07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री यादव

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री यादव


काठमाडौं, ११ फागुन । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन्। श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले आयोजना गरेको महिला, बालबालिका तथा सामाजिक न्याय समिति मधेश प्रदेश सभासँगको बहुपक्षीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा मुख्यमन्त्री यादवले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब २३ प्रतिशत योगदान दिने वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित बनाउने दायित्वबाट कोही पनि पन्छिन नपाउने उल्लेख गरे।
वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन मधेश प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयबाट छुट्याएर श्रम तथा यातायात मन्त्रालय स्थापना गरेको स्मरण गराउँदै मुख्यमन्त्री यादवले श्रम तथा रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
सीप नहुँदा वैदेशिक रोजगारीमा ठूलो समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले वैदेशिक रोजगारीमा जानेलाई सीपप्रति आकर्षित गर्ने कार्यक्रम ल्याउन सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिए।

ग्रामीण क्षेत्रबाट दैनिक मजदुरीका लागि सदरमुकाम आउने श्रमिकको आवासको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले आठवटै जिल्लाको सदरमुकाममा श्रमिक भवन निर्माणका लागि बजेट व्यवस्थापन भइसकेको र सम्बन्धित स्थानीय तहहरूसँग समन्वय भइरहेको जानकारीसमेत गराए।
 


वैदेशिक रोजगारीः ठगीको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारीः ठगीको आरोपमा तीन जना पक्राउ


काठमाडौं, ९ फागुन । पोर्चुगल पठाइदिन्छु भन्दै १७ लाख ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । 

भण्डारीले २ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मित्रनगरबाट पक्राउ गरेको हो । 
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
हंगेरी पठाइदिन्छु भन्दै २ लाख ७४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा रौतहट माधव नारायण नगरपालिका-३ घर भई काठमाडौं कुलेश्वर बस्ने २७ वर्षीय चन्दन कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि हंगेरी पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कुलेश्वरबाट पक्राउ गरेको हो । 
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
कोरिया पठाइदिन्छु भन्दै ९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा गोरखा, गोरखा नगरपालिका-१४ घर भई काठमाडौं सामाखुशी बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
थापाले ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक २ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो । 
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
 


पोर्चुगलमा राहदानी बनाउन तथा नवीकरण गर्न नपाउँदा समस्यामा नेपाली 

पोर्चुगलमा राहदानी बनाउन तथा नवीकरण गर्न नपाउँदा समस्यामा नेपाली 


काठमाडौं, ६ फागुन ।  वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न देश हुँदै पोर्चुगल पुगेका नेपालीले राहदानीमा भैरहेको समस्याले थप मर्कामा परेका छन् ।

विशेष गरी : पोर्चुगल बसाइको वैधानिकताका लागि त्यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू धेरै समस्यामा परेका हुन् । राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपालीले घुम्ती टोलीसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् ।  

पोखराका रवि थापाले राहदानी बनाउन जोखिम मोलेरै भए पनि स्पेनमा रहेको नेपाली दूतावास जाने तयारी गरेको बताए । लामो समयदेखि परिवारसहित पोर्चुगल बस्दै आएका गोरखाका दिनेश श्रेष्ठले पनि राहदानीको म्याद गुज्रेका कारण धेरै सास्ती खेप्नुपरेको गुनासो गरे । 

लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालयले दिएको तथ्याङ्क अनुसार राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउने नेपालीको संख्या दुई हजार ६ सयभन्दा धेरै छ । दुई हजार ९७ जनाको नवीकरण, चार सय ५० जनाको हराएको र ६५ जना बालबालिकाको नयाँ राहदानी बनाउनुपर्ने आवेदन छ ।


कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने


काठमाडौं, ३ फागुन । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ ।
परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ ।
परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ । तोकिएको परीक्षा समयभन्दा १ घण्टा अगावै परीक्षा हलमा ओरेन्टेशन सुरु हुनेछ । ओरेन्टेशन र बायो–मेट्रिक भेरिफिकेशन गरी उपस्थित हुनुपर्नेछ । निर्धारित समयमा उपस्थित नभएमा परीक्षा सहभागी नगराइने कार्यालयले जनाएको छ ।
परीक्षा सञ्चालन मितिभन्दा १ दिन अगावै आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन (फिङ्गर प्रिन्ट दर्ता) को लागि उपस्थित हुनुपर्नेछ । परीक्षाको दिन सो बायोमेट्रिक परीक्षा केन्द्र भैसेपाटीमा भेरिफाई हुने कार्यालयले जनाएको छ ।
सन् २०२३ का लागि उत्पादनमूलक क्षेत्रतर्फका लागि आवेदन आह्वान गरिएको थियो । जसमा १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक आह्वान गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए । 

 


आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म


काठमाडौं, १ फागुन । अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा अवधिको समय बढाएको छ । विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ ।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गर्दथ्यो ।

स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि समय अवधि थप गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । सहज र छिटो भिसा जारी भयो भने नेपालमा पर्यटक आगमन पनि बढ्ने उनको विश्वास छ । उनले हप्ताको सातै दिन काम गर्ने गरी व्यवस्था मिलाएको बताए ।

विभागका निर्देशक रेवती रमण शर्माले जारी गरेको सूचनामा लेखिएअनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई–भिसाको लागि आवेदन र स्वीकृती, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुने छ । ई–भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले भनेको छ ।

बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने सूचनामा उल्लेख छ । बैंकहरु बन्द भइसक्ने भएकाले अनलाइनमार्फत् भुक्तानी हुने भनिएको महानिर्देशक तामाङले बताए । उनका अनुसार जुनसुकै बैंकको एपबाट भुक्तानी गर्न सकिन्छ । फोन पे, कनेक्ट आईपीएस र वालेटतर्फ खल्ती र ई–सेवाबाट भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।


साउदी अरबमा रक्सी बनाएर बेच्दा ४ सय बढी नेपाली जेलमा

साउदी अरबमा रक्सी बनाएर बेच्दा ४ सय बढी नेपाली जेलमा


काठमाडौं, २९ माघ । साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन् ।

त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ । साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झण्डै चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्याङ्क छ । बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूतावासका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 


माल्टा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

माल्टा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं, २६ माघ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका १४ घर भई हाल काठमाडौंको शान्तीनगर बस्ने वर्ष २५ को धिरज पटेल रहेका छन्।

धिरजले विवेक यादवलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि ११ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।


पीडितबाट पटक पटक गरी ५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ २५ गते बबरमहलबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
 


वैदेशिक रोजगारीः ६ महिनामा साढे ३ हजार उजुरी

वैदेशिक रोजगारीः ६ महिनामा साढे ३ हजार उजुरी


काठमाडौं, २५ माघ ।  पछिल्लो ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी तीन हजार ४०० भन्दा बढी उजुरी परेका छन् । गत साउनदेखि पुस मसान्तसम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
ती उजुरीहरूमध्ये १ हजार ५६० उजुरी मात्रै फर्छ्यौट भएको विभागले जनाएको छ । जसबाट १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ । विदेशमा अलपत्र परेको आफन्तको उद्धारका लागि भन्दै ६९० उजुरी परेका छन् । जसमा ४५ जनाको उद्धार गरिएको छ । उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १७२ जनाले क्षतिपूर्ति पाएका छन् ।
उद्धारका लागि आएका उजुरीहरूमध्ये ७९ आपसी सहमति गराइएको छ । ६५ उजुरी फिर्ता गरिएको छ, भने १ तामेलीमा राखिएको विभागले जनाएको छ । उद्धारको लागि आएका उजुरीमध्ये ३६२ फर्छ्यौट भएका छन् । जसबाट १ करोड ३९ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो ।  
त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा ठगी सम्बन्धीका १ हजार १३० उजुरी परेका छन् । जसमा १९१ मिलापत्र गराइएको छ । भने ८४ मुद्दा अदालत पठाइएको छ । ठगीका उजुरीबाट ११ करोड २ लाख ८९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ ।
त्यस्तै विभाग परिसरभित्रै रहेको प्रहरी शाखामा १ हजार ६७५ उजुरी दर्ता भएका छन् । जसमा ६५ उजुरीमा मिलापत्र गराइएको छ । भने ९२३ उजुरी फछ्र्योट गरिएको छ । प्रहरीमा परेका उजुरीहरूबाट १ करोड ४२ लाख ९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गरिएको विभागले जनाएको छ ।
 


ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने

ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने


काठमाडौं, २४ माघ । कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो। 
उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) तर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएको थियो । तर, प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न कहि समय लाग्ने जनाएको हो । 
१९ मंसिरमा सार्वजनिक गरिएको सूचना अनुसार कोरियाका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो। र परीक्षाबारे विस्तृत जानकारी माघ २२ मा प्रकाशित गर्ने जनाएको थियो ।
आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाल परीक्षा मिति सार्वजनिक गर्न अझै समय लाग्ने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताए।  ईपीएसमार्फत कोरिया जानका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका छन्। आवेदनकर्ता निकै बढि भएकाले रूजु गर्ने समय लागिरहेको उनको भनाइ छ। 


अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग

अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग


काठमाडौं, २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको छ। 

जिल्ला अदालत काठमाडौंले मंगलबार थुनछेकबहसपछि अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। यो प्रकरणमा पक्राउ परेका अन्य ६ जनासँग धरौटी माग गरिएको छ।

गत बिहीबार दर्ता भएको मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी सिपी पन्थीले जानकारी दिए।


अदालतले गीता शाहसँग ५ लाख रुपैयाँ, रविन अर्याल र पदम लामासँग १/१ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ।

भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको थियो।


उनीहरुले सरकारी कागजात तथा छाप कीर्ते गरेको भन्दै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको माग गरिएको थियो। यस्तै संगठित अपराधको कसुरमा ५ वर्षसम्म कैद र ५ हजार रुपैयाँ जरिवानको माग गरिएको छ।

यस्तै आन्तरिक राजश्व विभागमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी छ।

यही माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।