04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


कुवेतमा कारको ठक्करबाट तीन नेपालीको निधन

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको निधन


काठमाडौं, १ चैत । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको निधन भएको छ । कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्की रहेका छन् । 
महबुला क्षेत्रको समुन्द्री किनारस्थित सडकमा तीन नेपालीलाई कारले ठक्कर दिएको थियो । कार कुवेत नागरिकले चलाएका थिए । उनलाई स्थानीय प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । 


श्रम मन्त्रालयमा देखिएका विवादबारे अध्ययन गर्न समिति गठन

श्रम मन्त्रालयमा देखिएका विवादबारे अध्ययन गर्न समिति गठन


काठमाडौं, ३० फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डोल प्रसाद अर्यालले समिति गठन गरेका छन् । श्रम मन्त्रालयसँग सम्बन्धित देखिएका विवादबारे अध्ययन गर्न प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । 
समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादहरूको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिनेछ मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयहरुमा विवाद देखिएको छ । पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपिएस प्रणालीबाट कामदार पटाइरहेको अवस्थाका बिच इ–सेभन (e7)  भिसामा समेत कामदार पठाउने लगायतका विषयमा विवाद देखिएको हो ।
त्यस्तै विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट गठन भएको समितिबाट माग प्रमाणीकरण गर्ने विषय समेत विवाद देखिएको छ । यी विषयहरूमा सञ्चारमाध्यम, कामदार तथा श्रमिक स्वयंबाट समेत गुनासो आएको मन्त्रालयले जनाएको छ ।


वैदेशिक रोजगार विभाग ताहाचलका नासु  घुससहित पक्राउ

वैदेशिक रोजगार विभाग ताहाचलका नासु घुससहित पक्राउ


काठमाडौं, २९ फागुन । ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौला मंगलबार पक्राउ परेका छन् ।  धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई पक्राउ गरेको हो । 

उनले सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  साथै उनको साथबाट श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसमेत बरामद भएको छ । उनीउपर थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत (नायब सुब्वा) लेखापाल प्रमोद निरौला घुस रकम सहित नियन्त्रणमा।


 

प्रेस विज्ञप्ति:- मिति २०८०।११।२९ गते।
----------------------------------------------------

बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत (नायब सुब्वा) लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखापाल प्रमोद निरौलालाई सेवाग्राहीबाट रु.१५,०००।–(पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.७१,६२०।- (एकहत्तर हजार छ सय बीस रुपैयाँ) सहित निजको कार्यकक्षबाट आज मिति २०८०।११।२९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
नरहरि घिमिरे


मलेसियाले विदेशी कामदार नलिने

मलेसियाले विदेशी कामदार नलिने


काठमाडौं, २८ फागुन । मलेसियाले आप्रवासी श्रमिकलाई रोक लगाउने भएको छ । मलेसियाले आगामी जेठ १८ अर्थात् मे ३१ देखि लागू हुनेगरी आप्रवासी श्रमिकलाई रोक लगाउने भएको हो ।

श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको नेपालस्थित मलेसियन दूतावासले जनाएको छ ।

मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भएको दुतावासले जनाएको छ । मलेसियाले उक्त निर्णय एक साता पहिले नै गरेको थियो ।

यद्यपी, मलेशियाले अर्को निर्णय नहुन्जेलका लागि विदेशी कामदारहरू नलिने निर्णय गरेकोबारे नेपाललाई हालसम्म औपचारिक जानकारी नगराएको पनि दूतावासले जनाएको छ । मलेसियाले अनुमति दिइसकेको आप्रवासी श्रमिकलाई मे ३१ अघि नै ल्याइसक्न रोजगारदाता कम्पनीलाई समयसीमा तोकिदिएको छ ।
 


रेमिट्यान्स २१.६० प्रतिशतले बढ्यो, माघसम्ममा ८ खर्ब ३९ अर्ब भित्रियो

रेमिट्यान्स २१.६० प्रतिशतले बढ्यो, माघसम्ममा ८ खर्ब ३९ अर्ब भित्रियो


काठमाडौं, २७ फागुन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महीना अर्थात माघसम्ममा नेपालमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।  पुससम्म ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स आएकोमा माघ महीनामा मात्रै एक खर्ब ५ अर्ब ७८ करोड रुपैयाँले बढेको हो ।

गत आर्थिक वर्षको ७ महीनाको तुलनामा चालु आर्थिक वर्षको माघसम्ममा भित्रिउको रेमिट्यान्स २१.६० प्रतिशतले धेरै हो । २०७९–८० को माघसम्म २७.१ प्रतिशतले वृद्धि भई मुलुकमा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको थियो । अघिल्लो वर्ष २०७८–७९ को सोही अवधिमा भने विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

माघसम्म अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४० प्रतिशतले बढेर ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष २०७८–७९ मा भने यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० जना रहेको छ । २०७९ माघ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ जना र पुनः श्रम स्वीकृतिलिने नेपालीको संख्या १०.१० प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २० प्रतिशतले बढेर ९ खर्ब १० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेर ७खर्ब ५९ अर्ब ११ करोड पुगेको थियो । आव २०७८–७९ मा भने अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।


‘श्रमाधान’ सेवा पुनः सुचारु गरिने

‘श्रमाधान’ सेवा पुनः सुचारु गरिने


काठमाडौं, २४ फागुन । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले श्रमाधान सेवा पुनः सुचारु गर्ने भएका छन् । मन्त्रालयको पदबहाली गरेसँगै उनले श्रम कल सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गरी आन्तरिक तथा आप्रवासी श्रमका समस्या समाधानका लागि प्रभावकारी श्रमाधान सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

यसअघि पहिलोपटक श्रम मन्त्री हुँदा अर्यालले उक्त ‘श्रमाधान’ कार्यक्रम सञ्चालनमा ल्याएका थिए । मन्त्रालयमा रहेको कल सेन्टरलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्दै उनले पहिलो पटक मन्त्री हुँदा १७ माघ २०७९ मा श्रमाधान कार्यक्रमको सुरुवात गरेका थिए । मन्त्री बनेको २२ दिनमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै उक्त कार्यक्रम समेत रोकिएको थियो ।

दोस्रो पटक मन्त्री बनेपछि पदबहाली गर्दै पहिलो निर्णय नै उक्त श्रमाधान कार्यक्रमलाई ब्युँताउने भएका हुन् । जिज्ञासा र समस्या एकद्वार नीतिबाट समाधान गर्ने उद्देश्यले ‘श्रमाधानः २४ घण्टे सहायक केन्द्र’ सञ्चालनमा ल्याउन लागिएको हो । उक्त अभियानमा हप्ताको सातै दिन २४ घण्टा नै सञ्चालनमा रहने मन्त्रालयले जनाएको छ ।


रुसी सेनामा भर्ती गराइदिन्छु भन्दै रुस पठाउने युवती पक्राउ

रुसी सेनामा भर्ती गराइदिन्छु भन्दै रुस पठाउने युवती पक्राउ


काठमाडौं, २२ फागुन । रसियन सेनामा भर्ती गराइदिन्छु भन्दै नक्कली कागजात तयार पारेर भिजिट भिसामा रुस पठाउने एक जना महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लमजुङ दूधपोखरी–१ घरभई हाल काठमाडौं टोखा बस्ने बिनिता गुरुङलाई पक्राउ गरेको हो।

गुरुङले एसएलसी फेल भएका भिमबहादुर बुढाको नक्कली कागजात तयार पारेर भिजिट भिसामा रुस पठाएको प्रहरीले जनाएको छ। गुरुङले बुढालाई रुसी सेनामा भर्ती गराइदिने आश्वासन दिएर रुस पठाएको पाइएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए।

रुस जान ६ लाख ५० हजार लाग्ने भन्दै बुढाबाट गुरुङले पटक–पटक गरी ३ लाख ४६ हजार रकम बुझेको पाइएको छ। रुस पुगेपछि त्यहाँको एयरपोर्टमा बुढाको कागजात नक्कली भन्दै फिर्ता पठाइएपछि यो कुराको खुलासा भएको हो। गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
 


अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि ‘वर्क भिसा’को नियममा कडाइ

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि ‘वर्क भिसा’को नियममा कडाइ


एजेन्सी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि ‘वर्क भिसा’को नियम कडाइ गरेको छ। अस्ट्रेलियाको शिक्षा विभागले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विस्तारित पोस्ट–स्टडी वर्क भिसाको अवधि पहिलाकै समयसीमामा फर्काउने निर्णय गरेको हो।
गत हप्ता गरिएको यो निर्णयले छनौट गरिएका शैक्षिक कार्यक्रमहरुमा अध्ययनरत स्नातक, स्नातकोत्तर र पीएचडी विद्यार्थी प्रभावित हुने देखिन्छ। अब उनीहरुको अध्ययनको स्तरका आधारमा अस्ट्रेलियाको बसाइ २ वर्षदेखि ३ वर्षसम्म सीमित हुनेछ।

अस्ट्रेलियाको शिक्षा विभागले पहिले विस्तार गरिएको पोस्ट–स्टडी वर्क भिसा (४–६ वर्षसम्म)लाई पहिलेकै अवधि २–३ वर्षको मूल अवधिमा फर्काउने निर्णय गरेको हो। यो नियम यही वर्ष २०२४ को मध्यदेखि लागू हुनेछ।

यो निर्णयले ‘वास्तविक विद्यार्थी परीक्षण’को परिचय र वास्तविक अध्ययन अभिप्राय सुनिश्चित गर्न र सीपको कमीलाई सम्बोधन गर्ने उद्देश्यले कठोर भिसा प्रक्रियाका उपायहरु पछ्याउँछ। यो परिवर्तनले ‘भंग भएको’ माइग्रेसन प्रणालीको व्यवस्थापन गर्ने र आगामी २ वर्षभित्रमा कुल आप्रवासी संख्यालाई आधाले घटाउने अस्ट्रेलियाली सरकारको लक्ष्यसँग मिल्दोजुल्दो छ।

अस्ट्रेलियाले क्षेत्रीय स्थानहरुमा अध्ययन गरेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्राथमिकतामा राखेर आवेदन माग गरेर दक्ष कामदारलाई आकर्षित गर्न खोजेको देखिन्छ। जहाँ अध्ययनपश्चात् अतिरिक्त पोस्ट स्टडी वर्कको अधिकार अझै उपलब्ध हुन सक्छन्।

नयाँ ‘वास्तविक विद्यार्थी परीक्षण’ले ‘वास्तविक अस्थायी प्रवेशकर्ता’ आवश्यकतालाई प्रतिस्थापन गर्दछ र वास्तविक अध्ययन अभिप्राय प्रमाणित गर्नमा केन्द्रित हुन्छ। कठोर भिसा प्रक्रियामा आईएलटीएसमा ६.५ अंकको उच्च अंग्रेजी भाषा परीक्षा स्कोर आवश्यकता र अध्ययनपछि वर्क भिसा आवेदकका लागि ३५ वर्षको कम उमेर सीमा समावेश गरिएको छ।


 


मलेसियामा अवैधानिक विदेशी श्रमिक घर फिर्ता हुन पाउने

मलेसियामा अवैधानिक विदेशी श्रमिक घर फिर्ता हुन पाउने


काठमाडौं, १८ फागुन । मलेसियामा अवैधानिक रूपमा बसेका विदेशी श्रमिक घर फिर्ती हुन पाउने भएका छन् । अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई १८ फागुन २०८० देखि १६ पुस २०८१ सम्म घर फिर्ती कार्यक्रम गर्न लागेको हो । माइग्रेसन प्रिपरेशन प्रोग्राम अन्तर्गत बढीमा ५०० मलेसियन रिङ्गिट जरिवाना तिरेर घर फर्किने कार्यक्रम लागू गरेको हो ।
उक्त मौकाका फाइदा उठाउन मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । उक्त कार्यक्रम अन्तर्गत मलेसियामा विना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेका (ओभर स्टे) को हकमा ५०० मलेसियन रिङ्गिट जरिवाना र भिषाको नियम उल्लंघन गरी मलेसियामा बसेकाहरूको हकमा ३०० मलेसियन रिङ्गिट जरिवाना तिर्नुपर्नेछ । 
अवैधानिक रूपमा मलेसिया बस्दै आई घर फर्कन चाहने विदेशी नागरिकको सहरीकरणका लागि अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी दिएको छैन । यसका लागि घर फर्कन चाहने नेपालीले स्वयं उक्त कार्यक्रममा  आबद्ध हुने प्रक्रिया अगाडि बढाउनुपर्ने राजदूतावासले जनाएको छ ।
 


कुवेत पठाइदिने भन्दै श्रीलङ्का पुर्‍याई मानव बेचबिखन, एक जना पक्राउ 

कुवेत पठाइदिने भन्दै श्रीलङ्का पुर्‍याई मानव बेचबिखन, एक जना पक्राउ 


काठमाडौं, १७ फागुन । कुवेत पठाईदिने भन्दै श्रीलंका पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ ठेगाना भएका ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 
मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भिजिट भिषामा श्रीलंकाको कोलम्बो पुर्‍याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका मियालाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको हो । 
पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रूपैयाँ तलबमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भारतको नयाँदिल्ली पुर्‍याई त्यहाँबाट भिजिट भिषामा कोलम्बो पठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको थियो । 
मिया उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।