09 Ashwin, 2080 / 26 September , 2023
-डा.रवीन्द्र पाण्डे-
-लक्ष्मण सिटाैला-
त्यो दिन फागु पुर्ने थियो। माओवादीले उनीहरूको सैनिक संगठमा भर्ती गराउन मलाई लिन आउने भनेर मेरो बुबालाई खबर पठाका रहेछन्। यो कुरा बाबुलाई मन परेको थिएन। त्यही दिनदेखि बाबुको मुखमा उज्यालो थिएन। घरमा पढेलेखेको र अलिक व्यवहार धान्ने छोरी मै थिए। दाइ र दिदी सोझा थिए। मलाई माओवादीले लैजान्छ कि भन्ने धेरै चिन्ता थियो बुबालाई ।त्यसैले उनी मलाई लुकाएर राख्न चाहन्थे ।
एक दिन बाबुले मलाई ठुली फुपुको घरमा लिएर जानू भो । म त्यही बस्न थाले। म २१ बर्षकी लक्का जवान हट्टा कट्टा खाइलाग्दी थिए। पढाइ आफ्नै गतिमा अगाडि बढाइरहेकी थिए। उदेश्य पनि ठुलो राखेकि थिए। धेरै केटा माग्न आए पनि बिहे गर्ने इच्छा थिएन किनभने मसग आफ्नै लक्ष्य थियो। आमाबाबुको काखबाट बिछोडिएर टाढा बस्नु पर्दा खै कस्तो कस्तो लागिरहेको थियो। तैपनि फुपू मलाई धेरै माया गर्नुहुन्थ्यो । ठुली फुपुको नन्दका छोरा त्यो घरमा आउने जाने गर्दारेछन त्यो कुरोमा खासै मैले ध्यान नपुराएकी रेहेछु ।हाम्रो हल्का मात्रै चिनजान भएको थियो। एकदिन फुपूले उहाँको अगाडि मेरो परिचय राख्दिनु भो।त्यसपछि त्यो घरमा उहाँको आवतजावत बढी नै हुन थाल्यो।
म हुर्केकी चेली मेरो सुरक्षाको लागि बुबाले फुपुकोमा ल्याएर राख्नु भएको भन्ने कुरा शायद उहाँले पनि महसुस गर्नु भो। म यता आएको केही दिनमै उहाँले फुपुसग कुरा गरिसक्नु भएको रहेछ कि उनी मलाई मन पराउछन भनेर। कुरैकुरामा फुपुले भन्नू भो एकदिन।
हामी मगरमा फुपुचेला मामाचेला बिच बिहेवारी पनि चल्ने कारणले नि होला फूपू मलाई उनीसग बिहे गराउन खोजेको जस्तो पनि लागेको थियो। उनी अर्थात श्याम थापा घरमा आएपछि फुपूले हामीलाई गफ गरूँन् कुराहरु एक आपसमा बाडुन् भनेर होकि एकान्त बनाउनुहुन्थ्यो। हामी बिच राम्रै चिनजान भैसकेका थियौं । उनी सहज रूपमा घरमा आउजाउ गर्ने मसँग बोलचाल र मलाई जिस्क्याउने समेत भैसकेका थिए।
फागुपुर्नेमा मलाई अबिर हाल्न भनेर उनी घरमा आए। त्यो दिन फुपू पनि बाहिर जानू भएको थियोे । घरमा मलाई साथी एउटाी सानी ६ बर्षकि छिमेकी दिदीकी छोरी थिइन। साइनोमा ती नानी र हामी कुनै आफन्त थिएनौ। श्याम हातभरी अबिर लिएर आए। अलिकति मलाई दिए। हामीले रमाइलो गरेर एक्छिन फागु खेल्यौ। आज रमाइलो गर्नी दिन त हो नि भनेर सगुन पनि साथै ल्याएका रहेछन।मैले पनि उनको लहैलहैमा अलिकति पिए। उनले त पहिल्यै मज्जाले पिएर आएका रहेछन। मैले अलिकति पिएपछी त उनलाई साथ दिए जस्तो भो। उन्ले फेरि पिए। मैले पनि पिए । कस्तो माद लागेजस्तो भो। रमाइलो लाग्यो।घरमा त्यो सानी नानी मात्रै उ पनि आफ्नै पाराले रमाइलो गर्न थाली । पिएपछी जे पनि गर्न र भन्ने छुट दिएको छ हाम्रो समाजले। उनी मलाई " आइ लभ यु" भन्न थाले।
मैले चाहिँ खासै केही प्रतिक्रिया जनाउन सकिन। चुपचापले बसे। तर ओठमा खै किन हो अलिकति हासो र माद चै थियो। उनले मलाई अगालो हाले। यो एक्कासि आएको कसिलो पुरुष अगालोको मैले प्रतिवाद गर्न सकिन। जीवनको यो वयमा आएको पुरुष छुवाइलाई खोइ किन पो हो प्रतिवाद गर्न मानेन शरीरले। आज फागु पनि हो र त्यो माथी हामी दुवैले पिएका पनि थियौं । अगालो हाल्दा समेत केही भनिन। फेरि अलिकति सगुन पिउने भन्नू भो। फेरि हामीले सँगै पियौँ। हातभरी रातो अबिर थियो उनको र मेरो खाली सिउँदोमा पुरै भर्दिनु भो। " मैले तिम्लाई सिन्दुर हालेनी आज" भनेर हाँस्नु भो। नभन्दै भित्तामा झुन्डिएको ऐनामा आफ्नु मुहार हेरेको सिउदो त पुरै रातो पो छ।
आफैलाई असहज लाग्यो। उनी मलाई अब जिस्काउन थाले। बाहिर कसैले देख्ला भनेर हामी कोठामै गयौ। रमाइलो पनि लागिरहेछ र एक्लो छु । पुरुष सग डर पनि लागिरहेछ। उन्ले जोडले अगालोमा बेरे। जताततै माया गर्न थाले। पुरुष स्पर्शको अगाडि म द्रवित भए । एक त सगुनको रमरमले मात्तिएकी थिए त्याहा माथी पुरुष अगालो।मैले प्रतिवाद त गरे तर बाहिर मात्रै गरे। भित्री अवचेतन मनले चै त्यो पुरुष मायालाई माया गरे। ढाेकामा चुकुल समेत हाल्न भ्याएनछौ। पछि ती बिचरी नानी ढाेका खोलेर भित्र आउँदा हामी ओछ्यानमा नाङ्गै पो रहेछौँ।झस्याङ्ग भए । श्याम हत्तनपत्त बेड बाट उठे । त्यसपछि मलाई बेस्सरी खिन्नता भो। आफैलाई धिक्कारे। त्यो नानी हामीलाई देखेर चिच्याइन। म रोएछु। नानी पनि रोइन।उनी आफ्नो पौरख र पुरुष अहम् ममा पोखेर खुसी हुँदै निस्किए। एकैछिनको त्यो बेहोसी प्रमाद दुखमा परिणत भएको प्रतीत भयो। अनुहारभरी फागुको रङ्ग पोतिएर बेरन्ङ्गी भए जस्तो लाग्यो। जीवनको पहिलो शारीरिक अनुभव र रमाइलोले ममा दुख छोडेर गए जस्तो भो। ती सानी अबोध बालिकाले मलाई सर्वाङ्ग देखिन। मैले किन छोप्न सकिनछु आफ्नो अहम अस्मितालाई। म त स्त्री पो थिए। कठै मलाई त्यो पुरुषसग ओछ्यानमा नाङ्गो देख्दा के सोचिन होला ती नानीले। यो कुराले मुटु पोल्न थाल्यो। केहिबेर सिथिल भए । सारा शरीर नै चिस्सियो।
अघिको तातो त हिउँमा परिणत भए जस्तो लाग्यो।आँखाबाट अनायास छल्केर बगेको तातो आँसु क्षणभरमै तप्किएर जादा गालाको भिर नपुग्दै हिउँ जस्तो लाग्यो। ६ बर्षकि नानीको अगाडि म पतित भैसकेकि थिए। मेरो त्यो रौद्र रुप देख्दा उ बेस्सरी चिच्याउनु स्वाभाविक नै थियो। के मजा यहि हो? के बैशको उभार यती मात्रै होत ? यौवनका मानिसहरुले के यसकै लागि मात्रै मरिहत्ते गरेका हुन ? कन्चठ बाट गोलि निस्के जस्तै त्यो प्रमोदिता बाट होसमा आएपछि प्रश्नका सुइराहरु उठ्न थाले ।
आवेग आहाल सारा पोखेर श्याम निस्किए। म थामिएर चुपचापले बस्नुपर्ने नियतिमा फसे।
- तपाईंलाई के भएको दिदी
- म बिरामी भएको उमा
- ज्वरो आएर नाङ्गो हुनुभाको हो ?
- हो ज्वरो आएर ! काम ज्वरो। तर फुपुलाइ केही नभन ल ।
- हस केही भन्दिनँ
- तिम्लाइ म कहाँ कहाँ घुमाउन लान्छु अनि चकलेट ख्वाउछु नि
- हस् म भन्दिनँ दिदी।
फुपु आउनु भो। मेरो अनुहार अघि उनले छोडेर गएको भन्दा फरक पाउनु भो। मुहार भरी श्यामले भरेर गएको वासना तृप्तीको डाम आलै थियो। फुपुको अगाडि बेस्सरी रोएर भने " फुपु म बलात्कृत भए" फुपू झस्याङ्ग हुनु भो। फुपूको नजीक जानू पनि डर लाग्यो अघि पिएको सगुनको गन्ध फुपूले थाहा पाउछिनकी भनेर। फागु पुर्नेको दिन। म पुरै सिन्दुर अबिरले छोपिएकी छु। मुखबाट सगुनको गन्ध मैले फेरेको प्रश्वास सगै पर पर पुगिरहेको छ। मानौ पानी पार्ने बादल मनकामनाको डाडाभरी दौडिए झै ।
- तिम्रो मुखबाट रक्सीको गन्ध पो आइराको छ त
- हो म सबै कुरा भन्छु नि फूपू
- को आको थ्यो
- श्याम दाइ आउनु भएको थ्यो
- पुरै रक्सी रक्सी गन्हाउछ त जिउभरी पनि होइन के गरेको तैले?
- श्याम दाइले जर्वजस्ती गर्नु भो
- त्यो मुर्दार मै नभएको बेलामा आउनुपर्ने ? पख मैले जानेछु
फूपू तात्तिएर श्यामको घरमा जानुभो। दुई घन्टा पछि फूपू आउदा म नुहाइधुवाइ सकेर अगेनामा खाना पकाउदै थिए । मलाई सम्झाउन थाल्नु भो-
" ल भो अब चुप लाग । बैरी हसाउने काम भएछ आज। उस्ले माफी माग्यो। तसग बिहे गर्छ रे बैशाखमा। म दाइसग सल्लाह गरुला। उनीहरू पनि आखिर हाम्रा आफन्तै हुन क्यारे।"
दुवै फूपू भदैले खाना खायौ। दुवै फूपू भदै त्यही खाटमा सुत्यौ जुन खाटमा दिउँसो मात्रै मैले आफ्नो सर्वोच्च नारी अहमता श्यामलाइ सुम्पिदिएकी थिए। अब बिहे नै गर्छ भने ठिक छ नि त। मैले चित्त बुझाए। तर रातभर निन्द्रा परेन। उ प्रती माया लागेजस्तो पनि लाग्छ। फेरि घृणा उठे जस्तो पनि लाग्छ। यस्लाइ बलात्कार पनि कसरी भनु ! सबैथोक सहमतिमै त भएको छ। सगुन सहमतिमा पिइयो। अबिर सहमतिमा खेलियो। एकले आर्कोलाई सहमति मै जिस्क्याइयो। एकले अर्कालाइ सहमति मै छोइयो। एकले अर्काको आखामा सहमति मै हेरियो। स्वासको सुगन्ध एकले आर्कोको सहमतिमै र स्वेच्छाले स्वीकार गरियो । यसो हो सबै कुरा सहमतिमा । त्यो पनि त आखिर सहमति मै त भएको थियो ....! निरन्तर सोचिरहे। छर्लङ्ग भो। निन्द्रा परेन।बिचारहरुले भत्काइरह्यो मन। मनसगै भत्किरहे म।
अलिकति रमाइलो अलिकति नरमाइलो अलिकति अबोधिता अलिकति खिन्नताले बित्न थाले दिनहरु। घर जान मन लाग्यो।
बुवालाई असाध्य भेट्न् मन लागेको थियो। आमाको अचम्मै नियास्रो लाग्यो। आफैलाइ नियन्त्रण गर्न नसकेकोमा भयन्कर खेद र ग्लानी महसुस हुन थाल्यो। एउटाि चोखी नबिटाेलिएकी कुमारी छोरी छोडेर जानू भएको बुबाले तर मलाई आज समयले बिटुल्याइदिएको छ। आफ्नै मुहारबाट आफैलाई कतै लुकाउ जस्तो लाग्छ तर नसकिदोरहेछ ।
पिर छोपिन्नरैछ आँखाबाट। बर्तमान किन यति बिघ्न धमिलिदैछ बुझ्न सकिरहेकी थिइन। यो धुमिल प्रतितीले छातीको भित्तोलाइ कोपरिरह्यो। मान्छेले आफुलाइ मान्छेबाट लुकाउन त सक्ला तर आफूबाट आफैलाइ लुकाउनु चै नसकिदोरहेछ। धिक्कारे आफैलाइ र आफ्नो बैशलाई । अब कुन मुख लिएर घरमा जानू। माओवादीबाट सुरक्षित हुन भनेर फुपुको घरमा लुक्न आएकी थिए म । आखिर सुरक्षा अरुले दिएर दिने चिज होइन रहेछ । सबैभन्दा बलियो र हातहतियारले सुसज्जित भएर बसेको अप्रीय शत्रु त आफ्नै अनियंत्रित इन्द्रिय , मन र यौवनको आवेग पो रहेछ ।
श्याम सधैं झै आउन छोड्यो । त्यो दिन देखि करिब पन्ध्र दिन उस्ले मुखै देखाएन। उसलाई पनि मलाई जस्तै कतै हिनताबोध भएर पो होकि। खोइ किन हो त्यो दिन देखि अलिकति माया लागेर आइरहेको थियो मलाई उ प्रति । शायद रगत मिसिएर पो होकि । फूपू एक्दिन उसैकोमा जानू भएछ। मैले आशा गरे भन्दा केही फरक पाए श्यामलाइ। आफू बाट आफै एक्लिएको महसुस हुन थाल्यो केही दिन।
सोच्ने गर्थे - यो लाचारिताको यो शुन्यताको यो नमीठो प्रतितीको यो उजाड उराठताको कतै न कतै अन्त त होला नि एक्दिन। यहाँ बसु झन शुन्यता लाग्न थाल्यो। फूपू आफ्नै पाराले ब्यस्त छिन।
कहिलेकाही श्याम आउथ्यो उ पनि आउन छोड्यो। म बिरानो बने। यता आएपछि एउटा अर्को नमीठो कथा लेखियो जिन्दगीको पानामा। एउटा दुखद कथा । बरु माओवादी शैन्यमै भर्ती भएकि भए पनि एउटा बेग्लै सामाजिक इज्जत त हुन्थ्यो होला। म लुटिएको कथा अझ बुबाले थाहा पाउनु भो भने उहाँको मनमा कति दुख थपिएला।
फूपू एकदिन घर जानू भएछ। यता फागु पुर्नेमा घटेको सबै इतिबृतान्त बुबालाई सुनाउनु भएछ। बुबाले गहभरी आँसु झार्नु भयोरे !। र श्यामसग नै बिहेको चाजोपाजो मिलाउनु भन्नू भए छ फुपूलाई। महिनावारी रोकियो। ममा झन अर्को पिडा थपियो। फुपुलाइ सुनाए। फूपू पनि दुखी हुनु भो र यो गर्भ फालिदिने कुरा गर्नु भो । मलाई डर लाग्यो । केही सोच्नै सकिन। श्यामले मलाई बिहे गर्लाकी नगर्ला त्यो पनि कुनै टुङो थिएन। बिहे गरे त इज्जत रहला नत्र बाबू बिनाको बच्चा जन्माउनु पो कसरी । समाजको रिति लाई नै म कसरी च्यालेन्ज दिन सक्थे र । राती रुदा रुदा बिहान आँखा सुन्निएका हुन्थे।फुपुले बेस्सरी गाली गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो " भो चिन्ता नगर तेरो सबै जिम्मा म लिन्छु।"
धेरै दुखी थिए। दुई महीनाको पेट भैसकेको थियो। घर बाट पनि कोहि मान्छे भेट्न् समेत आएनन् । अत्यास लाग्न थाल्यो।
एकदिन फूपू बिहानै निस्किनु भो। म बिरामी जस्तै भैसकेकि थिए। केही दिन देखि आत्महत्या गर्छु भन्ने सोच पालिरहेकि थिए मनमा । एकान्तको पर्खाइमा थिए। कुनैदिन फूपू नहोलान घरमा अनि त्यसैदिन कित झुन्डिएर मर्छु वा बिष खाएर मर्छु । पुर्नेकै दिन देखि आफैलाई घृणा गर्न थालेकी थिए मैले जब त्यो अबोध नानीको आखा बाट म बेस्सरी गिरेकी थिए। त्यो दिन देखि ती नानी पनि यो घरमा आइनन। श्याम पनि आएन। म मात्रै भए एक्लो यो घरमा ।
नाम्लोको बरियो पिढिमा थियो। झुन्डिने ठाँउ पनि ठीक्क पारिसकेकि थिए। बरियोको गाठाे निकै कस्सिएको थियो।हातै दुख्यो। प्रयत्न गर्दै थिए। लगभग तीन महीनाको पेट भैसकेको थियो। म त झुन्डिएर मरिहाल्छु। सजिलोसँग नमरुला । घाटिमा पासोले श्वास थुन्ला। केहिबेर दुख होला । तर म भित्रको यो निर्दोष बच्चालाई झन श्वास जान कति गार्हो होला। आखिर यो अबोध बालकको दोष नै के थियो र बरा! धेरै दोष त मेरो थियोे नि । मैले र श्यामले गरेको शारीरिक रमाइलोको परिणति यो अबोध शिशुले किन भोगोस? यो अन्याय हो एउटा श्वास प्रती। म आमा भैसके। पेट बाट भ्रुण बाहिर निस्किसकेपछी मात्रै एउटाि स्त्री आमा हुने होइन । एक सकल आमा त रज र बिर्यको सकल मिलन पछि भैसक्छे बनिसक्छे। म उस्को आमा बनिसकेकि छु। मेरो कोख यति उर्वरता ओकली रहेछ् कि जस्का कारण मैले मृत्युलाई नै जित्नु थियोे र जिते आज। भो म मर्न चाहन्न। हजारौं दाग लागोस मेरो चरीत्रमा। केही फरक पर्दैन । म आमा हु। चरीत्र त मनुष्यको कोरा सोचाइ मात्रै त हो। यथार्थ त म आमा हु । बिषालु बिछीको तीब्र डन्कबाट पनि म भाग्न हुन्न किनभने अब म फगत एक्ली छैन। म एकबाट दुई भैसकेकि छु।
म भागे भने म मरेपछि मेरो बाबू आमाको इज्जतमा पनि त दाग लाग्छ नि । कि फलानाकी छोरी श्याम थापाको अबैध पेट बोकेर आत्महत्या गरि भन्लान् । मेरो र श्यामको त्यो अबैधानिक क्रियाकलापको पापमा यो बालकलाई म किन जिउँदै होमु ह ? डाेरीको गाठाे त फुकाल्नु नसक्ने म जावोले आत्महत्याको यत्रो निर्णय कसरी गर्न सक्छु !।
दिउँसोको बार्ह बजिसकेको थियो।
हातमा लिएको बरियो हुइइ भैसीको गोठतिर फाल्दिए। डाेरी फाले सगै फूपू र बा घरमा आइपुग्नु भो। म बा देखेर बेस्सरी रोए। मेरा गहका आँसु देखेर बा"का आँखाबाट आँसु अनायास चुहियो। बा देखेपछि बेस्सरी रोए। कयौं दिन देखि आखाको पोखरीमा जमेको आँसु फाले निर्धक्कले। हिक्क हिक्क आयो। खोइ के पो हो छातीमा गाठाे परेजस्तो भो। आँसु सुके परेली मुनि । बा र फूपू गफ गर्न थाले। म परैबाट उहाँहरुलाइ निर्निमेष निहारिरहेछु। मलाई फुपुले त्यतै बा भएतिर बोलाउनु भो । गए। बा सगै बसे। फेरि रोए। थामिएन आँसु । पुछिदिए बाले। म सानी छदा कुनै गल्ती गर्दा बाले जसरी बचाउनु हुन्थ्यो । आज पनि त्यसै गर्नु भो।
हिजो सानो छदा गरेको भुरे गल्ती । तर आज यो घनघोर भुल। बा राम्रोसँग बोल्नै सक्नु भएको थिएन। के हिजो सानी छदा माफ दिए जस्तै आज पनि मैले बा"को हात बाट आम माफी पाँउछु होला त ? ( क्रमशः )
(यो कथा हामीले सिटौलाको फेसबुकबाट साभार गरेका हौँ ।)
-केपी शर्मा ओली-
तपाईंहरु (आफू पक्षीय कार्यकर्ताहरु)को उत्साह देखेर लोकतन्त्रविरोधी शक्ति आत्तिएका छन्। उनीहरुका सपना खेर गएका छन्। देशभक्त शक्तिहरु, लोकतान्त्रिक शक्ति र गणतन्त्रका शक्ति विश्वस्त भएका छन् र हौसला पलाएको छ। विभिन्न षडयन्त्र गर्ने शक्ति, देशलाई बिगार्ने र लोकतन्त्र, राष्टियतालाई कमजोर पार्ने शक्ति तिलमिलाएका छन्।
तपाईहरुलाई आश्चर्य लागेको छ, देशलाई सम्झौता गर्ने फोहोरी खेल, विकासको गति अघि बढ्न नदिने र संविधान कार्यान्वयन हुन नदिने प्रयास गर्ने शक्तिहरुको सपना प्रतिनिधिसभा विघटनबाट समाप्त भएको छ।
संसद विघटन गरेर देश संकटमा पर्यो रे! संसदको निर्वाचन नगर्ने हो र? संसदको निर्वाचन गर्दा केही स्वार्थी तत्वको स्वार्थमा असर पर्छ। संविधान कार्यान्वयन हुन नदिने संवैधानिक निकायलाई क्रियाशील हुन नदिने प्रयासहरु कति भए कति!
आयोगहरु रिक्त ३ वर्षदेखि छन्। सदस्यहरु भर्न सकिँदैन। सहमतिबाट बैठक बस्ने भन्यो, बस्नै नदिने। मेरो मान्छे परेन भनेर एउटै रट गरेर रोकियो। आज अध्यादेश ल्याएर संवैधानिक निकाय भरेका छौँ। अरु पार्टी फुट्छन् भन्ने डरले पार्टीभित्र कोकोहोलो भयो। नजानेर होइन, वहाँहरु आत्तिएर यसरी चिच्याउनु भयो। यस पटक जारी गरेर मैले संवैधानिक पदहरु पूर्ति गरेको छु। मेरो खुट्टा समाउँदा समाउँदै केही काम गरेको छु। आगाडी बढ्नै नदिने भएपछि अघि बढ्न परेन?
कानुन लगेर संसद्मा लाग्यो थन्कायो। कानुन बनाउनै नदिने, पास हुनै नदिने। तीन वर्षदेखि संसदमा कानुन रोकिएका छन्। समितिमा छानी छानी समितिको सभापति बनाए। तर अन्यत्रको सम्झेर आदेश दिन थाले। देशको २ वर्ष खेर जान हुँदैन भनेर चुनावमा जानपर्छ भनेर संसद विघटन गरेको हुँ।
वैशाखपछि राजनीतिमा रहँदैन भनेर मेरो भविष्यवाणी गरेका छन्। महान् जनयुद्ध भनेकै हो के भो त? यिनीहरुले जनतालाई जातजात र भाषाभाषामा फुटाउन खोजेका थिए। विखण्डनकारीहरुलाई हामीले वार्ताद्वारा समाधान गर्यौं। तीन तिरबाट बाटो खोलेका छौँ। हामीसँग बहुमत थिएन। विगतमै मैले धेरै काम गर्ने थिएँ तर मलाई हटाइयो। समय रोकिएको छैन। यो एउटा प्रक्रिया हो। हामी यही छौँ भनेर कुन सन्दर्भमा भनेको थियौँ अहिले सडकमा गएर यहाँ छौ भन्नु भएको छ। उहीँ बसे हुन्छ। बारम्बार जाँदै गरेर उतै बसे हुन्छ।
'हामी यहाँ छौं' भन्ने वाक्यांश मैले कुन सन्दर्भमा मैले भनेको थिएँ, उहाँहरूले कुन सन्दर्भमा प्रयोग गर्नुभयो। प्रधानमन्त्रीले चालेको कदम असंवधानिक भएको भनी हल्ला चलाइएको छ। एकपटक अदालतमा जागिर खाएकै भरमा यस्तो हुन्छ र उस्तो हुन्छ भनेर प्रचार गर्नुभएको छ। एकपटक जागीर खाएकै भरमा यस्तो तर्क गर्न मिल्छ र? पोहोर परार जागिर खाएका थिए, अहिले बिर्सिएर यस्तो हुन्छ, उस्तो हुन्छ भन्नुभएको छ। सर्वोच्च अदालतमा बसेको मानिसलाई म भन्न चाहान्छु सर्वोच्चलाई गलत ढंगले गुमराहमा पार्ने, गलत प्रचार गर्ने र धम्काउने कार्य गर्न उहाँहरुलाई सुहाउँदैन।स्वतन्त्र न्यायालयलाई लोकतन्त्रमा कता जान पर्छ भनेर सिकाउन पर्दैन। सडकबाट तपाईं फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट फैसला आउनुपर्ने हो? संविधानमा संवैधानिक इजलास छ। अहिले अति जान्ने सुन्ने केही अजासुहरूले संवैधानिक इजलासले हुँदैन भन्नु भयो। कुन संविधानले भन्यो तपाईलाई हुदैन भनेर? तपाईहरुले जुन इजलास भन्यो त्यही चाहिने भए, जो न्यायाधीश भन्यो भन्यो त्यही चाहिने भए, जे फैसला चाहियो त्यही गर्ने भए अदालत किन चाहियो? अदालत नै चाहिएन। स्वतन्त्र न्यायपालिकको कदर गर्न सिकौँ। नारा जुलुस गरेर अपमानित गर्ने काम नगरौँ। राष्ट्रपतिविरुद्ध पनि नबोल्ने भाषा बोल्नु भएकै छ।
जनताका बीचमा जाने कुरा लोकतन्त्रविरोधी हुँदैन। हामी ताजा जनादेशमा जाने कुरा गरेका छौँ। संविधानलाई कार्यान्वयन गर्ने कुरा गरेका छौँ। केही दर्जन हुन्डीबाट चलेका विकाउहरूले विभिन्न कुराहरू बोलिरहेका छन्। यी बिकाउ बोलीबाट न्याय प्रभावित हुन्छ भनेर तपाईंहरू नठान्नुस्।
अब प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन। म बहुमतको नेतृत्वले भनेपछि अर्को विकल्प नै छैन। अब कसरी हुन्छ? बहुमत मसँग छ। ६४ प्रतिशत मसँग भएको अवस्थामा चलाउन सक्दिनँ र प्रभावकारी हुँदैन र नयाँ ताजा जनादेश चाहियो भनेको हुँ। सुकेको रुखले फल दिन्छ भनेर २ वर्ष पालिराख्न हुदैन भनेर ताजा जनादेश भनेको हुँ। कुहिएको रुखलाई ताजा भनेर रुखमै टास्न खोजेर हुँदैन। वैशाख १७ र २७ मा निर्वाचन हुन्छ। यही मितिमै निर्वाचन हुन्छ। यसमा कोही पनि साथीहरु भ्रम र अन्योलमा पर्न जरुरी छैन।
अर्को तिर केपी ओलीले चुनाव गर्दैन तानाशाह लगाउँछ भनेर हल्ला गरिएको छ। अनेक पटक मरेर बाँच्दै आएको लोकतन्त्र मास्न होइन, रक्षा गर्न आएको हो। चुनाव १७ र २७ गते नै हुन्छ। एक दिन पनि अघि पछि हुँदैन। हामीले यसपटक चुनावी जनलहर सिर्जना गर्न पर्छ। अन्य तत्वलाई किनारा लगाउनु पर्छ। निराश अनुहार लगाएर प्रचण्डले बोलेको सुनेँ- बैसाशाखबाट केपी ओली सकिन्छ भनेको। यो सुनेर माया लागेको छ। हिजो युद्ध लडेका र साथ दिएका कोही कार्यकर्ता छ? नारायणकाजी युद्ध लडेको मानिस हो र?
केही नेताको काम यताको गोटी यता सारो। दुई चार दिनमा मर्नेलाई के भोट हाल्नु भनेर वहाँले भनेकै हो। कस्तो बोलेको होला कस्तो चिताउन खोजेको होला? म जति पटक उपचार गर्न जान्छु कहिल्यै उज्यालो चेहरा भएन। तन्दुरुस्त भएर आएपछि बत्ती निभेको झैँ। निर्वाचन हारेर प्रधानमन्त्री अरुले छोडे प्रधानमन्त्री हो माधव नेपाल। निर्वाचन हारेलगत्तै मलाई अध्यक्ष लेऊ भनेको है। पर्ख न दिन्छु भन्दा भएन।
अब प्रचण्डसँग माधव नेपाल, नारायाणकाजी छन्। एउटा मौका आएको थियो तर सुध्रन सकेनन्। राजनीतिक विश्वास राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा आएको थियो तर गुमाउनु भयो। निलो स्यालझैँ राजा हुँदा बिग्रेको हो।
विघटनको कुनै व्यवस्था संविधानमा छैन भन्नेहरुका लागि ७६ को ७ उल्लेख गरेको छु। प्रतिनिधि सभाको नयाँ निर्वाचनको मिति तोक्न सक्ने छ भनेको छ। ६४ प्रतिशत मसँग छ ३६ प्रतिशतले नयाँ सरकार बन्छ? ५१ प्रतिशत चाहिन्छ। १७४ सिट मसँग भएपछि अरुसँग कसरी विकल्प हुन्छ। जबर्जस्ती नै गर्ने हो भने के भो र? सत्ता छोड्ने अघि संसदमा बसेर गोली हानेको पनि देखिएकै छ? तर जबरजस्ती चल्दैन।
निर्वाचन आयोगलाई केन्द्रीय कमिटीको बैठक बोलाइयो कोही आएनन् किन आइएन सोधीखोजी गर्न पर्ला भनेको एकैपटक माइतीघर मण्डलामा 'हामी यहाँ छौ' भन्नु भयो। सूर्य चिन्ह र पार्टी हामी आधिकारिक हौ भनेर पत्र पठाउनु भएछ। कुन हैसियतमा पठाउनु भयो? केपी ओलीलाई कारवाही गर्यौँ भन्नु भयो। मच्छडले कहिलेकाहीँ हात्ती र भैसी पनि खान्छ। कति खान्छ? केपी ओलीलाई निकाल्छु भनेको त्यस्तै हो। मच्छडले छाला पनि छेड्दैन कसरी खान्छ? केपी ओलीलाई निस्कासन गर्छु भन्नु भएको छ कहाँबाट माइतीघर मण्डलाबाट?
गत निर्वाचनमा प्रचण्ड सूर्य चिह्नमा लडेको हो र मेरो हो भनेर दाबी गर्न? एउटा कमेडियन शोमा पठाउनु पर्ने। यो भन्दा मजाक के हुन्छ? पार्टी अध्यक्ष हुन एउटा प्रक्रिया हुन्छ। महाधिवेशन वा पार्टी मिलाउँदा हुन्छ। माइतीघर मण्डलामा गएर पार्टी र अध्यक्ष बनाउनु भएको छ। यस्तै मजाकले देशको राजनीतिक हाँकिन्छ?
देशलाई घात गर्ने तत्वहरुको गलत तर्कहरुको धज्जी उडाउनुस्। यस पटक पनि हामी जित्छौ। धनगढीको सभामा हेर्नुस देशभर लहर चलेको छ। उनीहरु जनताबाट स्वीकार गरिएको तत्व होइनन्। कहिले हतियार र कहिले कहाँबाट आउनु भएको हो। जनताबाट उहाँहरुको भविष्य देखाइदिनुपर्छ। जनताले उहाँहरुलाई भविष्य देखाउँछ।
हाम्रो पार्टी मधेश विरोधी भनियो तर हिमाल पहाड र तराई जोड्ने गरी धोतीमा जुलुस गरेर ऐतिहासिक काम गर्नु भएको छ। देशको विकास एक ठाउँ वा जातीको मात्र गरेर हुँदैन। हामी बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले साझा उद्देश्यले समृद्ध नेपाल र सुखी नेपाली बनाउने हो। यहाँ पूर्व-पश्चिम, उत्तर-दक्षिण सबै अटाउँछ।
तराईंमा डुबाउ हुने समस्या थियो। त्यसलाई रोकेर हामीले सिचाई सुविधा पुर्याएका छौँ। चाँदनी-दोधारामा अब सिंचाई पुग्ने भएको छ। रोजगारी सिर्जना कार्य अब सुरु हुनेछ। कृषिको विकास अब तराईमा धेरै हुने छ। चुरे संरक्षण अभियान अघि बढेको छ। यति विकास गर्दा पनि मधेशका माग सुनिएन भनिएको छ। मधेश मधेश भनेर मात्र हुन्छ? ३९६ वटा अस्पताल निर्माण गर्ने भनेर शुरु गरेका ३०९ वटा शिलान्यास भएका छन्। तराईको विकासका लागि अहिलेको सरकार दत्तचित्त छ।
(युवा संघले आयोजना गरेको भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राखेको मन्तव्यको सम्पादित अंश)
-लक्ष्मण सिटाैला-
बाटो एउटा यात्रा त हो नि
बाटो आफैँ हिँडिरहेछ सदियौँ देखि
तर कहिले गन्तव्यमा पुगेन उ आफै ।
अनादी देखि हामी हिँडेको होइनौ
वास्तवमा हिँडेको त स्वयं बाटो हो
गन्तव्य पुग्नु र नपुग्नुसग उ कुनै अर्थ राख्दैन
जति हिँडेपनी थाक्तैन उ
कहिले म उसँग हिंड्छु
कहिले उ मसगँ हिंड्छ
हामी दुवै कति टाढासम्म हिँड्यौ।
मसँग कहिले उ कलेज गयो
मसँग कहिले उ काममा गयो
मसँग कहिले उ मन्दिर गयो
मसँग कहिले उ अस्पताल गयो
मसँग कहिले उ मसानघाट गयो
तर कहिले मलाई एक्लै छोडेर
आफू मात्रै फर्केन र मसग रिसाएन
कहिले केही मागेन बाटोले मसग
जता गएपनी कहिले पारेन मलाई एक्लो ।
भोकको अन्धता र शोकको तीर
छातीमा बोकेर एउटा बुढाे जिन्दगी
घिसार्दै छु म सँधैं जवानी बाटोको छातीमा टेकेर
कल्पना गर्नुस्त एकक्षण
कुनै दिन गन्तव्य नपुग्दै
तपाईंलाई बाटोले छोड्यो भने
बाटो बिनाको जिन्दगी कस्तो होला ?
मुटुले छोड्नु र बाटोले छोड्नुमा के फरक छ ?
आखाले छोड्नु र बाटोले छोड्नुमा के अन्तर छ ?
बाटो मात्रै एउटा त्यस्तो असल मित्र हो
जस्ले जस्तो बिपत्तिमा पनि छोडेर कतै भाग्दैन
र एक्लो हुन दिँदैन कहिले पनि
उ कहिले कसैको निन्दा गर्दैन
मलाई थाहा छैन आजसम्म
कसैलाई उस्ले दुत्कारेको
बाटो कहिले आफ्नो बाटो भुल्दैन।
सत्यको पैताला र सतको सुर्य ताप्तै
मसग हिँडिरह्यो हिँडिरह्यो
कतै रोकिएन उ
कतै निदाएन उ
कतै अनिन्द्रा बाँचेन उ
र कहिले बेमानी बाचेन उस्ले
बाटोसगै हिँड्दा हिँड्दा
सधैं उसँग हिँड्ने म बुढो भएछु आज
तर उ कहिले बुढो भएन ।
एउटा जीवनको नाम हो बाटो
एउटा यात्राको नाम हो बाटो
बाटोसँग माग बितेको जवानी
बाटोसँग माग बितेको कहानी
अन्तत एकदिन त्यो समय आउने छ
कि तिमीलाइ छोडेर उ एक्लै फर्किने छ
र फेरि उ आफ्नो बाटो आफैँ हिँडिरहने छ
बाटोको निरन्तरता नै जीवनको परिभाषा हो।
-डा. रवीन्द्र पाण्डे-
साेमबारदेखि काठमाडौं उपत्याकामा वायु प्रदुषण अत्यन्तै बढेको छ । चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुँवाका कणहरु सतहको नजिक थिग्रिएको अवस्था छ ।
यो प्रदुषणको कारण काठमाडौंमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्छ । काठमाडौं विश्वका सबैभन्दा प्रदुषित सहरको अग्रस्थानमा छ ।
नेपाल सरकारले वायुप्रदुषण एक्युआई ३०० भन्दा माथि पुगेमा १ वर्षको लागि आपतकालीन अवस्था घोषणा गर्नसक्दछ । गत साल दिल्लीमा प्रदुषण बढेपछि जनस्वास्थ्य संकटकाल लगाइएको थियो भने आम नागरिकलाई मास्क वितरण गरेको थियो । त्यस्तै बेइजिङमा बार्बिक्यु समेत गर्न नपाइने लगायतका कडा नियम जारी गरेको थियो ।
एक्युआई ३०० भन्दा माथि पुगेमा जनस्वास्थ्य संकटकाल लगाउने ब्यवस्था भएकोमा साेमबार काठमाडौंको एक्युआई ४८७ पुगेको वातावरण विभागको वायु गुणस्तर निगरानीले जनाएको छ । कोरोना संक्रमणको लागि वायु प्रदुषण, फोक्सोको समस्या तथा जेष्ठ उमेर बढी जोखिम मानिन्छ । यो खालको प्रदुषण नियन्त्रण नगरेमा कोरोना संक्रमितहरुलाई थप जोखिम हुनसक्छ ।
तत्काल प्रदुषण नियन्त्रण गर्नको लागि सरकारले केहि दिन गाडी जोरबिजोर चलाउने, मालबाहक ट्रकलाई चेक गरेर तथा सफा गरेर मात्र सहरमा प्रवेश गर्न दिने, मापसे चेक गरेजस्तै धुँवा फ्याँक्ने गाडीलाई चेक गरेर मर्मत सम्भार गर्न लगाउने, स्थानीय निकायसंग समन्वय गरेर धुलो हटाउने अभियान संचालन गर्ने, हरियाली प्रबर्धन गर्ने लगायतका काम गर्नुपर्दछ । यस्तो प्रदुषणको समयमा आम नागरिक सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई बिशेष ख्याल गर्नुपर्ने हुन्छ ।
स्मरणीय छ, वायु प्रदुषणले फोक्सो, मुटु तथा मस्तिष्कलाई गम्भीर असर गर्दछ भने क्यान्सर, मनोरोग आदिको पनि कारक तत्व हो ।
डा.पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।
-डा. रवीन्द्र पाण्डे-
बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौँ । यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन । भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहन्छ । त्यहि क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो । पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्दछ।
उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० प्रतिशत बढी अर्थात १७०० जनालाई संक्रमण गराउन सक्छ । यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ।
आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन । यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो।
अन्य व्यक्तिसँग भेट्दा मास्क सहि तरिकाले अनिवार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दूरी कायम गर्ने, बन्द कोठामा भेटघाट, बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन।
आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो ब्यायाम गर्ने (जाडोमा मर्निंग वाक नगर्नु राम्रो), तनाब नलिने, राति ८–९ घण्टा सुत्ने ।
मौसमी फलफुल खाने, औषधिसेवीले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै सँगै जानेछ।
जेष्ठ नागरिक तथा दीर्घबिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो ।
गलत सूचना नै तनाबको स्रोत हो । तसर्थ आधिकारिक समाचार मात्र हेर्ने, पढ्ने, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने तथा नकारात्मक समाचार नहेर्ने गर्नु नै तनाव कम गर्ने मुख्य उपाय हुन्।
(जनस्वास्थ्य विज्ञ डा. पाण्डेको फेसबुक पेजबाट )
-रुपा थापा-
न्यू इयरको साँझ
फेरि पनि अचानक भेटिएको
तिम्राे र मेराे पाइलाहरु
जस्तो कि कफि मन नपर्ने मलाई
थोरै किन तान्दै थियो आफुतिर
त्यो कफिको बास्नाले
चुरोटको धुँवाहरु मन नपर्ने तिमी भने
आज किन रुमलिदै थियौ
त्यहि चुरोटको धुवाहरुभित्र
तिमीले मेरो निम्ति बजाएको गितारको धुनमा
म किन खोज्दै थिए
फेरि फेरि पनि सारङ्गिका त्यहि धुनहरु
एक प्याला सपनिहरु जसरी डुव्दै थिए
रुवानी त्यो साझमा
फेरि पनि साथमा जुधेका तिम्रा नजरहरुसंग
नियाल्दै थिए म भने
फरक भएका मेरा सपनिका रङहरुलाई
म भन्दै थिए तिमीसँग
केहि पल पछि फेरि पनि उड्नेछु
बाफहरु बनेर तिम्रा नजरका सिमा रेखाहरूबाट
एक अर्कासँग अन्जान बनेर
मुस्कुराइ रहेका हाम्रा अोठका मुस्कानहरु
तिमीलाइ मन पर्ने संगितका ति धुनहरुसँग
नाचिरहेका यि मयुरका पंखहरु
फेरि पनि टाढिने छन त्यसैगरि
याे न्यू इयरको साँझ
जसरी प्रतिक्षामा छ यो शहर
फेरि एउटा अर्को बिहानीको
गोधुली बनेर तिमीलाइ
साँझमा मात्र भेट्ने म भने
बुझाउँदै छु तिमीलाइ
बिहानीका ति शितका थोपाहरु त
मात्र एउटा साक्षि हुन हाम्रो मिलनको
यहि न्यू इयरको साँझ
फेरि पनि छुटेका
तिम्रा र मेरा पाइलाहरु
फेरि पनि प्रतिक्षामा किन बस्छन
एउटा नयाँ बिहानीको
यहि न्यू इयरको साँझ
फेरि पनि त्यहि एक कप चियासंगै
अनि त्यहि चुरोटका धुवाहरुसंगै रुमल्लिरहेकाे म
फेरि पनि मुुस्कुराउँदै बिदा हुँदै गरेको
तिम्रा ति पाइलाहरु
तिम्रा र मेरा पाइलाहरु
सधै झै फेरि पनि यसै गरि छुटेर जान्छन र
यादहरुका बरफ बनेर
हाम्रेा यो यात्रालाई यादहरुको सिरेटोले
फेरि फेरि पनि मुुुटुहरु
चिसो बनाएर जान्छन
यहि न्यू इयरको साँझ
फेरि पनि
म भने त्यहि यादहरुका बरफ भित्र
राखिदिने छु कहिल्यै पनि नओलाउने गरि
तिम्रै नामको एउटा उपहार
-लक्ष्मण सिटौला-
यो घरमा जब म नयाँ दुलही भएर भित्रिए । त्यही दिनदेखि देउरानी र मेरोबीच बोलचाल बन्द भो । त्यो घरमा दुई दाजुभाई । मेरा श्रीमान जेठा । भाईले पहिला बिहे गरे। बिहे गरेको दुई वर्षसम्म हाम्रा देवर बाबुको सन्तान भएको थिएन। किन सन्तान भएनन् त्यो मेरो चासोको विषय बनेको थियो। यो चासो हाम्रा सासू ससुरालाई पनि थियो । खासै भन्ने हो भने हाम्रा देवरलाई बच्चा नभएकोमा कुनै ग्लानी देखेकी थिइन मैले ।
हामी दुवै देउरानी जेठानी एकै गाउँका । एकै स्कुलमा पढेका । बच्चामासँगै बाख्रा गोठालो गाको। अलिक हुर्कँदै गएपछि मेलापात भारो पर्म सँगै हिँड्ने गरेको । उनी बच्चादेखि अलि नक्कली थिइन । १३, १४ वर्षको उमेरमै लिपिस्टिक लगाउँथिन। आठ नौ कक्षा पढ्दा नै लभ लेटरको ओइरो लाग्थ्यो । मलाई देखाउँथिन । राम्री पनि थिइन बिछट्टकी । दस वर्षको उमेरमा नछुने भाकिन ।
अलिक चन्चले महिलाको छुइ पनि चाँडाे हुन्छकी क्या हो ।
हाम्रा देवर र मेरा श्रीमान पनि त्यही महेन्द्र माविमा पढेका । मेरा देवर पढ्न अलिक कम्जोर । देउरानी बिजुली थिइन् । सेन्ट अप परीक्षा सकिनुअघि देवरले पनि प्रेम प्रस्ताव राखेछन् । एकान दुइकान मैदान भो । हेड सरले पनि थाहा पाए। देउरानी उत्ताउली सबैलाई थाहा छ । देउरानीले मेरा श्रीमानलाई मन पराउँदिरहिछिन् । फेरि मेरा श्रीमानचैँ मलाई मन पराउँने रछन । पुष्पाको प्रेमलाई उहाँले इन्कार गर्नुभएको रहेछ ।
एकदिन एकान्तमा भेटेर पुष्पालाई सम्झाउनु भएछ ।
'तिमीलाई मेरो भाई केशवले मन पराउँछ उसैसँग बिहे गर'
'म त हजूरलाई पो मन पराउँछु कसरी भाईसँग बिहे गरुँ ' परिस्थितिले भाइसँग बिहे हुन पुग्यो । बिहेमा हाम्री देउरानीले मेरा श्रीमानलाई भनेकी थिइनरे-
'आखिर जुन घरमा तपाईं हुनुहुन्छ म त्यही घरमा भित्रिदैछु । मैले मन पराको पुरुष म सँगै मेरै आँखा वरिपरि नै त हुन्छन देखुला म पनि ... ।'
दाइको बिहे नगरी भाईको बिहे गर्नुहुन्न भन्ने सामाजिक प्रचलन समेतको बेवास्ता गरि हाम्रा देवर राजाले देउरानीलाई बाजा बजाए । पुष्पाले मेरा श्रीमानलाई मन पराउँछिन भन्ने कुरो अरु कसैलाई पनि थाहा छैन । हाम्रा देवर राजाको एकोहोरो पिरती र पुष्पाको उत्तालो पनले ती सबै परिस्थिति निम्तिएको थियो ।
सत्य कुरो भन्नुपर्दा मैले चै मेरा देवर राजालाई मन पराउँथे ।
मनको कुरा भन्न मात्रै पो नसकेको हो । मैले मेरा देवर राजालाई पाउने जुक्ति गर्दा मेरी देउरानीले भाजो हालेकी थिइन। आखिर न मैले चाहेको पुरुष सग मेरो बिहे भयो न उनले चाहेको पुरुषसँग उनकाे बिहे भयो ।
आज बिहे गरेको पनि तीन महिना बित्यो ।
हामीले माया गरेका दुवै पुरुष एकै घरमा छन् । हामी दुई नारी संयोगबश एकै घरमा परेका छौँ । म मेरी देउरानीको लोग्नेलाई मन पराउँछु । उनी मेरो लोग्नेलाई मन पराउँछिन । म मेरा देवर देखेर मक्ख छु । देउरानी मेरा श्रीमान देखेर मक्ख छिन । हामी सबै एकाघरमै छौ तर त्याहा आत्मीयताको बसन्त फुल्न सकेको छैन ।
प्रेम शरीरसँग हुन्छ कि आत्मासँग ?
यो प्रश्न सुर्यास्तसँगै अस्ताउँथ्यो र सुर्योदयसँगै झुल्कन्थ्यो । सुर्य मलीन भएर अस्ताए पनि उदाउँदा उसकाे तेज निर्विकल्प सत्य भएर फूलका बोटहरुलाई तातो किरणले माया गर्छ ।
माया न्यानो स्वेच्छाचारको आमन्त्रण हो। काँडाले घोचेका फूलहरु मात्रै सुरक्षित बाँच्नसक्छन बोटमा । शरीर भोग्नु एउटा कुरा प्रेममा रहनु अर्को कुरा । तर दुवैको सहमिलन उत्तम हो । हामीमा यो कुराको अभाव बाँचिरह्यो । जिन्दगीमा चाहेका कतिपय कुराहरू पुर्ण हुँदैनन् । तर मान्छे कहिले अपुरो बाँच्दैन।
देउरानीको ब्यवहारमा परिवर्तन आयो । बचपन देखिको साथी थिइ उ तर बोल्दिन । मैले उसकाे प्रेम खोसे । कसैको प्रेम खोसिदिनु पनि पाप थियो होला । यसो त उसले पनि मेरो प्रेम खोसेकी थिइ । मैले त्यो बेला अभिब्यक्त गर्न सकेकी थिइन । त्यो चै मेरो गल्ती थियो । त्यो कुरा मैले स्वीकार गर्नैपर्छ । उ मेरो लोग्ने लाई चाहन्थी । म उस्को लोग्नेलाई चाहन्थे । चाँहदामा के हुँदोरहेछ र आखिर !
प्रेमको मुहान कहाँ थुनिएको छ । बहाव मात्रै त फरक हो नि !
रातभर हाम्रा देवर राजा र देउरानी सुतेको कोठा बाहिर ढोकामा कान थापेर सुन्थे मेरा श्रीमान निदाएको बेला ।
के कुरा गर्छन होला । बिहे गरेको यतिका वर्ष भयो हाम्रा देवर राजाले के साच्चै आफुले माया गरेकी केटी पाउँदा आफ्नो प्रेमको सदुपयोग गरेका छन त ? कस्तो अचम्मको छ यो दुनियाँ ? चाहेको पुग्दैन र पनि मान्छे त्यही चाहना पुर्तीको बाटोमा हिँडिरहन सक्छ । म त्यस्तै भए आज ।
मानिस सपनाको छाँया वरिपरि घुमिरहन्छन् । सपना आशा हो । मानिस आफैँ त्यागिन्छ तर आशाबाट बन्चित हुन सक्तैन ।
एकै ओछ्यान एकै अँगालोमा जवरजस्ती बेरिएर सुतेपनि मनले बेरिन सकेन भने मायाले बेरिन सकेन भने त्यहाँ प्राप्तिको बाटो अन्त हुन्छ र मानिस आफु हिँड्ने बाटो मोड्न खोज्छ ।
म देवरलाई मन पराउँने । देउरानी मेरा लोग्नेलाई मन पराउने । मेरा देवर मलाई होइन आफ्नै श्रीमतीलाई मन पराउने ।
एउटाले मात्रै एकोहोरो मन पराउनु अन्तत पराजित हुनु हो ।
यहाँ अपराजिताहरु ज्यादै कम छन । एकदिन मैले मेरा श्रीमान लाई भने -
'हाम्रा केशव बाबु दुखी देखिनु हुन्छ किन होला ?'
'उसले मन पराकोले उसलाई मन पराइनन समस्या यति हो '
'समस्या यो भन्दा अरु गम्भीर के हुन सक्छर ?'
'जिन्दगी बिताउनुत हो बितिहाल्छ नि ?'
'केवल बिताउने नाउँमा आफ्नो आत्मालाइ किन बलि दिनु ?'
'एउटा कुरा भनी भने म महिला भन्नू होला ?'
'भनन् महिला पुरुष भन्दा पनि समस्या पो ठुलो रह्यो '
'हाम्री देउरानीले हजूरलाई मन पराउँछिन् ?'
'कसरी ! यो त पाप हो । म जेठाजु हुँ उसकाे !'
'जेठाजु हुनुभन्दा पहिल्यै मन पराउँथिन उसले हजूरलाई '
त्यो दिन मैले भेद खोलिदिए । मनमा लागेको भने । भन्नू थियो । उहाँले सुन्नु भो । मैले नभने पनि घरकाले थाहा पाउँथे कुनैदिन । मलाई पनि हलुको भो । एउटा भारी बिसाए । देउरानी नबोल्ने मसग । तर एकदिन आफैँ बोले । बोलेर आयु घट्दैन । बुहारी जेठाजु भन्दा भुतुक्कै ।' तिम्ले सानैमा मन पराको मान्छेले मलाई त्यति वास्ता गर्दैनन् आजकल' कुरा सुनेर पुस्पा खुशी भइन् । अरुको दु:खमा मानिस आफू सुखको अनुभुति गर्छ किनकि त्यस्तै दु:ख उसले भोग गरिरहँदा म जस्तै दु:खी अरु पनि रेछन भनेर ऊ खुशी हुन्छ रे ! मानिस दुखी यो मानेमा छन कि अरु खुशी छन र मानिस खुशी यो मानेमा छन् कि अरु दु:खी छन् ।
स्त्रीले चाहिन भने घर सप्रन्छ । चाहिनन् भने घर बिग्रन्छ । कसैको आवाद घर स्त्री कै कारणले उजाड बन्छ कसैको उजाड घर स्त्रीकै कारणले आवाद बन्छ । देउरानी अब म सँग बोल्ने भइन । हामी मिल्न थाल्यौँ । म उनको जेठाजुसँग खुशी हुन नसकेको कुरा खुलेर कुरा गर्न थाले । सिङ्गो जिन्दगी बिताउनु त छ्दैछ तर यसरी यो ढंगले जीवन नौका कसरी अगाडि जाने होलार! दबिएको त्यो अमित वासना किनार हुन खोज्दैथ्यो ।
ढोका थुनेर घन्टाैसम्म म देवर राजाको कल्पना गरि बस्थे । देख्छु उहाँले खाएको लाएको हिँडेको बोलेको । अति मीठो लाग्थ्यो । घोप्टाे परेको जुँघा चौडा छाति बलिष्ठ हात । मैले कल्पेकी एउटा पुरुष हुन मेरा देवर । तर देउरानी उनै देवरलाइ मन पराउँदिन । पुरुष मन पग्लिन्छ छिटो । स्त्री हिमालको बरफ हुन । धेरै तातो किरण चाहिन्छ जमेको हिउँ पग्लिन ।
मन परेको पुरुष अगाडि उभिदिए मात्रै पनि कस्तो खुशीको मादकता चढछ स्त्री मनमा ।
एकदिन एकान्तमा मैले देवरको हात समातिदिए ।
मैतिर नजर बिस्फारित गर्दै मुसुक्क हासेर उनी कलेज गए । पहिलो चोटि देखे देवर राजाले यति मीठो मायालु हाँसोले मलाई तृप्त पारेका । नत्र उनी ज्यादै कम हाँस्ने पुरुष हुन ।
म भाउजू हुँ । तर पुरानी प्रेमीका पनि त हुँ नि । उनले पो मेरी देउरानीलाई मन पराएका थिए तर मैले त उहाँलाई मन पराएकी थिए नी । भन्न पो सकिनत । भनेकी भए पनि के गर्नुर मेरा देवर एकोहोरो भाका थिए पुष्पाको प्रेममा । तर पुस्पाको मनमा अर्कै पुरुष थियो मेरा लोग्ने ।
हरेक पुरुष अहममा बाँचिरहन्छ र स्त्रीलाई आफू अनुरूपको बाँच्न र हाँस्न सिकाउँछ । सबै स्त्री सबै पुरुषको इच्छा र इशारामा बाँच्न सक्तैनन् र चाँहदैनन् पनि । सम्झौता नै गरेर बाँचेको जिन्दगी त्यो आधा जिन्दगी मात्रै हो । स्त्रीको आधा खुसीमा पुरुषको आधा खुशी थपिए मात्रै पो त्यो पुर्ण हुन्थ्यो होला ।
एकदिन देउरानीले मलाई प्रस्ताव गरिन्
'दिदी मलाई मेरो प्रेम फिर्ता गर्नु सक्नु हुन्छ ?'
'बुझिन पुष्पा के भन्न खोजेकी ?'
'तपाईको लोग्ने मलाई दिनुस् म तपाईंलाई मेरो लोग्ने '
'के यो सहज होला र ?'
'सहज बनाउने अरुले होइन हामीले त हो नि दिदी '
'लोक- लाज सासुससुरा समाज नि ?'
'मलाई थाहा छ तपाईं केशवलाई कति धेरै माया गर्नुहुन्छ ।'
हामीसँगै स्कुल पढ्दा तपाईले लुकाएर केशवलाई चकलेट दिनुहुन्थ्यो । तपाईंको मात्रै एकोहोरो चकलेटि माया थियो त्यो । केशव तपाईलाई होइन मलाई मात्रै माया गर्थ्यो । म किरण हजुरको लोग्नेलाई माया गर्थे । यी दुई दाजुभाइले हामी दुवैको प्रेमलाइ बुझेनन् है दिदी । अब गर्नुहोस् दिदी केशवलाई धित पुर्याएर माया गर्नुस् तर मलाई मेरो किरण दिनुस् । बिन्ती म किरणसँग मात्रै खुसी रहन सक्छु ।
'पुष्पा चकलेटि माया के माया जो खाउन्जेल मात्रै मीठो निले
'पछि स्वाद्ले भुलेर जान्छ तर स्वाद लिनेले चै भुल्दैन '
'चिन्ता नगर्नुस् केशवलाई मैले बृतान्त सुनाइसकेकी छु '
'उनी त मेरा देवर हुन अब सामाजिक बन्धन पनित छ नि '
'देवर त हो नि छोरा त होइननी '
पुष्पा उ आफ्नो प्रेम प्राप्तिका लागि जे गर्न पनि तयार छे ।
म भित्र दमित त्यो माया फेरि फक्रन खोज्यो । किरणको प्रतिबिम्बित हो केशव जसलाई मैले मेरो आत्माले चाहेको थिए । जब म यहाँ किरणसँग बिहे गरेर आए त्यो केवल केशव प्राप्तिको एउटा महत्त्वपूर्ण बाटो थियो । प्रेममा बहस हुँदैन । प्रेममा वक्तृत्व पनि हुँदैन । प्रेममा केवल मौनता हुन्छ ।
मौनता प्रेमको नदी हो । चुपचापमा नै फक्र्यौं हामी र मैले कहिले ब्यक्त गर्न सकिन केशव प्रतिको मेरो आत्मिक प्रेम किनकि उ पुष्पालाई माया गर्थ्यो । मैले खोसिन उस्को खुशी मुटुलाई । कहिले पनि । दैहिक प्रेम थियो भने शरीर भोग पछि तिर्खा मेटिन्थ्यो र आफै किनार लाग्थ्यो प्रेम । तर यो आत्मिक प्रेम थियो जो मुटुको छाँयामा टुसा उम्रेको छ ।
केशव पुष्पालाई (आफ्नै श्रीमतीलाई) एकोहोरो माया गर्छ । तर पुष्पालाई किरणलाई (जेठाजु) लाई एकोहोरो माया गर्छे। म केशव अर्थात मेरो देवरलाई माया गर्छु ।यो कथाका हामी तीन पात्र मनोद्वन्दमा फसेका छौँ । यस्को समाधान के हुन सक्ला!
खोइ के हो म बहुलाउन थाले जस्तो लाग्यो । किरण निदाएपछी म देवर देउरानी सुतेको कोठा बाहिर ढोकामा कान थापेर बसिरहन्छु आजकल ।
निन्द्रा नलागेर आखाको भृकुटीनै कालो कालो भएको छ । उनीहरूले स्वास फेरेको सुनिरहन्छु । कल्पना गर्छु मेरो देवर (मेरो प्रेमी) ले कसरी भोग्छन होला पुस्पालाइ । मेरो दमित यौन भाव त्यो ढोकामा पुगेपछि उभारिन्छ । र त्याहा उभिएर कान थापेपछी तिनीहरूको मन्द श्वास सुन्छु । म एकाएक उत्तेजित हुन्छु । अनि शिथिल हुन्छु ।
एउटा अचम्मको रोग लागेको छ मलाई ।
महिलालाई लाग्ने हिस्टेरिया भएको छ मलाई ।
निन्द्रा नआएको धेरै रात भो ।एक प्रकारको बिमारी भए म । निन्द्रा लाग्ने गोलिले पनि काम गर्न छोडे छ अबत। एक दिनत डबल डाेज परेछ । किरणले हात जोडी बिन्ती गरे डबल डाेज स्लिपिङ टयाबलेट नखाउ भनेर । म भित्र उकुसमुकुस छ ।
बेचैनी छ । पुरुष भन्दा महिला शान्त र सितल हुनुपर्ने हो तर म हुन सकिन । म भित्र एउटा अभाव बाँचिरहेको छ अतित देखि। मैले केशवलाई चाहे तर पाइन । नपाएको कुरा नै किन महत्त्वपूर्ण हुन्छ यो सन्सारमा ह ? हरेक रात देवोर देउरानी सुतेको ढोकाको काप बाट तिनलाई चिहाएर हेरेपछि मात्रै म मानसिक र शारीरिक तृप्ती पाउँथे । यो क्रम धेरै दिन रह्यो ।
असन्तुष्ट देउरानीले एक्दिन साँचो कुरा खोलीन-
'दिदी मरिजाम हामी सँगै सुत्दैनौ '
'एकै ओछ्यान अनि त्यसो भन्ने बच्चा जस्तो कुरा नगरन '
'ओछ्यान एक भएर के भो मन दुई भएपछि ?'
पुष्पाको कुरा सहि लाग्यो । ओछ्यान एकै भएर के काम ? सिरानी पनि एक भएर के काम ? जब सपना फरक फरक छन भने, उदेश्य फरक छ भने, मन भिन्न छ भने । अनि मैले केशवलाई माया गर्नु पनि त्यहित होला नि ।
एकै ओछ्यानमा जव फरक मन निदाउछ त्याहा अपनत्वको अभावमा न्यानोपन पनि रहदैन । सिरक एकै ओढ्नु प्रेमको न्यानो ताप्नु पनि होइन नि । माया ओछ्यानुपर्छ माया नै सिरानी हुनुपर्छ र मायानै सिरक हुनुपर्छ अनि सपना पनि एकै देखिन्छ । त्यो बिनाको माया माया होइन त्यो त केवल बासना हो । लोग्नेको स्वाद के सहवास मात्रै होत ? लोग्ने हुनु आइमाई सुरक्षित हुन मात्रै होत ? स्वास्नी हुनुलाई उ पुरुषको अकोपाइड मात्रै होत? यो त महिला कोटामा परी लोकसेवा परिक्षा पास गरेजस्तो भएन र ?
म किन यतिबिघ्न केवश भन्दा भुतुक्क भाको? उ पुस्पालाइ पो माया गर्छ मलाई त गर्दैन नि । अनि ? अनि किन म उ भन्दा भुतुक्क हुनु? के छ त त्यस्तो उसमा जुन चिज किरणसँग छैन।
देउरानी खुशी छैन । म पनि किरण सग खुशी छैन । हामी दुवै जोइपोइ भित्र एउटा असन्तुष्टिले बास गरेको धेरै भो । उहाँहरु दाजुभाइ हुन । तर त्यति खुलेर पनि बोल्दैनन । किरणको ब्यापार छ उसलाई प्रेम स्रेम स्वास्नी यौवन यौन चासो छैन ।
उ केवल मेरो ओछ्यानमा साथी बनिदिन्छ बस । सुतिदिन्छ ।
निदाउँछ मस्तले । घुर्छ । मलाई घुर्ने बानी भाको मान्छे बिल्कुल मन पर्दैन । किरण चुरोट पिउँछ । पिउनत केशव अर्थात मेरो देवर राजा पनि पिउछन तर खोइ स्वास गन्हाए जस्तो लाग्दैन।
मन परेको मान्छेले जे गरे पनि सुहाउने है। हिजो भात पस्किदा देवर राजाले भन्नू भो -'भाउजू कति मीठो तरकारी ।' कस्तो पुलकित भए म । बोली नै मीठो मेरा देवरको । ओठ नै स्वादिलो । महिला लाइ यदि जे गर्न पनि छुट भाको भए म देवर राजाको गालामा म्वाइ खाइदिन्थे । आइमाईलाई किन बलात्कार गर्ने छुट छैन ह? नत्र मैले जानेथे मेरा राजाबाबुलाइ !
आज स्लिपिङ टयाबलेटको डाेज कम भएछ । बिचरी म ।किरण निदाएछ । फेरि उही देवर सुतेको ढोकाबाट कान थाप्न थाले ।
आज देवर देवरानी झगडा गरेको सुने । देवराजले एक थप्पड हाने देउरानीको गालामा । उ रुन थाली । त्यो क्षण मलाई आनन्द लाग्यो । म चाहन्छु यी दुइको झगडा होस । केशव म तिर फर्कियोस । केशव र पुस्पा बिच यौन सम्बन्ध पनि नहोस। केसव चोखो रहोस । कुनै दिन आउला उस्को सबै कुमार बैँस म भित्र पोखोस । म भिजु निथ्रुक्क । मलाई हलहली पसिना आवोस । म आनन्दले मुर्छा परु। म भित्रको दमित वासना केशवको शरीरलाई भोग चढाउ । कति आनन्द होला त्यो बेला । उस्को छाँयाले मलाई निलोस । खप्पै खावोस मलाई त्यो अगालोले । म हलुका हुन्थे हुला । किन केशव सोच्दैमा मलाई उत्तेजना हुन्छ । केशव आगोको अगुल्टो हो जस्लाइ म आफ्नो शरीरमा झोस्न चाहन्छु । के हिस्टेरिया यहि हो ? । दमित वासना ? । ममा अलिकति पागलपनको सिम्टम आइसकेको छ ।
झगडा सुनेपछि ढोकाबाट फर्किए । आनन्द आयो । किरण घुरिरहेकै थियोे । म नहुदा चुरोट पिएछ । मुखबाट एउटा नमीठो दुर्घन्ध फैलिरहेको थियोे । एउटा भिन्दै सिरक लिएर त्यो रात म भैमा सुते । त्यो घर कति उदार छ म अचम्मित हुन्छु । त्याहाको स्वन्त्रता साच्चिकै अनमोल छ । ससुराले कहिले गाली गर्दैनन् ।
सासू यो उमेरमा पनि हासखेल रमाइलो गर्छिन ।
एक्दिन सासुले मलाई एक्लै बोलाएर भनिन-
'ठुल दुलही तिमी मेरो कान्छो केसुलाई मन पराउँछ्यौ हो ?'
' हो ,तर हजूरलाइ कसरी ? म उहाँलाई सानैदेखी मन पराउँथे'
' मैले तिमी राती राती केसुको ढोकाबाट फर्केको देख्थे '
'तर त्यस्तो केही होइन आमा म उनीहरू झगडा गरेकी भनेर
बेलुकी चिहाउँथे ।'
केसुले गल्ती गर्यो ठुल दुलै पुस्पाले किरणलाई पो मन
पराउँदिरैछन । हामी सोच्दै छौ के गर्नी भनेर । तिम्रा ससुरालाई यो सबै घटना थाहा छ । हाम्रो घरको समस्या हामीनै
मिलाउनुपर्छ ठुल दुलै ।'
सासुबुहारीको गन्थन लामो भो । त्यो रात मलाई खोइ किन पो हो स्लिपिङ टयाबलेट नखाई निन्द्रा पर्यो । ओखतीले निन्द्रा ल्याउने होइन रहेछ । निन्द्रा ल्याउने चिजत मनको खुशी पो रहेछ । मन नै हो रेछ सबैभन्दा ठुलो शत्रु पनि सबैभन्दा ठुलो मित्र पनि । कसरी देवर सग बिहे गर्नु के भनेकी होलिन हाम्री सासू आमोइले । किरण मस्त निन्द्रामा थियो । पहिले जस्तो म पुन देवर राजाको ढोकाबाट चिहाउन गइन। मन सम्हालिन थाल्यो । किरण जस्ले मलाई बिहे गरेर ल्यायो उसलाई म किन यति विघ्न घृणा गरु । उस्को गल्ती के छ र? मेरो पुस्पाको र केशवको गल्तीले किन किरणलाई पल पल मारु । उ पनि त पुरुष हो ।
पुस्पाको असन्तुष्टि उस्तै थियो । एक्दिन ससुराले हामी चरैजनालाइ आफ्नो कोठामै बोलाउनु भो । थालमा माला अवीर थिए । कुनै मन्दिर बाट आएका होलान प्रसाद दिन बोलाका होलान् भन्ठाने । सासू ससुरा म देवर राजा र किरण सगै थियौ । ससुराले देवरराजाको मुखमा हेर्दै भने-
'केसु पुष्पालाई तिमीले मन परायौ बिहे गर्यौ तर पुष्पा तिम्रो
कहिले पनि हुन सकिनन । पुस्पा किरणलाई मन पराउछिन
यो कुरो तलाइ पनि था थ्यो । अनि तेरि भाउजू किरणलाई
होइन केशवलाई मन पराउँछे । यहाँ पुरुषले मन पराउनुको
कुनै अर्थ रहन्न । नारीले मन पराइदिइन भने मात्रै पुरुषको घर पक्काको हुनेरहेछ ।
त्यसैले मैले यी बुहारीहरुको प्रेमलाइ सम्मान गर्दै पुस्पलाइ किरण र केशवलाई ठुल दुलहीसँग बिहे गराउदैछौ । ल माला पहिराउ बुहारी हो आफुले मन पराको पुरुषलाई '
सासू ससुराको साक्ष्यात मन्जुरीमा हाम्रो दोस्रो बिहे भो । मैले सोचे दमित वासना होइनरहेछ दमित प्रेम पो रहेछ जिन्दगी त !
सिटौलाको फेसबुकबाट
-डा.अरुणा उप्रेती-
३४ वर्ष भएछ मैले डाक्टर भएर काम गरेको । पहिलोपल्ट प्रसूतिगृह थापाथलीमा मेडिकल अफिसर भएर काम गर्दा र विभिन्न स्वास्थ्य शिविरमा बिरामी जाँच्दा बिरामीलाई भिटामिन त दिनैपर्छ भन्ने लाग्थ्यो । गर्भवतीका स्वास्थ्य समस्याबारे कुरा गर्दा उनका सबै समस्या आधुनिक औषधिले ठीक पार्छजस्तो लाग्थ्यो ।
धेरै छोरी जन्माएपछि ‘छोरा’ जन्माउन अस्पताल आउने महिलालाई म हकार्थें । ‘किन परिवार नियोजनको साधन प्रयोग नगरेको ? भनेर प्रश्न गर्थें ।
अपशोच ! त्यो वेला मैले बुझेको थिइनँ, उनीहरूलाई सामाजिक बाध्यता, विवशता, धार्मिक रुढिवादले कसरी गालेको छ, उनीहरू किन बारम्बार बच्चा जन्माउन विवश छन् ? काम गर्न सुरु गरेको १० वर्षपछि मात्र मैले बुझेँ कि महिलाको स्वास्थ राम्रो वा नराम्रो हुनु, उनीहरूमा कुपोषण हुनुमा कति धेरै सामाजिक, राजनीतिक कारण रहेछन् ।
मेरा दुई छोरी जन्मिएपछि जब बारम्बार ‘छोरा कहिले पाउने ?’ भनेर समाजले प्रश्न गर्न थाल्यो अनि पो मैले बुझेँ, बच्चा धेरै जन्माएकामा मैले हपारेका गरिब, अशिक्षित महिला कसरी विवशताको सिकार भएर बारम्बार बच्चा जन्माउन विवश भएका रहेछन् । यसरी एकपछि अर्को बच्चा जन्माउँदा उनीहरूको ज्यानै जान सक्ने भए पनि परिवारले वास्ता नगर्ने रहेछन् ।
कसरी सामाजिक अवस्था र दिशाविहीनताले महिलाको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ भनेर बुझ्न प्रत्येक दिन पत्रिकामा छापिएका दुःखद् खबर पढेपछि थाहा हुन्छ ।
२००६ मा गर्भवतीको रक्तअल्पता प्रतिशत ३६ प्रतिशत थियो । स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई रगतको कमी घटाउन आइरन चक्की बाँड्ने कार्यक्रम धुमधामसँग ल्यायो । तर, २०१६ मा आएर सरकारी तथ्यांकले नै देखायो— गर्भवतीमा रक्तअल्पता ४३ प्रतिशत भएछ । अर्थात् झन् बढेछ । यो तथ्यांक त सम्पूर्ण नेपालको भयो, प्रदेश नं २ मा त यो ५५ प्रतिशत छ ।
यदि दलित महिलाबीच मात्र तथ्यांक संकलन गर्ने हो भने सायद ८० प्रतिशत गर्भवतीमा रक्तअल्पता र कुपोषण पाइन्छ । नेपाली महिलाको शरीरमा रगत कम हुनुको अर्थ उनलाई सूक्ष्म पोषक तत्व, प्रोटिन आदिको कमी मात्र होइन, उनको पारिवारिक र सामाजिक अवस्था पनि दयनीय छ भन्ने देखाउँछ ।
दलित महिला गरिब छन्, खाना छैन, शिक्षा छैन ।
श्रीमानले मजदुरी गरेर ल्याएको रकम उसैले प्रायः मद्यपानमा उडाउँछ । दलित महिलाको सानैमा विवाह हुन्छ, धेरै बच्चा जन्मिन्छन् उनको स्वास्थ्य चौकीमा पहुँच छैन । यस्ता धेरै सामाजिक र आर्थिक समस्या छन्, जसले गर्दा सीमान्तकृत महिलाको स्वास्थ्य स्थिति राम्रो छैन । अपागंता भएका महिलाको मानसिक र प्रजनन स्वास्थ्यबारे पनि प्रायः छलफल हुँदैन । दलित र गाउँले महिलामा अपांगता छ भने त उनको स्वास्थ्य अवस्था झनै नराम्रो हुन्छ ।
छोरी भ्रूण भन्ने थाहा पाएपछि गर्भपतन गराउने गलत संस्कारले केही वर्षपछि नेपालमा सामाजिक समस्या निम्त्याउने अवस्था छ । कहिले सम्म महिलाको खराब स्वास्थ्यको बारे त्यस मा थि पनि दलित , कुरा गर्नु पर्ने हो नेपालमा ?
उप्रेतीकाे फेसबुकबाट
-डा.रवीन्द्र पाण्डे-
अमेरिका तथा यूरोपका विभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ । आइतबारमात्र कोरियामा लगभग एकहजार संक्रमितको पहिचान भयो । कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् । नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ । यो महामारीलाई नियन्त्रण गर्नको लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजको लागि योगदान गर्नु अपरिहार्य बनेको छ ।
के गर्ने त दोस्रो लहर रोकथामको लागि ?
१०० दिन मास्क अभियान :
सरकारी तथा गैह्रसरकारी निकायले १०० दिन मास्क अभियान संचालन गरौँ । यो १०० दिनसम्म सुरक्षाकर्मीले मास्क प्रयोग भए/नभएको ब्यापक अनुगमन गर्ने, लापरबाही गर्नेलाई जरिवानाको ब्यबस्था गर्ने । सामाजिक संघसंस्थाले स्वयंसेवीको रुपमा मास्क वितरण तथा मास्क लगाउन अनुरोध गर्ने । संचार माध्यमले मास्क अभियान संचालन गर्ने । घरबाहिर निस्किने हरेक व्यक्तिले जिम्मेवार भएर अनिवार्य रुपमा मास्क लगाउने ।
पठनपाठन बारे :
सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासिन देखिएको अवस्था छ । परीक्षण न्यून भएकोले तथा परीक्षण गर्नेले औपचारिक कामको लागि परीक्षण गरेको हुँदा समुदायमा संक्रमणको बास्तबिक अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा बिद्यालय तथा कलेज यथास्थितिमा संचालन गर्ने अर्थात अनलाइन/अफलाइन पढाइको निरन्तरता दिनु उपयुक्त हुन्छ । घटीमा पौस र माघ स्कुल/कलेज नखोल्नु जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनेछ । बिद्यालय खुलेपछि बिभिन्न ठाउँका हजारौं विद्यार्थी एकै स्कुलमा हुँदा संक्रमण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई सर्ने जोखिम हुन्छ । यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ ।
तसर्थ २ महिना स्कुल बस तथा सौचालयको संख्या थप्ने, हरेक कक्षामा भेन्टिलेसनको ब्यबस्था गर्ने, दुरी कायम गर्नको लागि कक्षा कोठा मिलाउने, क्यान्टिन फराकिलो बनाउने तथा मास्क / स्यानिटाइजर / पानी / साबुन / आइसोलेसन कक्ष आदिको ब्यबस्था गर्ने लगायतका तयारी गर्नुपर्ने हुन्छ ।
मालपोत, यातायात कार्यालय, वडा, विद्युत महाशुल तिर्ने काउन्टर लगायत ठाउँमा भीडभाड हुन नदिने । यसको लागि बैंकको जुनसुकै काउन्टरबाट कर तिरेपछि स्वत: नवीकरण हुने र छाप १०० दिनभित्र लगाए हुने ब्यवस्था गर्ने ।
लामा बस जोर / बिजोर दुवै संचालन गर्ने । सार्वजनिक बसमा मापदण्ड अनुगमनको ब्यबस्था गर्ने ।
भोजभतेर/जमघट आदि हुन नदिने । त्यसको अनुगमन तथा निगरानी गर्ने ।
जेष्ठ नागरिक तथा दीर्घ बिरामी ( दम, मधुमेह, मुटु र किड्नीको समस्या भएका ) यो ३ महिना घरभित्र बस्ने र घरभित्र पनि परिवारका अन्य सदस्यसंग घुलमिल नहुने ।
वर्क फ्रम होम र डिजिटल सर्भिसलाई सरकारी तथा निजि क्षेत्रले अध्यावधिक गर्ने ।
घर/छिमेक/अफिसमा कुनै व्यक्तिलाई कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न तथा आइसोलेसंमा बस्नको लागि प्रेरित गर्ने । रुघाखोकी लागेपनि सेल्फ आइसोलेसंमा बस्ने ।
कडा लक्षण देखिएका संक्रमितलाई अस्पताल जान प्रेरित गर्ने ।
संक्रमितलाई अक्सिमिटर/थर्मोमिटर/मास्क/स्यानिटाइजर/गाइडलाइन आदिको स्थानीय निकायले प्रबन्ध गर्ने ।
होम आइसोलेसनको अनुगमन / निगरानी गर्ने ।
भीड हुने ठाउँका पसललाई नम्बर दिएर जोर / बिजोर गरेर खोल्ने ।
फुटपाथ तथा तरकारी बजारलाई टुँडिखेल, भृकुटीमण्डपजस्तै खुला ठाउँमा ब्यबस्थित रुपमा राख्ने ।
अत्यावश्यक यात्रा नगर्ने ।
सरकारी तथा गैह्र सरकारी कार्यालय खोल्ने / बन्द गर्ने समय २ घण्टा फरक गरेर ट्राफिक जाम तथा बस स्ट्याण्डको जामलाई न्यूनीकरण गर्ने ।
बन्द कोठामा बैठक, भेटघाट, भेला आदि नगर्ने । झ्यालढोका खोलेर भेन्टिलेसन यथासम्भव बढाउने ।
जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउन महजोडीजस्ता लोकप्रिय कलाकारमार्फत बिज्ञापन / टेलिफ्लिम बनाएर प्रकाशन / प्रसारण गर्ने ।
सबैजनाले ‘म संक्रमित हुँदैन' ‘मेरो परिवार संक्रमित हुँदैन ‘ भन्ने प्रण गरेर मास्क, दुरी र सफाइमा बिशेष ध्यान दिने ।
सिमा/नाकामा एन्टिजेन टेस्ट गरेर संक्रमितलाई आइसोलेसन र संक्रमण नभएका व्यक्तिलाई भित्र आउन अनुमति दिने ।
यी र अन्य जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने/गराउनेमा सबै जागरुक बनौं । कोरोना महामारीको दोस्रो लहर रोकथामको लागि सबैजना सम्बेदनशील भएमा हामी खोपको बिन्दुमा पुग्नेछौं ।
जनस्वास्थ्य विज्ञ डा. पाण्डेको फेसबुकबाट
प्रकाशक
नविन कुमार श्रेष्ठ
सम्पादक
विनोद कुमार श्रेष्ठ
प्रबन्ध निर्देशक
कमला श्रेष्ठ
सूचना तथा प्रसारण विभाग
दर्ता प्रमाणपत्र नं.: 1965
Samakhusi, Kathmandu
Phone : 01-4382864
Mobile : 9851013929, 9845082388
Email : newmadd2018@gmail.com
© 2023 Newsajako सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies