10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा बढ्यो गाडी भाडा(सूचीसहित)

काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा बढ्यो गाडी भाडा(सूचीसहित)


काठमाडौं, ७ भदौ ।  बाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज बिहीवारदेखि लागू हुने गरी भाडा बढाएको हो । अब काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको न्यूनतम भाडादर एक रुपैयाँ बढेर १९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै १० किलोमिटरसम्मका लागि २६ रुपैयाँ, १५ किलोमिटरसम्मका लागि ३१ रुपैयाँ, २० किलोमिटरसम्मका लागि ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिका लागि ४० रुपैयाँ भाडा कायम भएको छ । काठमाडौं उपत्यकाबाहिर प्रदेशभित्र चल्ने मध्यम दूरीका यात्रुवाहक गाडीको भाडा पाँच दशमलव ३१ प्रतिशतले बढेको छ ।


सरकारले जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने

सरकारले जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने


काठमाडौं, ७ भदौ । सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लािग जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 
भाद्र ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लािग जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्व २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइन् । 
बैठकले कर्जा सुरक्षण चौथो संशोधन नियमहरु २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने असोज ८ देखि ९ गतेसम्म इजिप्टमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलाई सहभागी हुन स्वीकृती दिने निर्णय गरेको छ ।
बैठकले धितोपत्र दर्ता तथा निष्काशन सातौ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृती प्रदान गरेको प्रवक्ता शर्माले बताइन् । त्यस्तै बैठकले राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति स्वीकृत गर्ने, उमेर जात र नाम सच्चाउने तेश्रो संशोधन नियमहरु स्वीकृति गर्ने निर्णय गरको प्रवक्ता शर्माले जानकारी दिइन् । 

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको एजेण्डाहरु तयार भइरहेको बताइन् । उनले कोशी प्रदेशसभाको विश्वासको मतको बिषय अदालतमा गइसकेकाले अदालतले नै आवश्यक निष्कर्ष निकाल्ने बताइन् । 
 


अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष 

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष 


काठमाडौं, ६ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ। यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारहरुलाई समस्या पर्दै आएको थियो।

विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने विभागका प्रवक्ता भरत गौतमले जानकारी दिए। अस्थायी प्रमाणपत्रको हकमा भने साविककै व्यवस्था निरन्तर रहने उनले बताए।

उनका अनुसार छापाखाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को ११ (१)मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख भए पनि अभ्यासमा एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियवालीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको हो।

त्यस्तै स्वतन्त्र पत्रकारको परिचयपत्र प्राप्ति र नवीकरणका सवालमा पनि गुनासो आएकाले यसमा पनि सुधारका लागि प्रयास थालिएको उनले जानकारी दिए।


घुससहित लहान नापी कार्यालयका अमिन पक्राउ

घुससहित लहान नापी कार्यालयका अमिन पक्राउ


काठमाडौं, ६ भदौ । सिरहा लहानस्थित नापी कार्यालयको २ नं. टोलीको प्राविधिक फाँटमा कार्यरत करार सेवाका अमिन सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ परेका छन्।
महोत्तरीको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो अमिन दिपरञ्जन यादवलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाउन सेवाग्राहीसँग लिएको १० हजार रुपैयाँ घुस रकमसहित फाँटबाटै नियन्त्रणमा लिएको हो। 
लहान नगरपालिका १६ र १७ नं. वडामा पर्ने तरेगना गोविन्दपुर क्षेत्रको गाउँब्लक जग्गा नापीमा संलग्न रहेका यादवले स्थानीय व्यक्तिको हकभोगमा रहेको एक कठ्ठा एक धुर गाउँब्लक जग्गा छोराबुहारीको नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउन १० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।


 


सशस्त्रका ८४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

सशस्त्रका ८४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस


काठमाडौं, ५ भदौ । सशस्त्र प्रहरी बल नेपालले मंगलबार  ८४ जना सशस्त्र प्रहरी निरीक्षकलाई डीएसपीमा  बढुवाका लागि सिफारिस गरेको छ।  २०६४ सालको सि सं ७ बाट यसअघि ५६ जना डिएसपिमा  बढुवा भईसकेको छन्। बाँकी मंगलबार बढुवा सिफारिस भएका हुन्। 

यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि सं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डीएसपी बढुवामा सिफारिस भएका छन्।  डीएसपी भएका  दुवैटोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मुल्याङ्कनलाई आधार बनाएर गरिएको छ। सिसं ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डीएसपी भएका र केही चाही दोश्रो लटमा डीएसपी भएका थिए। सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डीएसपी बढुवा भएका थिए। 


काठमाडौंमा लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग

काठमाडौंमा लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग


काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिकाले महानगरपालिकामा डेंगी रोग फैलिन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलोपटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौंमा डेंगी फैलिन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिए ।

उनले यो औषधि जैविक भएको र यसले लामखुट्टे तथा त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानि नगर्ने बताए । औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने उनको भनाइ छ । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'यो औषधि जैविक हो, यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानि गर्दैन, यो विषादी होइन, औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ, यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ, यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ, यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ, औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।'

डेंगी रोगका बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट चौबिसै घण्टा सञ्चालन गरिएको तथा अस्पताल जानु परे १०२ नंमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको र स्वास्थ्य केन्द्रहरूमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको प्रमुख शाहले जानकारी गराए ।  
 


सिआईबीले बुझायो ललिता निवासा जग्गा  प्रकरणको प्रतिवेदन

सिआईबीले बुझायो ललिता निवासा जग्गा प्रकरणको प्रतिवेदन


काठमाडौं, ५ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सिआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिलको कार्यालयलाई बुझाएको हो।

ललिता निवास जग्गा प्रकरणमा संगठित र कीर्ते मुद्दामा सिआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु बुझाएको हो। सिआईबीले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित २५० सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ।

गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसालसहित सहसचिव, उपसचिव शाखा अधिकृत, सुब्बा र खरिदारसम्मका व्यक्तिलाई प्रतिवादी बनाउन राय दिइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता महेशप्रसाद खत्रीले आगामी शुक्रबारसम्ममा प्रतिवदेन अध्ययन गरी मुद्दा लैजाने जानकारी दिए। ६० दिनभित्र मुद्दा चलाउनुपर्छ।

ललिता निवासका तत्कालीन भोगाधिकारी हाटकशमशेर राणा पनि प्रतिवादीको सूचीमा छन्। भूमाफियाहरू शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ जग्गा हिनामिना प्रकरणमा मुख्य योजनाकारका रूपमा राखिएको छ। यी तीन अभियुक्तकै योजनामा ललिता निवासको जग्गा हिनामिना भई व्यक्तिका नाममा पुगेको सीआईबीको निष्कर्ष छ।
 


यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, ५ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ।

यसका साथै नेपालमा हाल भारतको उत्तरप्रदेश, मध्यप्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

भोलि मंगलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने अनुमान गरिएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ।
 


आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै


काठमाडौं, ४ भदौ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । 
 
 नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ । 


सांग्रिला डेभलपमेन्ट एशोसिएसनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रकृति भण्डारी 

सांग्रिला डेभलपमेन्ट एशोसिएसनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रकृति भण्डारी 


ललितपुर,३ भदौ ।  जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई मकवानपुर र जुम्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको गैर–सरकारी संस्था सांग्रिला डेभलपमेन्ट एशोसिएसनमा नयाँ नेतृत्व आएको छ । संस्थाको नवौं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । 

संस्थाको अध्यक्षमा प्रकृति भण्डारी चयन भएकी छन् । यस्तै उपाध्यक्षमा तारा कार्की, सचिवमा दशरथ घिमिरे र कोषाध्यक्षमा रिता कँडेल चयन भएकी छन् । यस्तै सदस्यहरुमा शरण मिजार, विकास तिमल्सिना र जगदीश्वर उपाध्याय चयन भएका छन् ।

संस्थाले शनिबार ललितपुरको धाविघाटमा एक कार्यक्रमको आयोजना गरी नवौं वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण गरेको छ । संस्थाका अध्यक्ष शरण मिजारको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष मुक्तानले विभिन्न चुनौतीका बाबजुद पनि सांग्रिलाले गाउँपालिकामा गरेको कामको प्रशंसा गरे । उनले स्थानीय सरकारको विकासमा गैरसरकारी संघसंस्थाको पनि महत्वपूर्ण भूमिका रहेको बताए । सांग्रिलाले गाउँपालिकामा रहेर स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा गरेको कामप्रति उनले धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा कैलाश गाउँपालिकाका उपाध्यक्ष बाल कुमार मल्ल ठकुरीले गाउँपालिकामा रहेर सांग्रीलाले गरेको कामको प्रशंसा गर्दै अझ यसलाई बढाउन आग्रह गरे । उनले सांग्रीलाकै कारण गाउँमा सचेतना समेत बढ्न थालेको बताए ।  

कैलाश गाउँपालिका वडा नं. ३,४ र ७ को प्रतिनिधित्व गर्दै वडा नं. ७ का अध्यक्ष उदासकुमार भोलनले सांग्रीला दशौं वर्षमा आइपुग्दा गाउँपालिकामा रहेर राम्रो काम गरेको बताए ।

कार्यक्रममा सांग्रीला अर्फानेज होमकी अध्यक्ष निता शाहीले सेवा गर्दा फलको आशा गर्न नहुने भन्दै संस्थालाई दिगो रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
संस्थाका सचिव दशरथ घिमिरेले गत आर्थिक वर्ष २०७९/८० संस्थाको प्रगति प्रतिवेदनका साथै भावी कार्य योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिता कँडेलले गत आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष शरण मिजारले आगामी दिनमा संस्थाले स्थानीय सरकारकासँग साझेदारी गर्दै काम गर्ने बताए ।

कार्यक्रममा संस्थाका मकवानपुर र जुम्लाका फिल्ड संयोजक र परियोजना संयोजकहरुले आर्थिक वर्ष २०७९/८० मा भएका कामको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संस्थाका साधारण सदस्य लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सन् २०१४ सालमा स्थापना भएको सांग्रिला डेभलपमेन्ट एशोसिएसनले जुम्लामा बहिरा बालबालिका र मकवानपुरमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा काम गर्दै आएको छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom