10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


मौसमी कामदारका लागि कसैलाई पनि पैसा नबुझाउन मन्त्रालयको आग्रह

मौसमी कामदारका लागि कसैलाई पनि पैसा नबुझाउन मन्त्रालयको आग्रह



काठमाडौं, १४ साउन ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारको लागि भन्दै कसैलाई पनि पैसा नबुझाउन आग्रह गरेको छ । मौसमी कामदारको लागि सरकारले कसैलाई पनि श्रम स्वीकृति प्रदान नगर्ने भन्दै त्यस्ताका पछाडि नलाग्न अनुरोध गरेको हो ।
दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारको रूपमा पठाइदिने भन्दै ठगीका घटना बढ्दो क्रममा छ । यस्ता घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ताको पछि नलाग्न भनेको हो ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रलोभनमा नपर्न भनेका हुन् । ‘मौसमी कामदारको रुपमा वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्रदान गरिएको छैन । तसर्थ मौसमी कामदारको भीसामा दक्षिण कोरिया लगायतका अन्य देशहरुमा जान कोही कसैलाई रकम बुझाउने कार्य नगर्न नगराउन साथै कोही कसैले व्यक्तिगत वा संस्थागत रुपमा दक्षिण कोरिया लगायत अन्य मुलुकहरुमा मौसमी कामदारको रुपमा पठाइदिने भनी रकम माग गरेमा तपशीलको सम्पर्क ठेगानामा सूचना दिई अनधिकृत रुपमा वैदेशिक रोजगारको आवरणमा हुने सबै प्रकारका ठगी निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि अनुरोध छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ट्राभल एडभाईजरी डकुमेन्ट मार्फत नेपालीहरूलाई म्यानमार पुर्‍याई अलपत्र पारेको घटना बाहिर आइरहेका छन् । उनीहरूलाई चरम यातना दिइरहेको समेत घटना बाहिर आएका छन् ।

त्यस्तै वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति लिएर मात्र जान मन्त्रालयले सबैमा अनुरोध गरेको छ । श्रम स्वीकृति बाहेक कुनै प्रकारको कागजातको आधारमा वैदेशिक रोजगारीमा नजान सबैमा अनुरोध गरेको छ ।  


 


कोरियामा कामदारका लागि भाषा परीक्षाको आवेदन खुल्यो(सूचनासहित)

कोरियामा कामदारका लागि भाषा परीक्षाको आवेदन खुल्यो(सूचनासहित)


काठमाडौं, १४ साउन । दक्षिण कोरियामा पानी जहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि भाषा परीक्षाकाे आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

सिप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनाेटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ । ईपीएस प्रणालीमार्फत् दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सिप परीक्षण दुवैमा पास हुनुपर्छ । ईपीएस कोरिया शाखाले आज सूचना निकालेर पानी जहाज कम्पनीको लागि भाषा परीक्षा असोज १ गतेदेखि हुने जनाएको छ ।


 


युरोप पठाउने बहानामा भएका ठगीबारे अनुसन्धान भइरहेको छः  श्रम मन्त्रालय

युरोप पठाउने बहानामा भएका ठगीबारे अनुसन्धान भइरहेको छः  श्रम मन्त्रालय


काठमाडौं, १३ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई युरोप पठाउने भन्दै भइरहेको ठगीबारे शुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगल लगायतका युरोपियन मुलुकहरुमा रोजगारी दिने बहानामा भइरहेको ठगीको अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।


‘कोही कसैले ठगी गर्ने उद्देश्यले प्रभावमा पारेमा सम्बद्ध निकाय मार्फत सूचना दिई अनधिकृत रुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि समेत मन्त्रालय सबैमा अनुरोध गर्दछ’ शुत्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले इजाजतप्राप्त संस्था मार्फत वैदेशिक रोजगारमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलव सेवा सुविधा, आवश्यक सीप तालिमबारे जानकारी राख्न अनुरोध गरेको छ । ‘रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्री भिषा फ्री टिकटको बारेमा सम्बन्धित इजाजतप्राप्त संस्थामा आफैं उपस्थित भई वा वैदेशिक रोजगार विभागमा सम्पर्क गरी यकीन गरेर मात्र रोजगारीमा जान सम्बन्धित सबैमा अनुरोध छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न अनुरोध छ ।’

मन्त्रालयले विभागमा दर्ता भएका इजाजतप्राप्त संस्थामार्फत वा उच्च दक्ष कामदारहरुले व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाँदा अन्य कोही अनधिकृत व्यक्ति वा संस्था एवम् सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको सूचनाको आधारमा नभई विभाग वा सम्बन्धित संघसंस्था तथा रोजगारदातासँग सिधा सम्पर्क र समन्वय गरेर जान मन्त्रालयले आग्रह गरेको छ ।
 


वैदेशिक रोजगारीका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

वैदेशिक रोजगारीका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ


काठमाडौं, ११ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्तप्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये मौसम मग्रातीले टोकमान गुरुङलाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको, अन्नत श्रेष्ठले योगेन्द्रबहादुर साउदलाई पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक रु दुई लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी रु आठ लाख ठगी गरेको र प्रचलन राईले समरबहादुर परियारलाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी छ लाख ठगी गरेको खुल्न आएको छ।

पक्राउ परेका श्रेष्ठलाई काठमाडौँको जोरपाटी नारायणटारबाट, मग्रातीलाई काठमाडौंँ काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाइएको छ।


वैदेशिक रोजगारीः ३३ कम्पनीले ल्याए ३ अर्ब ७० करोडको आईपीओ

वैदेशिक रोजगारीः ३३ कम्पनीले ल्याए ३ अर्ब ७० करोडको आईपीओ


काठमाडौं, ११ साउन । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ)मा आरक्षण दिएपछि ३३ कम्पनीले आरक्षणमा सेयर जारी गरेका छन् ।

विदेशमा रहेका नेपालीका लागि पहिलो पटक २०७९ मंसिर १४ गते कालिन्चोक दर्शन प्रालीले सेयर निष्कासन गरेको थियो । २०७९ मंसिर १४ देखि २०८० साउन ४ गतेसम्म आइपुग्दा ३३ वटा कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर समेत निष्कासन गरिसकेका छन् ।

अहिलेसम्म २२ वटा कम्पनीले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि १ करोड १ हजार २९८ कित्ताका सेयर निष्कासन गरेका छन् । उक्त सेयरमा ३ अर्ब ७० करोड ३ लाख ११ हजार ५७६ रुपैयाँको आवेदन परेको छ ।

२ करोड ४७ लाख ८७ हजार ९७० कित्ताका लागि ५ लाख ६९ हजार ८८१ वटा आवेदन परेका छन् । ३३ वटा कम्पनीले १ करोड १ हजार  २९८ कित्ता सेयर छुट्याएका छन् ।

यो अवधिमा विदेशमा रहेका नेपालीका लागि ९ हजार ७ सय कित्तादेखि १२ लाख कित्तासम्म सेयर निष्कासन गरेको छ । यो अवधिमा धेरै जलविद्युत कम्पनीले सेयर निष्कासन गरेका छन् । ३३ वटा कम्पनीमा २० वटा जलविद्युत कम्पनीले सेयर निष्कासन गरेका छन् । 

यस्तै चार वटा बिमा कम्पनीले पनि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेका छन् । सुरु–सुरुमा आईपीओमा मागअनुसार आवेदन पर्न समस्या हुने गरेको भए पनि अहिले मागभन्दा बढी आईपीओ परेका कारण बाँडफाँड पनि गोलाप्रथाबाट हुने गरेको छ ।

अहिले पनि सिटिजन्स लाइफ इन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट नेपाल, मान्डु हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी र सन नेपाल लाइफले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेका छन् । माण्डु हाइड्रोको आईपीओमा विदेशका रहेका नेपालीले आवेदन दिने बिहीबार अन्तिम दिन हो ।


माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ


काठमाडौं, १० साउन । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-७ घर भई हाल भक्तपुरको सूर्यविनायक  बस्‍ने ३१ वर्षीय मौसम मग्राती रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 


इपीएस कोरियाले भन्यो, 'गलत सूचनाप्रति सजग होऔं'

इपीएस कोरियाले भन्यो, 'गलत सूचनाप्रति सजग होऔं'


काठमाडौं, ९ साउन । रोजगार अनुमति प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारहरुको छनोटमा रोक नलगाइएको ईपिएस कोरिया शाखाले जनाएको छ । शाखाले एक सूचना प्रकाशित गरी यस्ता सूचनाबाट पनि सजग हुन आग्रह गरेको छ । 

हेर्नुहोस् सूचना


वैदेशिक रोजगारीः अमेरिका पठाउने भन्दै सवा २ करोड ठगी  गर्ने पक्राउ

वैदेशिक रोजगारीः अमेरिका पठाउने भन्दै सवा २ करोड ठगी गर्ने पक्राउ


काठमाडौं, ८ साउन । नेपालीलाई अमेरिका पठाइदिने भन्दै अन्य देशमा लगेर बन्धक बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले कास्कीको पोखरा महानगरपालिका २७ घर भई हाल काठमाडौं महानगरपालिका ८ गुहेश्वरी पन्चकन्या मार्गमा डेराकोठा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको छ। 
उनलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी ब्यूरोले अनुसन्धान सुरु गरेको छ। उनीविरुद्ध मानव बेचविखन अनुसन्धान ब्यूरोमा ४ वटा उजुरी परेका थिए। उनीसहितका व्यक्तिले हवाई मार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाएर ११ लाख ३० हजार देखि ६० लाख रुपैयाँसम्म रकम लिई हालसम्म २ करोड ९६ लाख २३ हजार ८ सय ९० रुपैयाँ ठगी गरेको खुलेको छ। 
नेपालबाट अमेरिका लैजाने भनेपनि भारतको नयाँ दिल्ली, श्रीलंका, दुवई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पुर्‍याई अलपत्र पारेर थप रकम माग गर्ने गरेको खुलेको छ। 
यसरी नेपालीलाई अलपत्र पार्ने गिरोहका सदस्य विभिन्न देशमा बसेर परिचालित भएको खुलेको छ। यसरी ठगिनेमा १६ वर्षदेखि ५० वर्षसम्मका पुरुषहरु रहेका छन्।  अमेरिका जाने भनि मानव ओसारपसारमा परेका पीडितहरुले नै राहदानी, भिसा, हवाई टिकट, होटल बुकिङ लगायतको खर्च आफैले गर्ने गरेको खुलेको छ। यसरी पठाउँदा भिजिट भिसामा पठाउने गरेको खुलेको छ। यस्तो कार्यमा अन्य व्यक्तिको पनि संलग्नता रहेको र निजहरुको खोजतलास भइरहेको ब्यूरोका एसपी नरहरी रेग्मीले बताए। 

अमेरिका पठाउने भन्दै ठगी गर्ने अर्का व्यक्तिलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। लम्जुङको दोर्दी गाउँपालिका १ भार्ते घर भई हाल काठमाडौंको बनस्थली बस्ने २८ वर्षीय सुजन अधिकारीलाई पक्राउ गरेको हो। 

उनले नुमा केसीलाई रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोप छ। अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने आश्वसन दिएका थिए। 

पीडितबाट २० लाख रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएका थिए। उजुरी परेपछि उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीले जानकारी दिए।
 


पुलिस रिपोर्ट प्रमाणीकरण अनलाइनबाट हुने

पुलिस रिपोर्ट प्रमाणीकरण अनलाइनबाट हुने


काठमाडौं, ८ साउन । परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन् ।

उनले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गरिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत् हुने भए पनि काउन्सलर विभागको छाप र प्रमाणिकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयम् अथवा इच्छाएको व्यक्ति उपस्थित हुनै पर्ने बाध्यता छ।

जसका कारण राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने गरेको छ। राहदानी विभागमा देखिदै आएको भिडभाड न्युन गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणिकरणका लागि उपस्थित हुनु पर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले उक्त निर्देशन दिएका हुन् ।

मन्त्री साउदको निर्देशनअनुसार काउन्सलर सेवा विभागले प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्ने व्यवस्था गरेसँगै सेवाग्राहीले आफू वा आफूले इच्छाएको व्यक्ति त्रिपुरेश्वर जानुपर्ने बाध्यता हट्ने छ।

कन्सुलर सेवालाई सरल, सहज, पारदर्शी र उत्तरदायी ढंगले सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ९ ले दिएको अधिकार प्रयोग गरी सरकारको २०७० वैशाख २० गतेको निर्णयअनुसार परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको स्थापना भएको हो।
 


वैदेशिक रोजगारीः बढे ठगीका उजुरी

वैदेशिक रोजगारीः बढे ठगीका उजुरी


काठमाडौं, ८ साउन । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीका क्रममा तीन हजार तीन सय ५६ वटा उजुरी परेकामध्ये तीन सय ५९ वटा (१० दशलमव ६९ प्रतिशत) मात्रै फर्स्योट भएका छन् । विभागका निर्देशक गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीका क्रममा परेका उजुरीमध्ये ठूलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने भएकाले फस्र्योटको सङ्ख्या थोरै भएको जानकारी दिए । 

विभागका अनुसार आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको सङ्ख्या तीन हजार तीन सय ५६ वटा रहेका छन् भने गत आर्थिक वर्ष २०७८-७९ मा वैदेशिक रोजगारीका नाममा परेका उजुरीको सङ्ख्या एक हजार सात सय ४२ वटा थिए । दुई आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीमा हुने ठगीका उजुरी एक हजार छ सय १४ ले बढेका छन् । 

आर्थिक वर्ष २०७९-८० मा विभागमा परेका ठगीका उजुरीमध्ये दुई हजार ६६४ वटा व्यक्तिगत रहेका छन् भने संस्थागत उजुरीको सङ्ख्या छ सय ४२ वटा रहेका छन् । व्यक्तिगत उजुरीमध्ये एक हजार दुई सय २६ वटा विभागमा आएका हुन् भने एक हजार चार सय ३५ वटा उजुरी प्रहरीसमक्ष आएका उजुरी हुन् । विभागका अनुसार एक वर्षको अवधिमा विभागमा परेका संस्थागत र व्यक्तिगत गरी एक हजार आठ सय ७१ वटा उजुरीबापत करिब एक अर्ब १५ करोड रकम दाबी गरिएको छ ।

संस्थागत उजुरीबाट एक करोड ६८ लाख ७९ हजार दाबीसहितको उजुरी परेकोमा एक करोड १३ लाख १५ हजार क्षतिपूर्ति भराएको विभागले जनाएको छ । व्यक्तिगत तर्फका उजुरीमा १० करोड २३ लाख ५६ हजार क्षतिपूर्तिसहित मिलापत्र गराएको विभागले जनाएको छ । यस्तै प्रहरीमा परेका एक हजार चार सय ३५ वटा उजुरीबाट करिब दुई करोड क्षतिपूर्ति भराएको जानकारी दिएको छ । 

पछिल्लो दुई वर्षको बिचमा विभाग र प्रहरीमा परेको उजुरीका सङ्ख्या हेर्दा वैदेशिक रोजगारीमा जाने सङ्ख्यासँगै ठगीका उजुरी पनि बढेको पाइएको छ ।  त्यसो त विभागका अनुसार आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या सात लाख ७१ हजार तीन सय ३८ जना रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या छ लाख ३० हजार ९० जना थियो । आर्थिक वर्ष २०७८-७९ मा एक हजार सात सय ४२ वटा उजुरीबापत ६५ करोड ७१ लाख ५८ हजार माग दाबी गरिएको थियो । 

विभागका अनुसार आर्थिक वर्ष २०७९-८० मा ९९ मुद्दा अदालतमा दायर भएका छन् । जसमा अधिकांश व्यक्तिगत ठगीविरुद्धका रहेका छन् भने सात वटा कन्सल्टेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका रहेका छन् ।

अदालतमा दायर भएका मुद्दाको २६ करोड ४४ लाख ९७ हजार बिगो रकम माग दाबी भएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा विभाग र प्रहरीमा आएका तीन हजार तीन सय ५६ वटा उजुरीमध्ये पाँच सय २७ वटा मिलापत्र गराएको छ । सोही अवधिमा मिलापत्रबाट करिब १२ करोड रुपियाँ पीडकबाट पीडितलाई भराएको छ ।    



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom