11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


चार जनाविरुद्ध मुद्दा दायर

चार जनाविरुद्ध मुद्दा दायर


काठमाडौं, १३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्नेक्रममा न्यून बिजकीकरण गरी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले सापकोटा र शर्मालाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गरी कैद र चुहावट भएको राजस्वको रकमको दोब्बर जरिवाना हुने सजायलाई आधार मानी सजाय माग दाबी गरेको छ ।

त्यस्तै देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र शरणकुमार खरेलले गरेको कार्य मुख्य प्रतिवादी सापकोटा र शर्माले गरेको कसुरबमोजिमको उद्योगको कसुरको मतियार भएर कसुर अपराध गरेको भन्दै ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नै बिगो कायम गरेर कैद सजायको माग अख्तियारले गरेको छ ।
 


दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसला

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसला


काठमाडौं, १२ चैत । सर्वोच्च अदालतले झापास्थित दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने फैसला गरेको छ । सोमबार न्यायाधीश डा. कुमार चूडाल र सारंगा सुवेदीको संयुक्त इजलासले बीएण्डसीलाई सम्बन्धन दिन फैसला गरेको छ ।

मेडिकल व्यवसायी प्रसाईंले दायर गरेको रिटअनुसार सम्बन्धन दिन फैसला भएको सर्वाेच्च अदालतले जनाएको छ ।
आशय पत्र पाएर भौतिक संरचना निर्माण गरेपछि सम्बन्धन नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमीविरुद्ध २०७७ असार २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेकोमा सोमबार फैसला भएको छ ।

बीएण्डसीलाई सम्बन्धन नदिन अभियन्ता डा. गोविन्द केसीले पटक–पटक अनशन बस्दै आएका थिए ।
 


होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ६४ सवारी कारबाहीमा

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ६४ सवारी कारबाहीमा


काठमाडौं, ११ चैत । होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ६४ वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ट्राफिक नियम उल्लङ्घन गर्ने छ सय ६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो। यसमा चार पाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेलमेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो।

ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो।


आज होली पर्व, आपसमा रङ दलेर मनाइँदै

आज होली पर्व, आपसमा रङ दलेर मनाइँदै


काठमाडौं, ११ चैत । पहाडी र हिमाली जिल्लामा आज होली पर्व मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेलेर मनाइन्छ। तराई मधेशका जिल्लामा भने भोलि (सोमबार) होली पर्व मनाइनेछ। आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्। 
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्। 
 


प्रजिअले मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह 

प्रजिअले मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह 


काठमाडौं, ९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ ।

गृह मन्त्रालयले विहिबार यसअघि चैत ६ मा तयार गरिएको परिपत्रको मस्यौदालाई सच्याएर परिपत्र गरिएको जानकारी दिएको छ । यसअघि पठाइएको २१ बुँदे निर्देशनको दुई नम्बर बुँदामा सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण सम्बन्धी उल्लेख गर्दै त्यसमा अनलाइन न्युज पोर्टल समेत उल्लेख गरिएको थियो ।

सार्वजनिक भएको निर्देशनमा अनलाइन न्युज पोर्टल, फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल, आधारहीन, भ्रामक सन्देशहरू प्रचार प्रसार गर्ने, जातीय सांस्कृतिक सद्भाव भड्काउने, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतामा आँच आउने सामग्री राख्ने, कुनै व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठा र सम्मानमा नोक्सान पुग्ने गरी अभिव्यक्ति दिने, अश्लिलता प्रवर्द्धन गर्ने जस्ता कार्यहरू नियन्त्रण गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक/एक जना अधिकृतस्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्ने उल्लेख छ ।

यसैगरी यस प्रकारका कार्यमा संलग्न उपर प्रचलित कानुन बमोजिम कारबाही गरी सोको सार्वजनिकरण गर्ने समेत उल्लेख छ । चौतर्फी आलोचनापछि गृहमन्त्रालयले यस अघि उल्लेख भएको सो बुँदा हटाएर बिहीबार परिपत्र गरेको जनाएको छ ।

 


सहकारी बचतकर्ता र सरकारबीच ८ बुँदे सहमति

सहकारी बचतकर्ता र सरकारबीच ८ बुँदे सहमति


काठमाडौं, ८ चैत । विगत केही दिनदेखि आन्दोलनमा रहेका सहकारी बचतकर्ता र सरकारबीच ८ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ । अधिकारसम्पन्न समिति बनाएर बचतकर्ताको रकम फिर्ता गर्ने सरकारी प्रतिबद्धतासँगै सहकारी बचतकर्ताहरू सहमतिमा आएका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रतिनिधि र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच बिहीवार मन्त्रालयमै भएको वार्तामा सहकारी संस्थाहरूको हिसाब जाँच गर्ने र समस्याग्रस्त सहकारीको व्यवस्थापन समितिको सुदृढीकारण गर्ने गरी अघि बढ्ने सहमति भएको हो ।

वार्तामा सरकारका प्रतिनिधिहरूले समस्याग्रस्त सहकारीहरूबाट बचतकर्ताको रकम तत्काल फिर्ता गर्ने पहल गर्ने प्रतिबद्धता गरेका थिए ।

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले प्रस्तावित अधिकारसम्पन्न समितिलाई कारवाहीको सिफारिस गर्ने अधिकारसमेत दिइएको बताए ।


अमर्यादित भएर होली खेले कारवाही गर्ने काठमाडौं प्रशासनको चेतावनी

अमर्यादित भएर होली खेले कारवाही गर्ने काठमाडौं प्रशासनको चेतावनी


काठमाडौं, ७ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सूचना जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराएका छन्। 


जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैँ-झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने कार्य नगर्न सबैमा अनुरोध गरेको छ। 
 


इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार युवक कुवेतबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार युवक कुवेतबाट पक्राउ


काठमाडौं, १ चैत ।  लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ईलाम नगरपालिका-१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । 

ईलाम नगरपालिका-९ ठेगाना भएका २५ वर्षीय बिकास बसेल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम र डिजिटल तराजु १ थानसहित गत साउन २६ गते काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान एवम् सोधपुछको क्रममा उक्त लागूऔषधको कारोबारमा रोशन राई समेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २५ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । 

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।  
 


विमानस्थलमा लामो समय बसेका ५४ जना प्रहरी हटाउने निर्णय

विमानस्थलमा लामो समय बसेका ५४ जना प्रहरी हटाउने निर्णय


काठमाडौं, ३० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो ।
जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । स्क्रिनिङमा खटिएका ५० भन्दा बढिलाई हटाउने तयारी भइरहेको छ । 


मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता, वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा 

मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता, वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा 


काठमाडौं, ३० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपमा एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो ।

शारदा नगरपालिका वडा नम्बर ३ मा मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण भइरहेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा तत्कालीन वडाध्यक्ष थापाले अस्तित्वमा नभएका व्यक्तिको नामको ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझेको पाइएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ बुझेको अख्तियारले जनाएको छ ।

थापाले आमा नाता उल्लेख गरेर वृद्धभत्ता बुझेको पुष्टि भएको अख्तियारको दाबी छ ।