newsajako.com
काठमाडौं, १२ साउन । संघीय सरकारसँगै प्रदेश सरकारहरुले बजेटमार्फत् सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी दिने व्यवस्था गरिएको बजेट कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता त्रिलोकबहादुर चन्द, ज्ञानेन्द्र आरण लगायतले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा भएको र राज्यकोषमा रकम अभावका कारण निर्माण व्यवसायीलाई ८० अर्ब रुपैयाँ भुक्तानी दिन, शिक्षक र कर्मचारीलाई तलबबापत १५ अर्ब रुपैयाँ दिन बाँकी नै रहेको अवस्थामा यस्तो निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने मागदाबी रिटमा गरिएको छ।
संघीय संसद्मा पेस भएको आर्थिक वर्ष २०८०/०८१ को बजेटको बुँदा नम्बर ४४५ मा गरिएको व्यवस्था बदर हुनुपर्ने जिकिर रिटमा गरिएको छ।
‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरु जनप्रतिनिधिमार्फत् सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्तुत गरिएको छ। यो कार्यक्रमअन्तर्गत एउटा आयोजनामा न्यूनतम १ करोड विनियोजन हुने गरी सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रम छनोट गरिनेछ। यस कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरेको देखिन्छ,’ रिटमा भनिएको छ।
नेपालको इतिहासमै गत वर्षभन्दा कम राजस्व उठेको र व्यापारघाटा जेठ मसान्तसम्म वस्तु र सेवा दुवै गरी १४ खर्ब रुपैयाँ नजिक पुगेकोले पैसा वितरण गर्ने योजनाहरु रोक लगाउनुपर्ने माग रिटमा गरिएको छ।
आगामी वर्षको बजेटमा ऋणको साँवा तथा व्याज तिर्न मात्र ३ खर्ब ७ अर्ब ४५ करोड छुट्याउनु पर्ने अवस्था भएको भन्दै रिटमा २०८०/८१ को बजेटमार्फत् विभेदकारी एवं स्वेच्छाचारीपूर्ण ढंगले प्रति सांसद ५ करोड (संघीय संसद अन्तर्गतका) र प्रदेश स्तरका सांसदहरुलाई ३ करोड देखि ५ करोडसम्म संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत वितरण गर्न लागेको कार्य गैरसंवैधानिक र गैरकानुनी भएको दाबी गरिएको छ।