09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


कतारमा  “इद अल फित्र” मा  आठ दिन बिदा 

कतारमा  “इद अल फित्र” मा  आठ दिन बिदा 


काठमाडौं, ३ वैशाख । इस्लाम धर्मावलम्बीहरूको पर्व “इद अल फित्र”को अवसरमा कतारमा आठ दिन बिदा हुनेभएको छ । सरकारी कार्यालय,मन्त्रालय तथा अन्य सार्वजनिक क्षेत्र भित्र पर्ने कार्यालयहरूमा बिदा अप्रिल १९ देखि अप्रिल २७ सम्म हुने अमिरी दिवानले सूचना प्रकाशित गर्दै जानकारी गराएको हो। सम्पूर्ण सरकारी कर्मचारीहरुले अप्रिल ३० बाट काम सुचारु गर्नेछन् ।
यो वर्षको इद अप्रिल २१ तारिक शुक्रबार बार पर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै गरी कतार केन्द्रीय बैंक(क्युसिबी) अन्तर्गत पर्ने बैंक,वित्तीय संस्था लगायत अन्यलाई क्युसिबीले बिदा तोक्नेछ। इद अल फित्रकै अवसरमा कतारमा निजी क्षेत्रका कामदारहरुले कम्तीमा तीन दिन बिदा पाउने श्रम कानूनमा उल्लेख गरिएको छ। यद्यपि अत्यावश्यक काम गर्नुपर्ने कम्पनीको अवस्थामा इदको पहिलो दिन अनिवार्य बिदा र बाँकी दुई दिन काम लगाए ओभरटाइम दिनुपर्ने नियम रहेको छ।

 


दुबईमा आगलागीः ४ भारतीयसहित १६ जनाको मृत्यु, ९ घाइते

दुबईमा आगलागीः ४ भारतीयसहित १६ जनाको मृत्यु, ९ घाइते


एजेन्सी । यूएईको दुबईमा एक आवासीय भवनमा आगलागी भएको छ । आगलागीमा १६ जनाको ज्यान गएको छ । यस्तै ९ जना घाइते भएका छन् । एआई आरएस क्षेत्रमा रहेको भवनमा शनिबार दिउँसो आगलागी भएको थियो । 

ज्यान गुमाउनेमध्ये चार जना भारतीय नागरिक रहेको पुष्टि भइसकेको दुबई प्रहरीमा आबद्ध  भारतीय नागरिक नसीर भतनाप्पलीले बताएको गल्फ न्युजले लेखेको छ । यस्तै ज्यान गुमाउनेमा तीन पाकिस्तानी र केही नाइजेरियाका नागरिक रहेका छन् । केहीको अझै परिचय खुल्न सकेको छैन । 


भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजुको गोली हानी हत्या

भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजुको गोली हानी हत्या


एजेन्सी ।  भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो ।

उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो । भिडियो फुटेजमा एक व्यक्तिले उनीहरुलाई नजिकैबाट टाउकोमा गोली हानेको देखिन्छ ।

अतिकका वकिल विजय मिश्राले पत्रकारहरुको भिड भित्रबाट अज्ञात व्यक्तिले निकै नजिकबाट गोली हानेको बताएका छन् । प्रहरीका एक आयुक्त रमित शर्माले पत्रकार बनेर आएकाहरुले गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेका थिए ।

अतिक अहमद र उनका भाइ अशरफलाई १० भन्दा बढी गोली लागेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।


 


कतार र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति    

कतार र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति    


एजेन्सी । लामो समयदेखिको कूटनीतिक विवाद अन्त्य गर्दै आपसी सम्बन्ध पुनः स्थापना गर्न कतार र बहराइन सहमत भएका छन् । दवै देशले बुधबार अबेर उक्त घोषणा गरेका हुन् ।     
सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टसँगै बहराइनले कतारमाथि एकै साथ कूटनीतिक नाकाबन्दी लगाएका थिए । खाडी क्षेत्रका चरमपन्थी सङ्गठनहरूलाई समर्थन गरेको र इरानसँग धेरै नजिक भएको आरोप लगाउँदै ती देशले कतारमाथि नाकाबन्दी लगाएका थिए । चारै देशले कतारी विमान र जहाजलाई आफ्नो हवाई र जलक्षेत्र प्रयोगमा पनि प्रतिबन्ध लगाएका थिए ।     
साउदीमा रहेको खाडी सहयोग परिषद्को मुख्यालयमा भएको वार्तामा मेलमिलापसम्बन्धी सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ । कतारी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तअनुसार दुई देशबीचको कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने निर्णय भएको जनाएको हो ।     
द्विपक्षीय सम्बन्ध विकासका साथै खाडी राष्ट्रबीचको एकता र एकीकरण बढाउने आपसी चाहनाअनुसार दुवै देशबीच उक्त सहमति भएको कतारी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । बहराइनको विदेश मन्त्रालयले पनि त्यस्तै आशयको वक्तव्य जारी गरेको छ ।     
एक अर्काका कट्टर प्रतिद्वन्द्वी साउदी र इरानले सम्बन्ध तोडेको सात वर्षपछि गत महिना औपचारिक रूपमा सम्बन्ध पुनः सुरु गर्न सहमति जनाएपछि कतार र बहराइनबीच पनि मेलमिलाप भएको हो ।     
जनवरी २०२१ मा भएको एक मेलमिलाप सम्झौताअनुसार बहराइन बाहेक तीनवटै देशले कतारसँग सम्बन्ध नवीकरण गरिसकेका छन् । यद्यपि संयुक्त अरब इमिरेट्स र कतारले एक अर्काका राजधानीमा आफ्ना राजदूतावास खोलेका छैनन् ।     
 


म्यान्मारको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, १०० जनाको मृत्यु

म्यान्मारको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, १०० जनाको मृत्यु


एजेन्सी । म्यान्मारको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको छ । स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले साे कुरा जनाएको छ । 
सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सागिङ क्षेत्रको एउटा गाउँमा हवाई हमला गरेको सेनाले पुष्टि गरेको छ ।  सैनिक प्रवक्ता जाव मिन तुनले पिपल्स डिफेन्स फोर्सको कार्यालय उद्घाटन समारोहमा हवाई आक्रमण भएको बताएका छन् ।

'हामीले पाएको स्थलगत जानकारीअनुसार, हाम्रो आक्रमणले मात्र मानिस मारिएका होइनन् त्यस क्षेत्रमा पिपल्स डिफेन्स फोर्सद्वारा बिछ्याइएका माइन पनि थिए, हवाई आक्रमण माइन बिछ्याइएका स्थानमा पनि भएको थियो,' अधिक मानिसको मृत्यु हुनाको कारण स्पष्ट गर्दै प्रवक्ता जाबले भने।  सैनिक शासनविरुद्ध सागिङ क्षेत्रमा महिनौँदेखि उग्र प्रतिरोध जारी छ । देशमा  जारी गृहयुद्धमा त्यसलाई दबाउन सेनाले गरेको यो सबैभन्दा घातक आक्रमण हो । आक्रमणमा धैरै महिला र बालबालिकाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् । आक्रमणमा कम्तीमा ३० जना बालबालिका मारिएका छन् । उनीहरू कार्यक्रममा नृत्य प्रस्तुत गर्न त्यहाँ पुगेका  थिए । 

संयुक्त राष्ट्रसङ्घका मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले कैयौँ स्कुले बालबालिकाले ज्यान गुमाएको घातक हवाई हमलाबाट आफू आहत भएको बताउँदै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन आह्वान गरेका छन्।  सैनिक सरकारको विरोधमा उत्रिएकाहरूसँग हातहतियारसमेत भएकाले उनीहरूका साथै नागरिकलाई पनि लक्ष्य गरेर सेनाले हवाई आक्रमणको रणनीतिलाई व्यापक बनाएको छ । आन्दोलन दबाउन सेनाले अन्धाधुन्ध आक्रमण गर्दै आएको छ । 

सामाजिक सञ्जलामा ‘शेयर’ गरिएका तस्बिरमा दर्जनभन्दा बढी जलेका शव, भत्केका भवन र जलेका मोटरसाइकल देखिन्छन् घटनास्थलमा रहेका उद्धारकर्मीले ती तस्बिर वास्तविक भएका न्युयोर्क टाइम्सलाई पुष्टि गरेको छन् ।


दलाई लामाले मागे माफी 

दलाई लामाले मागे माफी 


काठमाडौं, २७ चैत ।  एक जना बालकको जिब्रोमा चुम्बन गरेको भिडियो सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि तिब्बती धर्मगुरु दलाई लामाले माफी मागेका छन् । लामाको कार्यालयले विज्ञप्ति जारी गर्दै उनले ती बालक र उनको परिवारमा आफ्ना कारण चोट परेको भन्दै माफी मागेका हुन् ।
दलाई लामाले मानिसहरूलाई भेट्दा यसैगरी सार्वजनिक रुपमा वा क्यामेरा अगाडि पनि जिस्किने गरेको भन्दै यस घटनाप्रति दु:ख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि उक्त घटना र स्थान कहिले र कहाँको हो भन्नेबारे यकिन छैन । बीबीसीमा प्रकाशित समाचार अनुसार दलाई लामालाई बीबीसीले यसबारे पुष्टी गर्न इमेल गरेको र लामाको कार्यालयले विज्ञप्तिसहित जवाफ दिएको जनाइएको छ ।

तिब्बती बुद्धिज्म धर्मका प्रमुख तथा आध्यात्मिक नेता दलाई लामा चीनविरोधी गतिविधिमा लागेको भन्दै १९५९ देखि नै भारतको हिमाचलस्थित धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् ।
८७ वर्षीय लामाको पछिल्लो गतिविधिको २३ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहँदा लामाको चौतर्फी आलोचना पनि भइरहेको छ । तर तिब्बतमा कतिपय अवस्थामा यसरी जिब्रोमा चुम्बन गर्नुलाई अभिभादनको एक तरिकाको रुपमा लिइने बताइन्छ ।


फिलिपिन्समा एक हप्तामा ७२ जनाको पानीमा डुबेर मृत्यु    

फिलिपिन्समा एक हप्तामा ७२ जनाको पानीमा डुबेर मृत्यु    


एजेन्सी । फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन् ।

 फिलिपिन्सको राष्ट्रिय प्रहरी (पीएनपी) का प्रवक्ता कर्नेल जिन फजार्डोले कोरोना भाइरस नियन्त्रणका लागि वर्षौंदेखि जारी आवागमनमा लगाइएको प्रतिबन्धका कारण मृत्यु हुनेको सङ्ख्या ‘बदलाको यात्रा’ का कारण भएको बताए । 

फजार्डोले एएफपीसँग भन्नुभयो, “महामारीको लामो सास्तीपछि मानिसहरू समुद्र तट र रिसोर्टमा जानका लागि केही उत्साहित भए । धेरै मानिसको भीडमा केही दुःखद् घटनाहरू भएका हुन् ।”     
मृतकको पहिचान तत्काल उपलब्ध नभए पनि फजार्दोका अनुसार मृत्यु हुनेमा पौडी खेल्ने क्रममा अभिभावकले बेवारिसे अवस्थामा छोडेका बालबालिका र मादक पदार्थ सेवन गरी समुन्द्री किनारमा पसेकाहरु रहेका छन् ।     
     
फजार्डोले मृतकको सङ्ख्या ‘असामान्य’ र विगतका वर्षहरूको तुलनामा बढी भएको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा अन्जानमा हुने चोटपटकका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण पानीमा डुबेर मृत्यु हुने गरेको छ ।     
 


इजरायल–सिरियाबीचको द्वन्द्व बढ्दै

इजरायल–सिरियाबीचको द्वन्द्व बढ्दै


एजेन्सी । इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ। सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ। 
सिरियाबाट इजरायलमा आक्रमण भएपछि इजरायलले पनि जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ। सिरियाली क्षेत्रमा हवाई आक्रमण जारी छ। सिरियाली ‘लञ्चर’लाई इजरायली ‘ड्रोन’बाट प्रहार गरिएको छ। 

शनिबार राति सिरियाली पक्षले छ वटा रकेट प्रहार गरेकामा दुई वटा गोलान हाइट्समा खसेका तथा एउटालाई इजरायलको हवाई रक्षा प्रणालीले आकाशमा नै ध्वस्त पारेको थियो।


चीन–अमेरिका तनावः हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र संस्थाका पदाधिकारीमाथि प्रतिबन्ध

चीन–अमेरिका तनावः हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र संस्थाका पदाधिकारीमाथि प्रतिबन्ध


एजेन्सी । चीनले अमेरिकाको क्यालिफोर्निया हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीच गत बुधबार भेटवार्ताको चाँजोपाँजो मिलाएका ती संस्थाका पदाधिकारी चीनको कोपभाजनको सिकार भएका हुन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै सभामुख म्याकार्थी र राष्ट्रपति साईले दक्षिण अमेरिकी मुलुकको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा क्यालिफार्नियामा भेटवार्ता गर्नुभएको थियो ।

चिनियाँ विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी रेगन पुस्तकालय, हडसन इन्स्टिच्युट र वासिङ्टन थिङ्क ट्याङ्कले ताइवान पृथकतावादी गतिविधिलाई बढवा दिएकाले ती संस्था र तिनका पदाधिकारीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । साथै मन्त्रालयले कुनै पनि चिनियाँ संस्था र तिनका पदाधिकारीलाई ती अमेरिकी संस्था र तिनका पदाधिकारीलाई सहयोग वा सम्पर्क गर्न निषेध गरेको छ ।

सन् १९४९ को गृहयुद्धपछि चीनबाट अलग भएको स्वतन्त्र टापु ताइवानलाई आफ्नो अविभाज्य भूमिका रूपमा दाबी गर्दै बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर मुख्यमूमिमा गाम्नसक्ने बताउँदै आएको छ । ताइपेइसँग औपचारिक सम्बन्ध कायम नगरे पनि संयुक्त राज्य अमेरिकाले ताइवानसँग अनौपचारिक सम्बन्धलाई विभिन्न माध्यमबाट निरन्तरता दिइरहेको छ ।

गत वर्ष तत्कालीन सभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर चीन–अमेरिका सम्बन्धलाई जटिलतातर्फ धेकेल्न मलजल गर्नुभयो भने चिनियाँ प्रविधि, सुरक्षा, हङकङ मामिला, मानवअधिकार, चीनका मुस्लिम जातीय अल्पसङ्ख्यकप्रति बेइजिङको व्यवहारलाई लिएर कटु आलोचना गर्न नचुक्ने वासिङ्टनका कारण चीन र अमेरिकाबीचको सम्बन्ध दिन प्रतिदिन तनावपूर्ण बन्दै गएको छ ।

चीनको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनैपनि गतिविधि सह्य नहुने दोहोर्‍याउँदै बेइजिङले ताइवानले कुनै पनि विदेशीसँग सम्बन्ध स्थापना एवम् सञ्चालन गर्न नसक्ने बताउँदै आएको छ । बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न पाउँदैनन् । 

सन् १९७९ मा वासिङ्टनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेइको अन्तर्राष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा वासिङ्टन उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्त्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली बताउँछन् ।

चीन सरकारले विदेशी अधिकारीहरूसँगको सम्पर्कले औपचारिक स्वतन्त्रता चाहने ताइवानीलाई प्रोत्साहन गर्ने बताउँदै त्यस्ता अवाञ्छित गतिविधिले युद्ध निम्त्याउने जनाएको छ ।

चिनियाँ प्रतिबन्धबारे पुस्तकालयका पदाधिकारीसँग इमेलमार्फत एएफपीले प्रतिक्रिया लिने प्रयास गर्दा बिहीबार रातिसम्म त्यसको जवाफ प्राप्त भएको छैन । क्यालिफोर्नियामा अमेरिकी सभामुखसँगको भेटवार्ताका अतिरिक्त ताइवानी राष्ट्रपतिले हडसन इन्स्टिच्युटबाट ‘नेतृत्व पुरस्कार’ ग्रहण गर्दै क्षेत्रीय सुरक्षामा ताइवानका चुनौतीबारे भाषण दिनुभएको थियो ।

यसैबीच, चीनले आज पनि ताइवान नजिक युद्धपोत र युद्धविमान परिचालन गरेको छ । सभामुख म्याकार्थी र ताइवानी राष्ट्रपतिबीचको भेटबाट क्रुद्ध भएको चीनले हिजो पनि ताइवान नजिक युद्धपोत परिचालन गरेको थियो । तीनवटा चिनियाँ युद्धपोत, एउटा पनडुब्बी प्रतिरोधी हेलिकप्टर र एउटा लडाकु जेट ताइवान वरपरको जलक्षेत्रमा देखिएका ताइवानी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

ताइवानी जनताको स्वतन्त्रता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको राष्ट्रपति साईले लसएञ्जलसबाट ताइपेइतर्फ उड्नुअघि पत्रकारहरूलाई बताउनुभएको छ । उहाँले चीनको नाम नलिई दुवै पक्षबीच शान्ति र स्थायित्व कायम गर्न सक्दो प्रयास हुनेमा आफू आशावादी रहेको बताउनुभयो । सिन्ह्वा/एएफपी
 


भारतमा देखिएको कोरोनाको सवभेरिएन्ट नेपालमा पनि सक्रिय

भारतमा देखिएको कोरोनाको सवभेरिएन्ट नेपालमा पनि सक्रिय


काठमाडौं,२१ चैत । भारतको राजधानी दिल्लीमा देखिएको कोरोनाको सवभेरिएन्ट नेपालमा पनि देखिएको छ । भारतमा तीव्र गतिमा फैलिएको ओमीक्रोनका सवभेरिएन्टहरु नै नेपालमा समेत सक्रिय देखिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं लगायतका क्षेत्रहरुमा समेत कोरोनाका नयाँ संक्रमितहरु भेटिने क्रम तीव्र बनेको छ । नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ । चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ ।

यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् । २४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको छ । यो निकै संक्रामक मानिन्छ ।

भारतमा फैलिएको २ सातामै यो भेरिएन्ट नेपाल आइपुगेको छ । तर, नेपालमा कुनै सचेतता अपनाइएको छैन । मानिसहरुले मास्क लगाउन छाडेका छन् भने सामाजिक दूरी कायम गराउने विषय पनि गौण बनेको छ । सरकारले समेत यस्ता विषयमा बेलैमा नागरिकलाई अलर्ट गराउन सकेको छैन । 
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom