09 Ashwin, 2080 / 26 September , 2023
डा.रवीन्द्र पाण्डे
अहिले कोरोना महामारी घट्दो ट्रेन्डमा छ | यसका मुख्य कारणहरु :
१. ठूलो जनसंख्याले खोप लगाउनु । खास गरेर चलायमान जनसंख्याले खोप लगाउनु |
२. नाकमुख छोपिने गरी मास्क लगाउनेको संख्या अत्यधिक हुनु |
३. नयाँ प्रजातिको भाइरस नआउनु |
४. थाहा भएर वा नभएर पनि ठूलो जनसंख्या दोस्रो लहरमा संक्रमित हुनु |
खोपले कस्तो काम गरेको छ ?
खोप लगाएपछि संक्रमण सरेका ९८ % लाई सामान्य असरमात्र देखिएको छ | अस्पताल भर्ना हुनु परेको छैन | ठूलो जनसंख्यालाई कोरोना सरेपनि थाहा भएको छैन | रुघाखोकी होला भनेर आराम गर्दा निको भएको छ | खोप लगाएका मान्छेले अन्य व्यक्तिलाई संक्रमण सार्ने सम्भावना अत्यन्त न्यून छ |
दशैंमा बाहिर जान कति सुरक्षित छ ?
यसपटक जनस्वास्थ्यका मापदण्ड पालना गरेर गाउँ जान सुरक्षित छ | सहरबाट गाउँ जाने अधिकांश व्यक्तिले खोप लगाएका छन् | गाउँमा पनि जोखिम र चलायमान बर्गले खोप लगाएको छ | तसर्थ यो पटकको दशैं सुरक्षित छ |
तेस्रो लहर कहिले आउला ? कस्तो होला ?
स्वास्थ्य मन्त्रालयले असोजको १५ देखि तेस्रो लहर सुरु हुन्छ भन्दा हामीले हुँदैन भनेका थियौं | यदि मापदण्डमा हामीले ख्याल गरेनौं र भाइरसको नयाँ प्रजाति देखा पर्यो भने जाडो महिनामा तेस्रो लहर सुरु हुनसक्छ | सरकारले त्यो बेलासम्म देशभर दुइतिहाई जनसंख्यालाई खोप लगाउने तयारी गरेको छ | तसर्थ तेस्रो लहर आएपनि क्षति निकै कम हुन्छ |
बालबालिकालाई तेस्रो लहरले कति असर गर्छ होला ?
अहिले पनि बालबालिका संक्रमित भइरहेका छन् | ९८ % संक्रमित बालबालिका घरमै निको भएका छन् | यसै पनि बालबालिकामा संक्रमणविरुद्ध लड्ने शक्ति राम्रो हुन्छ | तसर्थ तेस्रो लहरमा बालबालिकालाई त्यति ठूलो असर गर्दैन |
कुनै दीर्घरोगका बालबालिकालाई खोप दिने हो भने बालबालिका अस्पताल भर्ना हुने अवस्था नगन्य हुनेछ |
किन सतर्क रहनुपर्छ त ?
भाइरसको म्युटेसन भइरहने तथा यो क्रममा कडा प्रजाति आयो भने त्यो लहर घातक हुनसक्छ | यस्तो प्रजाति आउंछ कि आउदैन ? कहिले आउँछ ? कसैलाई पनि थाहा छैन | जसरी पहिलो लहरमा दैनिक संक्रमितको संख्या ५० – १०० थियो अहिले दैनिक त्यो भन्दा दशौँ गुणा बढी संक्रमितको संख्या बिध्यमान छ | तसर्थ नाक र मुख टपक्क छोपेर मास्क प्रयोग गर्ने हो र खोप लगाउने हो भने संक्रमण सर्ने वा सरेपनि गम्भीर हुने अवस्था आउदैन |
निर्माण क्षेत्रमा काम गर्ने मजदुर, भारतीय मजदुर, फोहोरमैला ब्यबस्थापनमा काम गर्ने व्यक्ति आदि खोपको पहुँच बाहिर छन् | तसर्थ सरकारले उनीहरु लक्षित बिशेष खोप अभियान संचालन गर्नुपर्दछ |
हवाईजहाजबाट नेपाल आउने व्यक्तिले खोप लगाइसकेका तथा पिसिआर टेस्ट अनिबार्य गर्नुपर्ने प्रावधानको कारण यो मार्गबाट आउने व्यक्तिबाट कोरोना फैलिने सम्भावना कम छ |
भारतको युपी तथा बिहारका गाउँमा अझैपनि खोप सर्वसुलभ छैन | तसर्थ स्थलमार्गबाट नेपाल आउने व्यक्तिलाई सिमानामै सिंगल डोज खोप लगाउने ब्यवस्था गर्ने हो भने हामी थप सुरक्षित हुन्छौं }
एकपटक सबै नेपालीले खोप लगाएपछि बुस्टर डोज सुरु गर्नुपर्दछ | यो हुनसक्यो भने हामी निकै सुरक्षित हुन्छौं |
कृपया दशैंमा बसमा बस्दा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, झ्याल खुला राख्ने गर्नुहोला | गाउँमा पनि भीडभाड नगर्ने, मास्क सहि तरिकाले लगाउने गर्नुभयो भने यो पटकका चाडपर्व मनाउन डराउनु पर्दैन |
-डा.अरुणा उप्रेती -
विदेशीको नक्कल गरेर हामीले खानेकुराको भन्दा प्रोटिन, कार्बोहाइड्रेट, लौह तत्त्व, क्याल्सियम आदिको मात्राका बारेमा बढी बुझ्यौं । प्रोटिन पाउन हामी चना र भटमास खाँदैनौं; अनेक बिस्कुट, प्रोटिन क्याप्सुल खान्छौं । पैसा तिरेर रोग ल्याउन तयार रहन्छौं ।
फर्सीको तरकारी मन अमिलो पारेर खान्छौं तर ‘पम्पकिन सुप’ खान पाउँदा भने आनन्द मान्छौं । ‘पम्पकिन’ र फर्सी एउटै हो भन्ने थाहा भएको भए कुरै अर्को हुने थियो । थाहा नपाउनेले ‘सोयाबिन’ वाह भनेर खान्छन्, भटमासको वास्तै गर्दैनन् । भुटेको भात ‘छ्या’ हुन्छ, तर होटलमा गएर ‘फ्राइड राइस’ का लागि बढी पैसा तिर्दा आनन्द लाग्छ ।
मौलिक खानालाई बेवास्ता गरेर बजारका खाना बालबालिकालाई दिँदा कुपोषण भएको हेक्कै हुँदैन हामीलाई ।
शिक्षित आमाबाबुले समेत बालबालिकालाई धेरै मात्रामा चिनी भएका खानेकुरा दिन्छन् र मोटो बनाउँछन् । त्यसले गर्दा किशोरावस्थामा उनीहरूलाई मोटोपन र मुटुको रोगसँगै मधुमेह र मृगौलामा समस्या भइसक्छ
गहुँ, फापर, आलु, बोडी, सिमी सबै नेपालीले प्रयोग गर्ने सस्तो वस्तु भएकाले त्यति वास्ता गरिन्न किनभने ती रंगीचंगी प्याकेटमा आउँदैनन् । तर, प्याकेटमा आएका जंक फुड र महँगा वस्तुचाहिँ बालबालिकालाई दिइन्छ ।
फर्सीको .कुभिन्डो, लौका वा इस्कुस पनि स्वास्थ्यकर हुन्छ भनी ज्ञान जानिन । कुभिन्डो वा लौका फल्यो भने पनि कसैले वास्ता नगर्नाले कुहिएर जान्छ । ‘नजिकको तीर्थ हेला’ भनेको यही होला ।
तर भोलि ‘अंग्रेजी’ जान्ने मान्छे आएर कुभिन्डो, इस्कुस वा लौकाको महत्त्वबारे बोल्यो भने हामी उसको कुरा मान्छौं ।
‘खानालाई सम्पूर्णतामा खानुपर्छ’ भन्ने कहिल्यै सिकेनौं ।
दाँत ,र बिगार्ने तिनै गुलिया र पत्रु खानेकुराहरू नै बालबालिकाले सबैभन्दा बढी मन पराउँछन् । गुलियोको मात्रा धेरै भएको खानेकुरा पाएपछि प्रायः बालबालिकाले अन्य स्वस्थ खाना खाँदैनन् । यसरी खानालाई बालबालिकाको प्रिय बनाउन गुलियोको मात्रा थप्ने व्यावसायिक चलनले जनस्वास्थ्यमा ठूलो नकारात्मक प्रभाव पार्ने गरेको छ । बालबालिकाले घरेलु खाना छोडेर गुलिया बिस्कुट, कुकिज, केक, चकलेट, आइसक्रिम, तयारी जुस, पेय पदार्थ मात्र दिन किन रुचाउँछन् ? त्यस्ता कुरा खान बालबालिकाले कसरी सिके ? कसले खान सिकायो ? कसरी घरमा सधैं उपलब्ध हुने गर्छ ? यस्ता प्रश्नबारे धेरै अभिभावकले ध्यान दिँदैनन् वा आधुनिक अभिभावक बन्ने होडमा बालबालिकालाई त्यस्ता पत्रु खाना खुवाइरहेको हेक्का रहन्न ।
डा.उप्रेतीको फेसबुकबाट
काठमाडौं, २४ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगेकी छन् । कतारबाट काठमाडौँ आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन् ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।
सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।
-डा.रवीन्द्र पाण्डे-
भित्रभित्रै तेस्रो विश्वयुद्धको तयारी भइरहेको थियो | क्षेत्रीय, राजनैतिक, आर्थिक, धार्मिक तथा अन्य कारणले विश्वयुद्ध भएमा त्यसको लागि जल, स्थल तथा नभमा सैनिक तथा शक्तिशाली हतियारको संग्रह बढ्दै थियो | अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया, इजरायल, इरानलगायत विश्वका धेरै देशले आणविक हतियारको निर्माण तथा परीक्षणमा प्रतिष्पर्धा गरिरहेका थिए | अमेरिकाले मात्र २०१९ मा मात्र ७३२ डलर बिलियन सुरक्षा बजेट छुट्याएको थियो भने अन्य शक्तिराष्ट्रले पनि सुरक्षामा ठूलो लगानी गरेका थिए | आरपिगी, एसएएम, एएच – ६४ अपाचे गनशिप, एफ -३५ लाइटिंग २, निमिज क्लास एयर क्राफ्ट क्यारियर, केमिकल विपन, अग्नि मिसाइल, त्रिडेन्ट-२ लगायतका खतरनाक हतियारको संग्रह बढ्दै थियो | एके - ४७ एसल्ट राइफल मात्र ७५ मिलियन थिए भने डेथ नोटजस्ता खतरनाक हतियारको खरिदबिक्रि पनि बढ्दै थियो |
हेक्लर एण्ड कोच, ईस स्निपर राइफल, प्रति मिनेट २०००- ६००० राउण्ड प्रहार गर्ने एम १३४ मिनिगन, युएसआइएनजीका युनाइटेड स्टेट्स नेभीजस्ता (युएसएस जुम्वाल्ट - डीडीजी १००० ) समुन्द्रमा हान्ने युद्ध सामग्री अन्य देशमा पनि रेती लगाएर बसेका थिए | लकिड मार्टिन एफ -३५ लाइटिंग २, छेन्दु जे – २०,सुकोई सु – ५७, डासल्ट राफल, युरोफाइटर टाइफुन, बोइंग एफ – १५ एक्स, जेएफ – १७ थन्डर लगायतका फाइटर जेट तम्तयार भएर बसेका थिए | उत्तर कोरिया लगायतका देशले ब्यालेस्टिक मिसाइलको परीक्षण गरिरहेका थिए | जैविक हतियारहरु विश्वका धेरै प्रयोगशाला भरिभराउ अवस्थामा रहेका थिए | स्टक पाइल्समा अकल्पनीय हतियारको संग्रहालय नै थियो |
पृथ्वीलाई ध्वस्त गर्ने क्षमताका द बि -४१ हाइड्रोजन बम, जार बम, बि ५३ न्युक्लियर बम, १३ हजार ८० वटा न्युक्लियर वारहेडलगायतका धेरै आणविक हतियार पृथ्वीको गर्भमा राखिएको थियो | फोर्स अमेरिका, रसियन एयर फोर्स, द पिपल्स लिबेरेसन एयर फोर्स, इजरायली एयर फोर्स, इन्डियन एयर फोर्स लगायत धेरै देशका एयर फोर्स संख्या तथा गुणबत्ता बढाउन प्रतिष्पर्धा गरिरहेका थिए | त्रिशुल, अग्नि, अर्जुन, भिम क्षेप्यास्त्र भारतले राखेको थियो भने ती भन्दा कयौं गुणा टाढा हान्न सक्ने क्षेप्यास्त्र अमेरिका, रुस, चीन, उत्तर कोरिया लगायतका देशमा थिए | सैनिक ट्यांकको परेडले धरतीमा कम्पन छुटेको थियो |
अमेरिकी राष्ट्रपतिको सुरक्षाकर्मीले कालो सुटकेस बोक्ने गर्दथे | जसलाई न्युक्लियर फुटबल भनिन्छ | यसको स्विच थिच्ने बित्तिकै ठूलो क्षेत्रफल क्षणभरमै ध्वस्त हुन्थ्यो | यस्ता सुटकेस धेरै देशका राष्ट्रप्रमुखसंग थियो | आणविक बमले पृथ्वी ध्वस्त गर्न सक्छौं भन्ने थेगो गौरबको बिषय भएको अवस्थामा साना तथा गरिब देशहरु पनि आफ्ना नागरिकको पेट काटेर फौज र हतियारमा ठूलो लगानी गरिरहेका थिए | पृथ्वी र पृथ्वीबासीको आयु आणविक सन्तुलनमा चलेको थियो |
यसैबीच सन् २०१९ को अन्त्यमा चीनमा देखिएको कोरोना भाइरसले बिमान, जहाज, रेल तथा बसलगायत पुंजिबादको उत्पादनमा चढेर संसारको छातीमा आक्रमण गर्यो | कोरोना भाइरसले विश्वका गरिब राष्ट्रमात्र हैन धनी र शक्तिशाली राष्ट्रलाई पनि उत्तिकै आक्रमण गर्यो |
विश्वलाई ठप्प पारेको कोरोना भाइरससंगको युद्धमा खरबौं डलरका खतरनाक हतियारमा खिया लाग्यो | मास्क, स्यानिटाइजर र खोप अचुक अस्त्र साबित भए | ‘गेट, सेट एण्ड गो ’ को लागि तम्तयार करोडौं सुरक्षाकर्मी र खरबौं डलरका आणविक हतियारका मालिकले भने – मास्क, स्यानिटाइजर र खोपभन्दा अचुक अस्त्र अरु छैन |
डा.पाण्डेको फेसबुकबाट
-डा.अरुणा उप्रेती-
'यस्ता पसलका मिठाईहरू, पेयपदार्थ र बट्टाका जुस नल्याउनू। केही नल्याउनु भए पनि हुन्छ, ल्याउने नै भए फलफूल ल्याउनू। बजारका चिसो पनि नल्याउनू,' मलाई घरमा भेट्न उपहार लिएर आउने प्रायःलाई मैले यही भन्ने गरेकी छु। बजारमा पाइने मिठाई कहाँ बनेको, कसरी बनेको भन्नेप्रति मलाई शंका हुन्छ।
अब जसैतसै चाडपर्व नजिक आउन थालेका छन्, तबतब पत्रिकामा समाचार आउन थाल्छन्, “मिठाई पसलमा सरकारी टोलीले अनुगमन गरेकोबारे। यसअघि समाचार आउने गर्थे, 'मिठाई र रसबरीमा भुसुना र साङ्ला फेला परेकाले मिठाई पसल सिलबन्दी गरिएको छ। वा, काठमाडौंका बागबजार, लाजिम्पाट, न्युरोड, नयाँबानेश्वरमा रहेको प्रसिद्ध मिठाई पसलमा छापा मारेर ढुसी परेको देखेर सरसफाईमा ध्यान दिन र ढुसी परेका मिठाई बिक्री बन्द गर्न निर्देशन दिइएको छ।“
यस्तो निर्देशन दिए पनि व्यापारीले मिठाई नष्ट गर्दैनन् भन्ने थाहा छ, अनुगमन गर्ने टोलीलाई। ती ढुसी परेका मिठाई मिसाएर नयाँ मिठाई बनाइयो भने ढुसी सबै गायब हुन्छ। मिठाई नयाँ नै देखिन्छ तर यसले एकछिन मुख मीठो गराए पनि कालान्तरमा स्वास्थ्यमा ठूलो हानि पुर्याउँछ भन्ने जानकारी प्रायः उपभोक्तालाई हुँदैन।
मिठाईमा परेका साङ्ला फालेर ग्राहकसामु ल्याउँदा त्यसको अवशेष कहाँ देखिन्छ र? अझ कतिजनाले 'साङ्ला त कति देशमा मीठो मानेर खान्छन््, त्यसैले साङ्ला र भुसुना परेर के भयो? बरु शरीरमा मासु पर्यो भने प्रोटिन नै हुन्छ' भन्न बेर छैन।
'हिलोले भरिएको फोहोरी भान्छा सफा गर्नू' भन्ने निर्देशन पनि प्रायः अनुगमन टोलीले दिन्छ, तर त्यो हिलो र फोहोरले भरिएको भान्छा पुनः सफा भयो कि भएन भनेर हेर्न कोही जाँदैन। उपभोक्ता त्यही फोहोर, हिलो खाइरहन्छन्, बिरामी परिरहन्छन्।
चाडपर्व आएपछि बारम्बार सरकारले थप कडाइसाथ अनुगमन गर्ने भनेर वक्तव्य निकाल्छ तर बारम्बार त्यो वक्तव्यलाई मिठाई पसलले बेवास्ता गरेर वागमतीमा बगाइदिन्छ। अझ कति ठाउँमा त सायद वागमतीको नदीजस्तै पानी हालेर मिठाई बनाइन्छ कि? आँखाले नदेखेपछि त्यो मिठाई कुन पानी, कस्तो दूध हालेर बनाइएको छ के थाहा र?
मेरी साथी बिरामी भएर बस्दा उनलाई फलफूलको जुस लिएर आउने मानिस धेरै थिए। उनले जुस खाइनन्, जुसका बट्टा पसलमा बेचेर झन्डै पाँच हजार रुपैयाँ लिइन् र पसलबाट आफूलाई चाहिने दैनिक जीवनका अन्य मालसामान किनिन्।
कति पसलेले मिठाईमा केशर मिसाएको छ भनेर उपभोक्तालाई लोभ्याउने पनि गर्छन्। केशर मिसिएको भनेपछि जिब्रोबाट र्याल चुहिन्छ नै। तर एक किलो केशरको झन्डै चार लाख रुपैयाँ जति पर्छ, मिठाई पसलेले साँच्चि नै केशर हालेर सस्तो र सुलभ तरिकाले मिठाई दिन सक्छ त? भन्ने प्रश्न उपभोक्ताले किन नगर्ने? खान हुने रंग मिठाईमा हाल्यो भने मिठाई एकदमै महँगो हुन्छ, अनि सर्वसाधारणले किन्दैनन्, त्यसैले खान नहुने रंग मिसाएर मिठाईलाई आकर्षक बनायो अनि सस्तोमा बेच्यो। पसले पनि खुसी, उपभोक्ता पनि सस्तोमा राम्रो मिठाई पाइयो भनेर खुसी। उपभोक्ताले यसरी अखाद्य रंगले कसरी स्वास्थ्यमा नराम्रो असर पर्छ भन्ने थाहा पाए भने यस्ता खुसी बिस्तारै हराउँछ।
प्रायः उपभोक्ता यस्तो कुरा थाहा पाउनै चाहँदैनन्। यसरी केलाएर हेरेर त कसरी जिन्दगी चल्छ र? जति आलोचना गरे पनि बाहिरका खाना नखाईकन कहाँ साध्य हुन्छ र? तर मिठाई त चाडपर्वमा मात्र खाइन्छ, त्यतिले त के नराम्रो हुन्छ होला र? भन्ने बुझाइले सबै उपभोक्ता यसरी मन्द विष खाइरहन्छन्। यसरी फोहोरी मिठाई, अखाद्य रंग नखाएर पनि के चाडपर्व मनाउन सकिँदैन र?
डा.उप्रेतीको फेसबुकबाट साभार
काठमाडौं, १८ भदौ । पशुपतिनाथ मन्दिर खोल्ने तयारी गरिएको छ । हरितालिका तीजको आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।
मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताए ।
नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।
कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (तीज) को अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उनले बताए । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन् ।
काठमाडौं, १६ भदौ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश थोरै स्थानहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार भने देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर सामान्य बदली रहि प्रदेश नं १ र बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरूमा वर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ भाद्र १६ गते ( बुधबार)
दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भाद्र १७ गते ( बिहिबार)
दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भाद्र १८ गते ( शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरु तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours
देशको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।
डा.अरुणा उप्रेती
विश्व स्वास्थ्य संघ ( डब्लूएचओ)ले सन् २००२ मै खानेकुरामा चिनीको मात्रा निकै कम हुनुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । ब्रिटिस मेडिकल पत्रिकाले लेखेको छ, ‘सीधै चिनी खानाले मात्र होइन कि चिनी हालेका मिठाई, फलफूलका रस, बिस्कुट आदिमा मिसिएको चिनीले पनि दाँतमा कीरा लाग्न र मोटोपन बढाउन मद्दत गर्छ ।’ बेलायतका कतिपय स्वास्थ्यकर्मीले त चिनीमा कर बढाएर चिनी कम खान प्रेरित गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
‘जहाँ गुलियो, उहीँ बाहुन भुलियो’ भन्ने चलनचल्तीको टुक्का हो । त्यसो त गुलियो वस्तु बाहुन मात्र होइन, प्राय: जातजातिको भोजनमा प्रिय तथा अनिवार्यजस्तो बन्दै गएको छ । हुन पनि परीक्षामा विद्यार्थीको सफलता, कर्मचारीको बढुवा, सन्तान प्राप्ति, विवाहको निर्णय आदि महत्त्वपूर्ण क्षणमा मिठाई बाँडेर खुसी व्यक्त गर्ने चलन सबैतिर छ ।
आफन्तकहाँ जाँदा कोसेलीपात लैजाने अधिकांश परम्परागत परिकार पनि गुलियै हुन्छन् । केटाकेटीलाई पुरस्कारका रूपमा दिने सामग्री पनि मिठाई तथा चकलेट नै हुन् । यसरी केटाकेटीदेखि नै गुलिया वस्तुको सेवन गर्ने बानीले लतका रूपमा जरा गाडिसकेको छ । यस्ता विभिन्न वस्तु दिएर केटाकेटीलाई जीवनभरका लागि अस्वस्थ हुने श्राप दिइरहेको हेक्का हामीलाई नहुन पनि सक्छ ।
त्यसो त अमेरिकाजस्तो देशमा पनि शिक्षित आमाबाबुले बालबच्चालाई गुलिया खानेकुरा दिएकै हुन्छन् । अचाक्ली गुलियो खाएका सन्तानमा किशोरावस्था पुग्दानपुग्दै मोटोपनको समस्याको साथै मुटु, मधुमेह, मिर्गाैला आदिमा समस्या आउन सक्छ । यही कुरालाई लिएर अमेरिकी स्वास्थ्यकर्मी चिन्तित छन् । भविष्यमा निम्तिने स्वास्थ्य, आर्थिक र सामाजिक समस्याका बारे पनि छलफल चलाइरहेका छन् ।
मिठाईबाहेक हामीले दिनदिनै प्रयोग गर्ने अन्य कतिपय वस्तुमा पनि अदृश्य चिनी हुन्छ । अमेरिकी मुटुरोग विशेषज्ञहरूको संस्थाका अनुसार एक दिनमा२५ ग्राम चिनी खान हुन्छ । (झन्डै पाँच चिया चम्चा) धारणा राख्दै आएका छन् ।
नेपालीले दैनिक औसत पाँच चम्चाभन्दा बढी नै चिनी खाने गर्छन् ।
हामीमध्ये धेरैले चिनीलाई हानिकारक खाद्य पदार्थका रूपमा सोच्दैनौँ ।
चिनीले शरीरको प्रतिरोध क्षमता प्रणालीलाई कमजोर बनाउँछ ।
अहिलेसम्म भएका अनुसन्धानका अनुसार धेरै गुलियो खाँदा विशेष गरी दाँत कुहिने रोग केरिज, क्यान्सर, हाड कमजोर हुने रोग, मोटोपन, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, चाँडै वयस्क र बुढ्यौली हुने, शारीरिक दुर्बलता, जोर्नी र छालाका समस्यामा चिनी कुनै न कुनै रूपमा कारक तत्त्वका रूपमा रहेको छ ।
चरा पल्काउने चारोजस्तै हो, चिनी । एकपटक खाएपछि पटकपटक खाने लत लाग्छ, छोड्न पनि कठिन नै हुन्छ । सामान्यत: यस्ता खाद्यवस्तुमा कति मात्रामा चिनी छ भन्ने खुलाइएको हुँदैन ।
अझ सर्वसाधारणले चिनी भनेर प्राय: नबुझ्ने अरू नै विभिन्न आकर्षक व्यापारिक नाम ग्लुकोज, माल्टोज, फ्रुक्टोज, ल्याक्टोज आदि राखिएको हुन्छ । यो सरासर उपभोक्तालाई झुक्याउने बजार रणनीति हो ।
गुलियो सेवन गरेपछि मुखमा रहेका किटाणुले चिनीसँग क्रिया गरी अम्ल उत्पादन गर्छन् । उक्त अम्लले दाँतको इनामेललाई गाल्छ । यो दाँतमा प्वाल पार्ने सुरुआत हो । यो प्वाल पर्ने क्रम भित्रसम्म बढ्दै जान्छ र यस प्वालबाट अम्ल छिरेर गिँजा सहनै नसकिने गरी दुख्छ । दाँत दुख्ने, प्वाल पर्नेजस्ता समस्यालाई बोलीचालीको भाषामा दाँतमा कीरा लागेको भन्ने गरिन्छ । यसको असर वयस्क हुँदासमेत परिरहेको हुन्छ ।
केटाकेटी अवस्थामा बढी गुलिया वस्तु खानाले भविष्यमा मुटुसम्बन्धी रोग लाग्ने जोखिममा वृद्धि हुन्छ । मुटुसँग सम्बन्धित समस्यालाई पहिले नेपालको सहरिया र सम्भ्रान्त परिवारको मात्र समस्याका रूपमा बुझिन्थ्यो । तर, अहिले गाउँसहर र मध्यम तथा निम्न वर्गका मानिसमा पनि यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको छ ।
टेलिभिजनमा कामबाट थकाएको मानिसले ग्लुकोज खाएपछि शक्ति प्राप्त गरेको विज्ञापन देखाइन्छ र सर्वसाधारण यसको विश्वासमा पर्छन् । तर, यो सत्य होइन । खेल्दा र काम गर्दा शरीरको शक्ति खर्च भएर थकाइ लाग्नु स्वाभाविक हो । यसरी थकाइ लाग्नुको प्रमुख कारण शरीरबाट धेरै पानी जानु हो । शरीरबाट खर्च भएर गएको शक्ति अर्थात् ग्लुकोजको मात्रा अन्न समूह तथा फलफूल समूहका नियमित खानाबाटै प्राप्त हुन्छ ।
चिकित्सकले नै सिफारिस गर्नुपर्ने विशेष अवस्थामा बाहेक प्रत्यक्ष ग्लुकोजको आवश्यकता पर्दैन । आधुनिक युगमा चिनीको प्रयोग ठ्याम्मै रोक्नुपर्छ भन्नु त अव्यावहारिक होला तर चिनी नखाएर स्वास्थ्यमा चाहिँ केही फरक पर्दैन भनेर सबैले थाहा पाउनु जरुरी छ ।
‘चिनी स्वास्थ्यको लागि हानिकारक छ । त्यसैले चिनीको सेवन कम गरौं, स्वस्थ रहौँ ।’
डा.उप्रेतीको फेसबुकबाट साभार
काठमाडौं, १० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ ।
मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो ।
केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ को नक्कली रिर्पोट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताए ।
प्रकाशक
नविन कुमार श्रेष्ठ
सम्पादक
विनोद कुमार श्रेष्ठ
प्रबन्ध निर्देशक
कमला श्रेष्ठ
सूचना तथा प्रसारण विभाग
दर्ता प्रमाणपत्र नं.: 1965
Samakhusi, Kathmandu
Phone : 01-4382864
Mobile : 9851013929, 9845082388
Email : newmadd2018@gmail.com
© 2023 Newsajako सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies