09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण


सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ जनाको कोरोना परीक्षण गर्दा ५९ हजार १ सय ७७ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा नेपालमा संक्रमणको अवस्था २१ दशमलव ८७ प्रतिशत हुन आउँछ ।

२० असारयता बुधबारसम्म ४४ हजार १ सय १ सय ४२ जनाको कोरोना परीक्षण गर्दा ९ हजार ८ सय ३८ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा २२ दशमलव २८ प्रतिशत संक्रमणदर रहेको हुन आउँछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ असारदेखि २३ असारसम्म १ लाख ६७ हजार २ सय ७८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३९ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको छ । यस्तै, सोही अवधिमा १ लाख ३ हजार २ सय ११ जनामा एन्टिजेन परीक्षण गर्दा १९ हजार ४ सय चार जनामा पोजेटिभ देखिएको छ ।

भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा पनि जोखिम बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमितको संख्यामा कमी देखिए पनि जोखिम यथावत् रहेको बताए । उनले भने, ‘संक्रमणको जोखिम टरेको छैन । जनस्वास्थ्यका मापदण्डलाई पूर्णतः कार्यान्वयन गरौं ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणबाट जोगिन मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम नै अचुक उपाय रहेको बताउँछन् । यो समाचार राजधानी दैनिकमा छ ।


जसपाका दुवै पक्ष विभाजनका लागि तयार

जसपाका दुवै पक्ष विभाजनका लागि तयार


काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी जसपाका दुवै पक्ष विभाजनका लागि तयार भएका छन् । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐन बमोजिमको प्रक्रियाबाट छुट्याइदिन मन्जुरी दिएका हुन् ।

उनीहरूको सहमतिसँगै पार्टी विभाजन हुने निश्चित भएको छ । निर्वाचन आयोगले सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्षले विवाद कायमै रहेकाले मिल्न सक्ने अवस्थामा नरहेको बताएको थियो ।

जसपाको अध्यक्ष उपेन्द्र यादव समूह प्रधानमन्त्री केपी शर्मा विरुद्धको विपक्षी गठबन्धनमा छ भने अध्यक्ष महन्थ ठाकुर समूह प्रधानमन्त्री ओली र सत्तारुढ एमालेको पक्षमा छ । सत्ता समीकरणका विषयबाट सुरु भएको जसपाको विवाद विभाजनको प्रक्रियासम्म पुगेको हो ।
 


साउनभित्रै ५० लाख मात्रा खोप, को-को छन् प्राथमिकतामा ?

साउनभित्रै ५० लाख मात्रा खोप, को-को छन् प्राथमिकतामा ?


काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।

जसअन्तर्गत अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४ जनाले खोपको दुवै मात्रा (पहिलो र दोस्रो) लगाएका छन् । २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १३ लाख ५० हजार ज्येष्ठ नागरिक र अन्य उमेर समूहकाले पहिलो मात्रा लगाएको तीन महिना बित्नै लाग्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन् । उनीहरूका लागि सरकारले एस्टे«जेनेकाको खोप लगाउने निर्णय गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अब क्रमिक रूपमा खोप आपूर्ति हुँदै जाने र एक महिनाभित्र एस्ट्रजेनेकाको खोप पनि नेपाल भित्रिनेछ । स्वास्थ्य मन्त्रालयले कोभ्याक्स फ्यासिलिटीमार्फत जोन्सन एन्ड जोन्सन खोप आउने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कोभ्याक्समार्फत १० लाख डोज खोप आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडीले चीनबाट ४० लाख डोज खोप नेपाल आउँदै छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 


जो मलाई बचाऊ भन्दै थिइन्

जो मलाई बचाऊ भन्दै थिइन्


राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन्। आफूलाई सम्हाल्नै सकेकी छैनन्। आफन्त र छिमेकी आउँछन्, सान्त्वना दिन्छन्। उनीहरू आँखाभरि आँसु बनाउँछन्। अम्बिकाले हराएकी छोरीको पिरलो भए पनि फेला पर्लिन् भनेर चित्त बुझाउँदै बसेकी थिइन्। तर, २३ वर्षीया छोरी सुजिता आइतबार मृत फेला परेको खबर पाएपछि उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी छन्। छोरी सम्झिँदै छाती पिट्दै रुन्छिन्।  ‘मलाई बचाऊ ! मलाई बचाऊ ! भनेर छोरीले रुँदै फोन गरेकी थिई। हामीले बचाउन सकेनौं’, उनले रुँदै भनिन्, ‘अपराधीले त्यस्तो कुनामा लगेर तड्पाई–तड्पाई मा¥यो।’

ब्रह्मस्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका एक स्थानीयले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ। ‘टाउकोमा कुटेर आँखामा पट्टी बाँधेछ। पछि कहाँ गएर आँखा खुल्यो ? कसरी फोन गर्न भ्याई ?’, अम्बिकाले घटनाको विवरण सुनाइन्, ‘कसरी हुन्छ अपराधी पत्ता लगाइदिनुस्। मेरी छोरी फर्केर त आउदिन तर अपराधीलाई कारबाही हुनै पर्छ।’ 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 


विपद जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न गृहमन्त्रीको निर्देशन

विपद जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन्। साथै उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिएका छन्। 

गृह मन्त्रालयमा विहीबार बसेको विपद् सम्बन्धी बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जत जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिएका हुन्। 

उनले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिए।   

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गरे। 

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनु पर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण सिर्जना गर्न पनि आग्रह गरे।  

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले  पुर्याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी भएको बताए। 
 


श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी

श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी


श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउदी अरब र मलेसियामा रहेका नेपालीलाई स्वदेश आउन समस्या भएको छ । अन्य देशबाट भने अत्यावश्यक उडान भइरहेको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उद्धार गर्नुपर्ने समस्या मलेसिया र साउदी अरबमा भएकाले त्यहाँको अवस्थाबारे सीसीएमसीलगायत सबै सरोकारवालालाई जानकारी गराइसकिएको जानकारी दिए । “बोर्ड सहयोग गर्न तयार छ, हामीलाई आदेश चाहियो”, उनले थपे ।

कोभिड–१९ को सङ्क्रमण बढेपछि सरकारले डेढ महिनाअघि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उडान बन्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका श्रमिक रोजगारदाता कम्पनीमै बसिरहेको ती देशमा रहेका नेपाली दूतावासले जानकारी गराउँदै आएका छन् ।

सीसीएमसीका अनुसार रोजगारदाता देशमा रोकिएका श्रमिक बेखर्ची भए सरकारले क्वारेन्टाइन खर्च बेहोर्ने र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका श्रमिकलाई छिट्टै स्वदेश फर्काउने तयारी गरेको छ । अहिले अघिल्लो वर्षजस्तो समस्या नभएकाले रोजगारदाता देशमा रोकिएका श्रमिकलाई स्वदेश फर्काउन कुनै अप्ठ्यारो नहुने सीसीएमसीले जनाएको छ ।


खाडी मुलुक र मलेसियामा रहेका नेपाली राजदूतले अन्तर्राष्ट्रिय उडान बन्द हुनासाथ श्रमिक फर्काउन वैकल्पिक उडान खुलाउन सरकारसँग आग्रह गर्दै आएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ। 


संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने


नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन्।

धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण बढ्न सक्ने सम्भावना औंल्याए। ‘तर यसअघिकै दरमा भने बढ्दैन’, उनले थपे। अहिले पनि केही जिल्लामा संक्रमणदर बढिरहेको र लकडाउनपछि ती ठाउँबाट मानिस सहरतिर प्रवेश गरेमा बढ्न सक्ने डा. कर्माचार्यको विश्लेषण छ।  

दोस्रो लहरमा एकै परिवारका धेरै जनाको मृत्यु भएकाले मानिसहरू थप सचेत बन्दा संक्रमणदर घटेको वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरे बताउँछन्। ‘लकडाउन गरेको तीन सातादेखि संक्रमण घट्दै गएकाले लकडाउन खुलेपछि बढ्ने सम्भावना रहन्छ’, उनले भने। ठूला शहरहरूमा एक साता लकडाउन बढाउनुपर्ने डा. गैरेको सुझाव छ। ‘लकडाउन खुल्नेबित्तिकै हिँडडुल बढ्छ। हिँडडुल बढ्ने बित्तिकै संक्रमण बढ्छ’, उनले भने।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देशका १४ जिल्लामा संक्रमणदर बढ्दो क्रममा रहेको जनाएको छ। मन्त्रालयका अनुसार उदयपुर, तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, दोलखा, नुवाकोट, रसुवा, बाग्लुङ, मुस्ताङ, रोल्पा, जुम्ला, मुगु, रुकुम पश्चिम, बाजुरालगायतका जिल्लामा संक्रमणदर बढ्दो क्रममा छ।  

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल संक्रमण घट्दै जानुमा आवात–जावतमा लगाइएको रोक नै प्रमुख कारण भएको बताउँछन्। संक्रमणदर घट्ने बित्तिकै निषेधाज्ञा खुल्ने हो भने गत वर्षकै जस्तो पुनः ह्वात्तै बढ्न सक्ने उनको भनाइ छ।  

यो समाचार आजको नागरिक दैनिकमा छ । 


खाने तेलको मूल्य घट्यो

खाने तेलको मूल्य घट्यो


पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।

महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गरे । विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको थियो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल (सनफ्लो) प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ । यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले भने प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ ।

बजारमा तेलको भाउ घटेको हल्ला चले पनि आमउपभोक्ताले घटेको मूल्यको महसुस गर्न भने नपाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले उद्योगमा मात्रै मूल्य घटेर उपभोक्ताले त्यसको लाभ लिन नपाउने भएकाले तेलका अन्य लियरमा पनि अनुगमन हुनुपर्ने बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 


 बाढीपहिरो प्रभावितकाे उद्धार र राहत प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग

 बाढीपहिरो प्रभावितकाे उद्धार र राहत प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग



काठमाडौं, ३ असार । विपक्षी दलहरुको गठबन्धनले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेको उपचारलगायत उद्धार तथा राहतका काम प्रभावकारीरूपमा अगाडि बढाउन सरकारसँग माग गरेको छ ।    
    
विपक्षी दलका शीर्षनेताले आज संयुक्त वक्तव्यमार्फत इमान्दारी, तदारुकता र पारदर्शीरूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गरेका हुन् । 
    
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता सामाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा सङ्घसंस्थालाई आह्वानसमेत गरेका छन् ।    
    
मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लामा बाढी र पहिराको प्रकोप देखिएको छ । यसको कारण कतिपय मानिसको ज्यान गएको छ भने अर्बौ रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली नष्ट र पशुचौपाया मरेका छन् । फलस्वरुप कोरोना महामारीबाट आक्रान्त जनजीवन झनै कष्टकर बनेको छ । गठबन्धनका शीर्षनेताले बाढी र पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका  छन् ।  

  


ओलीको ६ बुँदे एकता प्रस्तावले जोगाउला एमाले ?

ओलीको ६ बुँदे एकता प्रस्तावले जोगाउला एमाले ?


एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर पनि एमालेलाई एकजुट राख्न प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष ओलीको सो आह्वानसँगै फुटको सँघारमा पुगेको एमाले फुटबाट जोगिने देखिएको छ ।

ओलीले पार्टीलाई ३ जेठ २०७५ सालकै अवस्थामा फर्काउन आफू सहमत भएको प्रतिबद्धता व्यक्त गरेका छन् । असन्तुष्ट माधवकुमार नेपाल समूहका नेताहरूको मुख्य माग नै पार्टीलाई ३ जेठ २०७५ को अवस्थामा फर्काउनुपर्छ भन्नेमा रहेको थियो । ओलीले त्यसमा सहमति जनाउँदै आफू पार्टी एकताका लागि संवेदनशील र लचक रहेको सन्देश दिएका छन् ।

आइतबार राति पार्टीलाई एकजुट राख्न आफू तयार रहेको बताउँदै अध्यक्ष ओलीले पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न भन्दै ६ बुँदे प्रस्तावसहित एकता आह्वान गरेका हुन् । ओलीको एकता प्रस्ताव आएसँगै देशभरका एमाले कार्यकर्ता खुसी र उमंग बनेका छन् । देशभरका एमाले कार्यकर्ताहरूले प्रधानमन्त्री तथा अध्यक्षको एकता प्रस्ताव सकारात्मक भएकाले सोही प्रस्तावको जगमा टेकेर एमालेका सबै असन्तुष्ट पक्षलाई समेत पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् ।

अध्यक्ष ओलीको एकता आह्वान र कार्यकर्ताको दबाबका कारण माधव नेपाल समूहका अधिकांश नेता कार्यकर्ता पनि पार्टी एकताको पक्षमा देखिएका छन् । प्रधानमन्त्री ओलीको एकता आह्वानलाई नेपाल समूहका नेताहरूले पनि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom