11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन सारियो 

रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन सारियो 


काठमाडौं, १७ माघ ।  वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन लगिएको छ । मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमति राखिने चलनअनुसार बुधवार दिउँसो तःबहाल लगिएको हो ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा वन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ । यात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै मानिन्छ । 


अध्यागमन अधिकृत मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस, असईलाई निलम्बन

अध्यागमन अधिकृत मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस, असईलाई निलम्बन


काठमाडौं, १७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितले प्रतिवेदन बुझाएको छ । समितिले कुटाइखाने अधिकृतलाई विमानस्थलबाट हटाउन निर्देशन दिएको छ । 

सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले आज गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छाँयालाल मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ । 

यसैगरी कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । यही माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा एकजना असईलाई निलम्बन गर्न सिफारिस गरेको छ । 

समितिले उक्त कुटपिट प्रकरणमा मुछिएका असईलाई निलम्बन गर्न सिफारिस गर्दा अन्य दुईजनालाई विभागीय कारबाही गर्नुपर्ने जनाएको हो । उक्त चेकजाँच गर्ने ठाउँमा खटिएका ती असई प्रकाश चौधरीले राम्ररी कमान्ड गर्न नसक्दा कुटपिटसम्मको घटना भएको निष्कर्ष समितिले निकालेको छ ।

 घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर आन्दोलित थिए । उता उक्त घटनामा संलग्न प्रहरीहरूलाई अध्यागमनको उक्त चेकजाँच प्वाइन्टबाट पहिले नै अन्यत्र सारिएको छ । तर, कर्मचारीलाई हटाउनुपर्ने समितिको सिफारिस छ । 


कृषि क्षेत्रमा युवाको आकर्षण बढेको छैन: प्रधानमन्त्री 

कृषि क्षेत्रमा युवाको आकर्षण बढेको छैन: प्रधानमन्त्री 


काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए ।

कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको संख्या बढेकामा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्नेछ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।”

उनले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको बताए । देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउँदै उनले भने, “यस विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्छ ।”


पशुपति क्षेत्रमा बनेका अवैधानिक संरचना हटाउन निर्देशन

पशुपति क्षेत्रमा बनेका अवैधानिक संरचना हटाउन निर्देशन


काठमाडौं, १६ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले कोषको जग्गामा गैरकानुनी रूपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन  निर्देशन दिएका हुन् ।

यसैबीच बोर्डले तत्काल कानुनी प्रक्रिया पुर्याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने निर्णय गरेको छ । कोषको काठमाडौँ महानगरपालिका–८ गाँचा पोखरीस्थित जग्गा तथा वडा नं ३ भगवान स्थानमा बनाइएका घर र अन्य संरचना हटाउने निर्णय गरेको हो । सिफलस्थित लामपोखरीको जग्गामा रहेका संरचना हटाउन कानुनी प्रक्रिया पूरा भएको छ ।   


हृदयघातबाट न्यायाधीश मरासेनीको मृत्यु

हृदयघातबाट न्यायाधीश मरासेनीको मृत्यु


काठमाडौं, १६ माघ । पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ। मरासिनीको आज बिहान हृदयाघातबाट निधन भएको हो।

घरमै हृदयाघात भएका उनलाई कलंकीको नेसनल अस्पताल लगिएको थियो। मरासिनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए। लामो समय जिल्ला न्यायाधीश रहेका उनी पुस १८ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्।

उनको आजका लागि एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँगको संयुक्त इजलाससमेत तोकिएको थियो।


 


आज शहीद दिवस, शहीदको सम्झना गरिँदै

आज शहीद दिवस, शहीदको सम्झना गरिँदै


काठमाडौं, १६ माघ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । 

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ । 

वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो । 

निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ पनि मनाइँदै आएको छ ।

विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहीद दिवसका रुपमा मनाइएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।


८ हजार रुपैयाँ घुस लिएको आरोपमा असइविरुद्ध मुद्दा दायर

८ हजार रुपैयाँ घुस लिएको आरोपमा असइविरुद्ध मुद्दा दायर


काठमाडौं, १४ माघ । प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

असइ भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस लिएको अख्तियारले जनाएको छ। सो सम्बन्धी सूचनाका आधारमा आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले भण्डारीलाई सेवाग्राहीबाट आठ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पुस २५ गते नियन्त्रणमा लिएको थियो।


 


राहदानी विभागमा ईञ्जिनयर र सेवाग्राहीविरुद्ध मुद्दा

राहदानी विभागमा ईञ्जिनयर र सेवाग्राहीविरुद्ध मुद्दा


काठमाडौं, १४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुर लिने र दिनेविरुद्ध भ्रष्टाचार मुद्दा हालेको छ । राहदानी विभागमा करारमा कार्यरत ईञ्जिनयर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस लेनदेनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत् सुमी धामी भनेर चिनिने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । भट्टराई र सापकोटासँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।
 


सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरूद्व पनि डिफ्यूजन नोटिस जारी

सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरूद्व पनि डिफ्यूजन नोटिस जारी


काठमाडौं, १४ माघ । सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष र पूर्वअध्यक्षविरूद्व पनि डिफ्यूजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्व अध्यक्ष भुपेन्द्र राईविरूद्व पनि डिफ्युजन नोटिस जारी गरेको हो ।

यसअघि यही सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त रहेका राईविरूद्व डिफ्यूजन नोटिस जारी भइसकेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ । जसमध्ये १५ जना अझै फरार छन् ।
 


चारघरेमा भेटिएको दुर्लभ हिउँ चितुवा चिडियाखाना ल्याइयो 

चारघरेमा भेटिएको दुर्लभ हिउँ चितुवा चिडियाखाना ल्याइयो 


काठमाडौं, १२ माघ । पूर्वी नेपाल मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-१ चारघरेमा दुर्लभ वन्यजन्तु हिउँ चितुवा फेला परेको छ । अहिले चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर सार्वजनिक गरिएको हो ।  
समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेला परेको हो । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतले सदर चिडियाखानामा पत्रकार सम्मेलन गरी हिउँ चितुवासहित उसको अवस्थाका बारेमा विवरण सार्वजनिक गरेको छ ।

विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताएका छन् । यही गएको माघ ९ गते देखिएको उक्त चितुवालाई संरक्षणमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिको सक्रियतामा उद्धार गरी सदर चिडियाखाना जाउलाखेल ल्याइएको हो ।

उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ । विज्ञहरूले उर्लाबारीमा हिउँ चितुवा कसरी आइपुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको  बताएका छन् ।

नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ । नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो ।