09 Ashwin, 2080 / 26 September , 2023
डा.रवीन्द्र पाण्डे
- यो तेस्रो लहर हैन, दोस्रो लहर नै हो |
- दैनिक ३० – ३५ जनाको मृत्यु हुँदा राज्यले सामान्य ठान्नु, मृत्युदर घटाउन आबश्यक ब्यबस्था नगर्नु तथा संबेदनशील नहुनु बिडम्बना हो |
- अधिकांश अस्पतालका आइसीयु, अक्सिजन बेड भरिएका छन् ! जनरल बेड भरिएका छैनन् | यसको अर्थ हुन्छ, सिकिस्त भएपछि मात्र पिसिआर गर्नेको संख्या बढी छ | लक्षण देखिएमा तुरुन्त जांच गरेर उपचार गर्ने हो भने आइसीयुमा पुग्नु पर्दैन |
- परीक्षण सधै १५ – १६ हजार मात्र गर्नुको कारण दोस्रो लहर लम्बिएको छ | दिनमा ५० – ६० हजारको परीक्षण गर्ने तथा संक्रमितलाई होम आइसोलेसन / अस्पतालमा राख्ने हो भने दोस्रो लहरको आयु छोंटो हुन्छ |
- पहिले एग्रिमेन्ट गरेका बाहेक खोपबाहेक अन्य खोप कहिले आउँछ ? कुन देशबाट आउँछ ? त्यो निधो भएको छैन | सरकारले पत्र पठाउदैमा वा दुताबासमा कुरा गर्दैमा खोप आउदैन | खोपको विश्वव्यापी माग ठूलो छ तर उत्पादन सिमित छ | तसर्थ सरकारले अग्रिम भुक्तानी गरेर भारत, चीन, रुस, अमेरिका, बेलायत आदि देशबाट तथा कुटनैतिक लबिंगमार्फत कोभ्याक्सबाट खोप ल्याउने ठोस पहल गर्नु आबश्यक छ |
- जनताले लकडाउनको पहाड बोक्न सक्ने अवस्था छैन | लकडाउन नगर्ने उपाय भनेको जनस्वास्थ्यका मापदण्ड पालना गराउने/ गर्ने नै हो | प्रहरी तथा प्रशाशनले सहरमा काम गरेजस्तो गर्ने तर मान्छेको भीडभाड हुने भित्री बस्तीमा वेवास्ता गर्दा संक्रमण घट्न सकेको छैन | संसारमा जनस्वास्थ्यका मापदण्ड पालना नगराउने देश नेपाल मात्र हो |
- भिजन भएका बिज्ञको योजना अनुसार सरकार चल्नुपर्नेमा एकपछि अर्को सरकारी समिति बनाउनुको अर्थ छैन | सिसिएमसीको काम प्रभावकारी छैन | भर्खर स्वास्थ्य राज्यमन्त्रीको संयोजकत्वमा कर्मचारी सम्मिलित अर्को समिति बनाउनुको अर्थ छैन | कर्मचारीले आफ्मो काम गरिरहेका छन् | सल्लाहकार समितिमा सरकार बाहिरका स्वतन्त्र बिज्ञको समिति बनाउनु पर्ने थियो |
- तेस्रो लहर आयो भने ठूलो क्षति हुँदैन | तथापि एकजनाको मृत्यु हुनु पनि त्यो परिवारको लागि १०० % क्षति हो |
- खोपको भण्डारण, परिबहन तथा मापदण्डमा गुणस्तर कायम गर्न नसकेमा खोपले काम गर्दैन | पुरै डोज खोप लगाएका व्यक्तिहरु किन अस्पताल भर्ना भएका छन् ? कति महिनामा एन्टिबोडी कस्तो भएको छ ? बुस्टर डोज आबश्यक छ कि छैन ? यसको अध्ययन हुनु जरुरी छ |
- नाकमुनी र चिउडोमा खोप लगाउने तथा खोपको लाइनमा बस्नेबाट संक्रमण फैलिएको छ | सहि तरिकाले मास्क लगाउन सिकाउने, खोप केन्द्र बढाउने तथा खोप केन्द्रमा पूर्णतया जनस्वास्थ्यका मापदण्ड पालना गराउन ढिलो भइरहेको छ |
- अहिले भाइरल ज्वरो बढिरहेको छ | कोभिड र भाइरल ज्वरोको लक्षण मिल्दोजुल्दो हुन्छ | तसर्थ यो बारे आम नागरिकलाई सुचित गर्नु राज्यको दायित्व हो |
- नयाँ प्रजातिको बारे निरन्तर अध्ययन / अनुसन्धान गर्ने तथा एन्टिबोडी छल्ने प्रजाति आए / नआएको पत्ता लगाउने काम नियमित गर्नुपर्दछ |
- दोस्रो लहरमा संक्रमण भएर प्राप्त एन्टिबोडी, खोप, भारत तथा विदेशबाट आउने व्यक्तिले खोप लगाएको तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेको संख्या बढेको र दोस्रो लहरमा स्वास्थ्य संस्थामा अक्सिजन बेड बढेको कारण तेस्रो लहरले धेरै क्षति गर्दैन | तसर्थ आत्तिनुपर्दैन |
- कोरियामा चौथो लहर तथा इरानमा पाँचौं लहर फैलिएको छ | तसर्थ तेस्रो लहर आउन नदिनको लागि यसपटक हामी आम नागरिकले घरेलु वातावरणमा सुरक्षित तरिकाले चाडपर्व मनाउनु जरुरी छ |
- बालबालिकाको खोप फाल्गुण वा चैत्रमा ल्याउने सरकारको सेडुल परिवर्तन गर्नु जरुरी छ | जति सक्दो छिटो खोप ल्याएर शैक्षिक संस्था सुरक्षितरुपमा संचालन गर्नुपर्दछ | कोभ्याक्ससंग यसको लागि समन्वय गर्नु पर्दछ |
- परिणाममुखी काम गर्नको लागि भिजन र समर्पण चाहिन्छ | राइट म्यान : राइट प्लेस नहुनु नै हाम्रो बिडम्बना हो |
डा.पाण्डेको फेसबुकबाट
-डा.अरुणा उप्रेती-
मलाई कोभिडको संक्रमण भयो । म शाकाहारी भएकोले मैले क्वाँटी, चना, आलु, कुरिलोको रस पर्याप्त खाएँ । बिशेषगरी क्वाँटीको रस पकाएर झोल मात्रै खाएँ । खाँदा माथिपट्टिबाट हरियो धनिया र कागती हालेकोले स्वादिलो भयो,स्वास्थ्य पनि राम्रो भयो ।
कोरोनाबाट संक्रमित ब्यक्तिहरूलाई मासु, खुट्टीको रस खानुपर्छ भनेर भनेपछि शाकाहारीले पनि जबरजस्ती मासुको रस खाए, शाकाहारी वा मासांहारी हुनु आफ्नो इच्छा, संस्कृती र संस्कारमा भर पर्छ । तर कुनै संक्रमण भएर तंग्रिनलाई चाहिँ मासुको रस नै खानुपर्छ भन्ने छैन ।
टुसा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ ।
महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो । उनीहरूको परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाँटी खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ ।
क्वाँटी कसरी फाइदाजनक ?
टुसा उमारेको क्वाँटी प्रोटिनको खानी हो । किनभने, यसमा थुप्रै किसिमका गेडागुडी मिसाइएका हुन्छन् । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन 10 गुणा बढ्न जान्छन् । त्यसैले सय रूपैयाँको सुक्खा क्वाँटी ल्याएर टुसा उमारेर खाने हो भने ४ सय रूपैयाँसम्मको फाइदा लिन सकिन्छ ।
क्वाँटी जीवन्त खाना हो, पचाउन पनि निकै सजिलो हुन्छ । दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाँटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने सम्भावना ज्यादै न्यून हुन्छ । क्वाँटी बनाएपछि हामी जिम्मु, जिराले झानेर तयार गर्छौं ।
बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाँटी खान दिने गरिन्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन ।
गर्भवतीमा रगतको कमी नभएपछि भ्रूण वा पेटको बच्चा पनि राम्रो हुन्छ । गर्भवतीमा मात्र नभएर सुत्केरी भएपछि पनि क्वाँटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसको सेवनले महिलाको दूध राम्रोसँग आउने हुँदा बच्चालाई पर्याप्त मात्रामा दूध प्राप्त हुन्छ ।
क्वाँटीको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, जसले आमाको दूध पनि बढाउने गर्छ । त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाँटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ ।
कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका वेला पनि क्वाँटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा–मासु खाँदैनन्, उनीहरूका लागि क्वाँटी अति उपयोगी हुन्छ ।
क्वाँटीले प्रोटिन तथा अन्य पोषकतत्त्व प्रदान गर्छ । ।
क्वाँटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । क्वाँटीलाई पिसेर मकै पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ । किनभने, मकैमा भएको कार्बोहाइड्रेट, क्वाँटीमा भएका विभिन्न किसिमका सूक्ष्म पोषकतत्त्व मिलेपछि असाध्यै राम्रो खाद्यवस्तु बन्छ ।
अन्य फाइदा
क्वाँटी शक्तिवर्धक एवम् पौष्टिक आहार हो । यसमा भिटामिन बीका सबैजसो प्रकार पाइन्छन् । क्वाँटीको सेवनले–
– आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
– रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । ।
– कब्जियतको / पायल्स भएकालाई फाइदाजनक मानिन्छ
हाम्रो संस्कृतीमा क्वाँटीको रस खाने विशेष दिन छ, अन्य बेलामा पनि क्वाँटीको रस खाँदा शरीर स्वस्थ रहन्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ ।
ठुसा उमारेको कुनै पनि गेडागुडी जस्तो चना, मटर, केराउ, बोडी, बकुला, मेथी मात्र होइन कि आलस, तिल, बदाम पनि टुसा उमारेर खान सकिन्छ ।
डा.अरुणा उप्रेतीकाे फेसबुकबाट
मास्कले कसरी कोरोना भाइरसलाई रोक्दछ ?
कोरोना भाइरस ०.०६ देखि ०.१४ माइक्रोनको हुन्छ | N95 मास्कको छिद्र ०.१ देखि ०.३ माइक्रोन हुन्छ भने सर्जिकल मास्कको छिद्र ०.३ देखि १० माइक्रोनको हुन्छ |
- कोरोना भाइरस आफै उडेर मास्कमा आउँदैन | संक्रमितले बोल्दा, खोक्दा तथा हाच्छ्यूं गर्दा थुक / सिंगान / र्यालका साना कणसंग उछिट्टिएर हामीले लगाएको मास्क्मा आउँछ | ती कणको साइज हाम्रो मास्कको छिद्रभन्दा धेरै गुणा ठूला हुन्छन् | बोल्दा / खोक्दा / हाच्छ्युं गर्दा आउने ड्रपलेट २० देखि २००० माइक्रोमिटरका हुन्छन् | ठूला ड्रपलेट तुरुन्तै भुइंमा खस्छन भने साना ड्रपलेट बाष्पिकरण भएर केहि सेकेन्डमा उड्छन् |
- यदि हामीले डबल मास्क लगायौं भने एउटा मास्कको छिद्र अर्को मास्कले छोप्ने गर्दछ | तसर्थ ड्रपलेटमा रहेको कोरोना भाइरस मास्कभित्र पस्न सक्दैन |
२. मास्क लगाएपछि कार्बनडाइअक्साइड कसरी मुख बाहिर जान्छ ? हामीले कसरी अक्सिजन प्राप्त गर्छौं ?
- मास्कबाट कार्बनडाइअक्साइड बाहिर जानको लागि कुनै समस्या हुँदैन | कार्बनडाइअक्साइड पार्टिकल ०.०००६५ माइक्रोन र अक्सिजन पार्टिकल ०.०००५ माइक्रोनको हुन्छ | मास्कको छिद्र सास लिने र छोड्ने प्रक्रियाको लागि पर्याप्त साइजको हुन्छ | तसर्थ मास्क लगाएको व्यक्तिले आफुले फालेको कार्बनडाइअक्साइड सास लिनुपर्दैन |
- जुनसुकै पनि मास्क बानी नपर्ने बेलासम्म सास फेर्न गाह्रो भएजस्तो लाग्छ | बानी परेपछि सहज हुन्छ |
.तसर्थ मास्क सबैभन्दा ठूलो कवच हो | खोपबाट भित्री र मास्कबाट बाहिरी सुरक्षा घेरा बनायौं भने हामीले संक्रमण भोग्नुपर्दैन | कारणबश संक्रमण भएपनि सिकिस्त हुने वा मृत्यु हुने अवस्था हुँदैन |
-डा.अरुणा उप्रेती-
पर्याप्त मात्रामा घाममा नबस्ने, वातानुकूलित कोठामा मात्र बस्ने, घाममा हिँड्दा छाला कालो हुन्छ भनेर लामा पहिरन लगाएर हिँड्ने भएकाले झन्डै ६९ प्रतिशत भारतीयमा भिटामिन डीको कमी देखिएको कुरा टाइम्स अफ इन्डियाको जुलाई २०, २०१५ मा प्रकाशित एउटा समाचारमा उल्लेख छ ।
मैले चिनेकी निशा नामकी एक महिलामा थकाइ लाग्ने, हातखुट्टा दुखिरहने, बिहान उठ्दा पनि आराम गरेको अनुभूति नहुने समस्या थियो । उनी समस्या लामो समयसम्म तानिएपछि डाक्टरकहाँ गइन् । धेरै डाक्टरकहाँ गैसकेपछि बल्ल एकदिन कुनै स्त्रीरोग विशेषज्ञले उनलाई भिटामिन डीको जाँच गराउन भनिन् ।
मेरी ५० वर्षीया साथी सपनाले भनेकी थिइन्–‘अमेरिकाको बोस्टनमा बस्दा मेरो जिउ र ढाड कटकटी दुख्ने र एकदम थकाइ लाग्ने भएपछि डाक्टरकहाँ गएँ । उनले रगत जाँच गरी मेरो शरीरमा भिटामिन डिको कमी भएको र बिस्तारै हड्डी फुसफुसे हुने समस्या देखापर्ने कुरा बताए । केही समयका लागि उनले भिटामिन डीको चक्की दिएर भने–तपाईं नेपाल गएपछि यो चक्की खानु पर्दैन ।वर्षभरि नै घाम लागिरहने तपार्इंको देशमा त भिटामिन डी छताछुल्ल छ । हरेक दिन १५–२० मिनेट सीधै घाम छालामा पर्ने गरी बस्नुहोस् । बोस्टनमा पो धेरै समय घाममा बस्न पाइँदैन । जहिले पनि एयर कन्डिसन र कोठामा बस्दा यस्तो हुन्छ । चिकित्सकको कुराले आँखा खुलेपछि सपना भन्छिन्–काठमाडौं आएपछि म हरेक दिन घाममा बस्ने गरेकी छु ।’ यद्यपि सबै महिला सपनाजस्तै नियमित रूपमा घाममा बस्दैनन् ।
सानो उ
डा.अरुणा उप्रेती
मेरका शिशुलाई भिटामिन डीको कमी भयो भने उनीहरूको हड्डी कमजोर हुँदै जान्छ । हड्डी बाङ्गो भएर हिँड्नसमेत गाह्रो हुन सक्छ । यस्तो अवस्था अहिले धेरै कम देखिए पनि काठमाडौं उपत्यकाको कहिल्यै घाम नपुग्ने गल्लीहरूमा बस्ने बालबालिकालाई यस्तो समस्या हुनसक्छ ।
पहिले–पहिले घाममा राखेर सुत्केरी महिला र शिशुलाई तेल लगाउने चलन थियो तर आधुनिकतामा परेर शिशुलाई घाममा नराख्ने, तेल नलगाउने तथा कोठामा राखेर पाउडर दलिदिने चलन छ । यस्तो व्यवहारका कारण सुत्केरी आमा तथा शिशुको शरीरमा भिटामिन डी पुग्न पाउँदैन र अनेकौं समस्या सिर्जना हुन्छन् । अहिलेका आमाहरूले घाममा बसेर तेल लगाउने चलन बिर्सिए भने आमा तथा शिशुलाई समस्या पर्नसक्छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने ६० वर्षीया ज्योति श्रेष्ठले मलाई भनेकी थिइन्–‘मैले दस वर्षसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरें । ढाड र हाड दुखे पनि सहेर काम गरिरहें, डाक्टरलाई देखाउँदा उनले भिटामिन डीको कमीका कारण यस्तो भएको बताउँदै मलाई घाममा बस्न भनेका थिए तर बिहानदेखि बेलुकासम्म कामको चक्करमा घाममा बस्ने फुर्सद कहाँ हुनु ? अहिले मेरो ढाड, घुँडा सबै दुख्छन् । औषधि खान्छु तर पीडा कम हुँदैन । सम्भवत: काम गर्दा केही समय आफ्नो शरीरका लागि छुट्याएको भए आज मलाई यति गाह्रो हुँदैनथ्यो । ज्योतिले पछि मलाई इमेल लेखेकी थिइन्–‘मेरो तौल १० किलो घटेको छ । त्यसले गर्दा अनुहारमा चाउरी परेको छ । अहिले त म घाममा बस्न पनि थालेकी छु । पीडा त अझै छ ।’ ज्योतिको यो भनाइ उदाहरण बन्न सक्छ । यसले समयमै घाममा बस्नुपर्छ भनेर सिकाउँछ ।
अहिले धेरै औषधि कम्पनीले सकेसम्म बढी मानिसले क्याल्सियम र भिटामिन डी प्रयोग गर्नुपर्छ भन्ने कुरा बाहिर ल्याउँदैछन्, विदेशमा पनि स्वास्थ्यकर्मीले महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम तथा भिटामिन डीका चक्की दिन थाल्छन् । जुनसुकै समस्या औषधिले मात्र समाधान गर्ने हाम्रो बानीका कारण हामी प्राकृतिक कुरा उपयोग गर्न बिर्सदै एवं चुक्दै गएका छौं ।
घाम नलाग्ने देशहरूमा भिटामिन डीको चक्की वा खानामा भिटामिन डी मिसाएर दिनुको औचित्य होला, तर नेपालमा त्यसको औचित्य छैन । भिटामिन डीको चक्कीले केवल औषधि कम्पनी तथा पसलको आम्दानी बढाउँछ । यसले स्वास्थ्यमा पनि सकारात्मक असर गर्दैन । म ६o वर्षकी भएँ । म भिटामिन डी प्राप्त गर्न घाममा बस्छु । क्याल्सियमका लागि ज्वानो, आलस, तिल, दूध, दही, गहत तथा सिमी आदि खान्छु । मलाई अहिलेसम्म भिटामीन डीको कमी भएर ढाड तथा हड्डी दुखेको छैन ।
भिटामिन डी बोसोमा घुलनशील भएर लामो समय रहने हुनाले एक–दुई दिन घाममा नबस्दैमा खासै समस्या परिहाल्दैन । त्यसैले वर्षाका दिनहरूमा घाममा बस्न पाइन भनेर चिन्ता गर्नुपर्दैन । छालामा सीधै सूर्यको किरण पुग्ने गरी हप्तामा ४–५ दिन, २०–२५ मिनेटका लागि बसे पुग्छ ।
जाडोमा कुनै खुल्ला मैदानमा घाममा बसेर सुन्तला र बदाम खाँदा कति आनन्द आउँछ तर त्यसले आनन्द मात्र दिँदैन कि स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ भन्ने कुरा हामीलाई पत्तो हुँदैन । सबैलाई घाम चाहिन्छ, शारीरिक विकासका लागि मात्र होइन मानसिक रूपमा स्वस्थ रहन पनि घाम आवश्यक छ ।
डा.उप्रेतीको फेसबुकबाट साभार
-डा.रवीन्द्र पाण्डे-
कोरोना संक्रमण बढ्दो ग्राफमा छ । शुक्रबारसम्म सात लाख ७७ हजार ५८९ जना संक्रमित पुगेका छन् । सक्रिय सङ्क्रमित ३४ हजार ९४२ जना रहेका छन् । शुक्रबारसम्म कुल छ लाख ६५ हजार ५४८ जना निको भइ घर फर्किएका हुन् । यस्तै शुक्रबार कोभिडका कारण ३५ जनाको निधन भएको छ । अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो ।
अहिले समुदायमा परीक्षण भएको छैन । कन्ट्याक्ट ट्रेसिङ पनि छैन । सरकारले परिस्थिति विषम आउनुअघिं नै युद्धस्तरमा महामारी नियन्त्रणको लागि बिशेष रणनीति बनाएर कार्यन्वयन गर्नु जरुरी छ । अब हामीसँग ढिलो गर्ने समय छैन । विश्वभर नै डेल्टा प्रजातिको संक्रमण द्रुतगतिमा बढिरहेको छ । छिमेकी देश भारतमा समेत तेस्रो लहरको संकेत देखिएको छ । अहिले नै कडा कदम नचाल्ने हो भने यो लहरले निकै जनधनको क्षति गर्नेछ । तसर्थ, निम्न लिखित उपायहरु स्वास्थ्य तथा गृह मन्त्रालयबीच समन्वय गरेर तत्काल गर्नु आवश्यक छ ।
१. खोप केन्द्र जनसंख्याको अनुपातमा धेरैवटा बनाएर तीब्रगतिमा खोप लगाउने । खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन सुरक्षाकर्मीको ब्यबस्था गर्ने | खोप वितरणमा भएको ढिलासुस्ती अन्त्य गर्ने ।
२. बालबालिकाको खोप छिटो ल्याउने ।
३. कर कार्यालय, यातायात कार्यालयलगायत सेवाग्राहीको चाँप हुने ठाउँमा बैकल्पिक विधिको प्रयोग गरेर जनस्वास्थ्यका मापदण्ड पालना गराउने ।
४. भीडभाड हुने ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर मापदण्ड पालना गराउने ।
५. सवारीसाधनमा जनस्वास्थ्यका मापदण्ड अनुगमन तथा निगरानी गरेर मापदण्डमा ल्याउने ।
६. फुटपाथ पसललाई खुला ठाउँमा स्थानान्तरण गर्ने ।
७. संक्रमित धेरै भएका ठाउँलाई शिल गर्ने । त्यहाँबाट हुने असुरक्षित आवतजावत नियमन गर्ने ।
८. सिमाना, पहाडी जिल्ला तथा तराइका गाउँमा एन्टिजेन परीक्षण बढाउने। एन्टिजेन किट हरेक स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा उपलब्ध गराउने ।
९. ८७ वटै ल्याबबाट अधिकतम रुपमा पिसिआर टेस्ट गर्ने | सरकारले समुदायमा पिसिआर परीक्षण बढाउने । कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने ।
१०. संक्रमितलाई वडा कार्यालय तथा अन्य निकायबाट अनुगमन र निगरानी गर्ने । होम आइसोलेसनको पालना नगर्ने व्यक्तिलाई जरिवाना गर्ने ।
११. सरकारी अस्पतालमा अक्सिजन बेड, आइसीयु बेड तथा भेन्टिलेटर थप्ने ।
१२. मास्कको प्रयोगलाई प्रभावकारी बनाउने तथा सार्वजनिक स्थलमा निशुल्क उपलब्ध गराउने ।
१३. हरेक पसल, कार्यालय तथा अन्य ठाउँमा ‘ नो मास्क : नो सर्भिस ‘ लागु गर्ने ।
१४. ५ जनाभन्दा धेरै व्यक्ति सँगै हिँड्न नदिने । १५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र सांस्कृतिक काम गर्ने अनुमति दिने ।
१५. आम जनताले सहि तरिकाले नाक र मुख छोप्ने गरि मास्क लगाउने । भौतिक दुरी कायम गर्ने । हातको सफाइ गर्ने । भीडभाडमा नजाने । खुला ठाउँमा मात्र भेटघाट गर्ने ।
(डा.पाण्डेको फेसबुकबाट साभार)
-सुष्मा सुब्बा लामा–
नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो । मैले यसो भनिरहँदा कोही कसैप्रति अपमान गर्न खोजेको होइन, भलै यो यथार्थलाई आम नेपालीमाझ पस्कनै पर्छ भन्ने मेरो आशय भने पक्कै हो । वास्तवमा अहिले नेपाल लकडाउन, लुजडाउन अनि फेरि लकडाउनको चक्रब्युमा फसिरहेको छ ।
एकदिन अघि कोरोना कहरका डरले लकडाउन हुने, प्रशासनलेकेही दिन अत्याधिक कडाइ गर्ने, अनि फेरि लुजडाउन गर्दै जाने, महामारीको रोकथामका लागि कुनै भूमिका नखेल्ने मात्रै लकडाउनलाई महामारी रोक्ने अस्त्रको रुपमा लिने सरकारी रबैया नै गलत छ । विहान ९ बजेसम्म पसल खोल्न दिने, त्यसपछि बन्द गर्ने र फेरि बेलुकी दुईघण्टाका लागि खुकुलो बनाइदिने अवैज्ञानिक प्रणाली नै हाँसो उठ्दो कुरो छ । तरकारी बजारमा यति धेरै मानिस हुन्छन् कि तिनले कोरोना संक्रमण फैलाउँदैनन्, तर दुई चारजना भेला भएर हिड्दा कोरोना सरिहाल्छ, संक्रमण दर बढिहाल्छ भन्ने अबुझ र अदूरदर्शी सोच अहिलेको पराकाष्ठा हो । यो श्रृंखला हेर्दा हेर्दा १६ महिना वितिसक्यो । सरकार लकडाउन र लजुडाउनकै गणीतमा फसिरहेको छ ।
सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिँदै यसले मानव जातिलाई नै अक्रान्त बनाइरहेको छ । यस महामारीले समाजका हरेक तहतप्काकालाई असर पुर्याउँदै आएको छ भन्दा अतिसयुक्ति नहोला । हुन त मानव जातिको उदयसँगै यसप्रकारका थुप्रै महामारीहरु फैलिएको र त्यसबाट हजारौँ, लाखौँ, करोडौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेका उदाहरणहरु हामीसँग जीवितै छन् । रोगकै कारण मानिसले औषधीको निर्माण गर्यो, आवश्यकता महसुस हुँदै जाँदा विश्वमा अन्य थुप्रै आविष्कारहरु भए । १४ औँ शताब्दीको पाँचौँ र छैठाँै दशकमा ‘प्लेग’ को महामारी युरोपभर फैलियो ।
जसका कारण युरोपको एकतिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो । १५औँ शताव्दीको अन्त्यसम्ममा अमेरिकामा ठेउलाको महामारी र जलवायु परिर्वतनले ठूलै समस्या निम्त्याए । युरोप बिस्तारपछि अमेरिकाको करिब ६ करोड जनसंख्या उक्त एक शताब्दीमा घटेर ६० लाखमा सीमित भएको तथ्यांक बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनका वैज्ञानिकहरुले आफ्नो एक अध्ययनमा समावेश गरेका छन् । सन् १६४१ मा उत्तरी चीनमा फैलिएको प्लेगले २० देखि ४० प्रतिशत जनसंख्या साफ भयो भने सोही महामारीका कारण मिङ राजवंशको पतन भएको इतिहास छ । दादुरा, मलेरिया, प्लेग, रुघाखोकी र टाइफसलगायत रोगले अमेरिकामा करोडौँ मानिसको ज्यान लिए । जसको परिणाम सम्पूर्ण विश्वले नै बेहार्नुपर्यो । महामारीकै इतिहासमा एल्लो फिभर र फ्रान्सविरुद्ध हाइटीको बिद्रोहले आफ्नो इतिहास ताजै राखेको पाइन्छ । त्यसो त अफ्रिकी जनावरहरुमा फैलिएको एक महामारीका कारण युरोपेली मुलुकलाई आफ्नो साम्राज्य फैलाउने मौका मिल्यो । सन् १८८८ र १८९७ का बीचमा फैलिएको राइण्डरपेष्ट नामको उक्त भाइरसले अफ्रिकामा लगभग ९० प्रतिशत घर पालुवा जनावरहरुको विनास गर्यो । यसलाई जनावरमा हुने ‘ब्लेग’ नामाकरण गरियो । फलस्वरुपः युरोपेली शक्ति राष्ट्रहरुले सन् १९०० सम्ममा अफ्रिकी मुलुकहरुका ९० प्रतिशत भूभाग कब्जामा ल्याइसकेका थिए ।
समयको अन्तरालसँगै आधुनिक चिकित्सा जगत्मा यति ठूलो विकास भयो कि लाग्थ्यो अब त कुनै महामारीबाट मानिस तथा अन्य जीवले अनाहकमा ज्यान गुमाउनुपर्दैन होला । तर त्यसो भएन । पछिल्लो समय कोरोना भाइरसको प्रकोपले विश्वका करोडाँै मानिसको दैनिकी नाटकीय रुपमा बन्द कोठाभित्र सीमित हुन थालेको छ । विश्वभरमा मानिस जुन रहनसहन र खानपानमा बस्दै र रमाउँदै आएका थिए, त्यसमा आकाश जमीनको अन्तर आएको छ । करोडौँ बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । उद्योगधन्धाहरु बन्द छन्, मजदुरले तलब नपाउँदा रोगले भन्दा भोकले मर्ने अवस्था बढ्दो छ । महामारीको यो चक्रीय प्रणाली अगाडि बढिरहँदा नेपालमा भने सरकार आँखा चिम्म गरेर बसेको आभाष हुन्छ, ऊ मात्र जान्दछ लकडाउन, अनि
लुजडाउन र फेरि लकडाउन
यहाँ त लाजमर्दो कुरो केसम्म भइसक्यो भने नेपालमा दाताहरुले विभिन्न कम्पनीका झण्डै ९० लाख डोज खोप दिइसकेका छन्, तर सरकार यति धेरै निकम्मा भइसकेको छ कि त्यसकै कारण लगभग २१ लाख मानिसले खोप लाउन पाए छन् भने बाँकी खोप त्यसै फ्रिज भएर सरकारको ढुकुटीमा खेर गइरहेको छ । सरकारकोे खोप वितरण प्रणाली यति नराम्रोसँग छताछुल्ल भयो कि मानौँ अब त्यो जोसँग छ उसले नै आफूखुशी पैसा लिँदै बेच्दै गर्ला कि भन्ने आशंका पनि उब्जन थालेको भान हुन्छ । एकातिर सरकारको ढुकुटीमा खोप भण्डारण हुँदै अब त्यो ‘आउटडेटेड‘ हुने क्रममा छ भने आममानिसमा कहिले खोप लाउँला र बाचौँला भन्ने झिनो आशा भने मेटिएको छैन । खोपका लागि घण्टौँ लामो लाइन यत्रतत्र देखिन्छ । आफ्नो पालो आयो खोप सकियो भन्ने उर्दी आउँछ । जसले गर्दा मानिसमा सरकारप्रति नै विश्वास घट्दो छ । कोभिडलाई लिएर अब त के पनि भन्न थालिएको छ भने महामारीको यो श्रृंखला छैठौँ भेरियन्टसम्म जान्छ, सन् २०२३ सम्म नै यस्तै हुनेवाला छ । यो वास्तविकता वा अफबाह मात्रै हो, त्यो सम्वन्धित निकायले पत्ता लगाउनुपर्छ । यदि वास्तविकता नै हो भने अब आममानिसको रोजगारी, बालबालिकाको शिक्षा एवं भविष्यका लागि निच मारेर बस्ने बेला छैन । किनकि रोगर भोक सँगसँगै आउने र जाने प्रक्रियाहरुहुन् । यिनलाई गफले टार्न सकिँदैन र तत्काल राज्य व्यवस्थाले समाधानको उपाय पत्ता लगाउनैपर्छ ।
खोपको विकल्प रोग प्रतिरोधी क्षमताको विकास
अब खोप, खोप मात्रै भनेर पनि हुँदैन । किनकि हामीले जुन खोप लगाइरहेका छौँ, त्यो कति विश्वसनीय छ, छैन भन्ने स्पष्टता पनि हामीसँग छैन, न त छ खोप उत्पादन गर्ने कम्पनीहरुसँग नै । फेरि दाताले दिएको खोपले कतिलाई पुग्छ, राज्य संयन्त्रले आफैँ खोप खरीद गर्ने भन्ने कुरा पनि कल्पनाभन्दा बाहिरकै विषय हो । त्यसर्थ अब खोपको विकल्पमा जानुपर्ने टड्कारो आवश्यकता छ । त्यो भनेको योग र साधना नै हो ।नेपाली जडिवुटी विश्वमै नामी र दामी छन् । तिनमा आवश्यक अध्ययन हुन सक्यो र महामारीमा लाभकारी हुने जडिवुटीजन्य आयुर्वेद औषधीहरुको खोजी भयो भने पनि केही हदसम्म लाभ नै हुनेछ । दिमाखमा सकारात्मक सोचको विकास गर्ने, दैनिकरुपले कम्तीमा एकघण्टा योगाभ्यास गर्ने गर्दा शरीरमा रोगप्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ । हिजो एलोप्याथी औषधी नहुँदा पनि हाम्रा पुर्खाले आफूसँग भएका जडिवुटी खाएर रोग निको पारेको इतिहास कहीँ छिपेको छैन । अहिले त योगका थुप्रै गुरुहरु हुनुहुन्छ, यदि त्यो सम्भव नभएमा हामी आफैँ पनि योगका लागि अभ्यास गराउन तयार छौँ । अब कोभिडको महामारीरुपी फोबियालाई निर्मलीकरण गर्न आवश्यक भइसकेको छ ।
बालबालिकाका लागि घरभन्दा विद्यालय नै सुरक्षित
कलिला बालबालिकाहरु १६ महिनादेखि घरमै बस्दा तिनको मनमस्तिष्कमा के कस्तो असर परिरहेको छ, त्यसतर्फ कोही कसैको ध्यान पुगेको देखिँदैन । सरकारले विद्यालय असुरक्षित भन्दै बालबालिकालाई घरमै बस्ने र विद्यालय बन्द गर्ने घोषणा त गर्यो, तर तिनका बाबुआमा कामकाजी हुन्छन् । घरबाहिर नगइ व्यवहार चल्दैन । उनीहरु विहान बाहिर जाने र बेलुकी घर आउँदा कति संक्रमित हुन्छन्, र त्यो असर आफ्ना नानीहरुमा पर्छ कि पर्दैन भन्नेतर्फ न त राज्यले सोच्यो, न कोही शिक्षाविद् वा सरोकारवालाले नै । यहाँ त के भनियो भने विद्यालयहरु कोभिडका लागि ‘हटस्पट‘ बने भन्दै सुझ न बुझसँग सञ्चार माध्यमहरुले समाचार बनाए, सरकार त्यसकै पछि लाग्यो र अन्ततः विद्यालयलाई बन्द गराइ छोेड्यो । त्यसको असर सानानानीहरु एउटा वा दुईटा कोठामा बस्न बाध्य भए ।
अर्को दुख लाग्दो कुरो के भयो भने सरकारले वैकल्पिक सिकाइ भन्दै अनलाईन शिक्षा भन्यो । तर त्यसले कलिला नानीहरुलाई के कति लाभ गर्यो वा असर गर्यो भनेर आजसम्म कुनै अनुसन्धान भएको छैन । सबै अभिभावकहरुले आफ्ना नानीहरुलाई समय दिन पनि सक्दैनन्, दिए पनि कतिले आफ्ना नानीहरुको सिकाइप्रति आवश्यक ध्यान दिन नसकेको पनि हुन्छ । नयाँ प्रविधिको असर कलिला बालबालिकाहरुलाई कति पर्छ भन्ने यकिन त कसले पो गर्न सकेको छ र ? त्यसर्थ यो अहिलेको यथार्थता हो, तत्काल सरकारले विद्यालय शिक्षालाई भौतिकरुपमा उपस्थिति जनाएर भए पनि विद्यार्थीहरु स्कुल जान पाउने वातावरण बनाउनुपर्छ, यो अहिलेको आवश्यकता हो । तथापि विद्यार्थीको भौतिक उपस्थितिलाई के कसरी सुरक्षित बनाउने हो भन्ने विषयमा आमअभिभावक, विद्यालय व्यवस्थापक र सरकारले आवश्यक गृहकार्य भने गर्नुपर्छ ।
लकडाउनको हल्लाले आशभन्दा त्रास बढी
अहिले त हामीकहाँ कस्तो भयो भने राम्रोेभन्दा नराम्रो र जिम्मेवारीताभन्दा पनि होहल्ला गरेर मानिसलाई दिग्भ्रमित गराउने खेल बढ्न थाल्यो । संसार विगार्ने औषधी र हतियारको व्यापार नै हो । यस विषयमा हामी के कति गम्भीर वा जिम्मेवार छौँ, त्यसतर्फ पनि अब सोच्ने बेला भइसकेको छ । हुन त यो अवस्था सबै क्षेत्रमा व्याप्त छ । फेरि पनि लकडाउनकै हल्ला छ ।
जबजब लकडाउनको हल्ला हुन्छ, मानिसमा आशभन्दा त्रास बढ्न थाल्छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण भन्दा अरु रोगले मर्नेको संख्या धेरै गुणा बढ्दो छ । मानिसमा डिप्रेसन ब्याप्त छ । सकारात्मक सोच हराउँदा मानिस रोगी बन्न विवस भयो । महामारीलाई न्युनीकरण गर्ने अनेकन उपायहरु हुँदाहुँदै सरकार लकडाउनकै सहारा लिन बाध्य छ । मानिसहरु पनि सरकारले लकडाउन गर्छ, दुईचार दिन चुप लाग्छन्, फेरि आफ्नो पुरानै पारामा फर्कन थाल्छन्, हुन पनि उनीहरुसँग अरु उपाय हुँदैन । विश्वका विकसित देशहरुमा पनि कोभिड छ, तर तिनले कोभिडको महामारीलाई न्युनीकरण गर्दै सामान्य जीवनयापन गर्दै आएको पाइन्छ । केही दिनअघि मात्रै जापानमा त्यत्रा विकास र निर्माणका कामहरु भएको देखियो । अमेरिकामा कोभिड विरुद्ध दुबै डोज भ्याक्सिन लगाएकाहरुले माक्स लगाउनु नपर्ने कुरा आएको छ ।
चीनमा पनि कोभिड महामारीलाई लगभग न्युनीकरण गर्ने क्रम बढ्दो छ । यो सबै लकडाउनसँगै चालिएका वैकल्पिक उपायहरु सशक्त भएर नै हो । तर हामीकहाँ लकडाउन भनियो, सारा कर्मचारीलाई विदामा बसाइयो, संक्रमण न्युनीकरण गर्नेतर्फ केही काम गरिएन, फलस्वरुप सरकार लकडाउनको श्रृंखला मात्रै बढाइरहने, संक्रमण दर नघट्ने भयो । त्यसर्थ यस कुरामा राज्य व्यवस्था अत्यन्तै चनाखो भएर अगाडि नबढे लकडाउन र त्यसबाट सिर्जित हुने समस्याहरुले भयाबह रुप लिने छ । र अन्ततः नेपाल फेलियर स्टेटमा रुपान्तरण हुने छ ।
(लामा, मन्टेश्वरी एसोसिएसन नेपालकी अध्यक्ष एवं मन्टेश्वरी चेन अफ स्कुलकी प्रिन्सिपल हुनुहुन्छ ।)
डा. रवीन्द्र पाण्डे
-राजु भट्टराई-
राजनीति साँच्चीकै भरिपूर्ण नीति रहेछ । दल–दल भित्र कहिले लैलामज्नुको जस्तो प्रेम त कहिले विरोधै विरोधको चर्काे नारा ।
अस्ति भर्खरै जस्तो लाग्छ टिभीको स्क्रिन भरिने गरी देखिएको दृश्यमा सबै दलले नछुट्टीनेगरी हात मिलाएको देख्दा साँच्चिकै अब त नेपालका सबै दलहरु मिलेर देशलाई उन्नती, प्रगति तिर लैजाने भए भन्ने भान भएको थियो ।
ओली बा, प्रचण्ड अङ्कल, माधव मामा र बाबुराम दाई लगाएतका अन्य दलका शिर्ष नेताहरु । अब त हातमा हात बढाइ देशलाई समृद्धि तिर धकेल्ने भए भन्ने आभास भएको थियो । देशमा भएको ठुलो क्रान्तिले ल्याएको प्रजातन्त्र अनि प्रजातन्त्रलाई जानताको सामु समर्पित गरी रचिएको प्रजातान्त्रिक गणतन्त्र अनि सबै साना ठूला राजनीतिक दल, कार्यकर्ताहरुको समर्थनमा बनाइएको संविधानले त राष्ट्रलाई डिग नहल्लीने बनाउने भयो भन्ने सोच आएको थियो ।
सरकार जनताको हितका लागी सँधै तम्तयार भइरहन्छ नागरिकको पक्षमा रही सँधै विकास, निमार्णका योजना अनि त्यसको कार्यन्वयनका लागी सँधै अगाडि बढिरहन्छ भन्ने भान थियो । देशका सबै जातजाती, भाषा, संस्सार लाई सम्मान गर्दै देशलाई विश्वकै नमुना राष्ट्रका रुपमा चिनाउने कोसिस हुन्छ भन्ने ठानेको थिए ।
तर त्यसपछिका दिनहरुमा पनि राजनीतिक दलहरुको खटपट भइरह्यो । आफ्नो स्वार्थका लागी देशको सम्माननीय स्थान मा बसि धेरै थरीका राजनीतिक लडाईंहरु भइरहे ।
राजनीतिक दलहरु छेपाराले रङ फेरेझैँ आज एउटा कुरा गरे भने भोली फेरि अर्कै कुरा । मात्र सत्ता र आफ्ना स्वार्थका लागी बहस भइरहे । विश्वभरि कोराना महामारीले सताइरह्यो भने हाम्रो देशमा दलहरुको खटपट मात्र भइरह्यो । मुलुकलाई कोरोनाले सिकिस्त बनाइरह्यो । दलहरु एक अर्कामा भनाभन भइरह्यो । टोलटोलमा सामाजिक दुरी कायम गरौँ भन्ने नारा फुकीरहीयो । तर राजनीतिक लडाईमा दलहरु सँधै हुम्मीरहे नत सामाजिक दुरीनै कायम गरे नत कोरोनाको महामारीबाट देशका नागरीकलाई उतार्ने कुनै योजना नै बनाए ।
यहि माहामारीकै समयमा संसारमै नभएको परम्पराले घेरा हाली सडकनै ढाकिने गरी नामै नभएको जात्रा देखियो देशभरी । कोरोना माहामारीकै बेलामा धेरै जात्राहरु सामाजिक दुरी कायम गर्नुपर्छ महामारी लाई रोक्नुपर्छ भनेर सदियौँ देखि मनाउँदै आएका जात्राहरु मनाइएन तर यहि महामारीका बीचमा देशमा धेरै राजनीतिक जात्राहरु धुमधामका साथ मनाइँदै आइयो । देशका ठूला राजनीतिक दलहरुले आफ्नो प्रचारप्रसार सत्तामा आउँदा होस् या सत्ताबाट बाहिरिँदा आफ्नो शक्ति प्रदर्शन गर्न कहिल्यै चुकेनन् । तेस्रो लहर, खोप, कोरोना, दैनिक संक्रमण, कोरोनाबाट मृत्यु आदि विषयलाई संचार माध्यमहरुले छापिरहे । देशका नागरिकहरु सँधै डर, त्रासमा बाँचीरहे । धेरै संख्यामा संक्रमितले ज्यान गुमाए भने धेरै कोखहरु रोहिरही अनि धेरैको सिन्दुर पुछियो अनि धेरै नागरीकले आफ्नो अभिभावक गुमाए । देशका नागरीकहरु दैनिक गुजारा चलाउन धौँ धौँ भइरहे । विद्यालय, कलेजका ढोका बन्द रहिरहे । तर राजनीतिक दललाई न त कोरोनाले नै छोयो न त बाढी पहिरोले नै ।
संसारका धेरै राष्ट्रहरुले कोरोनालाई भगाउन सफल भए । देशका नागरीकहरुको सुरक्षाका गर्न काबिल रहे । तर हाम्रो देशमामा यहि माहामारीकै विचमा धेरै राजनीतिक युद्धहरु समापन भए । कोहि दलले हारे त कोहिले जिते । राजनीतिक युद्धमा हुम्मीने नेताहरुलाई कोरोनाको वास्ता भएन मात्रै आफ्नो कुर्ची र सत्ता मात्र आँखामा झल्किरह्यो । मुलुकमा आदरणीय ओलीबा प्रधानमन्त्री हुँदा अदुवा र बेसार खाएपछि कोरोना कुलेलाम ठोक्छ भन्ने सुनियो भने हालसालै प्रधानमन्त्री नियुक्त हुनुभएको सम्माननीय प्रधानमन्त्री देउवाले चाँडै नै कोरोनाको खोप सबै नागरीकलाई पु¥याउने रे भन्ने मात्र सुनियो । यतिका दिन वितिसके मुलुकमा कोरोना भित्रिएको .... ।
मुलुकलाई कोरोनाले सिकिस्त बनाएर मुलुक यति सिथिल हुँदा पनि हाम्रा वरिष्ट नेताहरुको शक्ति दिनानुदिन बढ्दैछ ।
नेताले सँधै ताने ताने गरेरै समय विताउने भए । सुखी नेपाली त अक्षरमा मात्र सिमित रहने भयो । नागरीकको बेदना त मात्रा नागरिक आफैँले मात्र भोग्नु पर्यो ।
महिनौँ देखि देशको सर्वाेच्च अदालतमा बहस भइरहेपछि । सर्वाेच्चले जनताको हितमा रही फैसला गर्याे । सबै दलहरुको सहमतीमा सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरियो । देउवाले छिटो छिटो गरेर असार ३ गतेका दिन विश्वासको मत लिनुभयो । सबै दलहरुको मतदानबाट सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा विजय हुनुभयो । हामी नागरिकलाई विश्वास दिलाउन जरुरी छ अबका दिनमा राजनीतिक लडाईँमा कोहि दलहरु हुम्मीदैँनन् । जनता र देशका निम्ती आफ्नो समय, बुद्धि, विवेक र सामर्थ लगाउँनेछ । देशलाई समृद्धि तर्फ लैजानेछन् नागरिक सुखी हुनेछन् ।
-डा.रवीन्द्र पाण्डे -
कोरोना भाइरस सुन्दा सुन्दा वाक्कदिक्क लागेको थियो | त्यसैले मैले यसको नेपाली नाम ताज बिषाणु राखेको छु | कोरोना ग्रिकको क्राउन शब्दबाट लिईएको हो | जसको अर्थ ताज, मुकुट, राजमुकुट आदि हुन्छ |
आँखाले देख्न नसक्ने स्यानो भाइरसले संसारमा तेस्रो विश्वयुद्ध मच्च्यायो | संसारलाई नै युद्धबन्दी बनायो | एक दिन नेपाल बन्द गर्दा अरबौं क्षति हुने गणित पढेको मैले २ बर्ष संसार बन्द हुँदाको हिसाब निकाल्दै थिएँ | रेडियो, टेलिभिजन, पत्रपत्रिकादेखि माइकिंग मेरा आँखा र कानमा ठोकिए | रेडियोले फुक्दै थियो – सरकारले हरेक किराना पसल, कफी सप, रेस्टुरेन्ट, स्कुल, कलेज, मन्दिर, सरकारी भवन, चोक तथा घरघरमा खोप पुर्याएको छ | कोभिड खोप लगाउन छुट्नु भएको भए आजै खोप लगाउनुहोस् अनि आकर्षक उपहार प्राप्त गर्नुहोस् |
टेलिभिजनले खोकिरहेको थियो – हरेक पसल, खाजा घर, रेस्टुरेन्ट, पत्रिका पसल, कपडा पसल, सपिंग मल, मेडिकल लगायतका स्थानमा खोप उपलब्ध छ | पसलमा खोप लगाउनेलाई एक बोरा चामल, रेस्टुरेन्टमा खोप लगाउने व्यक्तिलाई मम, पिज्जा र चिकेन चिल्ली, मन्दिर तथा खोला किनारामा खोप लगाउने व्यक्तिलाई दुई खिल्ली गाँजा, सपिंग मलमा खोप लगाउने व्यक्तिलाई हरेक सामानमा १० प्रतिशत छुट, कोल्ड स्टोरमा खोप लगाउने व्यक्तिलाई २ किलो मासु, स्कुल तथा कलेजमा खोप लगाउने व्यक्तिलाई तीन महिनाको ट्युसन फि, रंगशालामा खोप लगाउने व्यक्तिलाई फुटवल र क्रिकेटका सामान, वृद्धाश्रममा खोप लगाउने जेष्ठ नागरिकलाई पांच किलो फलफूल र न्यानो ब्ल्यांकेट, मेडिकलमा खोप लगाउने व्यक्तिलाई परिवार नियोजन सेवा तथा अस्पतालमा खोप लगाउने व्यक्तिलाई होल बोडी चेक अप प्रदान गरिनेछ |
खोप लगाउने व्यक्तिलाई आफ्नो इच्छा अनुसारको उपहार दिने कार्य भइरहेको थियो | बसमा खोप लगाउने व्यक्तिले निशुल्क यात्रा गरिरहेका थिए, जहाजमा खोप लगाउने व्यक्ति निशुल्क उडिरहेका थिए, ट्याक्सीमा खोप लगाउने व्यक्तिले चिसो पेय चुस्दै घुमिरहेका थिए |
सरकारले भन्दै थियो – हामीले एक बर्षको बजेट खोप र उपहारमा लगानी गरेका छौं | अर्को बर्षदेखि बिकासमा मात्र खर्च गर्नेछौं | यो बर्ष खोप लगाउनेलाई बिभिन्न उपहार प्रदान गरिनेछ | यो बर्ष खोप नलगाउने व्यक्तिलाई अर्को बर्ष प्रति डोज एक लाख मुल्य पर्नेछ | खोप नलगाएका व्यक्तिलाई कुनै पनि सेवा प्रदान गरिने छैन |
डा. शर्माले जाजरकोटका गाउँमा भन्दै थिए – खोप लगाउनुभयो भने एक क्विन्टल चामल, गोल्ड स्टार जुत्ता, नर्थ फेस ज्याकेट र १० किलो तराइको माल्दा आँप प्राप्त गर्नुहुनेछ |
डा. श्रेष्ठले तराइका भित्री गाउँमा भन्दै थिए – यो यार्शागुम्बालाई लाखौँ रुपियाँ पर्छ | खोप लगाउनु भयो भने सित्तैमा पाइन्छ | त्यति मात्र हैन, इच्छा अनुसारका घरायसी सामान, पढ्ने छात्रवृत्ति तथा सरकारी जागिर पाइन्छ |
डा. यादवले पहाडी गाउँमा भन्दै थिए – कोभिड खोप लगाउने व्यक्तिलाई सोलार जडान वा ६० इन्चको टेलिभिजन निशुल्क दिइनेछ |
भोजप्रसादले फोनमा भन्दै थिए - ए आइतराम ! सर्खार्ले फाइजर, मोडेर्ना, जोन्सन, स्पुतनिक, एस्ट्रेजेनेका, भेरोसेल, सिनोभ्याक, कोभ्याक्सिन नाम गरेका धेरै खोप ल्याएको छ | मैले त एस्ट्रेजेनेका लगाउने भएँ, तिमीले कुन लगाउने नि ?
ज्योतिषको घरमा भीड थियो | कुनै ज्योतिषले हात तथा कुनै ज्योतिषले चिना हेरेर भन्दै थिए – तपाइको राशि मिथुन भएकोले मोडेर्ना लगाउनुहोला | अनि तपाइको ग्रहमा शनि बलियो भएकोले स्पुतनिक लगाउनुहोला | तपाइको नाम फर्सुराम भएकोले फाइजर लगाउनुहोला | तपाइंकी छोरी अलि मोडेर्न भएकोले मोडेर्ना फलिफाप हुन्छ | ज्योतीलाई जोन्सन, भोजप्रसादलाई भेरोसिल, सिनोभ्याकमा पहिला दुई अक्षर अशुभ भएकोले नलगाऔं क्यारे !
आगन्तुकले सोध्दै थिए – खोप लगाउन कहाँ जाने ?
ज्योतिषले भन्दै थिए – तल्लो कोठामा नर्स नानी बसेका छन् | चिसिक्क खोप लगाएर अनि पेटभरी प्रसाद खाएर जानुहोला |
ह्यारीले भन्यो – सोम ! अहिले कहाँ ?
- म माउन्टेन कफीसपमा छु | आउ न यार ! कोभिड्को खोप लगायो भने फ्रिमा बुटी र बियर पाइने रहेछ |
सीमाले भनी – कता हो उषा ?
उषाले भनी – ब्युटीपार्लरमा छु | खोप लगाए कपाल स्ट्रेट गर्ने अफर रहेछ यहाँ |
सीमाले भनी – म पुस्तकालयमा छु | खोप लगाए १ बर्ष निशुल्क सदस्यता पाइने रहेछ यार !
स्कुलमा साना नानीबाबुलाई ललिपप, आइसक्रिम, पिज्जा तथा जुस दिएर खोप लगाउने कार्यक्रम चलेको थियो |
छोराले सोध्दै थियो – बा ! अन्तिम इच्छा के छ ?
बाले भन्दै थिए – मर्ने बेलामा कोभिड खोप लगाउन पाए भगवानका फ्रेममा मेरा सयौं फोटो राख्ने अफर छ | लौंन ! एउटा खोप लगाइदे !
बजारमा माइकिंग भइरहेको थियो – खोप लगाउने व्यक्तिलाई हात खाली नहुने चिठ्ठा ! पहिलो उपहार – ८ आना जग्गामा बनेको अढाइतले घर, दोस्रो उपहार १ करोड नगद, तेस्रो पुरस्कार टोयोटा कार, सान्त्वना पुरस्कार १०० जनालाई मोटरसाइकल अनि फ्रिज, दराज, सोफा, वासिंग मेसिन, माइक्रो ओभन, टेलिभिजन, मोबाइल सेट |
एफएमले भन्दै थियो – जनसंख्याको तुलनामा दश गुणा बढी खोप आएकोले हामीले खोप आयातमा प्रतिबन्ध लगाएका छौं |
स्वास्थ्यमन्त्रीले घोषणा गरे – नेपालमा ९५ प्रतिशतले खोप प्राप्त गर्नुभयो | खोप लगाउन छुटेको व्यक्तिबारे जानकारी दिनेलाई सरकारले दश लाख इनाम दिनेछ | साथै ती छुटेका व्यक्तिलाई सरकारले रोजगारी दिनेछ |
एक बर्षमा खोप कार्यक्रम शतप्रतिशत सफल भयो | नेपालको खोप रणनीतिबारे संसारमा चर्चा भइरहेको थियो | खोप कार्यक्रम हेर्नको लागि भ्याक्सिन टुरिजम निकै बढेको थियो | एयरपोर्ट तथा सिमानामा खोप लगाएर मात्र नेपाल आउन पाइन्थ्यो | सडक, गल्ली, चोक, गाउँ, डांडा, हिमाल चारैतिर पर्यटकको लर्को लागेको थियो | तीन करोड जनसंख्या भएको नेपालमा यो बर्ष बाह्र करोड पर्यटक आएका थिए | ३ बर्षको लागि होटेल बुकिंग फुल थिए | हरेक घर होमस्टे भएका थिए | सहर होस् वा गाउँ, डलरका मात्रै कुरा भइरहेका थिए |
कति जम्मा गरिस् काँहिला ?
कसले गन्न भ्याउनु नि ! तीन बोरा डलर भयो आजसम्म |
- मेरो त सात बोरा |
- आ ! मलाइ त डलर राख्न झ्याउ लाग्न थाल्यो, पातभन्दा धेरै |
देशमा डलर बैंक खुलेका थिए | गाउँगाउँ, टोलटोलमा बिदेशी बैंकका शाखा थिए |
कान्छीले भनी – डलर गन्ने फुर्सद नभएर दुई डोका बैंकमा बिसाएर आएँ | भरे भौचर आउँछ रे !
साइँलीले भनी – आ ! को जाओस बैंक ! मेरो त घरमै बैंक स्टाफ आएर पांच बोरा डलर बोकेर गए |
..............
ए दाइ ! के को डलरका कुरा गरेको ? आजको पांच घण्टा बेकार भयो | खोप सकियो रे ! भोलिको लागि आधारातमा लाइन लाग्न आउनुहोला | दिउँसै सपना देखेको म झसंग भएँ |
rabinscholar@gmail.com
डा.पाण्डेको फेसबुकबाट साभार
काठमाडौं, ३१ असार । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पारिने भएको छ। निषधोज्ञाको अवधि भने थप १५ दिन थप्ने तयारी पनि गरिएको छ। यसअघि थपिएको निषेधाज्ञाको अवधि आज असार ३१ गते राति १२ बजेबाट सकिँदैछ। त्यसैले निषेधाज्ञाका विषयमा निर्णय गर्न बिहीबार आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरुको बैठक बस्ने भएको छ। साउनबाट लामो दूरीको यातायात पनि खुल्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रकाशक
नविन कुमार श्रेष्ठ
सम्पादक
विनोद कुमार श्रेष्ठ
प्रबन्ध निर्देशक
कमला श्रेष्ठ
सूचना तथा प्रसारण विभाग
दर्ता प्रमाणपत्र नं.: 1965
Samakhusi, Kathmandu
Phone : 01-4382864
Mobile : 9851013929, 9845082388
Email : newmadd2018@gmail.com
© 2023 Newsajako सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies