11 Mangshir, 2077 / 26 November , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


गौतमको ढुलमुले चरित्रले ओली र प्रचण्डको तानातानमा थापा

गौतमको ढुलमुले चरित्रले ओली र प्रचण्डको तानातानमा थापा


काठमाडौं, ८ मंसिर । आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन्। पार्टी एकताको पक्षमा उभिँदै आएका तथा ओली नेतृत्वको सरकार यथावत् रहनुपर्छ भन्दै आएका थापासँग आइतबार कार्यकारी अध्यक्ष दाहालले दुई घन्टा कुराकानी गरे। ओलीले पनि बेलाबेलामा थापासँग छुट्टै छलफल गरी साथ माग्दै आएका छन्। तर केही दिनयता दाहालले थापालाई लगातार खुमलटार बोलाएर आफूतिर खुल्न दबाब दिइरहेको स्रोतको दाबी छ। तीन दिनअघि दाङ पुगेका बेला नेता गौतमले आफू कुनै गुटमा नरहेको बताएपछि दाहालले आइतबार बिहान थापालाई भेट्न खुमलटार बोलाएका थिए।

दाहालले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्नुपर्ने, अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैं रहिरहन नसकिने भनाइ राखेका थिए। तर थापाले कुनै जवाफ नदिएको स्रोतको भनाइ छ। ‘पार्टी उपाध्यक्ष गौतमलाई बालुवाटार र खुमलटार आफ्नो पक्षमा पार्ने विषयमा आश्वस्त हुन नसक्दा खुमलटारले थापाको साथ खोजेको हो,’ स्रोतले भन्यो। नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका थापा कतै पनि खुलेर लागेका छैनन्। ‘आइतबार बिहान खुमलटार जानुभएको थियो, अध्यक्ष दाहालले उहाँलाई पार्टी दुई लाइन संघर्षमा गइसकेकाले एकातिर खुलेर लाग्न भन्नुभएको रहेछ,’ थापानिकट स्रोतले भन्यो, ‘उहाँले पार्टी एकता भाँडेर कहीं नपुगिने, महाधिवेशन आएपछि खुलेर कुरा गरिने तर अहिले चाहिँ पार्टी एकतालाई बचाएर लैजानुपर्ने दायित्व भएकाले दुवै अध्यक्षले छलफल गरेर अगाडि बढ्दा राम्रो हुने बताउनुभयो।’ दाहाल र थापाबीच प्रत्येक साता भेटघाट हुने भए पनि आइतबार भने अन्य दिनभन्दा लामो कुराकानी भयो। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 


यी हुन् उत्कृष्ट १५ करदाता

यी हुन् उत्कृष्ट १५ करदाता


काठमाडौं, ८ मंसिर ।  सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु-याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन आइतबार उत्कृष्ट १५ करदाताको नाम छनोट गरेको हो । आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमध्येबाट मदिरा व्यवसायी विजयकुमार शाह उत्कृष्ट छानिएका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् ।

मदिरा व्यवसायमा संलग्न शाहको अहिले स्वदेशी मदिरा उत्पादन तथा बिक्रीमा ठूलो व्यावसायिक साम्राज्य छ । स्वदेशी मदिरा उत्पादक व्यवसायी शाहको जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरीलगायत विभिन्न कम्पनी सञ्चालित छन् । हाल शाहका यी कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । 

व्यक्तिगत आयकरतर्फ : विजयकुमार शाह
बैंकिङ क्षेत्रतर्फः नबिल बैंक
कम्पनीको क्षेत्रतर्फबाटः बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल
विप्रेषणतर्फः आईएमई रेमिट्यान्स कम्पनी
व्यापार व्यवसायतर्फः अग्नि इन्कर्पोरेटेड कम्पनी
निर्यात व्यवसायतर्फः बहुराष्ट्रिय कम्पनी डाबर नेपाल
विशेष उद्योगतर्फ : हिमाल पावर कम्पनी
कृषि तथा पशुपक्षी उद्योगतर्फः अन्नपूर्ण एग्रोभेट प्रालि
सहकारीतर्फः छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
बिमा व्यवसायतर्फः नेपाल पुनर्बिमा कम्पनी
शिक्षण सेवातर्फः मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपाल प्रालि
पर्यटन व्यवसायतर्फः तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
मध्यमस्तरीय करदातातर्फ : कामना सेवा बैंक लिमिटेड
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फः घोराही सिमेन्ट
आराकाहरुको कार्यक्षेत्र तर्फबाटः भीएफ सर्भिसेस (मोरिसस) प्रालि


निजगढ विमानस्थलः गुरुयोजना बनाउने कम्पनी छनोट

निजगढ विमानस्थलः गुरुयोजना बनाउने कम्पनी छनोट


काठमाडौं, ८ मंसिर ।  राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले गुरुयोजना बनाउने जिम्मा पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न कम्पनी छनोट भएको जानकारी दिए ।

प्राधिकरणले आशय–पत्र (लेटर अफ इन्ट्रेस्ट) जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको जानकारी दिँदै उनले थपे, ‘‘गुरुयोजना निर्माणको जिम्मा अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले पाएको छ ।’’

गत असोजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन गुरुयोजना यथाशीघ्र निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए । मन्त्रालयको निर्देशनपछि प्राधिकरणले गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको हो । गुरुयोजना निर्माण गर्न प्राधिकरणले माग गरेको आशय–पत्रमा एक दर्जन कम्पनीले आवेदन भरेका थिए, जसमध्ये छवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए ।

छनोट भएका ती कम्पनीसँग सम्झौता भएको डेढ वर्षभित्र विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने महानिर्देशक पोखरेलले जानकारी दिए । ३० करोड रुपियाँको लागतमा नयाँ गुरुयोजना निर्माण हुन लागेको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 


कोरोनाको खोपलाई ७० अर्ब

कोरोनाको खोपलाई ७० अर्ब


काठमाडौं, ७ मंसिर ।  सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको छ । त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ ।

‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले भने, ‘सबैभन्दा पहिला कुन खोप आउँछ ? त्यो खोप कति महँगो हुन्छ ? त्यसका आधारमा पनि बजेट भर पर्छ। ’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

 

 


भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा


काठमाडौं, ५ मंसिर । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ ।

विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । बोर्डले गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने तर स्थगित भएको परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

अभिमुखीकरण जारी
बोर्डले झन्डै ५० जिल्लाका परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र परीक्षा हेर्ने कर्मचारीलाई कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमुखीकरण कार्यक्रम जारी राखेको छ । केही दिनमा सबै जिल्लाको अभिमुखीकरण सकिने र परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि निर्वाध रूपमा परीक्षा सञ्चालन गर्न सक्ने आत्मविश्वास केन्द्राध्यक्षहरूले राखेको जनाइएको छ । भौतिक रूपले टाढाको दूरीका परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ । नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

यसैबीच बोर्डले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै परीक्षा लिन सम्बद्ध विद्यालयलाई निर्देश गरेको छ । परीक्षाको दूरी कायम गर्न केही विद्यालयले समस्या भए नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गरेर भए पनि परीक्षा लिने गरी बाटो खुला गरिएको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् । 


प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ

प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ


काठमाडौं, ५ मंसिर । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके पदत्याग गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न उठाएका हुन् । प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा प्रचण्डको अभियोगपत्रको जवाफ दिन १० दिनको समय माग गर्दै अभियोग लगाउनेले अभियोगको पुष्टि गर्न नसके त्यसको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताए । प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद ओलीले छोड्नुपर्ने उद्देश्यसहित अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ अर्को बैठकमा ओलीले दिने तयारी गरेका हुन् । 

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप सही ठहरिए आफूले दुवै पद छाड्ने र गलत ठहरिए आरोप लगाउने अर्का अध्यक्ष दाहालले नै आफ्नो पद त्याग्नुपर्ने आवश्यकता आंैल्याएका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । 

 

 


दुई लाखलाई रोजगारी दिइँदै

दुई लाखलाई रोजगारी दिइँदै


काठमाडौं, ५ मंसिर । देशभरबाट छ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असोजदेखि मङ्सिर ४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि त्यो सङ्ख्याका बेरोजगार युवाले आवेदन दिएका हुन् । यसमा आउँदो १५ गतेसम्म अझै बढी बेरोजगारको सङ्ख्या थपिने छ ।

श्रम मन्त्रालयले उक्त कार्यक्रममार्फत चालू आर्थिक वर्ष २०७७÷७८ मा दुई लाख विपन्न बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य लिएको छ तर रोजगारीका लागि आवेदन दिने बेरोजगारको सङ्ख्या भने अत्यधिक छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी तथा देशभित्रै पनि हजारौँको सङ्ख्यामा नेपाली श्रमिकले रोजगारी गुमाएका कारण बेरोजगारको सङ्ख्या बढ्दै गएको छ । देशभित्र कति युवाले रोजगारी गुमाए भन्ने तथ्याङ्क छैन ।

श्रम मन्त्रालयले स्थानीय तहमा खटिएका रोजगार संयोजकबाट सङ्कलन गरेको तथ्याङ्क अनुसार यो सङ्ख्या बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिएका आधारमा सूचीकृत गरेको जनाएको छ । मन्त्रालयले स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा स्थानीय तहलाई पत्राचार गर्दै बेरोजगार युवालाई आ–आफ्नो पालिकामा गत भदौ ७ सम्म आवेदन दिने समय तोकेको थियो । पालिकामा आएका बेरोजगारका आवेदन छनोट गरी रोजगार संयोजकसमक्ष पठाएपछि संयोजकले बेरोजगारीको सूचीमा सूचीकृत गर्छन् । योे सङ्ख्या बेरोजगारको सूचीकृतको सूची हो ।

श्रम मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय संयोजक सुमन घिमिरेले मन्त्रालयले देशका ७५३ वटा स्थानीय तहमा सञ्चालनमा रहेका रोजगार सेवा केन्द्रमार्फत बेरोजगारीको नाम सङ्कलन गरेर छनोट गरेको जानकारी दिनुभयो । उहाँले उक्त रोजगार कार्यक्रमले अति विपन्न परिवारलाई समेटेर बेरोजगार युवालाई रोजगारीसँगै देशभित्र काम गर्नुपर्छ भने सीप सिकाउने कामसमेत भइरहेको जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।


स्नातक तहको शैक्षिक सत्र खेर नजाने

स्नातक तहको शैक्षिक सत्र खेर नजाने


काठमाडौं, ४ मंसिर । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । 

वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिए । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।

मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । 

गत वर्ष फागुनमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सुरु भएकोमा यस वर्ष एक महिनाको हाराहारीमा मात्रै समय फरक पर्ने र यसले समग्र शैक्षिक सत्रलाई कुनै फरक नपार्ने परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् । 


मेलम्ची खानेपानी आयोजना : वितरण प्रणाली तयारी अवस्थामा

मेलम्ची खानेपानी आयोजना : वितरण प्रणाली तयारी अवस्थामा


काठमाडौं, ४ मंसिर ।  मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ ।

पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ ।

मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ । बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयका उपनिर्देशक एवं प्रवक्ता उज्ज्वल प्रजापतीले जानकारी दिए । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमी सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ ।

चक्रपथ भित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुनेछ । चक्रपथ बाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ । मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा रहेको प्रवक्ता प्रजापतीको भनाइ छ । पुरानो वितरण प्रणाली मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उनको भनाइ छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 


आर्थिक मितव्ययिताका नयाँ कार्यक्रम लागू, फजुल खर्चमा कैँची लगाइयो

आर्थिक मितव्ययिताका नयाँ कार्यक्रम लागू, फजुल खर्चमा कैँची लगाइयो


काठमाडौं, २८ कात्तिक । कर्मचारीलाई  उपलब्ध  गराइँदै  आएको  विभिन्न  शीर्षकका  खर्च,  सुविधा  तथा  अन्य कार्यालय व्यवस्थापनसँग सम्बन्धित फजुल खर्चमा सरकारले  कैँची  लगाएको  छ  ।  यस्तोमा  महँगी  भत्ता  कटौतीदेखि  हेलिकप्टर  भाडा  सरकारी  कोषबाट  भुक्तान  नहुने सम्मका शीर्षक परेका छन् ।  मन्त्रिपरिषद्ले  पारित  गरेको  सरकारी  खर्चमा  मितव्ययितासम्बन्धी मापदण्ड, २०७७ ले फजुल खर्च घटाउने उद्देश्यसहित  यस्तो  व्यवस्था  गरेको  हो  ।  मापदण्डअनुसार  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाममा प्रत्यक्ष संलग्न  चिकित्सक  तथा  स्वास्थ्यकर्मीबाहेक  सार्वजनिक  निकायमा  कार्यरत  पदाधिकारी  वा  कर्मचारीलाई  साविकमा  प्रदान गरिँदै आएको पोसाक खर्च, महँगी भत्ता र स्थानीय भत्ता  बाहेकका  प्रोत्साहन  भत्ता,  अतिरिक्त  समय  काम  गरे  बापतको भत्ता, जोखिम भत्ता, विशेष भत्ता, खाना वा खाजा खर्च लगायतका कुनै भत्ता कर्मचारीले पाउने छैनन् । 

यद्यपि चैत  ११  देखि  बन्दाबन्दी  कायम  भएको  मितिदेखि  साउन  ६  सम्मको  प्रोत्साहन  रकम  सरकारको  चैत  १६  गतेको  निर्णयअनुसार  खटिएका  सुरक्षाकर्मीको  जोखिम  वर्गीकरण  सहितको अभिलेख प्रमाणित भएपछि अर्थ मन्त्रालयले स्रोतको उपलब्धताका आधारमा यी भत्ताको निकासा दिन भने बाधा नपर्ने मापदण्डमा स्पष्ट उल्लेख छ । 

मापदण्डले  सार्वजनिक  निकाय  तथा  सार्वजनिक  पद  धारण गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, बिजुली, इन्धन जस्ता खर्चमा मितव्ययिता कायम हुने गरी खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । निजी सवारी चालक, भान्छे, निजी सहायक लगायतका कानुनबमोजिम प्राप्त हुने सुविधा बापतको रकम सम्बन्धित पदाधिकारीलाई दिनुपर्ने अवस्थामा सुरु पारिश्रमिकबाहेक महँगी भत्ता,  पोसाक,  चाडपर्व  खर्चलगायत  अन्य  कुनै  प्रकारको सुविधा उपलब्ध नगराइने मापदण्डमा उल्लेख छ ।

यो खबर गोरखापत्रमा छापिएको छ । 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti