07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग

अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग


काठमाडौं, २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको छ। 

जिल्ला अदालत काठमाडौंले मंगलबार थुनछेकबहसपछि अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। यो प्रकरणमा पक्राउ परेका अन्य ६ जनासँग धरौटी माग गरिएको छ।

गत बिहीबार दर्ता भएको मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी सिपी पन्थीले जानकारी दिए।


अदालतले गीता शाहसँग ५ लाख रुपैयाँ, रविन अर्याल र पदम लामासँग १/१ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ।

भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको थियो।


उनीहरुले सरकारी कागजात तथा छाप कीर्ते गरेको भन्दै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको माग गरिएको थियो। यस्तै संगठित अपराधको कसुरमा ५ वर्षसम्म कैद र ५ हजार रुपैयाँ जरिवानको माग गरिएको छ।

यस्तै आन्तरिक राजश्व विभागमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी छ।

यही माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।
 


क्रोएसिया पठाइदिने भन्दै १४ लाख ठगेको आरोपमा कौशलटारबाट एक जना पक्राउ

क्रोएसिया पठाइदिने भन्दै १४ लाख ठगेको आरोपमा कौशलटारबाट एक जना पक्राउ


काठमाडौं, २३ माघ । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापति रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रजापतिलाई मंगलबार मध्यान्ह कौशलटारबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रजापतिले रामप्रसाद साहसहित सात जनाबाट १४ लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

क्रोएसियामा पुगेपछि प्रतिष्ठित होटलमा मासिक एक लाख रुपैयाँ तलब हुने आश्वासन देखाएर प्रजापतिले व्यक्तिहरूसँग रकम संकलन गर्न थालेका थिए। प्रतिव्यक्ति १२ लाख रुपैयाँ लागत लाग्ने भन्दै प्रजापतिले रकम संकलन गरेका थिए। रकम संकलन गरेर सम्पर्कविहीन भएपछि पीडितले कार्यालयमा उजुरी दिएका थिए।

उजुरीपछि खोजीका लागि परिचालन भएको प्रहरी टोलीले प्रजापतिलाई पक्राउ गरेको रेग्मीले बताए। पक्राउ परेका प्रजापतिलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उनले बताए।
 


वैदेशिक रोजगार कसुरमा लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

वैदेशिक रोजगार कसुरमा लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश


काठमाडौं, २२ माघ ।  वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायधीकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । लामाविरुद्ध आङपासाङ शेर्पासमेत आठ सय ४५ जनाले रु तीन करोड ९३ लाख १४ हजार तीन सय ३३ र त्यसको ५० प्रतिशत हर्जनासमेत माग गरी उजुरी दिएका थिए ।

“प्रतिवादीबाट हुनसक्ने जोखिम विश्लेषण गर्दा हाल यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६७ बमोजिम पूपक्र्षका लागि थुनामा राख्ने गरी यो आदेश गरिदिएको छ”, जारी आदेशमा भनिएको छ । लामाले न्यायाधिकरण समक्ष दिएको बयान, मिसिल संलग्न नगद बुझिएको रिसिप्ट र चेकसमेतका कागजात र यी प्रतिवादीको बैंक खातामा जाहेरवालाहरुले रकम बुझाएको देखिने बैंक भौचर समेत प्रमाणका आधारमा तत्काल कसुरदार होइनन् भन्ने नदेखिएको आदेशमा उल्लेख छ ।

वैदेशिक रोजगार कसुरमा २०७९ साल पुस २४ मा आङपासाङ शेर्पा, हरिबहादुर थापा समेतले लामाले लिथुनिया, कोरिया, न्युजल्याण्ड, क्यानाडा समेतका देशमा रोजगारीका लागि पढाउने भनी रकम लिई ठगी गरेको भन्दै उजुरी परेको थियो ।

लामालाई गत पुस १६ गते काठमाडौँको शङ्खमूलबाट पक्राउ गरिएको थियो । प्रहरीले लामाको तालिम सेन्टरबाट पीडितहरु नौ सय ३४ थान राहदानी बरामद गरेको थियो । लामाले बिगो बमोजिमको रकम फिर्ता गर्न आफू तयार रहेको बयान दिएका छन् ।
 


इन्टरपोलबाट नोटिस जारी भएका फरार प्रतिवादी तिव्र रूपमा पक्राउ पर्दै

इन्टरपोलबाट नोटिस जारी भएका फरार प्रतिवादी तिव्र रूपमा पक्राउ पर्दै


काठमाडौं, २१ माघ । काठमाडौं, इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार प्रतिवादी खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरूको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ गरी गत पुस पहिलो हप्ता नेपाल ल्याइयो । देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीहरूलाई इन्टरपोलको सक्रियतामा पक्राउ गरी स्वदेश फिर्ता ल्याएर कानूनी पक्रिया अगाडि बढाउने कामले तिव्रता पाएको छ ।    

फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्दछ । सन् १९९१ देखि हालसम्म १ सय ६८ जनाविरूद्ध रेड नोटिस, २४ जना विरूद्ध एल्लो नोटिस, १ जनाविरूद्ध ब्ल्यु नोटिस, १ जनाविरूद्ध ब्ल्याक नोटिस, १ जनाविरूद्ध पर्पल नोटिस र १ सय ३ जनाविरूद्ध  डिफ्युजन नोटिस जारी भएको छ । ती मध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, १ ब्ल्याक नोटिस, १ पर्पल नोटिस र ३५ डिफ्युजन नोटिस हाल कारबाहीको प्रक्रियामा छन् । कारबाहीको प्रक्रियामा रहेका रेड नोटिस जारी भएकामध्ये ५५ जना नेपाली र ६ जना विदेशी नागरिक, एल्लो नोटिस जारी भएका ११ जना नेपाली नागरिक र डिफ्युजन नोटिस जारी भएकामध्ये ३० जना नेपाली र ५ जना विदेशी नागरिक रहेका छन् । 

फरार प्रतिवादीहरूकाविरूद्ध इन्टरपोलद्वारा नोटिस जारी गर्ने र पक्राउ पर्ने क्रम जारी छ । सो क्रममा सन् २०२४ फेब्रुअरी २ तारिखमा मात्र ६ जनाविरूद्ध रेड नोटिस जारी भएको छ । ती मध्ये वैदेशिक रोजगार ठगीमा ४ जना र सहकारी ठगीमा २ जना छन् । नोटिस जारी गर्न एनसीबी काठमाडौंले गर्ने अनुरोधका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “सन् १९६७ देखि एनसिबी काठमाडौंले इन्टरपोलको सुरक्षित एवं बिश्वव्यापी प्रहरी संचार प्रणालीको सुविधाबाट इन्टरपोलका सदस्य राष्ट्रहरुसँग समन्वय र सूचना आदान-प्रदान गर्दै आएको छ । सोही सुविधाकै कारण एनसिबी काठमाडौंले विभिन्न नोटिस एवं डिफ्यूजन जारी गर्नका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गर्ने गर्दछ ।”

नोटिस जारीको साथै विदेशमा फरार रहेका प्रतिवादीहरू इन्टरपोल तथा सम्बन्धित सदस्य राष्ट्रको प्रहरीसँगको समन्वय र सहयोगमा पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सक्रिय छ । यस कार्यलाई पछिल्लो समय उच्च प्राथमिकताका साथ तिव्रता दिएको छ । हालसम्म युएईबाट १९ जना, कतारबाट ९ जना, साउदी अरेबियाबाट ३ जना, भारत  र कुबेतबाट ३/३ जना, मलेसिया/मकाउ र चीनबाट २/२ जना र थाइल्याण्ड/क्यानडा/युएसए/पोर्चुगल तथा बहराईनबाट १/१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याएको   छ । यसैगरी नोटिस तथा डिफ्युजन जारी भएका ४ जनालाई नेपालमा नै पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । पक्राउ पर्नेहरूमध्ये कर्तव्य ज्यान, ठगी, अपहरण, डकैती, वन्यजन्तु अपराध, बैंकिङ कसूर, सुन तस्करी, संगठित अपराध, कीर्ते, लागूऔषध ओसारपसार, साईबर अपराध, वैदेशिक रोजगार ठगी, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लगायत मुद्दाका फरार प्रतिवादी रहेका    छन् । ती प्रतिवादीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने गरिएको छ ।    

वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि रेड नोटिस, वारेन्ट जारी नभएका तथा अनुसन्धान कै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन नोटिस, सनाखत नभएका मानव शवको पहिचान गर्नका लागि ब्ल्याक नोटिस, हराएका मानिसहरूको अन्तर्राष्‍ट्रिय स्तरमा खोजी कार्यका लागि एल्लो नोटिस, अपराधीले अपराध गर्न प्रयोग गरेका हतियार, बिष्‍फोटक प्रदार्थ तथा खतराजन्य अन्य चिजबस्तु लुकाएको स्थानको बारेमा जानकारी दिन ओरेन्ज नोटिस, आपराधिक कार्यविधिको बारेमा जानकारी दिन पर्पल नोटिस, व्यक्तिको आपराधिक क्रियाकलापकबाट सार्वजनिक सुरक्षामा हुनसक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ग्रीन नोटिस तथा अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस जारी हुने गर्छ । फरार प्रतिवादी पक्राउ सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “नेपालमा अपराध गरेर विश्वको जुनसुकै कुनामा गएपनि इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले छोड्दैन ।”

सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १ सय ९६ सदस्य राष्ट्रहरू छन् । नेपाल इन्टरपोलको १०० औँ सदस्य राष्ट्र   हो । हरेक सदस्य राष्‍ट्रमा विश्‍वभरिका सदस्य राष्‍ट्रहरूसँग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) भनिन्छ । नेपाल प्रहरी संगठनका प्रहरी प्रमुखले हेड अफ एनसिबीको भूमिका निर्वाह गर्ने व्यवस्था रहेको छ । हाल प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवर इन्टरपोल नेपालका प्रमुख रहनुभएको छ । 


पर्यटक भिसामा विदेश पठाउने २२ जनाविरुद्ध मुद्दा दायर

पर्यटक भिसामा विदेश पठाउने २२ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं, १८ माघ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भिजिट (पर्यटक) भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमनका अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ सहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरेको हो ।

आरोपी २२ मध्ये १० जना अदालतमा उपस्थित थिए । १२ जना भने फरार छन् ।

गत मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपालीलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले रामेछाप दोरम्बा गाउँपालिका ७ का ट्राभल एजेन्ट पदम तामाङ लामाले दिएको दुई लाख रुपैयाँसमेत बरामद गरेको थियो ।

अध्यागमन अधिकृत खड्काकै बयानका आधारमा अन्य आठ अधिकृतलाई पनि प्रहरीले प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा खड्का र तामाङ मिलेर भिजिट भिसामा विदेश उडाइएका दर्जनौं युवाको सूचीसमेत भेटिएको थियो ।

सरकारी वकिल कार्यालयले चितवनकी गीता शाह, काठमाडौंका अरुण दाहाल, मनोज तामाङ, सिरहाका सरोजकुमार यादव, जाजरकोटका नरवीर खड्का, रामेछापका पदम लामा, स्याङ्जाका रामप्रसाद भण्डारी र रविन अर्याल, गुल्मीका दिनेश ज्ञवाली, ललितपुरका विनोद कार्कीलाई प्रतिवादी बनाइएको छ ।

मुद्दा दायर गरिएकामध्ये रुकुम पश्चिमका ताराबहादुर कुँवर, सिनामंगलमा होटेल सञ्चालक केदारबहादुर खड्का, कास्कीका कुशल बराल, तनहुँका शैलेन्द्र ढकाल, बागलुङका विमल पौडेल, काठमाडौंका विष्णुप्रसाद आचार्य र नुवाकोटका विकास डंगोल भने फरार छन् ।

त्यस्तै स्याङ्जाका पीताम्बर रिमाल, इलामका सुजन फागो लिम्बू, बाराकी कौशिला मगर, सोलुखुम्बुकी लक्ष्मी राई, सिन्धुलीकी रीता दमाईंलाई पनि फरारकै अवस्थामा प्रतिवादी बनाइएको छ । यो मुद्दामा भोलिदेखि थुनछेक बहस हुनेछ ।


माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ

माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं, १७ माघ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१३ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ–१ सुन्दरबस्ती बस्ने वर्ष ३८ को प्रकाश गुरुङ रहेका छन्।
उनले दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, त्यसको लागि ८ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ। निजले पीडितबाट पटक पटक गरी जम्मा ६ लाख १८ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए।

गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १६ गते नयाँ बानेश्चरबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
 


३३ लाख रुपैयाँ ठगेको आरोपमा कन्सलटेन्सी सञ्चालक पक्राउ

३३ लाख रुपैयाँ ठगेको आरोपमा कन्सलटेन्सी सञ्चालक पक्राउ


काठमाडौं, १५ माघ । ठगीमा संलग्न आरोपमा प्रहरीले एकजना कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका–४ घर भएका ३३ वर्षीय रामशरण शिवाकोटी छन् ।
उनी मिराकल कन्सलटेन्सीका सञ्चालक हुन् । युनिसा आलेमगर समेतलाई वैदेशिक रोजगारीमा पठाउँछु भनेर आरोपीले ३३ लाख २ हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।
अजरबैजान जान  ‘प्रतिव्यक्ति १३ लाख लाग्छ’ भनेर अरोपीले ३ जना पीडितबाट ३३ लाख ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रकम लिएपछि फरार भएका उनि लामो सयमदेखि भारतमा लुकेर बसेका थिए । 


६ महिनाको अवधिमा साढे तीन लाखले लिए श्रम स्वीकृति

६ महिनाको अवधिमा साढे तीन लाखले लिए श्रम स्वीकृति


काठमाडौं, १५ माघ । चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो ।

विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको भनाइ छ । 
 


वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


काठमाडौं, १५ माघ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ महाराजगन्ज बस्दै आएका ५४ वर्षीय पृथ्वी राज सिग्देल रहेका छन्। 
उनले मनिराण तिमल्सिनसमेतलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने भन्दै मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्यूरिटी गार्डमा काम लगाइदिने र त्यसको मासिक तलब १ लाख ८० हजार हुन्छ भन्दै प्रलोभन दिएका थिए। उक्त प्रलोभनमा परी पीडितहरुबाट पटक–पटक गरी दुई लाख ७० हजार रुपैयाँ दिएपछि सिग्देल उक्त रकम लिएर सम्पर्कविहीन बनेका थिए। 
आफूहरु ठगिएको भनी पीडितहरुबाट आएको उजुरीका आधारमा प्रहरीले सिग्देललाई १२ गते दिउँसो साढे १२ बजेतिर दरबारमार्गबाट पक्राउ गरेको थियो। पक्राउ परेका सिग्देललाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
 


साउदी अरबद्वारा १० हजार आप्रवासी कामदारलाई देशनिकाला

साउदी अरबद्वारा १० हजार आप्रवासी कामदारलाई देशनिकाला


काठमाडौं, १४ माघ ।  साउदी अरबले आवासीय, श्रम र सीमा कानून उलंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देशबाट निकाला (डिपोर्ट) गरेको छ । डिपोर्ट हुनेमा नेपाली कामदारको सङ्ख्या खुलाइएको छैन । सबैभन्दा बढी यमनी र इथोपियन नागरिक छन् ।
साउदीले अवैध (अलेखबद्ध) रूपमा बस्ने आप्रवासी धरपकड गरी देशनिकाला गर्ने कामलाई तीव्रता दिएको हो । पछिल्लो एक साता मात्रै १९ हजार जनालाई पक्राउ गरेको हो । जसमा ११ हजार ४ सय २७ जनाले आवासीय कानून उल्लङ्घन गरेको छ । चार हजार ६ सय ९७ जनाले सीमा सुरक्षा कानुन र तीन हजार एकसय ९७ जनाले श्रम कानुन उल्लङ्घन गरेका छन् ।

साउदी अरबको आन्तरिक मन्त्रालयद्वारा जारी सूचना अनुसार जनवरीसम्म ५५ हजार ७ सय ५६ जनालाई पक्राउ गरिसकेको छ । ४३ हजार जनालाई निष्कासन गर्नको लागि सम्बन्धित देशको दूतावासलाई ट्राभल डकुमेन्ट जारी गर्न पत्राचार गरिएको जनाएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी रोजगारदाताहरूले नेपाली कामदारको भिसा नवीकरण नगरिदिने, समयमा नपठाइदिने र बिना भिसा काममा लगाइदिने भएकोले कामदारहरू कानुनी परिबन्दमा पर्दै आएका छन् ।