08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ


काठमाडौं, ७ वैशाख । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखाको कालिञ्चोक गाउँपालिका–७ घर भई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटाको महालक्ष्मी नगरपालिका–६ घर भई काठमाण्डुको टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल छन् ।
पक्राउमध्ये अरूणले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले अरूणलाई काठमाण्डुको पेप्सीकोला र जगनाथलाई काठमाण्डुको नयाँबानेश्वरबाट पक्राउ गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।


 


वैदेशिक रोजगारीः चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीः चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति


काठमाडौं, ७ वैशाख । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए । 

यसैगरी चालु आवको साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार छ सय २२, मङ्सिरमा ७१ हजार दुई सय ७६, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार छ सय ५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विभागको तथ्याङ्क अनुसार चैतमा मात्रै १७ हजार आठ सय १८ जना नेपाली रोजगारीका लागि युएई पुगेका छन् । सोही महिनामा साउदी अरेबियामा १३ हजार छ सय ४१ जना, कतारमा ११ हजार दुई सय ४ जना, मलेसियामा १२ हजार छ सय २ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा नौ सय ६४ जना पुगेका छन् । 

यसैगरी रोमनियामा दुई हजार दुई सय सय ९९ जना, क्रोएसियामा नौ सय ६० जना, साइप्रसमा सात सय ८१ जना, जापानमा एक हजार तीन सय ५१ जना, माल्दिभ्समा चार सय ९३ जना, मौरिससमा छ सय २० जना र दक्षिण कोरियामा छ सय ५७ जना रोजगारीका लागि गएका तथ्याङ्कले देखिएको छ ।


वैदेशिक रोजगारका लागि अंग्रेजी भाषा अनिवार्य गर्ने निर्णय खारेज

वैदेशिक रोजगारका लागि अंग्रेजी भाषा अनिवार्य गर्ने निर्णय खारेज


काठमाडौं, ६ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने अर्धदक्ष र दक्ष श्रमिकहरूका लागि अंग्रेजी भाषा अनिवार्य गर्ने गरी भएको निर्णय खारेज गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट आज वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि, २०८० खारेज गर्ने तथा माग प्रमाणीकरणसम्बन्धी कार्य वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ को व्यवस्था बमोजिम नै गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्ने सम्बन्धमा गएको वर्ष असोज ७ मा स्वीकृत भएको अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को पछिल्लो (दोस्रो) संशोधन, २०८० पनि खारेज गरेको छ ।

मन्त्रालयले त्यसअघि भएको व्यवस्था बमोजिम पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ लाई व्यवहारिक र समय सापेक्ष बनाई पाठ्यक्रम तथा तालिम सञ्चालनको मोडालिटी तय गर्न र सो पश्चात शुल्क लगायतका विषयमा सुझाव दिन मन्त्रालयका सिप विकास तथा तालिम शाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरी कार्य जिम्मेवारी प्रदान गर्ने निर्णय मन्त्रालयले गरेको छ ।
 


यूएई बाढी : एक नेपालीको मृत्यु

यूएई बाढी : एक नेपालीको मृत्यु


काठमाडौं, ६ वैशाख । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परेर एक नेपालीको मृत्यु भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परेर ज्यान गएको हो।

पुन यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक बाढीमा परेको दूतावासले जनाएको छ। उनले सोही स्थानमा रहेको बेल क्याफे रेस्टुरेन्टमा काम गर्दै आएको दूतावासले बताएको छ।

यूएईमा दुई दिनदेखि परेको वर्षापछि बाढी आइरहेको छ। बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ।


अष्ट्रेलियामा बढ्यो बेरोजगारी 

अष्ट्रेलियामा बढ्यो बेरोजगारी 


एजेन्सी । अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा  बढेर  ३.८ प्रतिशत पुगेको  आधिकारिक तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने  बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन् 

जनवरी र फेब्रुअरीको बिचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो ।एबीएसले फेबु्रअरी र मार्चको बिचमा पूर्ण–समय भूमिकामा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालीक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ ।

जागिर गुमाए पनि अष्ट्रेलियालीहरूले काम गरेको घण्टाको कुल संख्या एक करोड ७० लाख वा फेब्रुअरीको तुलनामा मार्चमा ०.९ प्रतिशत र मार्च २०२३ को तुलनामा १.७ प्रतिशत बढी थियो । एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले सहभागिता दर पूर्व–महामारीकोस्तर भन्दा धेरै बढी भएको र नोभेम्बर २०२३ मा सेट गरिएको ६७ प्रतिशतको रेकर्ड उच्च रहेको बताए । 
 


पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव फेला 

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव फेला 


काठमाडौं, ६ वैशाख । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए । शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो ।

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।


वैदेशिक रोजगार : २०८० मा सात लाख नेपाली विदेशिए

वैदेशिक रोजगार : २०८० मा सात लाख नेपाली विदेशिए


काठमाडौं, ३ वैशाख । पछिल्लो वर्षमा श्रम स्वीकृति लिएर सात लाखभन्दा बढी नेपाली विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन्।

अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो। जुन सङ्ख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ८१९ जनाले बढी हो।

वैदेशिक रोजगार विभागका अनुसार २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए। यो तथ्यांक हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको पुष्टि हुन्छ।

विभागका अनुसार यो वर्षको सो अवधिमा सबैभन्दा धेरै चैत महिनामा ७० हजार ९३३ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन्।

२०८० सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (यूएई) भएको छ। विभागका अनुसार सो अवधिमा सात लाख ११ हजार ३५१ जनाले श्रम स्वीकृति लिएकोमा यूएईका लागि लागि एक लाख ६३ हजार ७६८ जनाले श्रम स्वीकृति लिएका छन्।


कानूनी हैसियत गुमाएका श्रमिकलाई घर पठाउँदै मलेसिया

कानूनी हैसियत गुमाएका श्रमिकलाई घर पठाउँदै मलेसिया


काठमाडौं, २ वैशाख । मलेसिया सरकारले अलेखबद्ध कामदारहरुको लागि निश्चित प्रक्रिया पुरा गरेर घर फिर्ती कार्यक्रम संचालन गरिरहेको छ । अलेखबद्ध हुनु भनेको कानूनी हैसियत गुमाउनु हो। मलेसियाले मार्चदेखि डिसेम्बरसम्मको लागि  कानुनी हैसियत गुमाएका श्रमिकलाई घर पठाउन लागेको हो । 

निश्चित प्रक्रिया पुरा गरेपछि अलेखबद्ध श्रमिकहरु घर फर्कन पाउने छन् ।  यसबाट करिव १० देखि १५ हजार अलेखबद्ध नेपाली श्रमिकले फाईदा लिन सक्ने जनाईएको छ । 

२०८० वैशाख देखि फाल्गुणसम्म मलेसियाका लागि श्रम स्विकृति र पुन श्रम स्विकृती लिनेको संख्या ८१ हजार ५९० पुगेको छ । २०८० वैशाख देखि फाल्गुण सम्म मलेसियाका लागि राजदूतावसवाट गरिएको मागपत्र प्रमाणिकरणमा ७९ हजार ६३५ पुरुष र २ हजार ५०० महिला गरी जम्मा ८२ हजार १३५ कामदार संख्या रहेको छ ।

नेपालका लागि वैदेशिक रोजगारीको क्षेत्रका गन्तव्य मुलुकहरु मध्ये मलेसिया एक प्रमुख गन्तव्य मुलुक हो । मलेसियामा हाल लेखबद्ध र अलेखबद्ध गरी करिव पाँचलाख नेपालीहरु कार्यरत रहेको अनुमान गरिएको छ  । मलेसिया सरकारले नेपाली श्रमिकहरुका लागि उत्पादन (Manufacturing), कृषि (Agriculture), निर्माण (Construction), वृक्षारोपण (Plantation) र सेवा (Service)  क्षेत्र गरी मुख्य रुपमा ५ वटा क्षेत्रमा  रोजगारी उपलब्ध गराउने गरेको छ । 


रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन

रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन


काठमाडौं, ३० चैत । सरकारले रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन गरेको छ । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन गरिएको जानकारी दिएको हो ।
विज्ञप्तिमा रसिया र युक्रेनमा जान चाहने नेपाली कामदारहरुका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देशहरुका सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सृजना हुनसक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको जनाइएको छ ।
 


नयाँ कार्यविधि कार्यान्वयनसँगै भिजिट भिसामा विदेश जानेको संख्या  बढ्यो

नयाँ कार्यविधि कार्यान्वयनसँगै भिजिट भिसामा विदेश जानेको संख्या बढ्यो


काठमाडौं, ३० चैत । नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि भिजिट भिसामा विदेश जानेको संख्या बढेको छ । अध्यागमन विभागका अनुसार औसतमा दैनिक एक हजार सात सय नागरिक विभिन्न देश उड्ने गरेका छन् । 

गत मार्चमा ५२ हजार दुई सय ३२ र फेब्रुअरीमा ५२ हजार नौ सय २१ जना भिजिट भिसामा विदेश गएको तथ्यांक छ । त्यसअघि जनवरीमा ४६ हजार सात सय ४१, डिसेम्बरमा ५२ हजार चार सय ९५ र नोभेम्बरमा ४७ जार ६० जना गएका थिए । १० माघदेखि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेलाई सरल बनाउँदै नयाँ ६ बुँदे कार्यविधि लागू गरेको थियो । त्यसयता खासगरी खाडी देश जाने बढेका छन् । 

नयाँ कार्यविधिअनुसार दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, पाँच सय अमेरिकी डलर तथा खाडीका युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियाका लागि भने स्वघोषणासमेत गर्नुपर्ने प्रावधान छ । विगतमा १७बुँदे मापदण्डमा १२ कक्षासम्म अध्ययन गरेकोलगायतका प्रावधान थिए । सोही मापदण्डका आधारमा अध्यागमनका कर्मचारीले सेटिङ चलाएको खुलेपछि प्रहरीले दुई महिनाअघि अध्यागमन अधिकृत नरवीर खड्कासहित नौ अधिकृतविरुद्ध मुद्दा चलाएको थियो । सोही घटनापछि गृहले भिजिट भिसालाई सरलीकृत गरेको हो ।