16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सूचना प्रविधि


'आर्थिक समृद्धिका लागि आइटी उद्योग बनाउन सरकार तयार'

'आर्थिक समृद्धिका लागि आइटी उद्योग बनाउन सरकार तयार'

भदौ १२, २०७४

काठमाडौं: सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकास गर्न सके मुलुकको कुल ग्राहस्थ उत्पादनमा वृद्धि गर्न सकिने बताएका छन्। राजधानीमा आइसिटेक मिडियाले आयोजना गरेको 'दोस्रो आइसिटी अवार्ड-२०१७' वितरण समारोहमा उनले सूचना प्रविधिको अत्यधिक प्रयोग बढाउन सरकार लागिपरेको बताए।

उनले भने, 'मुलुकको विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ।यसको प्रयोगले आर्थिक समृद्धि पनि हासिल गर्न सकिने भएकाले सूचना प्रविधिको प्रयोग बढाउनुपर्दछ।'सही ढंगबाट सूचना प्रविधिको विकास गरेमा पलायन युवालाई रोक्न सकिने उनको भनाइ थियो। बौद्धिक जनशक्तिलाई नेपालभित्र सामाजिक सुरक्षा दिएर रोक्नुपर्ने धारणा उनले राखे।

सो अवसरमा उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले नेपालले सूचना प्रविधिको प्रयोग गरेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने धारणा राखे। कार्यक्रममा उत्कृष्ट तीन आइटी स्टार्टअप बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवर सोलुसन्स प्रालिका साथै तीन उत्कृष्ट आइसिटी उत्पादक परी, नेपाल भिआर र एभरेस्ट कास्टलाई सम्मान गरिएको थियो।

त्यसैगरी आइसिटी पायोनियर अवार्ड २०१७ र आइसिटी डायस्पोरा अवार्ड क्रमशः प्रोफेसनल कम्प्युटर सिस्टमका प्रबन्ध निर्देशक सुरेशकुमार रेग्मी र इन्सेसान्ट रेन स्टुडियाका संस्थापक किरणभक्त जोशीलाई प्रदान गरिएको थियो।

आइसिटेकका अध्यक्ष राजन लम्सालले सूचना प्रविधिमा काम गर्ने अग्रजलाई सम्‍मान र नयाँलाई अवार्ड कार्यक्रमको आयोजना गरेको बताए। उनले भने, ' विराटनगरबाट सुरु भएको रेडियो कार्यक्रम अहिले राजधानीबाट देशभर फैलिएको छ। यसको रुप अझै फराकिलो र नेपालको आइटी उद्योगमा सम्भावनाको खोजी गर्नेहरु समर्पित रहनेछ।'


काठमाडौंमा इन्टरनेटको नीति, कानूनी प्रयोगबारे सेमिनार सुरु

काठमाडौंमा इन्टरनेटको नीति, कानूनी प्रयोगबारे सेमिनार सुरु

भदौ १२, २०७४

काठमाडौँ: इन्टरनेटका बहुपक्षीय सरोकार भएकाका बीचमा अन्तर्राष्ट्रियस्तरमा मात्र हुने गरेको इन्टरनेटसम्बन्धी सेमीनार 'इन्टरनेट गभर्नेन्स फोरम' नेपालमा पहिलो पटक शुक्रबारदेखि सुरु भएको छ।

इन्टरनेटको नीति, कानूनी प्रयोग र अन्य सरोकारका विषयमा सम्बन्धित सबै पक्षको अनुभव र सुझाव लिने उदेश्यले आयोजना गरिएको सो सेमीनारको महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले उद्घाटन गरे।

इन्टरनेटसँग सरोकार राख्ने नेपालका झण्डै ५० वटा सरकारी तथा गैरसरकारी र व्यापारिक संघसंस्थाको सहकार्यमा भइरहेको कार्यक्रममा विभिन्न क्षेत्रका २०० जनाको सहभागिता रहेको छ। दुई दिनसम्म चल्ने कार्यक्रममा इन्टरनेटसँग सम्बन्धित विभिन्न १२ वटा विषयमा छुट्टाछुट्टै विषयमा कार्यपत्र र समूहगत छलफल हुनेछ।

कार्यक्रमको पहिलो दिन महिला र सूचना प्रविधि, युवा र सूचना प्रविधिको प्रयोग, गोपनियता, तथ्यांक संरक्षण र राष्ट्रिय सुरक्षा, इन्टरनेट इकोसिष्टम तथा प्रकोप न्यूनीकरणमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगजस्ता विषयमा छलफल भएको छ।

इन्टरनेट गभर्नेन्स फोरमको दोस्रो दिन नेपालमा स्मार्ट सिटीको सम्भाव्यता र प्रवद्र्धन, अनलाइन भुक्तानी र इन्टरनेटको पहुँचमा समावेशिता, साइबर सुरक्षालगायत विषयमा छलफल हुने बताइएको छ।

नेपाल इन्टरनेट गभर्नेन्स फोरम २०१७ को संयोजन तथा अध्यक्षता नेपाल सरकारको सूचना तथा प्रविधि विभागले गरिरहेको छ। कार्यक्रमको समन्वय र व्यवस्थापन इन्टरनेट सोसाइटी नेपालले गरेको छ। रासस


नेत्रहीनले पढ्न र सुन्न सक्ने सफ्टवेयर पाए

नेत्रहीनले पढ्न र सुन्न सक्ने सफ्टवेयर पाए

भदौ १२, २०७४

काठमाडौँ : नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । ओसिआर अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् ।

सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर तुरुन्त वर्ड फाइलमा रुपान्तरण गरी यसअघि नै विकसित भएको टेक्स टु स्पिच (टिटिएस)को सहायताले ती स्क्यानिङ टेक्सलाई पढ्न र सुन्न सक्नेमा रुपान्तरण (कन्भर्ट) गर्दछ।

नेपाल नेत्रहीन संघका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा डा बालकृष्ण वल र निराजन पन्तले करिब दुई वर्षको अथक परिश्रमपछि नेपालमा पहिलो पटक नेत्रहीनका लागि सो सफ्टवेयर विकास भएको हो । 
यसका लागि अस्टे«लियन राजदूतावासले संघलाई २४ लाख रुपैया आर्थिक एवं सहयोगसमेत गरेको संघका अध्यक्ष नरबहादुर लिम्बूले जानकारी दिए ।

“सफ्टवेयरले आँखाको विकल्पका रुपमा काम गर्छ, अब नेत्रहीनहरुले पनि सजिलै छापाका अक्षरलगायत अन्य नेपाली अक्षर पढ्न र सुन्न सक्छन् । हाम्रा लागि नयाँ जीवनको सुरुवात् भयो। आँखाको दृष्टि नभएर के भो र ?” उनले भने । 
पछिल्लो जनगणनाअनुसार नेपालका नेत्रहीनको संख्या ९५ हजार मात्र छ । तीमध्ये निजामती सेवामा तीनजना अधिकृत, ११ नायब सुब्बा, एक खरिदार कार्यरत छन् भने निजी, राष्ट्रिय तथा गैरसरकारी संस्थामा ९५ जनामात्र कार्यरत छन् । यसैगरी चार सय नेत्रहीन शिक्षक कार्यरत रहेको संघले जनाएको छ ।

एउटा ल्यापटप तथा स्क्यानिङको उपकरण भएका नेत्रहीनले आफ्नो ल्यापटपमा सो सफ्टवेयर डाउनलोड गरी त्यस्तो सुविधा प्रयोग गर्न सक्छन् । “हामी नेत्रहीनलाई सफ्टवेयर निःशुल्क वितरण गरी कसरी डाउनलोड गर्ने भन्ने विषयमा तालिमसमेत दिने तयारीमा छौँ”, अध्यक्ष लिम्बूले भने ।

नेत्रहीनहरुले यसअघि अंग्रेजी र हिन्दी भाषाका ओसिआर सफ्टवेयर प्रयोगमा ल्याउँदै आएका थिए । नेपाली भाषाको सो सफ्टवेयरले पढेका र सुनेका विषयलाई (टेक्स) ब्रेन लिपिमा समेत प्रिन्ट गर्न सकिने छ । यो सुविधाले छामेर अध्ययन गर्न चाहने नेत्रहीनलाई अति सजिलो हुन्छ ।

“सर यहाँ तोक लगाई दिनुप¥यो अथवा हस्ताक्षर गरिदिनुप¥यो भनेर सरकारी सेवामा कार्यरत अधिकृतलाई सेवाग्राहीले भन्छन् तर उहाँहरुले त्यहाँभित्रका विषय पढ्न र सुन्न सक्नुहुँदैनथ्यो अब यसलाई सफ्टवेयरले सजिलो बनाइदिएको छ”, उनले भने ।

शुरुका दिन संघले एकसय नेत्रहीनलाई सो सफ्टवेयर वितरण गर्ने जनाएको छ। यसपछि ल्यापटप हुनेका लागि सफ्टवेयर, नहुनेका लागि ल्यापटप र डेक्सटप कम्प्युटरसहित सफ्टवेयर वितरणको तयारी गरेको अध्यक्ष लिम्बूले जानकारी दिए ।

उनले एक नेत्रहीन एक ल्यापटप वितरण अभियानसमेत संघबाट अघि सारिएको जानकारी दिँदै यसका लागि रु दुई करोड लाग्ने हुँदा सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । रासस


कुशे औँसी र तीजमा टेलिकमको अफर

कुशे औँसी र तीजमा टेलिकमको अफर

भदौ १२, २०७४

काठमाडौँ : नेपाल टेलिकमले कुशे औँसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका पर्व (तीज)का अवसरमा आफ्ना विभिन्न सेवामा ‘अफर’ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो । यी सबै अफर भदौ ५ देखि १९ गतेसम्म खरिद गर्न सकिने छ ।

युट्युब प्याकेजअन्तर्गत एक सयमा एक जिबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी, ६० मा ५०० एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ। डिस्काउन्टेड प्याकेजअन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुने टेलिकमले जनाएको छ । प्याक १५० अन्तर्गत रु १५० मा ६०० एमबी र प्याक २५० अन्तर्गत रु २५० मा एक जिबी डाटा भोल्युम उपलब्ध हुनेछ ।

यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

युट्युब डाटाका लागि वाईटी १ जीबी वा वाईटी ५०० एमबी र डिस्काउन्टेड डाटा लिनका लागि प्याक १५० वा प्याकके २५० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ । यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने टेलिकमले जनाएको छ । रासस


फेसबुकका सिइओ मार्क जुगरवर्क फेरी बुवा बन्‍दै

फेसबुकका सिइओ मार्क जुगरवर्क फेरी बुवा बन्‍दै

भदौ १२, २०७४

एजेन्सी: फेसबुकका सीईओ मार्क जुगरवर्क दोस्रो पटक बाबु बन्‍ने भएका छन्। उनले आफ्नो सामाजिक सञ्‍जालमा १८ अगस्टमा पुन: बाबु बन्‍ने स्टाटस लेखेका हुन्। पहिलो सन्तान जन्मिएपछि उनी २ महिना छुट्टी लिएका थिए।

उनले पोस्ट्मा लेखेका छन्, ' जब म्याक्स जन्मिकी थिइन्। उसको लागि म २ महिना सुत्केरि विदा लिएको थिए। यही कारण मलाई धेरै खुशी लागेको छ की छोरीसँग म पहिलो महिना धेरै समय बिताउन पाए। '

आफ्नो योजना अनुसार जुगरवर्गले आउने नयाँ सन्तानसँग धेरै रमाउने र म्याक्ससँग पनि रोमाञ्‍चक तरिकाले बिताउने बताएका छन्। उनले फेसबुकमा नयाँ आउने सन्तानको लागि चार महिनाको सुकेरी विदा लिने बताउँदै कामकाजी आमाबुवाले छोराछोरीसँग पुरै समय बिताउनुपर्ने सुझाव दिएका छन्।

पहिलो सन्तान छोरी म्याक्स जन्‍मेपछि उनले ठूलो घोषणा गरेका थिए। जसमा उनले भनेका थिए। पत्नी प्रिन्सेलाले फेसबुक कम्पनीमा ९९ प्रतिशत शेयर दान गर्ने पत्रमार्फत बताएका थिए। उनले पत्रमा प्रविधिले मानिसको लक्ष्‍यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।


बेलायतमा सगुनको कार्यालय खोल्ने प्रक्रिया सुरु

बेलायतमा सगुनको कार्यालय खोल्ने प्रक्रिया सुरु

भदौ १२, २०७४

बेलायत: दोस्रो चरणको शेयर निस्कासनको घोषणासँगै बेलायतवासी नेपालीहरुले देखाएको व्यापक चासोपछि सगनुले बेलायतमा आफ्नो शाखा विस्तारको प्रक्रिया सुरु गरेको छ।

रेडिङमा आयोजित एक कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले बेलायतमा शाखा खोल्ने प्रक्रिया शुरु गरेको घोषणा गरेका हुन्। लगानीको अवसर लिएर आफूहरुमाझ आएकोमा बेलायतमा रहेका नेपाली समुदायले सगुनका संस्थापकसँग खुसी प्रकट गर्दै आभार समेत व्यक्त गरेका छन्।

बेलायतबाट सगुनमा लगानीको अवसरको घोषणासँगै संसारभर रहेका नेपालीहरुले समेत लगानीको बारेमा जिज्ञासा राख्न थालेका छन्। सोसल कमर्श साइट सगुनले बेलायतमा विभिन्न स्थानहरुमा औपचारिक र अनौपचारिक कार्यक्रम गरि शेयर निस्कासनको जानकारी गराएको छ।

नेपालीहरुको वाहुल्य रहेको विभिन्न स्थानमा भएका कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिट तथा डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने नयाँ व्यवस्थाको बारेमा जानकारी गराउँदै लगानीको अवसरको बारेमा बताएका थिए।

विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको बारेमा गिरीले भन्नुभयो, ' क्रेडिट र डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरु सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु।'

शेयर खरिदको लागि सहज बनाउन सगुनले ल्याएको नयाँ व्यवस्थाको बारेमा धेरैले चासो देखाएका थिए। बैङकमै गएर मात्र गर्न सकिने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतीमा क्रेडिट र डेविट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाएपछि धेरैले यसबाट लगानी गर्न सजिलो हुने बताएका छन्। क्रेडिट र डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो।

सगुनले बेलायतमा ५ दिन विभिन्न ९ ठाउँमा कार्यक्रम आयोजना गरेको छ। अगस्ट १९ मा ह्यारो र वेम्व्लीमा, अगस्ट २० मा राइस्लीप र वुलीचमा, अगस्ट २१ मा फार्नवरो र अल्डर्सटमा, अगस्ट २२ मा लेष्टर र रेडिङमा कार्यक्रम गरेको सगुनले २३ मा भने एक अनौपचारिक भेटघाट कार्यक्रम गरेको छ। सबै कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष गरि २५ सय नेपाली समुदायका व्यक्तिहरुसँग सगुनले अन्तर्क्रिया गरेको छ।

गैरआवासिय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले नेपालीहरुले शुरु गरेको सगुनको व्यवसायिक सफलताको कामना गर्दै एउटा नेपालीले शुरु गरेको अभियानलाई सहयोग गर्नु अर्को नेपालीको कर्तव्य भएको बताए। 
यसअघी नै क्रेडिट र डेविट कार्ड मार्फत लगानी गर्ने पहिलो स्टार्ट अप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले वधाई दिनुभएको थियो।

पुर्सेलले भने, 'क्रेडिट र डेविट कार्ड मार्फत लगानी जुटाउने रेगुलेसन ए प्लस अन्तर्गतको काउड फन्डिङ उद्योगको सगुन पहिलो कम्पनी भएको छ । यो सगुनका सम्भावित लगानीकर्ताहरुको लागि क्रान्तिकारी पहल हो। अब लगानीकर्ताहरुले क्रेडिट/ डेविट कार्ड मार्फत समयको सदुपयोग गर्दै घरमै बसीबसी लगानी गर्न सक्नेछन्।'

सगुनले यो दोस्रो चरणमा अमेरिकाकै अग्रणी भुक्तानी प्रसोधन तथा प्रविधि सेवा प्रदायक कम्पनी भान्टिवसँग साझेदारी गरेको छ। भान्टिवले अमेरिकामा २५ अर्ब भुक्तानीहरुलाई सम्पन्न गरेको छ र यसलाई ८ लाखभन्दा बढी किनबेच गर्ने स्थलमा चलाउन मिल्छ।

'सगुन पहिलो रेगुलेशन ए प्रमाणित कम्पनी हो जससँग हामीले क्राउडफन्डिङबाट लगानी जुटाउन सहकार्य गरिरहेका छौं। भान्टिवले सम्भावित लगानीकर्तालाई थप सुविधा दिएको छ जस अनुसार उनीहरुले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्छन्। हामी सगुनलाई उसको लगानीको लक्ष्य भेट्टाउने कार्यमा सहयोग गर्न पाउँदा उत्साहित छौं । सगुनजस्ता नवीन कम्पनीहरुले गर्दा हामीले हाम्रा सरल, छरितो तथा उत्कृष्ट सेवाको प्रदर्शन गर्न पाउँछौं”, भान्टिवका कम्पनी प्रमुख ग्रेग ओर्चले भने।

बेलायतका बिभिन्न कार्यक्रममा सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले बेलायतमा रहेका नेपालीमाझ सगुनको दोस्रो चरणको शेयर निस्कासनको घोषणा गर्न पाउँदा खुसी प्रकट गर्दै लगानीका लागि व्यक्त चासोप्रति आभार प्रकट गरे। सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत सगुनले यस चरणमा २ करोड डलर बराबरको ८ लाख भन्दा वढी कित्ता शेयर विक्रि गर्ने योजना बनाएको छ।

यस शेयर निस्कासनको पहिलो चरणमा ३४ सय भन्दा बढी लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागि हुनुभएको छ। सगुनको यो चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ। शेयर बिक्री कम्पनीको शेयर बिक्री सम्बन्धी सूचनाहरु रहेको वेबसाइट www.sagoon.com/investबाट सञ्चालन गरिने सगुनले बताएको छ।

नेपालीले शुरु गरेको अमेरिकी स्टार्ट अप कम्पनी सगुनमा पहिलो चरणमा लगानी गर्ने अवसर नपाएका तथा छुटेका विश्वभरका नेपाली तथा अन्य सम्भावित लगानीकर्ताहरुलाई पहिलो चरणकै मूल्यमा दोस्रो चरणमा शेयर विक्री गर्ने योजना सगुनको रहेको छ।

सगुनले संसारभर छरिएर रहेका नेपाली समुदाय तथा एशियाली समुदायलाई लक्षित गरि लगानीको योजना सार्वजनिक गरेको छ । सगुन निकट भविष्यमै आफ्नो बहुप्रतिक्षित स्मार्ट कार्ड लिएर आउने तयारीमा छ । यसका लागि सगुनको अमेरिका, भारत र नेपालको टीम संयुक्त रुपमा काम गरिरहेको छ।


मोटोरोलादेखि भिवोसम्मका नयाँ मोबाइल

मोटोरोलादेखि भिवोसम्मका नयाँ मोबाइल

भदौ १२, २०७४

काठमाडौं : गतवर्ष नेपालमा १० वटा नयाँ ब्रान्डका स्मार्टफोन थपिएका थिए । यो कुनै एक वर्षमा नेपालमा भित्रिएका मोबाइलमध्ये अहिलेसम्मकै धेरै हो । गत वर्षजस्तै यो वर्ष पनि विभिन्न ब्रान्ड आफ्ना उत्पादनसहित नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छन् । यो वर्ष विश्वबजारमा परिचित मोटोरोलादेखि चिनियाँ ब्रान्ड भिवोले नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याउने तयारी तयारी गरेका छन् ।

मोटोरोला नेपालीका लागि नयाँ ब्रान्ड भने होइन । सात वर्षअघिसम्म मोटोरोलाका बारफोन नेपाली प्रयोगकर्ताका रोजाइमा थिए । बिस्तारै चिनियाँ ब्रान्डको प्रवेश र स्मार्टफोनको आकर्षणले मोटोरालाका बारफोन नेपालबाट हराएका थिए । तर यस ब्रान्डले पुनः स्मार्टफोनका साथ नेपाली बजारमा प्रवेश गर्ने तयारीमा रहेको बताउँछन् लाइफकम प्रालिका प्रबन्ध निर्देशक तथा मोबाइल आयात संघका महासचिव अमित अग्रवाल ।

मोटोरोलालाई नेपालमा लेनोभोको आधिकारिक बिक्रेता लाइफकमले नै ल्याउने तयारी गरेको हो । नेपालमा पहिलोपटक मोटोरोलाको ‘मोटो सी', ‘मोटो सी प्लस', ‘मोटो ई फोर' र ‘मोटो ई फोर प्लस' गरी चारवटा मोडल सार्वजनिक हुने उनको भनाइ छ । मिड रेन्जको स्मार्टफोनका रूपमा नेपाली बजारमा आउने यी स्मार्टफोनको बजार मूल्य ११ हजार रुपैयाँदेखि २१ हजारको बीचमा रहने कम्पनीले जनाएको छ ।

नेपालमा मोटोरोला, भिवो, टेक्नो, डुगीलगायत ब्रान्डका स्मार्टफोनले यो वर्ष बजार तताउने अपेक्षा गरिएको छ ।

त्यस्तै यो वर्ष नेपाली स्मार्टफोन बजारमा चिनियाँ ब्रान्ड ‘डुगी'को आगमन हुने भएको छ । अदिति ट्रेडलिंक प्रालिले नेपालमा डुगी ब्रान्डको स्मार्टफोनलाई अबको केही समयमै सार्वजनिक गर्ने तयारी गरिरहेको कम्पनीका निर्देशक उमेश अधिकारी बताउँछन् ।

उनका अनुसार कम्पनीले एकैपटक ६ वटा मोडलका स्मार्टफोन नेपाली ग्राहकमाझ सार्वजनिक गर्नेछ, जसमा सुट वान, सुट टू, वाई ६ सी, एक्स १०, एक्स २० र एक्स ३० मोडल रहने उनले बताए । इन्ट्री लेभलदेखि मिड रेन्जका स्मार्टफोन लिएर नेपाली बजारमा भित्रिने तयारीमा रहेको डुगी स्मार्टफोन ६ हजार नौ सय ९९ रुपैयाँदेखि १५ हजार नौ सय ९९ रुपैयाँसम्ममा उपलब्ध हुने अधिकारीले जानकारी दिए ।

अर्को चिनियाँ ब्रान्ड भिवो पनि यो वर्ष नेपाली बजारमा भित्रिनेछ । चिनियाँ ब्रान्ड भिवो एसियाको बजारमा आक्रामक रूपमा विस्तार भइरहेको छ । क्यामरा एन्ड म्युजिक ट्यागलाइनका साथ विश्वबजारमा आएको भिवो ब्रान्डका स्मार्टफोनले नेपाली बजारमा पनि राम्रो प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ । नेपालमा भिवोको भी, वाई र एक्स सिरिजका स्मार्टफोन आउनेछन् । त्यस्तै यो वर्ष नै टेक्नो ब्रान्डका स्मार्टफोनले नेपाली मार्केटमा प्रवेश लिनेछ । चिनियाँ ब्रान्ड टेक्नोले नेपाली मिड रेन्जका स्मार्टफोन सार्वजनिक गर्ने उल्लेख छ ।

नेपालमा टेक्नो आई सिरिजका आई फाइभ, आई फाइभ प्रो, आई थ्री, आई थ्री प्रो र आई सेभेन मोडलका स्मार्टफोन सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसका साथै अर्को चिनियाँ ब्रान्ड आईटेल पनि यो वर्ष नेपालमा भित्रिनेछ ।


बेरेर राख्‍न मिल्‍ने वाटरफ्रुफ कीबोर्ड

बेरेर राख्‍न मिल्‍ने वाटरफ्रुफ कीबोर्ड

भदौ १२, २०७४

प्रविधिको विकासमा कम्‍प्युटर मानिसका लागि पहिलो आवश्यकता बनेको छ । बिनाकम्प्युटर संसार असम्भवजस्तै भइसकेको छ । कम्प्‍युटरको माध्‍यमबाट संसारका कुनै पनि कुनामा भएका घटनासम्बन्धी सूचना क्षणभरमै प्रवाह गर्न सम्भव भएको छ ।

कम्प्युटरलाई प्रभावकारी बनाउन यसमा जडान गरिएका टुल्सहरूको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले समयअनुसार कम्प्युटरमा प्रयोग गरिने टुल्सका नयाँ र प्रभावकारी भर्सनहरू आइरहने गर्छ । त्यसैको एउटा उदाहरण हो, बेरेर राख्न मिल्ने कीबोर्डको विकास ।

बेरेर राख्न मिल्ने कीबोर्ड निकै स्मार्ट शैलीमा निर्माण गरिएको छ । यसलाई 'सुङ्वु फोल्डेबल सिलिकन कीबोर्ड' नाम दिइएको छ । यो कीबोर्ड ट्याब्लेट, स्मार्टफोन र नोटबुक चलाउन निकै उपयोगी साबित भएको छ ।

सुङ्वु फोल्डेबल सिलिकन नाम दिइएको यो कीबोर्ड नरम, धूलोरहित, हल्का, फ्लेक्जिबल र वाटरफ्रुफ पनि छ । टाइप गर्दा आवाज नआउने भएकाले चलाउँदा शान्त महसुस हुन्छ ।

यसको अर्को सजिलो पक्ष भनेको जब काम सकिन्छ, यसलाई बेरेर आवश्‍यकताअनुसार झोला वा कुनै सानो स्पेसमा राखेर बोक्न सनिन्छ । कालो खैरो र‌ङमा उपलब्ध यो कीबोर्ड नरम, धूलोरहित, हल्का, फ्लेक्जिबल र वाटरफ्रुफ पनि छ ।

यसलाई उच्‍च गुणस्तरको नरम सिलिकनबाट तयार गरिएको छ । यो कीबोर्डमा टाइप गर्दा शान्त महसुस हुन्छ । टाइप गर्दा आवाज नआउने भएकाले राति घरमा काम गर्नुपर्दा पनि सुतिरहेका अन्‍य सदस्यलाई डिस्टर्ब हुँदैन । यूएसबी कोर्डको सहायताबाट एप्पलका प्रडक्टमा चलाउन सकिने सुविधा पनि छ । यसको मूल्य २० डलर रहेको छ । एजेन्सीको सहयोगमा


फेसबुकको नयाँ स्टेप भिडियो च्याट डिभाइस्देखि टीभीसम्म

फेसबुकको नयाँ स्टेप भिडियो च्याट डिभाइस्देखि टीभीसम्म

श्रावण २७, २०७४

श्रावण २७, २०७४- फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल । यसको कुल सक्रिय प्रयोगकर्ताको संख्या १ हजार ८ सय ७० मिलियन (एक अर्ब ८७ करोड) रहेको छ । यसै वर्षको जनवरीमा ‘दि स्ट्याटिक्स पोर्टल’ ले सार्वजनिक गरेको तथ्यांकमा फेसबुकपछि ‘वाट्सएप्प’ लोकप्रिय रहेको तथ्य बाहिर ल्याएको छ । यसको एक हजार मिलियन र यति नै संख्यामा ‘फेसबुक म्यासेन्जर’ का प्रयोगकर्ताहरु विश्वभरी रहेका छन् । 

त्यस्तै, सामाजिक सञ्जालहरुमध्ये फेसबुकको अनलाईन प्रयोगकर्ता ७९ प्रतिशत रहेको ‘पिउ रिसर्ज सेन्टर’ को तथ्यांकले देखाएको छ । यो क्षेत्रमा आफ्नो साम्राज्य कायम गर्नका लागि फेसबुकले समय समयमा नयाँ नयाँ फिचर्सहरु प्रयोगकर्ताहरुको माझ ल्याउने गरेको छ । त्यसैक्रममा फेसबुकले ‘भिडियो च्याट’ डिभाइस बनाउनमा आफ्नो ध्यान केन्द्रित गरेको छ । कम्पनीले यसको विकास गर्न सके यो नै उसको पहिलो महत्वपूर्ण हार्डवेयर प्रडक्ट हुनेछ । 

यसलाई फेसबुकको बिल्डिङ ८ ल्याबमा तयारी गरिंदैछ । फेसबुक आफ्नो अगामी ‘एफ ८ डेभलपर कन्फ्रेन्स’ मा उक्त डिभाइसको घोषणा गर्ने तयारीमा जोडतोडका साथ लागेको छ । यो डिभाइसले प्रयोगकर्तालाई ठूलो पर्दा र स्मार्ट क्यामेरा प्रविधिबाट भिडियो कल गर्ने बेला एउटै कोठमा वा स्थानमा बसेर कुराकानी गरिरहेको सुखानुभूति गराउने दाबी कम्पनीको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्ना युजर्सलाई यो डिभाईसमार्फत एकअर्कालाई झनै नजिक ल्याउन चाहेको बताइसकेका छन् । यसो त यो डिभाइसको परीक्षण भइसकेको छ । 

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार फेसबुकले हार्डवेयर प्रडक्टका लागि बिल्डिङ ८ ल्याबै निर्माण गरिसकेको छ । यो ल्याब फेसबुकले अघिल्लो वर्ष नै निर्माण गरेको हो । यसका लागि विश्वकै चर्चित हार्डवेयर विशेषज्ञलाई नियुक्ति पनि गरिसकिएको छ ।  बिल्डिङ ८ ल्याब प्रोजेक्टलाई हाल गूगलका पूर्व कार्यकारी प्रमुख रेजिना डुगनले नेतृत्व गरिरहेका छन् । डुगनले एउटा समारोहमा भनेका थिए, ‘यो ल्याब बनाउनुको उद्देश्य प्रयोगकर्ताका लागि नयाँ हार्डवेयर प्रडक्ट बजारमा ल्याउनु हो । हामी सफलताको नजिक पुगिसकेका छौ । ’

यसैगरी अर्को खुसीको कुरो, फेसबुक ‘टकिङ रोबोट’ समेत बनाउनमा जुटेको छ । सामाजिक सञ्जालमा यूजर्ससंग रोबोटले अन्तरसंवादलाई बढावा दिने दाबी कम्पनीको छ । यसमा ‘एप्पल सिरी’ र ‘अमेजन एलेक्सा’ उपलब्ध ‘भ्वाइस एसिस्टेन्ट फिचर्स’ राखिने फेसबुकका कर्मचारीहरुलाई उदृत गर्दै केही संचार माध्यमहरुले जनाएका छन् । यो रोबोटले प्रयोगकर्तासंग च्याट गर्नेछ र उसको समस्याहरुको समाधान पनि गर्ने छ । त्यस्तै, फेसबुकले ‘स्मार्ट स्पीकर’ समेत बजारमा ल्याउन तयारी गरिरहेको छ । सन २०१८ मा उक्त स्पिकर बजारमा उतार्ने जमर्कोका साथ कम्पनी अघि बढेको छ । १५ इन्चको ‘टच प्यानेल’का साथ बजारमा उपलब्ध हुने भनिएको यो स्पीकरलाई फेसबुकको बिल्डिङ ८ डिपार्टमेन्टमा तयारी गरिंदैछ । यसको डिजाइन बनाइसकिएको छ । पेन्टागन टेक्नोलजीले यसको उत्पादन गर्ने जिम्मा पाएको छ । 

माथि उल्लेखित फिचर्स र डिभाइसहरुमा मात्रै फेसबुक सीमित हुन चाहेको छैन । उसले अब स्क्रिनमै पनि लाईभ अप्सनका साथ क्यामेरा प्रयोग गर्नसकिने अर्को नयाँ फिचर पनि चाँडै ल्याउदैछ । यो फिचरबाट प्रयोगकर्ताले फेसबुक क्यामेराबाट ‘गो लाइभ’ हुन सक्ने छन् । यो ‘अप्सन’ पहिले ‘स्टेटस अपडेट बक्स’ मा ‘लाईभ’ टाइप गरेर एक्टिभ हुन्थ्यो । यसो त यो फिचर्स धेरै हदसम्म इन्स्टाग्रामको ‘लाइभ’ फिचरसंग मिल्दोजुल्दो छ, जुन अघिल्लो वर्ष सार्वजनिक गरिएको थियो । ‘टेकक्रन्च’ को एक रिपोर्ट अनुसार तत्कालका लागि फेसबुकका केही प्रयोगकर्ताले मात्रै यसको उपयोग गर्न फाउने भएका छन् । फेसबुक क्यामेरा स्क्रिन मै प्रयोग गर्न मिल्ने यो फिचर्सको अतिरिक्त फेसबुक क्यामेरासंग जोडिएका सबै फन्सन्सलाई जोडेर एउटा सिंगल स्क्रिन ल्याउने तयारपनि कम्पनीको छ ।  यी नयाँ फिचर्सबाट प्रयोगकर्तालाई फेसबुक पोस्टमा लाइभ भिडियो शेयर गर्ने अप्सनको साटो आफ्नो फेसबुक ‘स्टोरी’ बाटै ‘गो लाईभ’ को अप्सन प्राप्त हुने छ । यसबाट फेसबुक स्टोरी र पोस्ट दुवै एकैपटक ‘गो लाइभ’ हुन सक्छ । सन् २०१५ मा फेसबुकले लाइभ स्ट्रिमिङ सर्भिस सार्वजनिक गरेको थियो । शुरुमा यो चर्चित हस्ति र प्रतिष्ठित व्यक्तिहरुका लागि मात्र उपलब्ध गराएको थियो, पछि यो सबैका लागि खुला गरिएको थियो । 

यसैगरी अगामी दिनहरुमा फेसबुकले आफ्नो ‘न्युज फिड’ लाई अपडेट गर्ने तयारी गरेको छ । यसका लागि फेसबुकले ती वेबसाइटहरुको लिंकमा ध्यान दिनेछ, जुन तीब्र गतिमा लोड हुने गर्छ । कुनैपनि लिंक खोल्न धेरै समय लाग्ने वेबसाइटहरुलाई कम्पनीले विस्तारै बाई–बाई भन्ने सोच बनाएको छ । त्यस्ता वेबसाइटलाई फेसबुकले आफ्नो न्यूज फिडमा कम गर्दै लाने जनाएको छ । फेसबुकका अधिकारीहरुका अनुसार ३ सेकेन्डमा वेबसाइट नखुलेको अवस्थामा ४० प्रतिशत प्रयोगकर्ता त्यस्ता लिंकलाई बन्द गर्ने भएकाले ‘स्लो स्पिड वेबसाइट’ लाई अब हटाउन लागेको हो ।  

यसैबीच अमेरिकाको सनफ्रान्सिस्कोबाट प्राप्त समाचार अनुसार फेसबुकले बुधबार टेलिभिजन मार्केटमा आफ्नो कदम बढाएको छ । फेसबुकले ‘वाच’ नामबाट एउटा सेवा शुरु गरेको छ, जसमा प्रोगाम भिडियो देखाइने छ । ‘वाच’ मा प्रोफेसनल महिला बास्केटवलदेखि सफारी शो र प्यारेन्टिङ प्रोग्राम समेत हेर्न सकिन्छ । शुरुमा यो सेवा अमेरिकाको फेसबुक मोबाइल एप, वेबसाइट र टीभी एप्समा सीमित केही मानिसले मात्रै हेर्न  गर्न सक्ने छन् ।  

फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ–नयाँ स्वाद पस्किने तयारी गरिरहेकै बेला लस भेगासमा जारी कन्ज्युमर इलेक्ट्रोनिक्स प्रदर्शनीमा एउटा ‘सेल्फी ड्रोन’ सार्वजनिक भएको छ । क्रेडिट कार्ड फोल्डर आकारको यो सेल्फी ड्रोन पकेटमा सजिलै अटाउन सक्छ । ‘होब्बिको सी–मी’ नाम दिइएको फोल्डेबल माइक्रो ड्रोनबाट प्रयोगकर्ताहरुले  सेल्फीसंगै भिडियो पनि खिच्न सक्नेछन् । हेब्बिको कम्पनीले बनाएका यो ड्रोनले ३६० डिग्रीमा सेल्फी लिने क्षमताको छ । साथै यसमा फोटो टाइमर, ब्रस्ट मोडलगायतका ‘हाईटेक फिचर्स’ पनि राखिएका छन् । यो ड्रोन हावामा ६ फिट उचाईमा सजिलै उड्न सक्छ । यसलाई १० मिनेटसम्म लगातार हावामा उडाउन सकिन्छ । ८ मेगापिक्सेल क्यामेरा फ्ल्यास लाईट पनि यसमा जडान गरिएको छ । प्रयोगकर्ताले यसलाई फुल एचडी (१०८०पी) भिडियो रेकर्ड गर्न सक्ने छन् । अगामी वर्षको मार्चमा यो बजारमा बिक्रीका लागि ल्याइने तयारीमा कम्पनी लागेको छ ।

 


भिडियो गेमले मस्तिष्कलाई नोक्सान

भिडियो गेमले मस्तिष्कलाई नोक्सान

श्रावण २८, २०७४

श्रावण २८, २०७४- तपाईं खालि एक्सन भिडियो गेम खेल्नुहुन्छ ? सावधान हुनुस् । यसले तपाईंको मस्तिष्कको केन्द्रीय स्नायु प्रणालीको मुख्य अवयवका रूपमा रहेको ‘ग्रे म्याटर’ मा कमी आउन सक्छ । यसले गर्दा तपाईंमा तनाव, सिजोफ्रेनिया र अल्जाइमर जस्ता रोगको खतरा बढ्न सक्छ ।

सय जनाजति महिला–पुरुषमा गरिएको यो अध्ययन मलिक्युलर साइकियाट्री जर्नलमा प्रकाशित छ । उक्त अध्ययनअन्तर्गत ५१ जना पुरुष र ४६ जना महिलालाई थुप्रै एक्सन गेम ९० घण्टासम्म खेल्न दिइएको थियो । गेम खेल्न बानी परेकाहरूको मस्तिष्क स्क्यान गरेर त्यसको तुलना गेम नखेल्ने व्यक्तिसँग गरियो । गेमका अम्मली व्यक्तिको मस्तिष्कमा ग्रे म्याटरको कमी रहेको पाइयो । अध्ययनमा के देखियो भने, गेम खेल्दा मस्तिष्कमा परिवर्तन हुन्छ । 

अनुसन्धानअनुसार, एक्सन गेम खेल्न बानी परेका व्यक्तिको हिप्पोक्याम्पसमा ग्रे म्याटर कम हुन्छ । हिप्पोक्याम्पस मस्तिष्कको यस्तो ठुलो खण्ड हो, जो विगतको अनुभव सम्झिराख्नलाई जिम्मेवार हुन्छ । 

पहिलेका थुप्रै अध्ययनमा के देखिएको थियो भने, हिप्पोक्याम्पसमा कमीले व्यक्तिमा मस्तिष्कसम्बन्धी रोग उत्पन्न हुने जोखिम हुन्छ । यसअन्तर्गत पोस्ट ट्रमाटिक स्ट्रेस डिजअर्डर, अल्जाइमर, सिजोफ्रेनिया र तनाव हुन सक्छ । 

भिडियो गेमले मस्तिष्कको संज्ञानात्मक प्रणालीलाई फाइदा हुन्छ । यो विशेष रूपमा भिजुअल अटेन्सन र कम अवधिको स्मृतिसँग सम्बन्धित छ ।