश जाँदा अभिमुखीकरण तालिममार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचना नपाई वैदेशिक रोजगारीमा जाने कामदार संख्या शून्यमा झार्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शुक्रबार आयोजित अन्तक्रियाले उक्त निर्णय गरेको मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए ।

बैठकले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिएर प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाउने निर्णय सरोकारवालाले गरेका छन् । पोखरेलका अनुसार वैदेशिक रोजगार विभाग तथा अन्य निकायले अब अनुगमन कार्यलाई तीव्रता दिने र यसमा प्रविधि प्रयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

स्वास्थ्य परीक्षणसँग सम्बन्धित संस्थाले एक महिनाभित्र सम्पूर्ण अपुग पूर्वाधार अनिवार्य पूरा गर्ने व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ । यी प्रतिबद्धता कार्यान्वयनमा वैदेशिक रोजगार व्यवसायी संघले सहयोग गर्ने निर्णय भएको सहसचिव पोखरलले जानकारी दिए ।

उनका अनुसार आजको अन्तरक्रियामा मन्त्रालय, विभाग, वैदेशिक रोजगार बोर्ड, संघ तथा तालिम सेवा प्रदायक संस्थाका प्रतिनिधि सहभागी थिए ।


 


यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश


एजेन्सी । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ।

क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गरेका छन्। फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उनले बताएका छन्। तीन घण्टाभन्दा केही कम समयको सुनुवाईपछि अदालतले आफ्नो निर्णय सुनाएको हो। 

यस मुद्दामा शुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गर्नभएको थियो तर पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी भएका थिए। क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर (अन्यत्रै) थिए।

ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर जरिवाना तोकेको छ। 
 


‘विश्वमै पहिलोपटक’ अमेरिकामा नाइट्रोजन ग्यास सुँघाएर दिइयो मृत्युदण्ड

‘विश्वमै पहिलोपटक’ अमेरिकामा नाइट्रोजन ग्यास सुँघाएर दिइयो मृत्युदण्ड


एजेन्सी । अमेरिकामा १ जना अभियुक्तलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। हत्याको घटनामा दोषी ठहर भएका केनेथ युजिन स्मिथलाई अमेरिकाको अलाबामा राज्यले नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिएको हो। 

विश्वमै पहिलोपटक अमेरिकामा नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो। आफूलाई दिइने मृत्युदण्डको सजाय र त्यसको विधिविरुद्ध ५८ वर्षीय स्मिथले सर्वोच्च अदालतमा २ वटा अन्तिम अपील र संघीय अपील अदालतमा एउटा अपील गरेका थिए। तर अदालतले उनको अपील अस्वीकार गरिदियो। 

यसअघि सन् २०२२ मै अलाबामाले घातक सुई (इन्जेक्शन) दिएर स्मिथलाई मृत्युदण्ड दिने प्रयास गरेको थियो। तर त्यतिबेला उनलाई इन्जेक्शन दिने नशा नभेटिएपछि उक्त विधि कार्यान्वय हुन सकेन।
मृत्युदण्ड सूचना केन्द्रले स्मिथ विश्वमै कहीँ पनि शुद्ध नाइट्रोजन ग्यासको उपयोग गरेर मृत्युदण्ड पाउने पहिलो व्यक्ति भएको बताएको छ। 


साउदीमा ७० वर्षपछि पहिलोपटक मदिरा पसल खुला, गैरमुस्लिमले मात्र पिउन पाउने

साउदीमा ७० वर्षपछि पहिलोपटक मदिरा पसल खुला, गैरमुस्लिमले मात्र पिउन पाउने


एजेन्सी । साउदी अरेबियामा ७० वर्षपछि पहिलोपटक मदिरा पसल खुला गरिएको छ, तर मदिरा भने पिउन गैरमुस्लिमले मात्र पाउनेछन् । गैरमुस्लिम प्रवासीहरूको समूहलाई लक्षित गर्दै मदिरा पसल खोल्न लागिएको हो । ग्राहकहरू कूटनीतिक कर्मचारीहरूमा सीमित हुनेछन् ।

साउदी अधिकारीहरूका अनुसार अवैध रूपमा मदिराको व्यापार गर्न भने पाइने छैन । राजा अब्दुलअजिजका एक छोराले मादक पदार्थ सेवन गरी बेलायती कूटनीतिज्ञको हत्या गरेपछि सन् १९५२ यता साउदीमा मदिरामा प्रतिबन्ध लागेको थियो ।

मदिराको नयाँ स्टोर रियादको कूटनीतिक क्वार्टरमा शहरको केन्द्रको पश्चिममा अवस्थित हुनेछ । योजनाहरूसँग परिचित एक स्रोतले रोयटर्सलाई भन्यो कि पसल एकहप्ता भित्र खोल्ने अपेक्षा गरिएको थियो । यद्यपि त्यहाँ सीमितताहरू हुनेछन् ।

मदिरा पिउन मन लागेका दूतावासका कर्मचारीहरूले पहिले नै नाम दर्ता गर्नुपर्नेछ र सरकारबाट मदिरा पिउन अनुमति प्राप्त गर्न आवश्यक छ । यस्तै, मदिरा स्टोरमा २१ वर्षमुनिका कसैलाई पनि अनुमति दिइने छैन । 
 


भारत हुँदै रूस जाँदै गरेको विमान अफगानिस्तानमा दुर्घटना

भारत हुँदै रूस जाँदै गरेको विमान अफगानिस्तानमा दुर्घटना


एजेन्सी । अफगानिस्तानको बदाक्षन क्षेत्रमा विमान दुर्घटना भएको छ । आइतबार पाकिस्तान र अफगानिस्तानका संचारमाध्यमले उक्त विमान भारतीय विमान भएको जानकारी दिएका थिए । यद्धपी भारतकाे नागरिक उड्डयन मन्त्रालयले उक्त विमान भारतकाे नभएकाे दाबी गरेकाे छ ।
दुर्घटना भएकाे विमान मोरक्कोमा दर्ता भएको एयर एम्बुलेन्स थियाे। प्राविधिक गडबडीका कारण बाटो बिर्सदा दुर्घटना भएको हो । मन्त्रालयका अनुसार उक्त विमान थाइल्याण्डबाट मस्काे गइरहेकाे थियाे । बिहारस्थित गया विमानस्थलमा तेल भरेकाे थियाे ।

यसअघि, पाकिस्तानी संचारमाध्यम सामले बदाक्षन प्रान्तको प्रहरी कमाण्डलाई उद्धृत गर्दै उक्त विमान हिजो राति राडारबाट हराएको जानकारी दिएको थियो । त्यसपछि जेबक जिल्लाको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । उक्त एयर एम्बुलेन्समा ६ जना यात्रु सवार थिए ।
छानबिन गर्न टोली पठाइयाे
आइतबार दिउँसाे १ बजे अफगान संचारमाध्यमलाई उद्धत गर्दै यो विमान भारतको भएकाे र मस्को जाँदै गरेकाे बताइएकाे थियाे । त्यसकाे आधा घण्टापछि फेरि यो भारतीय यात्रुवाहक विमान नभएको जानकारी दिइएकाे थियाे । तालिबान सत्तामा आएदेखि अफगानिस्तानमा कुनै पनि भारतीय विमान हवाई क्षेत्रबाट उडान गरिरहेको छैन। यसैबीच, टोलो न्यूजले बदक्षान सूचना विभागका प्रवक्ता जबिहुल्लाह अमिरीलाई उद्धृत गर्दै घटनाको अनुसन्धान गर्न टोली पठाइएको बताएको छ।
 


चीनको हेनान प्रान्तको एक विद्यालयमा आगलागी 

चीनको हेनान प्रान्तको एक विद्यालयमा आगलागी 


एजेन्सी । चीनको हेनान प्रान्तको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको ज्यान गएको छ । हेनान प्रान्तको याङसाम्फु गाउँमा सञ्चालित प्राइमरी र नर्सरी स्कुलमा गएराति आगलागी भएको हो । आगलागीमा परि ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी रहेको बीबीसी हिन्दीले जनाएको छ । आगलागीमा परि घाइते भएका एक जनाको उपचार भइरहेको छ।
चीनको समाचार संस्था शिन्हुआले विद्यालयका सञ्चालकलाई पक्राउ गरी आगलागीको घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यसअघि गएको नोभेम्बर २६ मा चीनको शान्सी प्रान्तको एक कारखानामा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो ।