11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


बेलायत रोजगारीमा हालसम्म ६०४ आवेदन सिस्टममा दर्ता

बेलायत रोजगारीमा हालसम्म ६०४ आवेदन सिस्टममा दर्ता


काठमाडौं, १० असोज ।  बेलायत रोजगारीका लागि ६ सय ४ जना नेपाली नर्सको आवेदन परेको छ । नेपाल र बेलायत सरकारबीच भएको श्रम समझदारी अनुसार पहिलो चरणमा एक सय नेपाली नर्स बेलायतको स्वास्थ्य क्षेत्रमा पठाउने गरी सरकारले खुलाएको आवेदनमा अहिलेसम्म  ६ सय ४  जना नर्सहरूको आवेदन परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म ६ सय ४ जनाले वैदेशिक रोजगार विभागको सिस्टममा आवेदन दर्ता गराएका छन् । तर सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गर्नेको सङ्ख्या भने ३० जना मात्रै रहेको छ । 

सरकारी प्रक्रियामार्फत पहिलो चरणमा सरकारले एक सय नेपाली नर्सका लागि गएको जुलाई २० अर्थात् साउन ४ गते आवेदन खुलाएको थियो । 
जसअन्तर्गत अन्य मापदण्डसँगै अङ्ग्रेजी भाषा परीक्षण आईएलटीएसमा औसत ७ र अक्यूपेशनल इङ्लिस टेस्ट   ओईटीमा ‘बी’ अङ्क ल्याएको हुनु पर्नेछ । अहिले सबै मापदण्ड पूरा गरेर आवेदन पेस गरेका ३० जनामा दुई जनाले आईएलटीएसको नम्बर राखेर आवेदन पेस गरेका छन् भने ओईटी गर्ने २८ जना रहेका छन् । 

तीन महिनाको अवधि राखेर आवेदन माग गरिएको भए पनि आवेदन खुला भएको झण्डै साढे दुई महिनाको अवधिमा ६ सय ४ जनाले आवेदन दर्ता गराए पनि मापदण्ड पूरा गरेर ३० जनाको मात्र आवेदन पेस भएको हो । 

नेपाल र बेलायतबीच सरकारी संयन्त्रमार्फत नर्स लैजानका लागि २२ अगस्ट २०२२ मा श्रम समझदारी भएको थियो । यो श्रम समझदारीलाई कार्यान्वयन गर्न प्रोटोकलमा सहमति भएपछि नर्स लैजाने प्रक्रियालाई सरकारले कार्यान्वयनमा ल्याएको हो ।

इच्छुक नर्सले वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सक्छन् । यसका लागि विभागले छुट्टै पोर्टलको समेत व्यवस्था गरेको छ । आवेदन दिने अन्तिम मिति १९ अक्टोबर २०२३ सम्म छ। 


वैदेशिक रोजगारीः दुबई पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

वैदेशिक रोजगारीः दुबई पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ


काठमाडौं, ९ असोज ।  रोजगारीका लागि दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर घर भएर काठमाडौँ बस्ने मोहम्मद शेख इरफान सिद्धिकी छन् । 
३४ वर्षीय मोहम्मद शेख लाई काठमाडौँको नागार्जुनबाट पक्राउ गरिएको हो। 
मोहम्मद शेखले सूर्य बहादुर कार्कीलाई दुबई पठाउँछु भनेर १ लाख ५० हजार लिएपछि सम्पर्कविहीन भएका थिए । दुबईमा सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत ५० हजार तलब हुन्छ भनेर मोहम्मद शेखले आश्वासन दिएका थिए । आरोपितलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाएको छ ।


वैदेशिक रोजगारीः एक महिनामा ६ सय ६६ ठगीका उजुरी

वैदेशिक रोजगारीः एक महिनामा ६ सय ६६ ठगीका उजुरी


काठमाडौं, ८ असोज । साउन महिनामा मात्रै वैदेशिक रोजगार विभागमा ६ सय ६६ वैदेशिक रोजगार ठगीको उजुरी परेको छ । वैदेशिक रोजगारीमा जान ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिँदा ६ सय ६६ वटा ठगीमा उजुरी परेको विभागले जनाएको छ । 
विभागका अनुसार सबैभन्दा धेरै ठगी युरोप रोजगारीको नाममा भएको छ । युरोपका देश पोल्याण्ड, क्रोयसिया, माल्टा, रोमानीयाजस्ता देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगीमा परेका ३ सय ५२ वटा उजुरी परेको छ ।  यस्तै २ सय ४४ उजुरी भने एजेण्टहरुबाट ठगी भएका छन् भने म्यानपावर कम्पनी विरुद्ध एक महिनामा ७० वटा उजुरी परेको छ । 
 


मलेसिया पठाउने बहानामा ठगी गरेको आरोपमा पक्राउ

मलेसिया पठाउने बहानामा ठगी गरेको आरोपमा पक्राउ


५ असोज । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै तीन लाख ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–२ स्थाई घर भई हाल काठमाडौंको सेतोपुल बस्ने वर्ष ३२ को धनबहादुर बोगटी रहेका छन्। उनले कृष्ण बहादुर बोगटीलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

बोगटीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेतोपुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
 


नौ हजारमध्ये साढे तीन हजार प्रतिष्ठानमा मात्रै श्रम अडिट

नौ हजारमध्ये साढे तीन हजार प्रतिष्ठानमा मात्रै श्रम अडिट


५ असोज । देशका करिब नौ हजारभन्दा बढी प्रतिष्ठानमध्ये तीन हजार पाँच सयले मात्र श्रम अडिट गरेको पाइएको छ। स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले श्रमिकको सेवा, सुविधा, दक्षता अभिवृद्धि गर्न रिफ्रेसमेन्ट तालिमका लागि व्यवसायीले ध्यान दिएमा उक्त सङ्ख्यामा वृद्धि हुने बताए।

उनले श्रम अडिट मापदण्डको कार्यान्वयनले श्रमिकको सही तथ्याङ्क प्राप्त हुने तथा स्वदेशमै रोजगारीको सिर्जना भएर विदेश जानुपर्ने बाध्यता कम हुने बताए। अधिवक्ता श्रेष्ठले यस मापदण्ड श्रम क्षेत्रलाई मर्यादित बनाउन व्यवसायी र श्रमिकबीचको सौहार्दपूर्ण वातावरणमा स्वदेशमै रोजगार सिर्जनाका लागि सहयोगसिद्ध हुने विचार व्यक्त गरे।

उनले यस क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषसँग जोड्न, श्रम ऐनअनुसार तलब, सुविधा दिनेलगायतका विषयमा टानसँग माग राख्ने गरेको सन्दर्भमा यसबारे व्यापक छलफल गरेर स्पष्ट खाका आउनुपर्ने बताए।

होटल एशोसियशन अफ नेपाल (हान) का महासचिव साजन शाक्यले श्रमिक र श्रमसम्बन्धी बनेका ऐन, नीति, मापदण्डहरू श्रमिक र रोजगारदाता दुवैको हितका लागि सहकार्य र समन्वय गर्न सकिने गरी बन्नुपर्ने र यसबारे जनचेतना जगाउन आवश्यक रहेको बताए।


कन्सल्टेन्सीलाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाइने 

कन्सल्टेन्सीलाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाइने 


काठमाडौं, ४ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)लाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिषाको नाममा जानेहरुमा बढी विकृति देखिएको जानकारी दिए ।
मन्त्री भण्डारीले उक्त काम म्यानपावर भन्दा पनि कन्सल्टेन्सीहरुमार्फत अध्ययन र कलेजको नाममा भइरहेको पाइएको बताए । उनले वैदेशिक रोजगार व्यवसायी संघमार्फत वैदेशिक रोजगारीमा जानेहरुमा समस्या नभएको दाबी समेत गरेका छन् ।
मन्त्री सिंहले शैक्षिक परामर्श केन्द्रहरुले वैदेशिक रोजगारीमा पठाउने श्रमिकहरुको रेकर्ड सरकारसँग पनि नभएको बताए । त्यस्ता संस्थाहरुको कुनै उत्तरदायित्व नहुने भन्दै सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले श्रम स्वीकृत लिएर मात्रै जानुपर्ने व्यवस्था प्रतिकूल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले गर्ने यस्तो कार्य रोक्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरिएको बताए ।


भदौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी

भदौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी


काठमाडौं, ४ भदौ । भदौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या करिब दुई वर्षपछि कै कम भएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार करिब दुई वर्षपछि भदौ महिनामा हालसम्मकै कम नेपालीहरु विदेशिएका छन् ।

कोरोना महामारीका कारण प्रभावित भएको वैदेशिक रोजगारी कोभिडपछि ह्वात्तै बढेको थियो । गत वर्ष हालसम्मकै धेरै नेपाली विदेशिएका थिए । तर, यो वर्षको शुरुवात देखिनै रोजगारीमा जानेको संख्या घट्दै गएको पाइएको छ ।

नेपालबाट २०७८ को असोजमा कोभिडले प्रभावित भएको समय ३९ हजार ६७१ जना विदेशिएका थिए । त्यसपछि रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको थियो । त्यसपछि चालु आर्थिक वर्षको भदौ महिनामा २०७८ को असोजपछिकै कम नेपाली युवा विदेशिएका छन् ।

भदौ महिनामा ५० हजार ८८४ जना नेपाली विदेशिएका छन् । गत साउनमा ५५ हजार ५७५ जना नेपाली विदेशिएका थिए । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा भदौ महिना विश्वका १०२ मुलुकमा रोजगारीको खोजीमा पुगेका छन् ।

भदौमा ४४ हजार १९७ जना पुरुष र ६ हजार ६८७ जना महिला रहेका छन् । उक्त अवधिमा ३५ हजार ३०३ जनाले नयाँ श्रम स्वीकृति लिई विदेशिएका छन् भने १५ हजार ५८१ जना पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् ।

भदौ महिनामा नेपालबाट सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (युएई)मा रोजगारीको खोजीमा पुगेका छन । भदौमा मात्रै युएईमा ११ हजार ७०९ जना पुगेको विभागले जनाएको छ । त्यसपछि कतारमा ९ हजार ७६७ जना, साउदी अरेबियामा ८ हजार ८३९ जना, मलेसियामा ८ हजार १६९ जना, कुवेतमा ३ हजार ३६१ जना र माल्टामा १ हजार ५३ जना पुगेका छन् ।

भदौ महिनामा खाडी मुलुकबाहेक युरोपमा जानेको संख्या उच्च छ । भदौमा माल्टामा १ हजार ५३ जना नेपाली रोजगारीको खोजीमा पुगेका छन् । त्यसपछि जापानमा ९४६ जना, क्रोसियामा ८९२ जना, साइप्रसमा ४७७ जना, माल्दिभ्समा ६५९ जना, मौरिससमा ५४६ जना, पोल्यान्डमा २५३ जना, दक्षिण कोरियामा ८७२ जना र रोमनियामा ५४२ जना पुगेका छन् ।

त्यसैगरी, रसियामा १६१ जना, सर्बियामा १५२ जना, बेलायतमा १८७ जना, चीनमा २७५ जनाले चीनका लागि श्रम स्वीकृति लिएका छन् । भदौमा ७३१ वटा म्यानपावरबाट २७ हजार १७१ जना विदेशिएका छन् ।

पछिल्लो समय दक्ष कामदार बढी विदेशिएको पाइएको छ । विगतका वर्षहरुमा अदक्ष कामदार विदेशिदा दुर्घटनालगायत विभिन्न समस्या आएको भन्दै सरकारले तालिममा जोड दिँदै आएको छ । सरकारले हरेक वर्ष हजारौं जनालाई तालिम दिँदै आएको छ । सोहीअनुसार विदेशमा दक्ष कामदार विदेशिने संख्या बढेको विभागले जनाएको छ ।

भदौमा ५० हजार ८८४ जना विदेशिँदा १० हजार ८४९ जना नेपाली मात्रै अदक्ष कामदार विदेशिएका छन् । त्यसबाहेक ३५ हजार ८१० जना दक्ष, ४ हजार ९९ जना अर्धदक्ष, ८७ जना प्रोफेशनल र ३९ जना उच्च दक्ष भएको नेपाली विदेशिएका छन् ।


वैदेशिक रोजगारीः दुई म्यानपावर कारबाहीमा

वैदेशिक रोजगारीः दुई म्यानपावर कारबाहीमा


काठमाडौं, ४ भदौ ।  वैदेशिक रोजगारीमा पठाउन श्रमिकसँग बढी शुल्क लिने र पैसा लिएर पनि विदेश नपठाउने दुई म्यानपावर कम्पनी कारबाहीमा परेका छन् ।

श्रमिकलाई रोजगारीका लागि युक्रेन, रोमानीया र पोल्याण्ड पठाउने भन्दै रकम लिई नपठाएको र लिएको रकम समेत फिर्ता नगरेपछि विभागले युनाइटेड म्यानपावर एजेन्सी प्रालिलाई निलम्बन गरेको छ । यो म्यानपावरले श्रमिकहरूबाट रकम लिएर लामो समयसम्म पनि रोजगारीका लागि पठाएको थिएन ।

श्रमिकहरूले आफूले तिरेको रकम फिर्ता माग्दा समेत नदिएपछि विभागमा उजुरी परेको थियो । म्यानपावरका सञ्चालकलाई पटक पटक सम्पर्क गरी ऐन अनुसार रकम फिर्ता गरी मुद्दाको फरफारकका लागि अनुरोध गरे पनि नटेरेपछि निलम्बन गरेको विभागले जनाएको छ । 

यस्तै युरो एसिया एचआर सोलुसन प्रालिले वैदेशिक रोजगारीमा श्रमिक पठाउन बढी रकम लिएको पाइएपछि लिएको बढी रकम श्रमिकलाई नै फिर्ता गराई विभागले एक लाख रुपैयाँ जरिवाना गराएको छ ।


वैदेशिक रोजगारीः जापान पठाइदिन्छु भन्दै ठगी,  दुई जना पक्राउ

वैदेशिक रोजगारीः जापान पठाइदिन्छु भन्दै ठगी,  दुई जना पक्राउ


काठमाडौं, २ असोज ।वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएका ४५ वर्षीय राजकुमार गुरुङ र सुनसरी घर भएका २८ वर्षीय उदय गुरुङ गरेका छन् ।
दुई जनाले जापानमा कुकमा जागिर लगाइदिन्छु भन्दै टेकप्रसाद गौतमसँग पटक–पटक गरी दुई लाख सत्तरी हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । 
वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले दुई जनालाई घट्टकुलोबाट पक्राउ गरेको हो । दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा पठाइएको छ ।
 


३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन शुरु

३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन शुरु


काठमाडौं, १ असोज । असोज १ देखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सक्ने भएका छन्। राहदानी विभागले आइतबार एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने बताएको हो।

यसअघि विभागमा ६६ पृष्ठको राहदानीका लागि मात्र आवेदन दिन सकिन्थ्यो। गत असारमा ३४ पृष्ठको राहदानी सक्किएपछि विभागले ६६ पृष्ठको राहदानीको शुल्क पनि  ५ हजार रुपैयाँ नै बनाएर त्यही राहदानी दिइरहेको थियो। अहिले ६६ पृष्ठको राहदानी सकिएको छ। अब केही समय ३४ पृष्ठको राहदानीमात्र विभागले उपलब्ध गराउने छ। आइतबारसम्म आवेदन दिएकाहरूले पनि ६६ पृष्ठको राहदानी पनि पाउने छन्।  

 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom