11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल प्रहरी नियन्त्रणमा

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल प्रहरी नियन्त्रणमा


काठमाडौं, १३ भदौ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज दिउँसो नियन्त्रणमा लिएको हो ।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा उनको नाम जोडिएको थियो। चिनियाँ व्यापारी दावासँग राहुलको पटक टक टेलिफोन सम्पर्क भएको सिआइबीको अनुसन्धानबाट खुलेको थियो।

तस्करीमा संलग्न व्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध हुँदै आएको छ।

राहुल आफैंले पनि सिआइबी जान लागेकोबारे सामाजिक सञ्जालरमार्फत जानकारी दिएका थिए। ‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,’ उनले लेखेका छन्।


सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका कर्मचारीले मागे सामूहिक सरुवा (सूचीसहित)

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका कर्मचारीले मागे सामूहिक सरुवा (सूचीसहित)


काठमाडौं, १३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रमुखदेखि कार्यालय सहयोगीसम्मका सबै कर्मचारीले सामूहिक सरुवा माग गर्दै भन्सार विभागमा निवेदन दिएका छन् । भन्सार अधिकृत रमेशकुमार खतिवडासहित १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका हुन् । 

केही दिनअगाडि मात्र जिल्ला सरकारी कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखी ६० किलो सुन तस्करी प्रकरणमा भन्सारका सबै कर्मचारीमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो । 

६० किलो सुन प्रकरणपछि काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सामूहिक राजीनामा मागेका छन् । विभिन्न निकायले अनुसन्धान गर्ने नाममा दुःख दिएको, मानसिक तनाव भएको र बिनाप्रमाण थुनामा राख्ने काम भएको उनीहरूको गुनासो छ । 


आजदेखि एमसीसी कार्यान्वयनमा आउँदै

आजदेखि एमसीसी कार्यान्वयनमा आउँदै


काठमाडौं, १३ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आजदेखि कार्यान्वयनमा आउँदैछ। सम्झौताअनुसार एमसीसी आज (१३ भदौ) देखि कार्यान्वयनमा आउन लागेको हो। यो परियोजना आजदेखि पाँच वर्षभित्रम सम्पन्न हुने सम्झौतामा उल्लेख छ।  एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ। यसमा नेपालले १३ करोड डलर थप गरेको छ। 

यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन्। यसमा कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि समेटिएको छ।

यो परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो। नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ। 


प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम


काठमाडौं, १२ भदौ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा 'उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०' पारित गरेको छ। गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो।
शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खास गरी विद्यार्थीहरू ठुलो मर्कामा थिए। अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको छ। शैक्षिक  प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन्।
संशोधित नियममा भनिएको छ- 

कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानुन बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ।

तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनु अघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन पाँच वर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्ष भित्र दरखास्त दिन सक्नेछ।' त्यसैगरी नागरिकता सच्चाएको एक बर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्चाउन दरखास्त दिन पाउने छन् ।
 


बञ्चरेडाँडामा फोहोर फल्न नदिने चेतावनी

बञ्चरेडाँडामा फोहोर फल्न नदिने चेतावनी


काठमाडौं, ११ भदौ । बञ्चरेडाँडा ल्यान्डफिल साइटवरपरका बासिन्दाले असोज १ देखि फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार पत्रकार सम्मेलन गरी सहमतिअनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै फोहोर फाल्न नदिने चेतावनी दिएको हो । समितिका संयोजक श्रीराम ढुंगानाले मान्छे र फोहोर एकै ठाउँमा बस्न नमिल्ने र आफूहरुको मुख्य माग नै यही भएको बताए ।
ल्यान्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गर्नुपर्ने, प्रभावित क्षेत्रलाई अधिग्रहण गरेर मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्नेलगायतका माग समितिले राखेको छ ।
त्यस्तै  अस्पतालजन्य, विषादीजन्य र औद्योगिक फोहोरमैला बञ्चरेडाँडामा फाल्न नपाइने उनीहरुले बताएका छन् ।


वायुसेवा सञ्चालक संघका अध्यक्ष थापालाई १० हजार जरिवाना

वायुसेवा सञ्चालक संघका अध्यक्ष थापालाई १० हजार जरिवाना


काठमाडौं, ११ भदौ । नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तोकेको छ । प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले हवाई तथा उडान सुरक्षा प्रभावित बनाउने गरी अभिव्यक्ति दिएको तथा समाचार सामग्री छपाएको भन्दै सिम्रिक एयरका समेत सञ्चालक थापालाई स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले लिएको रात्रि बिसान, मनसुनमा उडान समत तोक्नेसहितका विषयमा अध्यक्ष थापा र प्राधिकरणबीच विवाद हुँदै आएको छ ।


सर्वोच्चमा स्वचालित पेसी तारेख व्यवस्थापन शुरु

सर्वोच्चमा स्वचालित पेसी तारेख व्यवस्थापन शुरु


काठमाडौं, ११ भदौ । सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख व्यवस्थापन शुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बिहान ११ बजे स्वचालित पेसी तारेख व्यवस्थापनको उद्घाटन गरेका छन् । उनले प्रविधिको प्रयोगमा जोड र तारेख तोक्ने काममा कर्मचारीको हस्तक्षेप नहोस् भनेर स्वचालित प्रणाली जडान गरिएको बताए ।  यसअघि फाँटका व्यक्तिहरूले दुई पक्षको सहमतिमा पेसी तारेख दिने गरेकामा आजदेखि स्वचालितरुपमा सिस्टमबाटै पेसी तारेख दिन लागिएको हो ।
अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, त्यस्तै अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ । तत्कालका लागि सर्वोच्च अदालतबाट स्वचालित तारेख व्यवस्थापन शुरु गरिएको र बिस्तारै उच्च र जिल्ला अदालतमा पनि स्वचालित तारेख व्यवस्थापन गर्ने तयारी रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द्रप्रसाद घिमिरेले बताए । 
 


बालुवाटार जग्गा प्रकरण : ८३३ पृष्ठ लामो अभियोगपत्र दायर(पूर्णपाठसहित)

बालुवाटार जग्गा प्रकरण : ८३३ पृष्ठ लामो अभियोगपत्र दायर(पूर्णपाठसहित)


काठमाडौं, १० भदौ । बालुवाटार जग्गा हिनामिना प्रकरणमा जोडिएकाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। यो प्रकरणमा जोडिएका कूल ३११ जना विरुद्ध अभियोगपत्र दायर भएको हो। अभियोगपत्र ८ सय ३३ पृष्ठ लामो छ। पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन्।

यस प्रकरणमा जोडिएका २३९ प्रतिवादीबाट ७५ अर्बभन्दा बढी बिगो मागदाबी अभियोगपत्रमा गरिएको छ। त्यस्तै ६ जना पूर्वसचिवहरुलाई पनि अभियोग लगाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोग लगाइएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर अभियोगपत्रमा सीआईबीले अनुसन्धान गरेर बुझाएको फाइलमा केही संशोधन गरिएको छ।

 


ढुसी परेको कोक बेच्नेलाई महानगरको कारबाही 

ढुसी परेको कोक बेच्नेलाई महानगरको कारबाही 


काठमाडौं, १० भदौ । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।

उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो । उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको हो । 


धरानमा रातिदेखि निषेधाज्ञा 

धरानमा रातिदेखि निषेधाज्ञा 


काठमाडौं, ८ भदौ । सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हो। 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेकी हुन्। ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, न्याती/ भेलाजम्मा/ प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ। 

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र न.पा. १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न.पा. ६ नं. बाट बराह क्षेत्र न.पा. वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाे हाे।


 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom