11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


वैदेशिक रोजगारीः समस्या अध्ययनका लागि आयोग गठन गर्न माग

वैदेशिक रोजगारीः समस्या अध्ययनका लागि आयोग गठन गर्न माग


काठमाडौं, १८ भदौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक रोजगारीमा रहेका युवाहरुको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले केही दिनअघि आफू साउदी अरेयिबा र युएईको भ्रमणमा गएको जानकारी गराउँदै त्यहाँ नेपाली युवाहरुको अवस्था दयनीय देखेको बताए । 
अध्यक्ष लिङ्देनले साउदी अरेयिबा र युएईका दूतावासको अवस्था पनि दयनीय रहेको भन्द सरकारले सुधारका लागि गम्भीर पहल गर्नुपर्ने धारणा राखे ।


पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं, १७ भदौ ।  पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठानको मल्लरानी गाउँपालिका-४ खलंगा घर भई हाल काठमाडौं-२६ सामाखुसी बस्ने २८ वर्षीय नवराज खड्का रहेका छन्। 

उनले वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिने भनेर सन्दीप परियारसँग तीन लाख रुपैयाँ लिएर फरार भएका थिए। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
 


अपोइन्टमेन्ट पाएको समयमा मात्रै लाइनमा बस्न राहदानी विभागको आग्रह

अपोइन्टमेन्ट पाएको समयमा मात्रै लाइनमा बस्न राहदानी विभागको आग्रह


काठमाडौं, १५ भदौ । राहदानी विभागले त्रिपरेश्वरस्थित आफ्नो कार्यालयमा राहदानी सेवाका लागि आउने सेवाग्राहीलाई तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन आग्रह गरेको छ । विद्युतीय फारम भर्दा प्राप्त हुने ‘अपोइन्टमेन्ट’को मिति र समयबाहेकको अवधिमा सेवग्राही विभागमा पुगेर लाइन बस्दा विभागमा भीडभाड बढेको छ । द्रुत सेवाअन्तर्गतको विद्युतीय राहदानी सेवालाई सहज र सेवाग्राहीमैत्री बनाउन भन्दै हरेक दिन बिहान १० बजेदेखि प्रत्येक आधा घण्टाको अन्तरमा १५० देखि २०० सम्म सेवाग्राहीलाई विद्युतीय राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट’ उपलब्ध गराउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

तथापि तोकिएको दिनको विभिन्न समयमा अपोइन्टमेन्ट पाएका अधिकांश सेवाग्राही एकैपटक बिहान सबैरै विभाग आएर लाइने लाग्ने गरेकोले विहानको समयमा विभागमा सेवाग्राहीको बढी भीडभाड हुने गरेको सूचनामा उल्लेख छ ।

‘विभागमा भीडभाडरहित सेवाप्रवाहका लागि आफ्नो आवेदन फारममा तोकिएको मिति र समयमा मात्र विभागमा आइदिनुहुन सबै सेवाग्राहीलाई हार्दिक अनुरोध छ,’ विभागका प्रवक्ता कुमार राईले जारी गरेको सूचनामा भनिएको छ ।

 


वैदेशिक रोजगारीः इजरायलमा केयर गिभरमा काम गर्न जानेलाई तालिम दिन चाहने संस्थाले अनुमति लिनुपर्ने

वैदेशिक रोजगारीः इजरायलमा केयर गिभरमा काम गर्न जानेलाई तालिम दिन चाहने संस्थाले अनुमति लिनुपर्ने


काठमाडौं, १४ भदौ । इजरायलमा केयर गिभरमा काम गर्न जाने कामदारका लागि तालिम दिन चाहने संस्थाले वैदेशिक रोजगार विभागबाट अनुमति लिनुपर्ने भएको छ ।केयर गिभर तालिम सम्बन्धी कार्यविधि २०७२ अनुसार यस्तो तालिम सञ्चालन गर्न इच्छुक कामदारका लागि विभागले अनुमतिका लागि १५ दिनको समय दिएर निवेदन माग गरेको छ ।
जसमा केयर गिभरको तालिमका लागि आवेदन दिने संस्थाले अन्य तालिम प्रदान गरिरहेको भए नयाँ प्रयोजनका लागि भौतिक सामग्री र अन्य मापदण्डको अलग्गै व्यवस्था गरी विवरण खुलाउनु पर्ने सर्त राखिएको छ ।
निवेदनमा संस्थाको न्यूनतम पूर्वाधारको विवरण, संस्थापक र सञ्चालकको अनुभव र योग्यताको प्रमाणपत्र समेत पेश गर्नुपर्ने विभागले जनाएको छ । विगतमा इजरायललका लागि केयर गिभरको तालिम प्रदान गरिसकेको भए त्यसको प्रमाण समेत पेश गर्न भनिएको छ ।


 


वैदेशिक रोजगारीः साउदीमा समस्यामा पर्ने नेपालीको संख्या बढ्दो

वैदेशिक रोजगारीः साउदीमा समस्यामा पर्ने नेपालीको संख्या बढ्दो


काठमाडौं, १२ भदौ । वैदेशिक रोजगारीका लागि साउदीमा पुगेका नेपालीहरू समस्यामा पर्ने क्रम बढेको छ । अगष्ट महिनामा मात्रै समस्यामा परेर स्वदेश फर्किन दूतावासमार्फत दुई सय १५ जनाले एक्जिट भिसा लगाएका छन् । दूतावासका अनुसार अगष्ट ३ मा ७९ जनाले, अगष्ट १० मा ४१ जनाले, अष्गट २२ मा ५८ जनाले र अगष्ट २९ मा ३७ जनाले साउदीबाट स्वदेश फर्कने अनुमति अर्थात् एक्जिट भिसा पाएको दूतावासले जनाएको छ । 
साउदीमा समस्यामा परेका इकामा (साउदीको आवासीय अनुमति पत्र)को म्याद सकिएको तीन महिनाभन्दा बढी भइसहेको भएमा वा साउदी पुगेको तीन महिनाभन्दा बढी समयसम्म पनि कम्पनीले इकामा नबनाइदिएमा र हुरुब लागेका श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि दूतावासले एक्जिट भिसाको प्रक्रियामा सहजीकरण गरिरहेको छ ।
यस्तो भिसा पाएपछि जतिसक्दो छिटो साउदी छाड्न पर्छ । एक्जिट भिसाको म्यासेज मोबाइलमा आएको छ भने स्वदेश फर्कने बेला साउदीको विमानस्थलमा त्यही म्यासेज देखाउँदा हुन्छ । यदि आएको छैन भने एक्जिट भिसाको कागज दूतावासमार्फत लिन सकिन्छ । समस्यामा परेकाहरूको स्वदेश फिर्तीका लागि दूतावासले एक्जिट भिसाको प्रक्रिया निःशुल्क गरिदिने गरेको छ । एक्जिट भिसा लगाउन कही कतै शुल्क तिर्न नपर्ने दूतावासले जनाएको छ । तर एक्जिट भिसा लगाइसकेपछि स्वदेश फर्कने जहाजको टिकट भने आफैले काट्न पर्छ ।

दूतावासले यस्तो टिकटको व्यवस्था गर्दैन । एक्जिट भिसाको थप प्रक्रिया बारेमा जान्न परेमा रियादमा रहेको नेपाली दूतावासमा ०११४६१११०८ मा स्थानीय समय अनुसार बिहान ९ बजेदेखि ५ बजेसम्म, ०११२८८३७९५ मा दिउँसो तीन बजेदेखि बेलुकी ५ बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दामा ०५०००२१४०१ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 


श्रम स्वीकृति नै नलिई विशेषज्ञ डाक्टर कुवेत पठाउने भन्दै विज्ञापन गर्ने मेनपावर कम्पनी निलम्बनमा

श्रम स्वीकृति नै नलिई विशेषज्ञ डाक्टर कुवेत पठाउने भन्दै विज्ञापन गर्ने मेनपावर कम्पनी निलम्बनमा


काठमाडौं, १२ भदौ । नेपाली विशेषज्ञ चिकित्सकलाई रोजगारीको लागि कुवेतमा माग भएको भन्दै आवेदन खुला गरेको म्यानपावर कम्पनीलाई वैदेशिक रोगजार विभागले निलम्बन गरेको छ। सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुक पठाउने गरी शंकास्पद कार्य गरेको भन्दै ओमेगा इन्टरनेसनल प्रालि र अक्जोन इन्टरनेसनल प्रालिलाई विभागले निलम्बन गरेको हो।
ओमेगाले विभागको पूर्वस्वीकृति बिना सामाजिक सञ्जालमार्फत नेपाली डाक्टरलाई वैदेशिक रोजगारीमा कुवेल पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको विभागको ठहर छ।
यस्तै एउटै व्यक्तिको अर्को संस्था अक्जोनले पनि  एजुकेसनल इन्स्टीच्युट एण्ड कन्सलटेन्सी  वर्किङ भिसाको प्रलोभन देखाइ शंकास्पद कारोबार गरी व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने गरेको विभागले जनाएको छ।
विभागले यी कम्पनीहरुको कार्य शंकास्पद देखिएको भन्दै थप अनुसन्धान गर्न तत्काललाई दुवै कम्पनीलाई निलम्बन गरिएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए। कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको भन्दै फेसबुल पेज मार्फत सूचना निकालेको थियो। 
ओमेगाले सार्वजनिक गरेको सूचनामा कुवेतको अस्पतालमा काम गर्ने गरी विभिन्न सात वटा विधामा विशेषज्ञ डाक्टरहरु माग गरिएको थियो।
एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिष्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिष्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख थियो। 
विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने र  उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने भन्दै सूचना आमेगाले जारी गरेको थियो। 


इपिएसको कोटा बढाउन कोरियाली राजदूतलाई गृहमन्त्रीको आग्रह

इपिएसको कोटा बढाउन कोरियाली राजदूतलाई गृहमन्त्रीको आग्रह


काठमाडौं, १२ भदौ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगले शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सहकार्य र सम्बन्धका आयामबारेमा छलफल भएको बताइएको छ।

भेटमा मन्त्री श्रेष्ठले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे। राजदूत पार्कले नेपालमा आफुले तीन महिनादेखि राजदूतको रूपमा काम गरिरहेको तथा नेपाल र दक्षिण कोरियाको मैत्रीपूर्ण एवं दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे।

उपप्रधानमन्त्री एवमं गृहमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र ‘कोइका’मार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा सहयोग पु¥याएकोमा धन्यवाद दिए।

प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाईसकिएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनेहुँदा दक्षिण कोरियाको सहयोग र साथको निरन्तरताको अपेक्षा राखेको उनले बताए।

‘इपिएस’ कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकोमा धन्यवाद दिंदै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन समेत आग्रह गरे।

त्यसक्रममा राजदूत पार्कले नेपाल–दक्षिण कोरिया सम्बन्धका तीन आधार शान्ति, नागरिक नागरिकबिचको सम्बन्ध र समृद्धि भएको बताए। ‘इपिएस’ कार्यक्रमअन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेको समेत बताए।

दक्षिण कोरिया नेपालको चौथो ठूलो विकास साझेदार  रहेको र सामसुङ लगायत विश्व प्रसिद्ध दक्षिण कोरियाली कम्पनीहरूले आगामी दिनमा नेपालमा समेत उद्योग विस्तार गर्ने विश्वास उनले व्यक्त गरे।


 


वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ


काठमाठौं, १० भदौ । वैदेशिक रोजगारीमा क्यानडा, क्रोएसिया, कुवेत र नेदरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महेश पौडेलसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासीको देवचुलीका समीर आले मगरलाई काठमाण्डौको टोखाबाट पक्राउ गरेको हो । समीरले महेशसहित दुई जनालाई क्यानडामा रोजगारीका लागि पठाउने भन्दै आश्वासन दिएर पाँच लाख ३५ हजार रुपैयाँ लिएका थिए ।
क्यानडा जान प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्ने र उता पुगेपछि दुई लाख रुपैयाँभन्दा धेरै तलब मासिक रूपमा कमाइने आश्वासन समीरले दिएका थिए । तर पीडितबाट रकम लिएपछि समीर सम्पर्क विहीन भए ।  रकम लिएर समीर फरार भएपछि पीडित महेशसहित उहाँका साथीले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । 

यस्तै नेदरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने तारा गुरुङलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । पोखरा नगरपालिका ११ घर भई अहिले ललितपुरको नख्खीपोट बस्ने ताराले रविन चौधरीलाई वैदेशिक रोजगारीमा नेदरल्याण्ड पठाइदिने र त्यहाँ एक लाख रुपैयाँ भन्दा धेरै महिनाको कमाइ हुने प्रलोभन देखाएर तीन लाख ४५ हजार रुपैयाँ रकम लिएकी थिइन ।

तर पैसा हात परेपछि वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया गर्नुको साटो तारा फरार भएपछि रविनले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए  । विभागले प्रहरीलाई अनुरोध गरेपछि आइतबार बिहान नख्खीपोटबाट तारालाई प्रहरीले पक्राउ गरेको हो ।

रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेर फरार भएकी रामेछापकी शर्मिला सुनुवारलाई पनि प्रहरीले पक्राउ गरेको छ । क्रोएसियामा महिनाको एक लाख रुपैयाँभन्दा धेरै कमाइ हुने भन्दै लक्ष्मण हमालबाट दुई लाख रुपैयाँ लिएर फरार भएकी शर्मिलालाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

रामेछापको उमाकुण्ड गाउँपालिका १ घर भएकी उनलाई प्रहरीले कागेश्वरी मनोहरा ७ गोठाटारबाट शुक्रवार पक्राउ गरेको हो । शर्मिलाले लक्ष्मणलाई क्रोएसियामा फुड प्याकिङको काम लगाइदिने बताएकी थिइन । 

यसका साथै कुवेतमा बाइक राइडरको काम लगाइदिन्छु भन्दै झण्डै दुई लाख रुपैयाँ ठगी गर्ने सल्यानका जगतबहादुर खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । सल्यानको कपुरकोट गाउँपालिका ३ घर भई अहिले भक्तपुरको सुर्यबिनायक नगरपालिका १ बस्ने ५१ वर्षका जगतबहादुरले दिलीप विष्टलाई कुवेत रोजगारीमा महिनाको ५० हजारभन्दा धेरै कमाइ हुने र त्यसका लागि दुई लाख रुपैयाँ लाग्ने भन्दै पटक पटक गरी दुई लाख ९४ हजार रुपैयाँ लिएका थिए । तर पैसा हात परेपछि जगतबहादुर फरार भए ।

त्यसपछि दिलीपले काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार विभागमा निवेदन दिनुभएको थियो । दिलीपको निवेदनको आधारमा विभागले फरार रहेका जगतबहादुरलाई पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई अनुरोध गरेको थियो । 

पछिल्लो समय विभिन्न देशमा रोजगारीको प्रलोभन देखाएर व्यक्तिगत रूपमा एजेण्टबाट हुने यस्तो ठगी बढेको छ ।
 


श्रम कूटनीतिलाई नेपालले प्राथमिकता दिनुपर्छः राजदूत क्षेत्री

श्रम कूटनीतिलाई नेपालले प्राथमिकता दिनुपर्छः राजदूत क्षेत्री


काठमाडौं, १० भदौ । संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले श्रम कूटनीतिलाई देशले प्राथमिकता दिनुपर्ने बताएका छन्। 
नेपाल–यूएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आयोजना गरेको कार्यक्रममा राजदूत क्षेत्रीले खाडी र अन्य श्रम गन्तव्य मुलुकसँगको द्विपक्षीय सम्बन्धमा श्रम कूटनीति अपरिहार्य रहेको बताएका हुन्। उनले यूएईमा ठूलो संख्यामा नेपाली आप्रवासी कामदार रहेकाले नेपालले जनता–जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्नसक्ने बताए। 
चेम्बरले राजदूत क्षेत्रीसहित नेपालका लागि यूएईका नवनियुक्त राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शम्सीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा उनले नेपालबाट हुने कपडा, गलैंचा र हस्तकलाका सामानले यूएईमा राम्रो बजार पाउन सक्ने र त्यहाँको बजारमा नेपाली सामानको प्रवद्र्धन गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए। खाडी मुलुकहरु नेपालका लागि पर्यटन र लगानीको राम्रो स्रोत हुन सक्ने उनको भनाइ छ। 

सरकारी अनुमान अनुसार करिब ५ लाख नेपाली रोजगारीका लागि यूएईमा रहेका छन् र यहाँबाट २८ करोड ५० लाख अमेरिकी डलर रेमिट्यान्स आउने गरेको छ। ‘नेपालले उच्च मूल्यका वस्तुहरु यूएईको बजारमा निर्यात गरी पर्यटकलाई आकर्षित गर्ने रणनीति बनाउनुपर्छ’, क्षेत्रीले भने, ‘यूएईबाट पर्यटकको संख्या बढाउनुपर्ने आवश्यकता छ किनकी गत वर्ष करिब ६०० पर्यटकमात्र नेपाल आएका थिए।’

कार्यक्रममा नेपालका लागि यूएईका राजदूत अल शम्सीले दुवै देशले सहकार्यबाट लाभान्वित हुने गरी भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता एमिराटीका लागि राम्रो आकर्षण हुनसक्छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यूएईको समृद्धिमा नेपाली कामदारको भूमिका अपार रहे पनि त्यहाँ समस्यामा परेको बताए। 
सचिव भण्डारीले यूएईको आवश्यकता हेरेर नेपालमा रोजगार अभिमुखीकरण केन्द्रहरु बढाउनुपर्ने धारणा राखे। गत वर्ष नेपालबाट करिब ७ लाख नेपाली औपचारिक रुपमा वैदेशिक रोजगारीमा गए पनि नेपालको अभिमुखीकरण केन्द्रले वर्षमा करिब १ लाख व्यक्तिलाई मात्रै तालिम दिन सकेको उनको भनाइ छ।

सचिव भण्डारीले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापी रुपमा उठाउन नेपाल सरकारलाई कोपलाई प्लेटफर्मको रुपमा प्रयोग गर्न पनि सुझाव दिए। अबको कोप सम्मेलन यूएईको दुबईमा हुँदैछ। जसमा ३३ हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्। यो नेपालका लागि पनि राम्रो अवसर भएको सचिव भण्डारीको भनाइ छ।  
नेपाल यूएई चेम्बरका अध्यक्ष पवनकुमार अग्रवालले नेपाली व्यवसायीलाई यूएईका व्यवसायीसँग सम्बन्ध स्थापित गर्न वा त्यहाँ व्यवसाय विस्तार गर्न वा त्यसविपरीत गर्नका लागि द्विराष्ट्रिय चेम्बरले आफ्नो प्रयास जारी राखेको बताए। 
 


रोजगारीका लागि ग्रीस पुगेका नेपालीलाई अपहरण गरी फिरौती माग्ने पक्राउ

रोजगारीका लागि ग्रीस पुगेका नेपालीलाई अपहरण गरी फिरौती माग्ने पक्राउ


काठमाडौं, ८ भदौ । रोजगारीका लागि सर्विया हुँदै ग्रीस पुगेका नेपालीलाई अपहरण गरेर फिरौती माग्ने पक्राउ परेका छन् ।

मोरङको रंगेली नगरपालिका–२ का यदुराज थापाकी छोरी २५ वर्षीया सबित्रा थापा, उदयपुरको त्रियुगा नगरपालिका– ३ का तिलक बहादुर कार्कीको छोरा कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध–१ मथुराका ३० वर्षीय पोखनाथ सत्यालका छोरा राजन सत्याल रोजगारीका लागि गत जेठ १२ गते सिजनल भिसामा सर्विया पुगेका थिए ।

सर्वियामा राम्रो काम नभएपछि लुकेर ग्रीस पुगेका ती मध्ये एकलाई हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी र उनका सहयोगीले अपहरण गरी नेपालमा रहेका परिवारसँग १५ हजार युरो फिरौती मागेपछि परिवार प्रहरीको सम्पर्कमा आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

फिरौती माग्नेमा दुबईमा रहेका पर्वतका दिलबहादुर थापा र कपिलवस्तुका प्रकाश बेल्वासे सलग्न रहेको प्रहरीले जनाएको छ । बेलवासे र थापाले नेपालमा रहेका धनकुटाका ३२ वर्षीय शिवराज कुँवर र काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याललाई परिवारबाट फिरौती रकम माग्न पठाएका थिए । ब्यूरोको टोलीले घटनामा संलग्न चारैजनालाई भदौ २ गते काठमाडौंको गौरीघाटबाट फिरौती रकम २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेर सार्वजनिक गरेको हो ।

प्रहरीले ग्रीसमा बन्धक रहेका अन्यलाई पनि सकुशल नेपाल फर्काउन सफल भएको जनाएको छ । पक्राउ परेका चारैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको सीआईबीले जनाएको छ ।

प्रहरीले बैदेशिक रोजगारीमा जाँदा सरकारको श्रम स्वीकृति भएको देशमा मात्र कानुनी प्रक्रिया पूरा गरेर जान अनुरोध गरेको छ ।


 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom