11 Ashwin, 2080 / 28 September , 2023
काठमाडौं, ७ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको अध्यक्षमा राजु कुमार श्रेष्ठ निर्वाचित भएका छन् । २१ जुलाई २०२३ मा बहराईनको जुफेरस्थित रोमीरोज होटलको सभाहलमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, बहराइनको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा श्रेष्ठ सर्वसम्मतले विजय भएका हुन् ।
अधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि श्रेष्ठलाई निर्विरोध अध्यक्ष पदमा चयन गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तीर्थ भण्डारी, उपाध्यक्षमा भावना आचार्य, सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुशीला खत्री चयन भएका छन् । त्यसैगरी महासचिवमा संगीता खत्री, सचिवमा भुवन बिमली, सहसचिवमा नेत्रप्रसाद गैरे, कोषाध्यक्षमा, दीपक कुमार कर्ण र सहकोषाध्यक्षमा बासुदेव प्याकुरेल चयन भएका छन् ।
यस्तै, युवा संयोजकमा अमृत देवकोटा, संयोजकमा पवित्रा श्रेष्ठ, पर्यटक संयोजकमा अच्युतराज तिम्सिना र खेल संयोजकमा माशिव वि.क चयन भएका छन् । महिला सदस्यमा अमृता सामेखम चुनिएकी छिन् ।
त्यसैगरी, समिति सदस्यहरूमा लक्ष्मी नारायण श्रेष्ठ, लक्ष्मण वि.क, अनन्त अर्याल, विशाल खरेल, रामप्रसाद पुडासैनी, टेकमान वि.क र गणेश बहादुर थापा रहेका छन् । आईसीसी सदस्यमा बिरेन्द्र बुढाथोकी चयन भएका छन् ।
न्यूज आजको संवाददाता
काठमाडौं,६ साउन । देशमै रोजगारीको अवसर नहुँदा दैनिक युवाहरु रोजगारीका लागि विश्वका विभिन्न देशमा गइरहेको छन् । रोजगारीका लागि विदेश पलायन भएका युवाले पनि सोच अनुरुपमा सेवा सुविधा पाउन सकेका छैन ।
रोजगारीमा जाने तयारी गरेदेखि विदेशमा पुगेपछि पनि युवा ठगी बढ्दो छ । रोजगारीका लागि विदेस जाने तयारी गर्दै गर्दा युवा केही मात्रै सचेत भएको अवस्थामा पनि ठगीबाट जोगिन सकिन्छ ।
अहिले गाउँ गाउँमा रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै प्रलोभनमा पार्ने दलालको बिगबिगी छ ।
१. वैदेशिक रोजगारमा जानका लागि कानुनी प्रकृया पुर्याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचल स्थित कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । संस्थागत रुपमा वैदेशिक रोजगारमा कामदार पठाउने कार्य वैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरु (म्यानपावर कम्पनी)ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था वैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन ? उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन ? तथा खारेजीमा परेको छ छैन ? बुझ्नु होस । व्यक्तिगत प्रयासबाट भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिन सक्नु हुनेछ ।
२. वैदेशिक रोजगारमा जांदा कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस् । देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्नुहोस सो को १ प्रति आफूसँग राख्नुहोला । विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँगमात्र सम्झौता गर्नुहोस् दोहोरो सम्झौतापत्र नगर्नुहोस ठगिनु हुन्छ ।
३. वैदेशिक रोजगारमा जांदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा यथेष्ठ जानकारी राख्नुहोस् । दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट, कुनै पनि संस्थालाई वैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम नदिनुहोस ठगिने वढी सम्भावना हुन्छ ।
४. आफ्नो नाममा भिषा प्राप्त भई वैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु होला साथै बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोला । पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।
५. इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो ? एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु होला ।
६. जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्नुहोस् । त्यो देशको भाषा संस्कृति, रहन सहन, चालचलन, रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्नुहोस् ।
७. आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नं. डायरीमा टिप्नुहोस् । अथवा जानेको मानिससँग लेख्न लगाउनुहोस् ।
८. सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनुहोस् ।
९. सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु ५ लाखको जीवन बीमा गराउनुहोस् ।
१०. कल्याणकारी कोषमा रु १,५००।- बुझाई रसिद लिनुहोस् । सो रकम नतिरी श्रम स्वीकृति पाइदैन ।
११. विदेश जानु अघि स्वीकृत अभिमुखिकरण संस्थामा गई अनिवार्य रुपमा २ दिनको अभिमुखिकरण तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी लिनुहोस् । सो अभिमुखिकरण तालिमबाट आफु जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्वन्धी सामान्य कानुनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी प्राप्त हुनेछ ।
१२. वैदेशिक रोजगारीमा जान लागेका नेपाली नागरिकहरुले विदेश प्रस्थान गर्नु अगाडि आफुले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरुको प्रतिलिपिहरु एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरु रुजुगरि लिई जाने ताकी अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस् ।
१३. कामको लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ । श्रम स्वीकृतिको निस्सा प्राप्त नहुदै हवाई टिकट खरीद नगर्नु होला । अन्य देशको विभिन्न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस । यदि कसैले तपाईलाई ललाईफकाई लैजादै छ भने स्थानीय प्रहरीलाई खवर गर्नुहोस ।
१४. लुकीछिपी जाँदा कानूनी कार्वाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने हुँदा विशेष होस पुर्याउनुहोस् ।
१५. वैदेशिक रोजगारमा हुने ठगी र अन्य सूचना लिन र दिन टोल फ्रि नं. १६६००१०९९९९ को व्यवस्था गरिएकोले कुनै गुनासो वा जानकारी भए फोन गर्नुहोस । साथै वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको टोल फ्रि नं. १६६००१५०००५ मा पनि आफ्नो समस्या राख्न सकिन्छ ।
१६. पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुन: जाँदा अनिवार्यरुपले पुन: श्रम स्वीकृति (नविकरण) लिनुहोस् । करार अवधि सकिएपछि पनि स्वीकृति वेगर, गैरकानूनी तरीकाबाट भिषाको म्याद भन्दा बढी समय नबस्नुहोस् अन्यथा सम्बन्धित देशको कानून अनुसार कार्वाही हुन सक्छ । आफ्नो राहदानीको म्याद समयमा नै नविकरण गर्नुहोस् ।
१७. कुनै पनि व्यक्तिले वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी, वैदेशिक रोजगार विभागमा सूचना दिनुहोस् ।
१८. वैदेशिक रोजगारीका लागि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने सूचनाको आधिकारिकता बुझ्न परेमा वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवर्धन वोर्डमा सम्पर्क गर्नुहोस् वा पत्रपत्रिकामा प्रकाशित विज्ञापनमा उल्लेखित Lot Number टाइप गरि ३४००१ मा SMS गरि आधिकारिकता बुझ्नुहोस । (उदाहरणको लागि Lt No: 202020 छ भने LT<space>202020 टाईप गरि ३४००१ मा SMS गर्नुहोस्)
१९. वैदेशिक रोजगारमा जाँदा HIV/AIDS तथा यौनजन्य सरुवा रोगको बारेमा सचेत हुनुहोला ।
२०. वैदेशिक रोजगारमा विदेशमा रहँदा अनावश्यक रुपमा हड्ताल र अशान्ती नगर्नुहोस् ।
२१. मेनपावर कम्पनीको नाम ठेगाना परिवर्तन भएको कारणले सम्पर्क गर्न नसकिएमा विभागमा सम्पर्क गर्नुहोला ।
विदेशबाट नेपालमा पैसा पठाउने तरिकाहरु सम्बन्धी जानकारी
१. विदेशबाट नेपालमा पैसा पठाउन के के तरिकाहरु छन् ?
विदेशबाट नेपालमा आफ्ना आफन्तहरुलाई पैसा पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरुको माध्यम प्रयोग गर्न सकिन्छ ।
रेमिटेन्स कम्पनीका उदाहरणहरु Western Union : Money Transfer, IME, MoneyGram आदि हुन् र बैंक खाता भन्दा रेमिटेन्सबाट पैसा पठाउन तुलनात्मक रुपमा सस्तो र सरल हुन्छ ।
रेमिटन्सबाट पैसा पठाउँदा आफूले रोजगारी गरिरहेको देश र पैसा पठाउन चाहेको देशमा उपलब्ध रेमिटेनस कम्पनीहरुमध्ये कुनैको काउन्टरमा गई पैसा पठाउने र प्राप्त गर्ने व्यक्ति, ठेगाना, रकम आदि जानकारीहरु एउटा फारममा भरेपछि रेमिटेन्स कम्पनीले एउटा गोप्य नम्बर पैसा पठाउने व्यक्तिलाई दिन्छ ।
फाराममा पैसा प्राप्त गर्ने भनेर तोकिएको व्यक्तिले उक्त नम्बर र आफ्नो परिचय पत्र लिई उक्त रेमिटेन्स कम्पनीको काउण्टरमा गएमा सजिलै पैसा प्राप्त गर्न सकिन्छ ।
बैंकबाट बैंक खातामार्फत मात्र पैसा पठाउन सकिन्छ । यसका लागि पैसा पठाउने र प्राप्त गर्ने दुवै व्यक्तिको बैंक खाता हुनुपर्छ र बैंकको अन्तराष्ट्रिय सञ्चाल हुने पनि जरुरी हुन्छ । पैसा पठाउने व्यक्तिले पैसा प्राप्त गर्ने व्यक्तिको बैंकको नाम, खाता नम्बर र बैंकको एक अन्तराष्ट्रिय कोड जसलाई स्विफ्ट कोड SWIFT (Society for Worldwide Interbank Financial Telecommunication) Code भनिन्छ, यी जानकारीहरु बैंकमा उपलब्ध गराएपछि इच्छाइएको व्यक्तिको खातामा रकम पुग्नेछ । सो माध्यमबाट पैसा पठाउन साधारणतया रेमिटेन्सभन्दा महँगो पर्छ ।
पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरु पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको कुनै ग्यारेन्टी नहुने हुनाले पैसा डुब्ने सम्भावना हुन्छ र यस्तो स्थितिमा यस्तो माध्यम प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुले थाहा पाउनुपर्ने कुराहरु :
क) उमेर र विवरण
१८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ । रोजगारीमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन ।
ख) संस्थागत पहल
वैदेशिक रोजगारको निमित्त अनुमति प्राप्त गरेका एजेन्सीहरुसँग मात्र वैदेशिक रोजगारीमा जाने सम्बन्धी कारोबार गर्नुपर्छ ।
संस्थासँग व्यक्तिगत तवरले जानेगरी काम कारवाही गर्न हुँदैन ।व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेले वैदेशिक रोजगार विभागको स्वीकृति प्राप्त गर्नुपर्छ ।
ग) आवश्यक प्रमाणहरु सुरक्षित राख्नुपर्ने
वैदेशिक रोजगारको निमित्त जानेक्रममा वैदेशिक रोजगार एजेन्सीलाई रकम बुझाएपछि रसिद लिई सुरक्षित राख्नुपर्छ ।
वैदेशिक रोजगारीको निमित्त एकमुष्ट वा किस्तामा रकम बुझाएको भएमा कुन किस्ता वापत् कति रकम बुझाएको हो सो समेतको निस्सा लिनुपर्छ । बुझाएको रकम र प्राप्त रसिदमा रकम फरक परे, नपरेको यकिन गरी गरी वास्तविक तिरेको रकम जनाएको रसिद लिनुपर्छ । रसिदमा सम्बन्धित एजेन्सीको छाप भए नभएको र बुझिलिनेको दस्तखत भए नभएको जाँची लिनुपर्छ।
राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बीमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ ।
घ) तालिम तथा सुरक्षा
वैदेशिक रोजगारीमा जाने कामको लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्त संस्थाबाट अभिमुखीकरण तालिम हासिल गर्नुपर्छ ।
वैदेशिक रोजगारीमा जाने क्रममा गर्नुपर्ने बीमा तथा कल्याणकारी कोषमा अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्छ ।
एजेन्सी वा कोही कसैबाट वैदेशिक रोजगारी सम्बन्धी विषयमा गलत वा ठगी गर्न लागेको शंका लागेमा वा त्यसो भए गरेमा वैदेशिक रोजगार विभाग वा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा तुरुन्त खबर गर्नुपर्छ ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनुमति लिएको अवस्थामा बाहेक अन्य मुलुकको मार्ग प्रयोग गरी वैदेशिक रोजगारीमा जान हुँदैन । वैदेशिक रोजगारीको निमित्त विदेश प्रस्थान गर्नु पूर्व वैदेशिक रोजगार विभागबाट राहदानीमा श्रम स्वीकृतिको स्टिकर लगाएको हुनुपर्छ ।
ङ) पूर्व तयारीको अवलम्बन
वैदेशिक रोजगारमा जाने नेपालीले अनुमतिको अवधि पश्चात् नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन । वैदेशिक रोजगारीको क्रममा भएको सम्झौता अनुसारको अवधिभित्र करार भंग नभएसम्म उक्त कार्य छाडी अन्यत्र काम गर्न वा बिना स्वीकृति काम छाडी अन्यत्र जान हुँदैन ।
च) क्षतिपूर्ति
कुनै कारणले विदेशबाट असमयमा फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गराउनु पर्छ ।
छ) विदेशमा सम्पर्क र समन्वय
नियम अनुसार वैदेशिक रोजगारीमा गएपछि उक्त मुलुकमा रहेको नेपाली दुतावास, वा नियोग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनु पर्नेछ । वैदेशिक रोजगारको क्रममा समस्या आएको अवस्थामा उक्त निकायमा जानकारी गराउनु पर्नेछ ।
ज) वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन ।
झ) वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्छ र जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिई जानुपर्छ ।
ञ) स्वास्थ्य परीक्षण, जीवन बीमा, दुर्घटना बीमा विदेशमा काम गर्न जानु पूर्व अनिवार्य रुपमा गर्नुपर्छ ।
नरैनापुर, ५ साउन । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा शुरु भएको छ ।
नरैनापु गाउँपालिकाले शुक्रबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको हो । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने मुकेरीले बताउनुभयो । “यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ”, उहाँले भन्नुभयो । नरैनापुरबाट पहिलो दिनमा ३ जनाले उक्त सेवा लिएका छन् ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने मुकेरीले बताउनुभयो ।
सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने रकम आफूहरुले मोबाइल बैंकिङबाट तिरेर सहजीकरण गरिदिने गरेको उहाँको भनाइ छ । “मोबाइल बैंकिङ हुने र जान्नेले आफैँ तिर्नु भए पनि हुन्छ, नभए हामीहरुले सहजीकरण गरिदिएर उहाँहरुसँग उक्त रकम लिने गरेका छौँ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ भने सामाजिक सुरक्षा कोषको पैसा नलाग्ने संयोजक मुकेरीले बताउनु भयो । उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उहाँहरुलाई स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।
काठमाडौं, ५ साउन । बेलायतमा रोजगारी गर्न जान चाहने नेपाली नर्सहरूका लागि रोजगार आवेदन खुलेको छ । समझदारी अनुसार तोकिएको मापदण्ड पुगेका एक सय नेपाली नर्सलाई लैजाने गरी २० जुलाई अर्थात् असार ४ गतेदेखि आवेदन खुलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । इच्छुक नर्सले वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । १९ अक्टोबर २०२३ सम्म आवेदन दिन सकिन्छ ।
पहिलो चरणमा परीक्षणको रूपमा बेलायतले त्यहाँको स्वास्थ्य क्षेत्रमा एक सय जना लैजाने छ ।
सरकारी प्रक्रियामार्फत नै नेपालबाट नेपाली नर्स लैजान नेपाल र बेलायतबीच सन् २०२२ को अगस्टमा श्रम समझदारी भएको हो । मन्त्रालयका अनुसार दुई देशबीच भएको यो समझदारी कार्यान्वयन गर्न प्रोटोकलमा सहमति भएपछि नर्स लैजाने प्रक्रिया थालिएको हो ।
आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट https://ferms.dofe.gov.np/ukhealth मार्फत दिन सकिन्छ ।
बेलायत रोजगारीका लागि आवेदन दिन नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएको हुनुपर्छ । उमेर हदमा भने कुनै सीमा तोकिएको छैन । आवेदन महिला र पुरुष दुवैले दिन सक्नेछन् ।
स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन गरेकाहरुले आवेदन दिन पाउछन् । त्यस्तै आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अङ्क ल्याएको हुनुपर्नेछ ।
यसका साथै कुनै आपराधिक रेकर्ड नभएको, यसअघि बेलायतमा गैरकानुनी रूपमा काम नगरेको हुनुपर्छ ।
नेपाल सरकार र बेलायत सरकारबीच जीटूजी प्रक्रिया अनुसार श्रमिकहरू जाने भएकाले छनौट भएर जानेहरूले शुल्क तिर्न नपर्ने व्यवस्था दुई देशबीच भएको समझदारीले गरेको छ ।
छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा ओएससीई उत्तीर्ण हुनुपर्नेछ । यसका लागि उनीहरूलाई तीन पटकसम्म परीक्षामा सामेल हुने मौका दिइने मन्त्रालयले जनाएको छ ।
बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने छन् । । बेलायतको कानुनअनुसार लाइसेन्स लिएपछि पारिश्रमिक र सेवा सुविधा थप बढ्न सक्छ ।
यो भर्ना प्रक्रियालाई नेपाल र बेलायतले पाइलट परीक्षणको रूपमा लिएको छ । भर्नाको सबै प्रक्रिया वैदेशिक रोजगार विभाग र ह्म्यासपेयर हस्पिटल (एनएचएस) फाउन्डेसन ट्रस्ट युकेले गर्ने छन् । दुई देशबीच भएको श्रम समझदारी अनुसार भर्ना प्रक्रियामा रोजगारदाता, कुनै संस्था वा म्यानपावर कम्पनी वा कुनै पनि एजेण्टको भर्ना प्रक्रियामा समावेश हुने छैन ।
नेपालबाट गएको नर्सहरूले बेलायतमा त्यहाँका स्वास्थ्यकर्मी सहर अधिकार, सेवा सुविधा, सुरक्षा र सम्मान पाउनेछन् ।
काठमाडौं, ५ साउन । कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । शाखाले सूचना निकालेर कोरियामा वैधानिक तरिकाले रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुनेछ ।
नतिजा प्रकाशन असोज ३ गते हुनेछ । दुई देशबीच भएको समझदारी अनुसार दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अनुरूप आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपले नेपाल फर्केका इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेछन् । आवेदकको उमेर १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।
काठमाडौं, ३ साउन । राष्ट्रिय मानवअधिकार आयोगले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा हिँडेका युवामाथिको अध्यागमन कार्यालयले रोक लगाएकोप्रति ध्यानाकर्षण भएको बताएको छ। आयोगले यसरी फर्काइएको व्यक्तिलाई क्षतिपूर्ति समेत उपलब्ध गराउन भनेको छ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका लागि कुवेत र जोर्डन प्रस्थान गर्न लागेका १५६ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयद्वारा प्रस्थानमा रोक लगाउनु उनीहरूको मानव अधिकार हनन भएको दाबी गरेको छ।
संस्थागत श्रम स्वीकृति लिई कामको लागि कुवेत, जोर्डन जान लागेका श्रमिकलाई २०८० असार २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीले कागजात शंकास्पद रहेका भनी फर्काएको थियो।
उक्त विषयलाई लिएर जिम्मेवार निकायबीच सार्वजनिक रुपमै आरोप/प्रत्यारोप भएको अवस्थाले ती निकाय श्रमिकको अधिकारप्रति संवेदनशील हुन नसक्दा आप्रवासी कामदारको अधिकार उपभोग र प्रचलनमा अवरोध हुन पुगेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
वैदेशिक रोजगारीका लागि प्रस्थान गर्न लागेका नेपाली नागरिकहरूलाई फर्काइनुको स्पष्ट कारण प्रकाशमा नल्याइएको भन्दै आयोगले श्रम प्रशासन र अध्यागमन प्रशासनबीच समन्वय, सहकार्य, सूचनाको आदान-प्रदान र विश्वसनीयताको अभावका कारण श्रमिकहरुको आवतजात र रोजगारीको हक उल्लंघन हुन गएको आयोगको विज्ञप्तिमा भनिएको छ।
सेवा प्रवाह एवं यस्ता विषयमा गम्भीर हुन आयोग सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ। आयोगले आप्रवासी श्रमिकको अधिकारप्रति संवेदनशील भई वैदेशिक रोजगार व्यवस्थापनमा जिम्मेवार निकायबीच प्रभावकारी समन्वय गर्न सम्बन्धित निकायलाई सुझाव पनि दिएको छ। वैदेशिक रोजगारीमा जाने क्रममा अध्यागमन कार्यालयबाट रोक लगाई फर्काइएका कामदारको आर्थिक क्षतिको आकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले भनेको छ ।
काठमाडौं, ३ साउन । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी) हरूको सूचीमा नेपाल १०३ देशमध्ये ९८ औं स्थानमा परेको छ ।सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट आठौं स्थानमा परेको हो ।
सूचीअनुसार सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ । सूचीको १०३ औं स्थानमा रहेको अफगानस्तानको पासपोर्टले २७ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्छ । त्यसपछि रहेको इराकको पासपोर्टले २९, सिरियाको पासपोर्टले ३०, पाकिस्तानको पासपोर्टले ३३, यमन र सोमालियाका पासपोर्टले ३५ स्थानमा अनअराइभल भिसा पाउँछन् । द्वन्द्वग्रस्त मुलुक प्यालेस्टाइनको पासपोर्ट र नेपालको पासपोर्टले भने ३८ मुलुकमा अनअराइभल भिसा पाउँछन् ।
यी मुलुकभन्दा उत्तर कोरियाको पासपोर्ट शक्तिशाली छ । उत्तर कोरियाको पासपोर्टले ३९ मुलुकमा यस्तो भिसा पाउँछ । त्यसभन्दा पछि बंगलादेशले ४०, श्रीलंका र लिबियाले ४१ त्था कोसोभोले ४२ देशमा अनअराइभल भिसा पाउँछन् ।
सूचीमा सबभन्दा शक्तिशाली पासपोर्टको पहिलो स्थानमा रहेको सिंगापुर रहेको छ । त्यहाँको पासपोर्टले १९२ मुलुकमा अनअराइभल भिसा पाउँछ भने त्यसपछि क्रमशः जर्मनी, इटली र स्पेनले १९० मुलुकमा अनअराइभल भिसा पाउँछन् ।
काठमाडौं, ३ साउन । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई अध्यागमन विभागले फिर्ता पठाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थागत श्रम स्वीकृति लिई कुवेत र जोर्डन जान लागेका एक सय ५६ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले रोक लगाउँदा उनीहरूको अधिकार उपयोगमा प्रभाव परेको भन्दै आयोगले ध्यानाकर्षण भएको जनाएको छ । उनीहरूले श्रम स्वीकृति लिएको कागजात पेस गर्दा पनि कागजात शङ्कास्पद रहेको भन्दै अध्यामगनले फिर्ता पठाउन उचित नहुने आयोगले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । श्रमिकको समस्या समाधान गर्नुको साटो जिम्मेवार सरकारी निकायहरू नै सार्वजनिकरूपमै आरोप–प्रत्यारोपमा लागेकोमा पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तै श्रम प्रशासन र अध्यागमन प्रशासनबीच समन्वय, सहकार्य, सूचनाको आदान–प्रदान र विश्वसनीयताको अभावका कारण उनीहरूको आवतजात र रोजगारीको हक उल्लङ्घन हुन गएको आयोगको प्रारम्भिक अनुगमनबाट देखिएको छ । सेवा प्रवाह एवम् यस्ता विषयहरूमा गम्भीर हुन आयोगले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ । वैदेशिक रोजगारीमा जाने क्रममा अध्यागमन कार्यालयबाट रोक लगाई फर्काइएका कामदारको आर्थिक क्षतिको आङ्कलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
यस्तै नेपाली नागरिकलाई विमानस्थलबाट फर्काउने काममा संलग्न अधिकारीहरूलाई जिम्मेवार बनाउन र आयोगले विगतमा गरेका सिफारिसहरूको कार्यान्वयनका लागि पनि स्मरण गराएको छ ।
काठमाडौं, ३ साउन । साउदीमा रहेको नेपाली दूतावासमा राहदानी नवीकरणका लागि आवेदन दिई नेपालबाट तयार भएका राहदानीहरू दूतावासबाट सङ्कलन गरी सम्बन्धित श्रमिकलाई बुझाउँदा व्यक्ति र कतिपय सङ्घसंस्थाबाट ठगी भएको भन्दै दूतावासले राहदानी लिँदा कुनै पनि शुल्क नतिर्न अनुरोध गरेको छ ।
राहदानी बनाउने बेला दूतावासमा राजश्व बुझाएपछि फेरि कहीँ कतै पनि रकम तिर्न पर्दैन । तर कोही व्यक्ति वा सङ्घसंस्थाले सेवाको नाममा अनधिकृत रूपमा रकम लिएमा त्यो ठगी भएको र त्यसको जबाफदेहिता स्वयं व्यक्ति वा संस्था हुने दूतावासले जनाएको छ ।
यस्तै, दूतावासमा राहदानीको आवेदन दिएका कतिपयलाई आवेदन रिजेक्ट भएको म्यासेज आएको भए पनि राहदानी बनेर आउने सूचना जारी गरेको छ ।
दूतावासका अनुसार यस पटक सबै आवेदकको ६६ पृष्ठको राहदानी नवीकरण भएर आउने हुँदा यस्तो समस्या भएको हो । त्यसैले राहदानीको आवेदन दिएकाहरूलाई रिजेक्ट म्यासेज आएको भए पनि नआत्तिन र ढुक्क भएर बस्न दूतावासले आग्रह गरेको छ ।
काठमाडौं, २ असार । वैदेशिक रोजगारीमा जानेहरुका कागजात शंकास्पद देखिन थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ । तोकिएका कागजातहरु पेश गरेमा मात्र प्रस्थान अनुमति दिने भन्दै विभागले एक विज्ञप्ति निकालेको छ ।
अब वैदेशिक रोजगारीमा जानेहरुले अन्य भाषामा भएका भिसा अनिवार्य रुपमा अंग्रेजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेश गर्नुपर्ने जनाएको छ । यस्तै भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति/सम्झौता पत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेशा एउटै हुनुपर्नेछ । यस्तै, प्यारेन्ट कम्पनी तथा होल्डिङ कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए ती ‘प्यारेन्ट कम्पनी/होल्डिङ कम्पनी’ले उक्त कम्पनी आफू मातहतको कम्पनी हो भनेर लेखेको आधिकारिक पत्र पेश गर्नुपर्नेछ ।
कुवेत जाने श्रमिकहरुको ईभिसाका सम्बन्धमा सम्बन्धित म्यानपावर कम्पनीले सम्पूूर्ण जिम्मेवारी लिइ प्रतिबद्धतात्र पेश गर्नुपर्ने अध्यागमन विभागले जनाएको छ । विभागले अर्को निर्णय नगर्नसम्मको लागि यो नियम लागू हुनेछ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जान तयार भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकाहरुलाई अध्यागमन विभागले विमानस्थलबाटै फर्काएको भन्दै म्यानपावर व्यवसायी आक्रोसित छन् । यही असार २७ र २८ गते कुवेत जान लागेका एक सय १७ जना श्रमिकलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काएको थियो । यस्तै त्यसको तीन दिन अगाडि पनि वैदेशिक रोजगारीमा जोर्डन जान लागेका १४ महिलासहित १५ जना श्रमिकलाई अध्यागमनका कर्मचारीले कागजात नमिलेको, भिसामा शंका लागेको भन्दै फर्काएका थिए । यसैको विरोधमा आइतबार व्यवसायीहरुले अध्यागमन विभाग घेराउ गर्दै विभागका महानिर्देशकको राजीनामा पनि माग गरेका छन् ।
श्रम स्वीकृति लिई, सबै कानुनी प्रक्रिया पूरा गरेर जान लागेका श्रमिकलाई यसरी फर्काएर अध्यागमनले मनपरि गर्न खोजेको व्यसायीहरुको आरोप छ । अध्यागमनले आफ्नो कार्यमातहत बाहिरको काम गरेको भन्दै उनीहरु आक्रोशित छन् ।
तर अध्यागमन विभागले यात्रुहरुको कागजात जाँच गर्ने र शंका लागेमा अनुमति दिन अस्वीकार गर्ने अधिकार सम्बन्धित अध्यागमन अधिकृतलाई हुने जनाएको छ । विभागले अध्यागमबाट श्रमिक फर्काइएका पछिल्ला घटनाका विषयमा पनि प्रष्ट पारेको छ । श्रमिकहरुले पेस गरेका कागजातको प्रारम्भिक छानबिनमा भिसा सम्बन्धित देशको आधिकारिक वेबसाइटमा नखुलेको, भिसाको अवस्था ‘अवेटिङ अप्रुभल’ देखिइ भिसाको आधिकारिकताका सम्बन्धमा द्विविधा उत्पन्न भएको विभागको भनाइ छ । यस्तै भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकति/सम्झौतापत्रमा उल्लेख रोजगारदाताको नाम फरक पर्न गएको लगायतका विषयहरु देखिएको हुँदा छानबिन गरी आवश्यक निर्णयमा पुग्नका लागि छानबिन समिति समेत गठन भइ कार्य प्रारम्भ भएको विभागले जनाएको छ ।
प्रकाशक
नविन कुमार श्रेष्ठ
सम्पादक
विनोद कुमार श्रेष्ठ
प्रबन्ध निर्देशक
कमला श्रेष्ठ
सूचना तथा प्रसारण विभाग
दर्ता प्रमाणपत्र नं.: 1965
Samakhusi, Kathmandu
Phone : 01-4382864
Mobile : 9851013929, 9845082388
Email : newmadd2018@gmail.com
© 2023 Newsajako सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies