10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


सुन प्रकरणः ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता

सुन प्रकरणः ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता


काठमाडौं, १ भदौ । भन्सारको सामानमा राखेर भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको जनाएको छ ।

ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
यो प्रकरणमा सीआईबीले सुन तस्करी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन् । 


तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना 

तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना 


काठमाडौं, ३२ साउन ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू९भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी  र बागमती  प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी, मधेस र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी  र गण्डकी  प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
 


सुन प्रकरणः चार चिनियाँ नागरिक पक्राउ 

सुन प्रकरणः चार चिनियाँ नागरिक पक्राउ 


काठमाडौं, ३१ साउन । ६० किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतका अनुसार, पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति राजधानीका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजश्व छलि तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको कठायतले बताए ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर, मंगलबार  गालेर जोख्दा ६० किलो मात्रै सुन भएको खुलेको थियो ।

विभागले गरेको पत्राचारका आधारमा कालोसूचीमा परेका तीन चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेर सोमबार ब्यूरोलाई बुझाएको थियो । तीमध्ये कसैको पनि सुन तस्करी प्रकरणमा संलग्नता नदेखिएको भन्दै सीआईबीले छाडेको छ ।
 


कक्षा १२ को नतिजा सार्वजनिक, सबैभन्दा बढी अंग्रेजी ’ननग्रेडेड’

कक्षा १२ को नतिजा सार्वजनिक, सबैभन्दा बढी अंग्रेजी ’ननग्रेडेड’


काठमाडौं, ३० साउन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षदेखि प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था रहेको छ । जसअनुसार यस वर्ष ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी ननग्रेडेड अर्थात् फेल भएका हुन् ।

यस वर्ष जीपीए ३ दशमलव ६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार नौ सय ७६ जना रहेको छ । यस्तै ३८ हजार नौ सय ९९ जनाले जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याएका छन् । यस्तै ६९ हजार एक सय ७४ जनाले जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २०, ६३ हजार ७७ जनाले जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० ल्याएका छन् । यस्तै ११ हजार चार सय ३८ जनाले जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० र ४७ जनाले जीपीए १ दशमलव ६१ देखि २ सम्म ल्याएका छन् । यो वर्ष एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।

गएको वैशाख २६ गतेदेखि शुरु भई जेठ ५ गते परीक्षा सम्पन्न भएको थियो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट झन्डै चार लाख ६७ हजार तीन सय ८९ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा नन ग्रेड हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । 
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । दुई विषयसम्म ननग्रेड ल्याएका एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । एउटा विषयमा मात्र ननग्रेड आउनेको सङ्ख्या ७९ हजार पाँच सय ८४ जना छ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेडेड भएका छन् । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय पाँच सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ ।


दोलखाका तत्कालीन सिडिओ रिजाल भ्रष्टाचारका पाँच मुद्दामा दोषी ठहर

दोलखाका तत्कालीन सिडिओ रिजाल भ्रष्टाचारका पाँच मुद्दामा दोषी ठहर


काठमाडौं, ३० साउन । जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतको मंगलबारको इजलासले उनीमाथि एकै मितिमा दायर भएका पाँचवटा मुद्दामा कसुर कायम गर्दै सजाय सुनाएको हो। 

२० माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पाँच मुद्दामा सबैमा ठहर हुने फैसला भएको छ। न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो। 

विशेषका अनुसार उनलाई एक मुद्दामा एक वर्ष कैद तथा ४ लाख रुपैयाँ जरिवाना र उति नै रकम बिगो असुलउपर हुने सजाय सुनाइएको छ। बिगोमध्ये दुई लाख उनको बैंक खातामा भेटिएकोमा जफत हुनेछ भने बाँकी दुई लाख उनले तिर्नुपर्नेछ। 
 


सिनामंगलबाट बरामद सुन ६० किलो ७८९ ग्राम

सिनामंगलबाट बरामद सुन ६० किलो ७८९ ग्राम


काठमाडौं, २९ साउन ।चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ। बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। सोमबार राष्ट्र बैंकको टक्सार विभागले सीआईबी, राजस्व कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो।

हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो।

सुरुमा २ जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित ३ कर्मचारी‚ ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो। त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ। यही प्रकरणमा पक्राउ परेका २ चिनियाँ र भारतीय राहदानीबाहक अर्का एक जनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।


ललिता निवास प्रकरण: पूर्वमुख्य सचिव पौडेलसँग सिआइवीले लियो बयान

ललिता निवास प्रकरण: पूर्वमुख्य सचिव पौडेलसँग सिआइवीले लियो बयान


काठमाडौं, २९ साउन । बालुवाटारस्थित ललिता निवास अनियमितता प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ। सिआईबीले आइतबार दिउँसो चीनका लागि नेपाली पूर्वराजदूतसमेत रहेका पौडेललाई कार्यालयमै डाकेर ४ घण्टा बयान गराइएको थियो।

सिआइवीले डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौडेल २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका नाममा भएको जग्गाको निर्णयका बिषयमा पौडेलसँग बयान लिएको जनाइएको छ।

मुख्य सचिवको भूमिका कार्यकारी नभएको र तत्कालीन सचिवबाट टिप्पणी उठेर आएको फाइल आफूले सदरमात्र गरेको जिकीर उनले गरेका छन्। पौडेलले तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीले उठाएको टिप्पणी मन्त्रिपरिषद्‌मा पेस गर्नका लागि मात्रै आफूले सहजीकरण गरेको र मन्त्रिपरिषद्‌बाट भएको निर्णयपछि कार्यान्वयनका लागि काम गरेको बताएका छन्।  
 


बंगलादेशीलाई बन्धक बनाएर फिरौती माग्ने गिरोह पक्राउ

बंगलादेशीलाई बन्धक बनाएर फिरौती माग्ने गिरोह पक्राउ


काठमाडौं, २८ साउन । नेपाल प्रहरीले बंगलादेशका नागरिकलाई बन्धक बनाएर फिरौती माग्ने गिरोहलाई पक्राउ गरेको छ। प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बंगलादेशीलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाएर काठमाडौंका विभिन्न स्थानमा ल्याई बन्धक बनाउने सातजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा बंगलादेशका ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय एमडि मोसिउर, ३८ वर्षीय सलिम मियाँ, २१ वर्षीय जहांगीर आलम, २१ वर्षीय तहमिना बेगम, सिन्धुपाल्चोककी २७ वर्षीय तारा नेपाली र इलामकी ३३ वर्षीय रोशनी राई रहेका छन्।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोज केसीले पक्राउ परेको गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न होटलमा बन्धक बनाइ उनीहरूका परिवारसँग पैसा माग्ने गरेको अनुसन्धानमा खुलेको बताए।

उनले बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए। पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालय प्रमुख केसीले बताए।
 


पक्राउ पर्ने ‘नक्कली डाक्टर’ को संख्या ८ पुग्यो, पुनम थापा भक्तपुरबाट पक्राउ 

पक्राउ पर्ने ‘नक्कली डाक्टर’ को संख्या ८ पुग्यो, पुनम थापा भक्तपुरबाट पक्राउ 


काठमाडौं, २६ साउन । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित 'नक्कली डाक्टर' माथि चलाएको अपरेसनमा पुनम थापालाई पक्राउ गरेको छ। उनी शुक्रबार भक्तपुरबाट पक्राउ परेकी हुन्।
पुनम सहित यो अपरेसनमा पक्राउ पर्नेहरुको संख्या एक सांसदसहित ८ जना पुगेको छ। सीआईबीले शुक्रबार नै मोरङबाट मनित चौधरीलाई पक्राउ गरेको थियो।
यसअघि धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी थिइन्। ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई सीआईबीले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको थियो।
‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो। 

त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर पक्राउ परेका छन्। त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्हतिर पक्राउ गरिएको थियो।

बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा डा रामबाबु यादव र एरिना यादव रहेका छन्। 
 


नक्कली सर्टिफिकेट प्रकरणः इशान हस्पिटलकी डा. शिल्पकार पक्राउ

नक्कली सर्टिफिकेट प्रकरणः इशान हस्पिटलकी डा. शिल्पकार पक्राउ


काठमाडौं, २६ साउन । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  नक्कली सर्टिफिकेट प्रकरणमा थप एक जना डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीले नागरिकन्यूजलाइ बताए।  

उनलाई सीआईबीले गएराति पक्राउ गरेको हो। शिल्पकार ललितपुर नगपालिका १८ हात्तिबन निवासी हुन्। उनलाई निवासबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनको प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीलेअनुसन्धानको लागि पक्राउ गरेको बताइएको छ। 

सीआईबीले नक्कली प्रमाणपत्रधारी डाक्टर माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन्।नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मासहित डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाइ सीआईबीले हिजो पक्राउ गरेको थियो। 
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom