13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


६ महिनाको अवधिमा साढे तीन लाखले लिए श्रम स्वीकृति

६ महिनाको अवधिमा साढे तीन लाखले लिए श्रम स्वीकृति


काठमाडौं, १५ माघ । चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो ।

विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको भनाइ छ । 
 


वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


काठमाडौं, १५ माघ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ महाराजगन्ज बस्दै आएका ५४ वर्षीय पृथ्वी राज सिग्देल रहेका छन्। 
उनले मनिराण तिमल्सिनसमेतलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने भन्दै मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्यूरिटी गार्डमा काम लगाइदिने र त्यसको मासिक तलब १ लाख ८० हजार हुन्छ भन्दै प्रलोभन दिएका थिए। उक्त प्रलोभनमा परी पीडितहरुबाट पटक–पटक गरी दुई लाख ७० हजार रुपैयाँ दिएपछि सिग्देल उक्त रकम लिएर सम्पर्कविहीन बनेका थिए। 
आफूहरु ठगिएको भनी पीडितहरुबाट आएको उजुरीका आधारमा प्रहरीले सिग्देललाई १२ गते दिउँसो साढे १२ बजेतिर दरबारमार्गबाट पक्राउ गरेको थियो। पक्राउ परेका सिग्देललाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
 


साउदी अरबद्वारा १० हजार आप्रवासी कामदारलाई देशनिकाला

साउदी अरबद्वारा १० हजार आप्रवासी कामदारलाई देशनिकाला


काठमाडौं, १४ माघ ।  साउदी अरबले आवासीय, श्रम र सीमा कानून उलंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देशबाट निकाला (डिपोर्ट) गरेको छ । डिपोर्ट हुनेमा नेपाली कामदारको सङ्ख्या खुलाइएको छैन । सबैभन्दा बढी यमनी र इथोपियन नागरिक छन् ।
साउदीले अवैध (अलेखबद्ध) रूपमा बस्ने आप्रवासी धरपकड गरी देशनिकाला गर्ने कामलाई तीव्रता दिएको हो । पछिल्लो एक साता मात्रै १९ हजार जनालाई पक्राउ गरेको हो । जसमा ११ हजार ४ सय २७ जनाले आवासीय कानून उल्लङ्घन गरेको छ । चार हजार ६ सय ९७ जनाले सीमा सुरक्षा कानुन र तीन हजार एकसय ९७ जनाले श्रम कानुन उल्लङ्घन गरेका छन् ।

साउदी अरबको आन्तरिक मन्त्रालयद्वारा जारी सूचना अनुसार जनवरीसम्म ५५ हजार ७ सय ५६ जनालाई पक्राउ गरिसकेको छ । ४३ हजार जनालाई निष्कासन गर्नको लागि सम्बन्धित देशको दूतावासलाई ट्राभल डकुमेन्ट जारी गर्न पत्राचार गरिएको जनाएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी रोजगारदाताहरूले नेपाली कामदारको भिसा नवीकरण नगरिदिने, समयमा नपठाइदिने र बिना भिसा काममा लगाइदिने भएकोले कामदारहरू कानुनी परिबन्दमा पर्दै आएका छन् ।
 


वैदेशिक रोजगारीः पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ 

वैदेशिक रोजगारीः पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ 


काठमाडौं, १२ माघ । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । नुवाकोटका रोजिन न्यौपाने सातजनालाई पोर्चुगल पठाइदिन्छु भनेर रकम असुल गरेको आरोपमा पक्राउ परेका हुन् । उनी काठमाडौंका माछापोखरीबाट पक्राउ परेका हुन् । 

न्यौपानेले प्रतिव्यक्ति दश लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ । उनले पोर्चुगल पुगेपछि कृषि कम्पनीमा मासिक एक लाख २० हजार रुपैयाँ तलब पाउने जागिर लगाइदिने प्रलोभन देखाएर रकम लिने गरेको प्रहरीले जनाएको छ । 
 


स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, यी ५ जनाविरूद्ध मुद्दा दायर

स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, यी ५ जनाविरूद्ध मुद्दा दायर


काठमाडौं, ११ माघ । अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध मुद्दा दायर भएको छ। स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्‍तियारले काठमाडौस्‍थित विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

जसअनुसार गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, नायब सुब्बा सुजन दाहाल, लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साह र माध्यमिक तह शिक्षक श्यामप्रसाद यादवविरूद्ध मुद्दा दायर भएको जनाइएको छ ।

उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ। गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। आ.व. २०७७/०७८ मा सरकारले सशर्त अनुदानतर्फ सामुदायिक विद्यालयका छात्राहरूका लागि नि:शुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएको थियो।


कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन


काठमाडौं, ११ माघ । कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार उनीहरूको पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको छ ।

परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoers.epsnepal.gov.np मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ । भाषा परीक्षाको लागि १ लाख ६४ हजारभन्दा धेरैले आवेदन दिएका छन् ।


 


क्यानडा पठाइदिने भनी अन्तर्वार्ता लिइरहेका बेला ६ जना पक्राउ

क्यानडा पठाइदिने भनी अन्तर्वार्ता लिइरहेका बेला ६ जना पक्राउ


काठमाडौं, ११ माघ । क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जा फेदिखोला गाउँपालिका- ३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३८ वर्षीय प्रदिप उपाध्याय, क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटी स्थायी वतन भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्य प्रदेश भोपाल नगर स्थायी वतन भएका ३२ वर्षीय ईस्मित कौर रहेका छन् ।


पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित एक होटलमा क्यानडा लैजान्छु भनी विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई अन्तर्वार्ता लिई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पार्वती सुनार समेतले छोरी क्यानडामा छ सिधै क्यानडाको भिषा निकाली दिन्छ, विदेशबाट अन्तर्वार्ता लिन मानिस आएका छन भनी प्रलोभन देखाई क्यानडा जानको लागि प्रतिव्यक्ति ३० लाख रूपैयाँ लाग्ने, उक्त रकम अन्तर्वार्ता पास भए पछी दिनु पर्ने र अन्तर्वार्ताको लागि प्रतिव्यक्ति २ हजार रूपैयाँ उठाई अन्तर्वार्ता लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


भिजिट भिसामा विदेश गएर काम खोज्ने प्रवृत्ति रोक्न यात्रा ‘एड्भाइजरी’

भिजिट भिसामा विदेश गएर काम खोज्ने प्रवृत्ति रोक्न यात्रा ‘एड्भाइजरी’


काठमाडौं, १० माघ ।  गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले भ्रमण भिसामा विदेश जाने नेपाली ठगीमा पर्न थालेपछि भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि १३ बुँदे नयाँ यात्रा परामर्श (ट्राभल एड्भाइजरी) र छबुँदे कार्यविधि जारी गरेको छ।   

अध्यामगन विभागबाट आजदेखि लागू हुने गरी उक्त यात्रा परामर्श र कार्यविधि जारी गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी प्रेमप्रसाद दाहालले जानकारी दिए। उनले उक्त परामर्श र कार्यविधि आजैदेखि लागू भएको पनि जानकारी दिए।

‘भिजिट’ र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य भएको जानकारी दिँदै यात्रा एड्भाइजरीमा यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने भएकाले सचेत हुन आग्रह गरिएको छ।

भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीले नक्कली कागजात पेस गर्ने, झुटा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने जनाइएको छ। 

यसैगरी, श्रम गन्तव्य मुलुक कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराइनजस्ता देशमा बिचौलियाको प्रभावमा महिलालाई भिजिट वा पर्यटक भिसामा पुगी ‘वर्किङ’ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलालाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्नेतर्फ पनि सचेत गराइएको छ। 

तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असङ्गठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्नेजस्ता सम्भावना रहेकाले काम गर्ने मनसायले विदेश जाँदा भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएरमात्र प्रस्थान गर्न विभागले अनुरोध गरेको छ।

विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका केही नेपाली यात्री उल्लिखित मितिमा फर्कने गरेको नपाइएकाले असमान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कन पनि अनुरोध गरिएको छ।
  
अन्यथा यसबाट सृजना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र प्रस्थान गर्नुहुन र विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेरमात्र भ्रमण गर्न पनि आग्रह गरिएको छ। 
 


भिजिट भिसासम्बन्धी ६ बुँदे नयाँ कार्यविधि जारी

भिजिट भिसासम्बन्धी ६ बुँदे नयाँ कार्यविधि जारी


काठमाडौं, ९ माघ । सरकारले भिजिट भिसामा  मंगलबारदेखि नयाँ मापदण्ड लागू गरेको छ। पुरानो १७बुँदे मापदण्ड खारेज गरी ६बुँदे नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको हो। पुरानो मापदण्डअनुसार वार्षिक न्यूनतम पाँच लाख आय तथा १२ कक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र आवश्यक हुने प्रावधान थियो। अब दुईतर्फी टिकट, होटेल बुकिङ र पाँच सय अमेरिकी डलर चाहिनेछ। साथै, युएई, बहराइन, कुवेत, कतार, ओमन  र साउदी अरेबिया जानका लागि स्वघोषणा गर्नुपर्ने नयाँ प्रावधान राखिएको छ।
साथै भिजिट भिसामा जानेलाई १४बुँदे यात्रा परामर्श पनि जारी गरिएको छ। भिजिट भिसामा हुने बेथिति रोक्ने र वास्तविक रूपमा घुम्न जानेलाई मात्र प्रस्थान अनुमति दिन नयाँ कार्यविधि लागू गरिएको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए।

दुई वर्षदेखि अध्यागमनमा सचिवस्तरीय निर्णयबाट १७बुँदे मापदण्ड लागू गरिएको थियो। यसबाट नक्कली कागजपत्रको कारखाना खुलेको र सेटिङ बढेको भन्दै त्यसलाई हटाइएको छ। 
प्रहरीले हालै गरेको अनुसन्धानले डेढ लाख रुपैयाँसम्म लेनदेन गरी भिजिट भिसामा सेटिङ हुने गरेको देखाएको छ। जसमा संलग्न अध्यागमन अधिकृत नरवीर खड्कासहितका गिरोहलाई प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ।

भिजिट भिसामा यात्रा अनुमति दिँदा अवलम्बन गर्नुपर्ने कार्यविधि :
१. कम्तीमा ६ महिनाको वैध अवधि भए‌को राहदानी।
२. गन्तव्य देशको प्रवेषाज्ञा (भिसा) वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।
३. दुईतर्फी हवाई टिकट।
४. भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र।

५. भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलरबराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट–क्रेडिट कार्ड)

६. संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्नेछ। स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार (बर्डन अफ प्रुफ) सम्बन्धित व्यक्तिमा रहनेछ।


राहदानीका लागि सेवाग्राहीले छुट्टै बायोमेट्रिक्स दिन नपर्ने

राहदानीका लागि सेवाग्राहीले छुट्टै बायोमेट्रिक्स दिन नपर्ने


काठमाडौं, ८ माघ । परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ। उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुनेछ।


विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको सुरुवात गर्ने बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा भौतिक योजनामन्त्री प्रकाश ज्वालासँगै परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलअनुसार विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको सुरुवात भए सेवाग्रहीले अनलाइनमार्फत् राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत् घरमै राहदानी प्राप्त गर्ने छन्।