09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


सङ्क्रमणको दोस्रो लहर : शहर रित्तियो, गाउँमा जोखिम

सङ्क्रमणको दोस्रो लहर : शहर रित्तियो, गाउँमा जोखिम


काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषेधाज्ञा लागिसक्छ, आजै रातिसम्म काठमाडौँ छोडिसक्नुपर्छ, नत्र पहिलेजस्तै विनाकाम महिनौँ यहीँ थन्किनुपर्छ ।”

धेरैले बसको टिकट लिइसकेका, केहीले समूह समूह बनाएर बस या माइक्रो ‘रिजर्भ’ गरेका र कतिपय कलङ्की पुगेपछि केही न केही साधन पाइहाल्छ त्यसैमा जाऊँला भनेर पनि आएका थिए । सवारीको जोहो नगरी आएकाहरु कलङ्कीको बाबा पेट्रोलपम्पको अघिल्तिर उभिएका थिए र जुन बस या सवारी साधन आयो त्यसैतिर झुम्मिन्थे र चढिहाल्थे । कुनैले सकिनसकी भरेर लगेका थिए भने कति सवारीका ‘स्टाफ’ ले टिकट देखाएर मात्र भित्र छिर्न दिइरहेका थिए ।

दाङ घर बताउने मनलाल चौधरीले तीनवटा गाडी चढेर पनि ओर्लिए । ती सवारी ‘रिजर्भ’ रहेछन्, उहाँलाई टिकट मिलेन । अन्तिममा राति साढे ८ बजेको एउटा गाडी भेटियो बुटवलसम्म जाने । त्यसमा पनि सिट त थिएन मुडामा बसेर जान उनी राजी भए ।

यस्तो हत्ते गरेर किन घर जान लाग्नुभयो ? मैले सोधेँ । उन ​को जवाफ थियो, “गत साल मैले धेरै दुःख पाएँ । सरकारले गत वर्षको चैतमा सात दिनका लागि मात्र भनेर लकडाउन ग¥यो । हामी घर जाने समय पनि भएन । हामी सर्वसाधारणले त्यही सात दिनमात्र होला भनेरै बुझ्यौँ तर पछि त्यस्तो भएन, लकडान साउनसम्मै पुग्यो । न यहाँ काम गर्न पाइयो, न केही खाने कुरा भयो नत घर फर्किन पाइयो । यसपालि पनि त्यस्तै हुन्छ भनेर आजै घर हिँडेको ।

मजदुरी काम गर्ने उहाँजस्ता धेरैको बुझाई त्यस्तै छ । सरकारले एक हप्ता मात्र भने पनि यो निषेधाज्ञा कति हप्ता जान्छ थाहा छैन भन्छन् धेरैले । उनीहरुको अनुमान छ– यो हप्तौँ, महिनौँसम्म पनि जानसक्छ । त्यसैले आफ्नो गाउँघरमै गयो भने केही काम पाइन सक्छ, नपाइए पनि घरतिरै खेतीको काम गरेर पनि बाँच्न सकिन्छ भन्ने लागेको छ उनीहरुलाई । गाउँ फर्किँदै गरेका धेरैले यही संशय बोकेका छन् ।


यो समाचार गोरखापत्र दैनिकमा छ ।


एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री

एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री


गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता जोगाउनकै लागि मनाङेलाई मन्त्री नियुक्त गरेपछि चौतर्फीरूपमा एमाले र गुरुङको विरोध भएको छ।  

गुन्डागर्दीमा चर्चा कमाएका मनाङेको अपराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो। ठमेलका दुई गुन्डा चक्रे मिलन र मनाङेले फरकफरक स्थानविशेषमा गुन्डागर्दीमा राज गर्दै आएका थिए। चक्रे मिलन सुरुदेखि नै एमालेसँग निकट भएर गुन्डागर्दी गर्थे भने मनाङे कांग्रेस, राजावादी, संघीय समाजवादी हुँदै एमाले प्रवेश गरेका हुन्। ०५०र५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि मनाङेको दादागिरी सुरु भएको थियो। हप्ता असुली, धम्क्याउने र कवाडी संकलन उनको प्रमुख पेसा बन्यो। 

उनको आपराधिक यात्रामा चक्रे मिलनबाहेक अरू कोही प्रतिस्पर्धी नदेखिएपछि उनीहरूले क्षेत्र बाँडेर गुन्डागर्दी गर्न थाले। होटल, रेस्टुरेन्ट, बारमा कहीं कतै भेट भयो भने ‘ग्याङ फाइट’ पर्ने गरेको थियो। ०६८ सालमा भूमिगतजस्तै भएका मनाङेलाई धेरैपटक प्रहरीले पक्राउ गर्दै मुद्दा चलाएको थियो। प्रदेश सांसद भएकै बेला उनीमाथि प्रहरीले रेड नोटिस पनि जारी गरेको थियो।  

मनाङेविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले सफाइ पाए। करिब २५ वर्षदेखि राजधानीको गुन्डागर्दीमा संलग्न भए पनि उनको देशव्यापी नेटवर्क थियो। गुन्डागर्दीसँगै उनले ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालन गर्थे। अपराधकर्ममा रमाए पनि मनाङे पछिल्लो पटक आफूलाई समाजसेवीका रूपमा चिनाउने गर्थे। राजनीति गरे सबै प्रकारका अपराधबाट मुक्ति पाइन्छ भन्ने अभिप्रायले राजनीतिक दलमा छिरेका मनाङेले बिहीबार मन्त्री बनेपछि सांसद जित्ने भनेकै मन्त्री बन्न हो भन्ने अभिव्यक्ति दिएका छन्।  

‘अपराध लुकाउने थलोको रूपमा राजनीति प्रयोग भएको छ। यसले राजनीतिलाई राम्रो बनाउँदैन, सङ्लो बनाउँदैन। यस्ता व्यक्ति राजनीतिमा आउँदा राजनीति आफैं लजाउँछ’, नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले मनाङेको नियुक्तिबारे छोटो टिप्पणी गरे। नवराज सिलवाल, देवेन्द्र सुवेदी, सर्वेन्द्र खनाल, पुष्कर कार्की, रमेश खरेललगायत नेपाल प्रहरीका तत्कालीन दर्जन अधिकारीले मनाङेलाई पक्राउ गरेर मुद्दा चलाएका थिए।   यो समाचार नागरिक दैनिकमा छ ।


जो ८२ घण्टा पुरिएका थिए

जो ८२ घण्टा पुरिएका थिए


भूमिकास्थान नगरपालिका–१ साम्ने गाउँका ३१ वर्षीय ऋषि खनाल २०७२ साल वैशाख १४ गते वैदेशिक रोजगारीका लागि यूएईको दुबईतिर उड्नु थियो। हवाई टिकटसमेत भइसकेको अवस्थामा खनाल काठमाडौंसम्म पुगेका थिए। तर, १२ गतेको विनाशकारी भूकम्पले विदेश गएर धन कमाउने सपना चकनाचुर पारिदियो। त्यति मात्रै होइन, झन्डै ८२ घण्टापछि खनालको जीवितै उद्धार गरियो। भाग्यले बाँचे १

गोंगबुस्थित साततले गेस्टहाउसको पहिलो र दोस्रो तला भूकम्पले भत्किएको थियो। तर, माथिल्लो चार तला कायमै थियो। त्यही भत्किएको तलाबाट खनालको उद्धार सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीले १० घण्टाको अथक प्रयासपछि गरेको हो। 

नालले आफ्नो उद्धारपछि बाँच्नका लागि पिसाबसमेत खाएको बताएका थिए। उनले ढुंगाका स–साना टुक्रा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए।

उनको देब्रे खुट्टा काटिएको छ। उपचार खर्च सरकारले बेहोर्‍यो। तर, काठमाडौं आउजाउ, औषधि खर्च गर्दा अढाइ लाखभन्दा बढी रकम सकियो । भन्छन्, ‘भूकम्पमा परेर अंगभंग भएका म र मजस्ता साथीहरूले सीप सिकेर जीविकोपार्जन गर्न चाहेका छौं।’ काठमाडौंमा विभिन्न संघ–संस्थाले सीपमूलक तालिम निःशुल्क दिने भनेका थिए। तर, सम्पर्कै गरेनन्। निःशुल्क भए पनि काठमाडौंमा भाडा तिरेर बस्ने, बिहान–बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर सीपमूलक तालिम लिन नसकेको खनाल सुनाउँछन्। खाने, बस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर हात खुट्टा गुमाएका आफूजस्ता साथीहरूले सीप सिकेर केही काम गरेर खान सक्ने उनको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्ट छ र।

 


कोरोना कहर : गम्भीर बिरामीलाई बचाउनै मुस्किल

कोरोना कहर : गम्भीर बिरामीलाई बचाउनै मुस्किल


कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा।समीरकुमार अधिकारीले बताए।

अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभई धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए। उनले शनिबार साँझ नागरिकसँग कुरा गर्दै भने, ‘अस्पताल भर्ना भएर के गर्नु रु कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरूलाई बचाउनै मुस्किल छ।’ अहिले पनि गम्भीर लक्षण देखिएर आइसियु र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए। ‘गम्भीर लक्षण लिएर पुगेकाहरूलाई निको पार्ने कुरा सामान्य छैन,’ उनले भने। 

अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा। प्रवीण नेपालले बताए। ‘१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,’ उनले भने। उनले अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको कारण पुगेका जति सबैले राम्रो उपचार पाउने स्थिति नरहेको बताए। ‘धेरै संक्रमित हुनु भनेको गम्भीर बिरामीको संख्या बढ्नु पनि हो, गम्भीर हुनु भनेको मृत्यु संख्या बढ्नु पनि हो,’ उनले भने।  यो समाचार नागरिक दैनिकमा छ ।


काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित


काठमाडौं । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।

पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ ।

केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ । शनिबार मात्रै तीन महिनायताकै १४ संक्रमितको मृत्यु भएको छ ।

संक्रमणदर बढ्दै गए भएका संरचना धान्न सक्ने अवस्था नभएको सरकार आफैंले बताइसकेको छ । मुख्यतः भारतमा संक्रमणदर बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो । हाल, भारतमा दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण देखि“दै आएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

 


बिहीबार बिहानबाट यसरी बिग्रियो कुरा

बिहीबार बिहानबाट यसरी बिग्रियो कुरा


विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई जोगाउन कसरत भए पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै अडानमा रहेका कारण संकटको गाँठो झनै कसिएको छ । बुधबारको भेटघाटलाई बिहीबार समेत निरन्तरता दिए पनि वार्तामा कुनै प्रगति हुन सकेन ।

बुधबार दुवै नेता लचिलो देखिए पनि बिहीबार बिहानैदेखि वातावरण बिग्रिएपछि दिउँसोको वार्ता फलदायी हुन नसकेको हो । बिहीबार बिहान ओलीले माधव नेपालले पार्टी विभाजन गरिसकेको, अर्को पार्टी खोलेर हिँड्दा आफूले सम्झाइबुझाइ गरेको जस्ता अभिव्यक्ति दिएपछि वातावरण बिग्रिन पुग्यो ।

‘फागुन २८ गतेका निर्णय मानेर जानुपर्ने भनेपछि अन्य विषयमा प्रवेश गर्ने कुरै भएन,’ वार्तापछि नेपालले आफूनिकट नेतालाई जानकारी दिँदै भने, ‘ओलीले अझ बिहीबार जुन अभिव्यक्ति दिए, त्यो निकै आपत्तिजनक थियो । पार्टी विभाजन गर्ने भनिएको पनि छैन, नयाँ दल खोल्ने कुरा पनि छैन तर ओलीले नयाँ दल खोल्न लागेको भनेर प्रचार गरे । त्यसले पार्टी मिलाउनेभन्दा पनि राजनीतिक चालबाजीमात्रै देखियो ।’

ओलीको बिहीबारको अभिव्यक्तिबाट उनी विवाद मिलाउन चाहँदैनन् वा उनको नजिक रहेका व्यक्तिहरु पार्टी मिल्नु हुँदैन भन्ने पक्षमा छन् भन्ने संकेत मिलेको बताउँदै नेपालले आफूनिकटका नेताहरुलाई ब्रिफिङ गरे । 

आजको नागरिक दैनिकमा समाचार छ ।


भरिए काठमाडौं उपत्यकाका अस्पताल, लकडाउन गर्न सुझाव

भरिए काठमाडौं उपत्यकाका अस्पताल, लकडाउन गर्न सुझाव


काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।  

कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा। विमल पाण्डेले बताए। पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको छ। ‘तीन दिनदेखि सबै शयया प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा।पाण्डेले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भएको जनाएको छ। 

दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको उनीहरूले औंल्याएका छन्। सरकारले उपचारका लागि शयया बिस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौती हुने स्थिति रहेको वीर अस्पतालका कोभिड उपचार चिकित्सक डा. कार्कीले बताए। ‘शययामात्र भएर हुँदैन, उपचारका लागि जनशक्ति पनि तयारी हुनुपर्छ, त्यो सम्भव देखिँदैन’, उनले भने। सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा. पाण्डेले भने।  

यो समाचार आजको नागरिक दैनिकमा छ । 


कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने

कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने


कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ । 

बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो । 

भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन । महामारीमा उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो ।

यो समाचार आजको नागरिक दैनिकमा छ । 

 

 


नेपालको अक्सिजन भारततिर

नेपालको अक्सिजन भारततिर


दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामाग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । 

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे फनि माग बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएका अधिकाशंलाई अक्सिजन दिनुपरिरहेको छ । 

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 


ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?


नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । जसका कारण विवाद झन्झन् बढने देखिएको छ ।

एमाले स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले एमाले धेरै नै अघि बढिसकेकाले पछाडि फर्किन नसकिने अडान राखेका थिए ।

‘दुवै नेता आफ्नै अडानमा हुनुहुन्छ । नेकपा एकता हुनुभन्दा अघिल्लो मितिमा फर्किएर पार्टी एकता जोगाउँदै अघि बढनुपर्ने अडानमा वरिष्ठ नेता नेपाल हुनुहुन्छ,’ एमाले स्रोतले भन्यो, ‘तर अध्यक्ष केपी ओलीले एमाले धेरै नै अघि बढिसकेकाले अब पछाडि फर्किन नसकिने र यही अवस्थामा मिलेर जानुको विकल्प नभएको बताउँदै आउनुभएको छ ।’

नेपालसहितका नेताहरूलाई पार्टीबाट ६ महिनाका लागि गरिएको निलम्बनको निर्णयमा पुनर्विचार गर्न सकिने अध्यक्ष ओलीले संकेत गरे पनि शुक्रबार (आज) बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुनुपर्ने सर्त अघि सारेका छन् । तर, नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै २ जेठमै फर्किनुपर्ने आफ्नो पुरानै अडान दोहोर्‍याएका छन् ।

‘तपाईंहरू भोलि (शुक्रबार)को बैठकमा आउनुभयो भने यसअघि मैले ६ महिनाका लागि पार्टीबाट गरिएको निलम्बन फुकुवा गर्छु’ छलफलमा ओलीले भने । तर, नेता नेपालले ओलीको सो प्रस्ताव अस्वीकार गर्दै २ जेठको अवस्थामा नफर्किंदासम्म आफूहरू बैठकमा आउन नसक्ने बताएका छन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।

 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom