24 Shrawn, 2077 / 8 August , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

समाज


पर्सामा ४३ कोरोना संक्रमित थपिए 

पर्सामा ४३ कोरोना संक्रमित थपिए 


काठमाडौं, २२ साउन । पर्सामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सैनिक, चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, नेतासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबारराति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामध्ये ११ जना नेपाली सेनामा कार्यरत रहेका छन् । 

भारतीय महावाणिज्य दूतावासका ३० वर्षीय कर्मचारी, नारायणी अस्पतालका दुई कर्मचारी र एक बिरामीमा पनि संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा गरिएको स्वाब संकलनमा छ जना र संक्रमितको सम्पर्कमा रहेका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै एकजना बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

 

संक्रमितमध्ये रौतहट मौलापुर र बाराको देवतालका एक–एक जना छन् । 


 राजस्वका प्रमुख अनुसन्धान अधिकृत घुस लिएको आरोपमा पक्राउ 

राजस्वका प्रमुख अनुसन्धान अधिकृत घुस लिएको आरोपमा पक्राउ 


काठमाडौं, २० साउन । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिनी र सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा बुटवल–१३ बुद्धचोकबाट उनलाई पक्राउ गरेको हो । 

व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार कार्यालय बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा कार्यालय प्रमुख राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले बताएका छन् । 

हेर्नुहोस् 


काठमाडौंमा कार्यरत ५३ सहित देशभर २ सय २१ प्रहरीमा कोरोना संक्रमण

काठमाडौंमा कार्यरत ५३ सहित देशभर २ सय २१ प्रहरीमा कोरोना संक्रमण



काठमाडौं, १५ साउन । काठमाडौंमा कार्यरत ५३ प्रहरीसहित देशभर २ सय २१ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार १५ प्रहरी थपिएसँगै देशभर संक्रमितको संख्या २ सय २१ पुगेको हो । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ४४, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ३९, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।

कोरोना संक्रमितमध्ये एक सयजना डिस्चार्ज भएका छन् । संक्रमित प्रहरीमा एसपी एकजना, इन्स्पेक्टर ६, सई ९, असई १३, हवल्दार ६०, प्रहरी जवान १२८ र कार्यालय सहयोगी चारजना रहेका छन् । 
 


काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, १४ साउन। काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १५ संक्रमित थपिएको पुष्टि गरे । 

नयाँ संक्रमितमा काठमाडौंमा १४ जना र भक्तपुरमा १ जना रहेका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुईजना र भक्तपुरका एक जनामा कोरोना देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 
 


बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व : प्रधानमन्त्री 

बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व : प्रधानमन्त्री 



काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै रहेको बताएका छन् । 
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र नेपालीको शान झल्कनेमा म पूर्ण विश्वस्त छु । मानव जातिको अस्तित्वको लागि पनि बाघ जोगाउनुको अर्को विकल्प हामीसँग छैन ।’


सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्णरुपमा प्रतिवद्ध रहेको उनले बताए । बाघ पाइने १३ देशका सरकार प्रमुखहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरे अनुरुप नेपाल सरकारले तराईका पाँच वटा राष्ट्रिय निकुन्जलाई समेटेर बाघ संरक्षणका गतिविधि सन्चालन गर्दै आएको जानकारी प्रधानमन्त्री ओलीले गराएका छन् ।

हेर्नुहोस् पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु !
आज २०७७ साल साउन १४ गते अर्थात २९ जुलाई, अन्तर्राष्ट्रिय बाघ दिवस-२०२० । यस उपलक्ष्यमा बाघ संरक्षणका लागि सबैमा हार्दिक शुभ-कामना व्यक्त गर्दछु |
बाघ प्रकृतिको नि:शुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति पनि हो | यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइन्छ |
बाघ उष्ण पारीस्थितिकीय प्रणालीको उच्च तहमा पाइने मांसाहारी प्रजाति भएकोले छाता प्रजाति पनि भनिन्छ | बाघलाई मात्रै बचाउन सके अरु धेरै प्रजातिलाई स्वत: बचाउन सकिन्छ भन्ने मान्यता रही आएको छ ।
तर आज जनसंख्या वृद्धि र मानवीय गतिविधिका कारण विश्वमा बाघको संख्या दिन प्रतिदिन घट्दो छ | हाल विश्वका १३ देशमा मात्र बाघ पाइन्छ र करिब ४ हजार बाघ रहेको अनुमान छ |
बाघ पाइने देशहरुले गरेका संरक्षणका अथक प्रयासहरुका बाबजुद बासस्थानको नाश, बढ्दो मानव-वन्यजन्तु द्वन्द्व, चोरी शिकार तथा बाघका अङ्गको अवैध व्यापार, जलवायु परिवर्तनका जोखिम र रोगव्याधीले गर्दा बाघ संरक्षणका चुनौती दिनप्रतिदिन थपिंदै छन् |
विश्व संरक्षण संघ (IUCN) ले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको छ भने साइटिस (CITES) ले अनुसूची एकमा राखेर यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध लगाएको छ |
विविध चुनौतीका बाबजुद नेपाल सरकारले बाघ संरक्षणका लागि गरेका प्रयासहरु उत्साहप्रद रहेका छन् | जसले गर्दा सन् २०१० मा बाघको संख्या १२१ रहेकोमा सन् २०१८ मा बढेर २३५ पुगेको छ |
बाघ पाइने १३ देशका सरकार प्रमुखहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरे अनुरुप नेपाल सरकारले तराईका पाँच वटा राष्ट्रिय निकुन्जलाई समेटेर भू-परिधीय स्तरमा स्थानीय समुदाय र सरोकारवालाहरुसँग समन्वय गरी बाघ संरक्षणका गतिविधि संचालन गर्दै आएको छ | सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध छ |
बाघको संख्या बढ्दै गर्दा बाघसँग द्वन्द्व बढ्न सक्ने सम्भावनालाई नकार्न सकिंदैन | त्यसका लागि सकेसम्म बाघ र स्थानीय समुदाय बीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने हुन्छ |
आउँदा दिनमा राज्यले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्नेछ, राहत वितरण प्रक्रियालाई सरलीकृत गर्नेछ | द्वन्द्व पीडित परिवारलाई लक्षित गरी संरक्षणका कार्यक्रम संचालन गर्नका लागि सम्बन्धित सबै पक्षलाई म हार्दिक आव्हान गर्दछु |
त्यसैगरी बाघको चोरी शिकारी रोक्न र बाघका अंगको अवैध व्यापार नियन्त्रण गर्नका लागि प्रभावकारी रुपमा कानूनको कार्यान्वयन गर्नुपर्ने हुन्छ | कानून कार्यान्वयन गर्ने निकाय बीचको समन्वय र सहकार्यले मात्र वन्यजन्तु विरुद्धको अपराधलाई नियन्त्रण गर्न सकिन्छ |
जलवायु परिवर्तनका जोखिम र कोभिड-१९ जस्ता महामारीबाट बाघ पनि अछुतो छैन | जलवायु परिवर्तनका जोखिमबाट बाघलाई बचाउनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित बासस्थान व्यवस्थापन गर्नुपर्ने हुन्छ, मुख्यगरी बाघको आहरा प्रजातिका लागि आवश्यक पर्ने घाँसेमैदान र सिमसार लगायतका पानीका स्रोतहरुको दिगो संरक्षणमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आव्हान गर्दछु |
त्यसैगरी निकुन्जमा कार्यरत कर्मचारीको क्षमता वृद्धि दिगो निकुन्ज व्यवस्थापनको लागि पूर्वशर्त हो भन्ने कुरामा म पूर्ण विश्वस्त छु | क्षमता अभिवृद्धि गर्ने क्रममा आधुनिक प्रविधिको प्रयोगले काममा कुशलता मात्र थप्दैन, उपलब्धिमा बढोत्तरी ल्याउने तथ्यलाई हामीले बिर्सनु हुँदैन |
बाघ संरक्षण गर्दा स्थानीय समुदायको हितलाई केन्द्रमा राखी उनीहरुका हक अधिकार कुण्ठित नहुने गरी संरक्षणका कार्य गर्न पनि म हार्दिक आव्हान गर्दछु |
बाघ संरक्षणका लागि रातदिन खट्ने निकुन्ज र वनका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी, स्थानीय समुदायले गरेको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु |
आर्थिक एवं प्राविधिक सहयोग जुटाई बाघ संरक्षणमा टेवा पुराउनु हुने संघसंस्थाहरु मुख्यगरी राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष (WWF) र जुलोजिकल सोसाइटी अफ लण्डन (ZSL) लाई विशेष धन्यवाद दिन चाहन्छु |
बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्त्व दुवै हो | बाघको बासस्थान विस्तार र व्यवस्थापन, वन्यजन्तु पीडितलाई समयमा राहत, कानूनको प्रभावकारी कार्यान्वयन र बाघ संरक्षणमा अहोरात्र खट्ने कार्मचारीको क्षमता वृद्धि गर्न सक्नुपर्छ । साथै बाघको संरक्षणमा अध्ययन, अनुसन्धान र प्रविधिको उचित प्रयोग गर्न सकेमा बाघलाई लोप हुनबाट जोगाउन सकिन्छ | बाघ संरक्षणका गतिविधिमा युवाहरुको परिचालन गरी उनीहरुलाई सक्रिय गराउनु आजको आवश्यकता हो |
वर्तमान समयमा जलवायु परिवर्तन र कोभिड-१९ ले गर्दा मानव जाति नै अप्ठ्यारोमा परेको अवस्था छ | यस असजिलो परिस्थितिमा हामी मानव जाति आफू जोगिएर बाघजस्ता प्रजातिहरूलाई पनि जोगाउनुपर्ने हुन्छ |
त्यसका लागि हरेक समस्याको समाधान प्रकृतिमा आधारित भएर खोज्नका लागि पनि म हार्दिक आव्हान गर्दछु | स्वाभाविक रुपमा प्रकृति संरक्षण महँगो छ, तर पनि दीर्घकालीन लाभ र स्वच्छ वातावरणका लागि लगानी बढाउनुको विकल्प छैन | राज्य आफैले सबै प्रकृति संरक्षणका कार्य गर्न सम्भव छैन | त्यसका लागि अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र निजी क्षेत्रलाई पनि सँगैसँगै लानुपर्ने हुन्छ |
अहिले कोभिड-१९ ले गर्दा नेपालको पर्यटन व्यवसाय संकटमा परेको छ। तर भोलिका दिनमा प्रभावकारी संरक्षण गर्न सक्दा बाघ हेर्नका लागि पनि विदेशी पर्यटक नेपाल नआउलान भन्ने कुरा हुँदैन | बाघ पाइने राष्ट्रिय निकुन्जमा विदेशी पर्यटकको आकर्षण हुने भएको हुँदा बाघलाई आर्थिक विकास र समृद्धिको आधारका रुपमा पनि लिन सकिन्छ |
बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र नेपालीको शान झल्कनेमा म पूर्ण विश्वस्त छु | मानव जातिको अस्तित्वको लागि पनि बाघ जोगाउनुको अर्को विकल्प हामीसँग छैन |
अन्त्यमा, स्वच्छ र सफा पारिस्थिकीय प्रणाली भावी सन्ततिको नैसर्गिक अधिकार भएको हुँदा बाघ संरक्षण गर्नु आवश्यक छ | हामी बाँच्नका लागि इकोसिस्टम बचाउनु आवश्यक छ । यसै सन्दर्भमा बाघ बचाउनु अनिवार्य हुन्छ | यसैमा मानव जाति र प्रकृतिको सह-अस्तित्व कायम हुनेमा म पूर्ण विश्वस्त छु |
सबैमा हार्दिक धन्यवाद !


 जगदम्बा इन्टरप्राइजेजका चार जनामा कोरोना पुष्टि

जगदम्बा इन्टरप्राइजेजका चार जनामा कोरोना पुष्टि



काठमाडौं, १३ साउन । वीरगन्‍ज महानगरपालिका ३२ मा रहेको जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतसहित चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि छ ।

कोरोना संक्रमण पुष्टिभएसँगै कम्पनी सिल गरिएको छ । चार जनामध्ये कम्पनीमा कार्यरत एक भारतीय नागरिक रहेको बताइएको छ । 

कोरोना संक्रमण पुष्टि भएका चार जनालाई अस्पतालमा राखिएको र उद्योगमा कार्यरत दुई सय कर्मचारीको पीसीआर परीक्षण नगर्दासम्म उद्योगभित्रै राखिएको छ ।


 


संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति नगर्नुको कारण खोल्न सर्वोच्चको आदेश 

संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति नगर्नुको कारण खोल्न सर्वोच्चको आदेश 


काठमाडौं, १३ साउन । जुरी नेपालले सात संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिको माग गर्दै दायर गरेको रीटमा सर्वोच्च अदालतले सरकारका नाउँमा कारण देखाऊ आदेश जारी गरेको छ ।

यही साउन ११ गते प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश जारी भएको हो । साथै उक्त विषय गम्भिर प्रकृतिको भएकोले यस रीटलाई अग्राधिकार दिई पेशी तोक्न समेत आदेश गरिएको छ ।

जुरी नेपालले संबैधानिक आयोगको रुपमा स्थापित भएका अन्य पाँचवटा आयोग (राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग) मा एक–एक जनामात्र पदाधिकारी नियुक्त भई आयोगहरुले संबिधान तथा कानून बमोजिमको भूमिका निर्वाह गर्नसक्ने अवस्था नभएकोले तत्काल सबै आयोगलाई क्रियाशिल बनाउन,  सबै आयोगहरुमा पदाधिकारी नियुक्तिको माग गर्दै रीट निवेदन दायर गरेको थियो ।
संविधानको धारा २६५ बमोजिम संविधान प्रारम्भ भएको मितिले १० बर्ष पछि यी सबै आयोगहरुको संघीय संसदबाट पुनरावलोकन गरिने प्रावधान छ । एकातर्फ संविधान जारी भएको करिव ५ बर्षसम्म पनि यि आयोगहरुमा पदाधिकारी नियुक्त हुन नसक्दा यि आयोगहरुले प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्न सकेका छैनन् भने अर्कोतर्फ नयाँ संविधान बमोजिम नागरिकहरुको मौलिक हक कार्यान्वयन हुन नसकेको जुरी नेपालले जनाएको छ ।

मौलिक हक कार्यान्वयन गर्ने निकायमा स्वेच्छाचारिता देखिएको छ । यहाँसम्म कि मौलिक हक कार्यान्वयनका लागि वनेका कैयौं कानुनहरु ९खाद्य, आवास, शिक्षा, जनस्वास्थ्य लगायत० कार्यान्वयनका लागि आवश्यक नियमावली समेत तर्जुमा तथा लागु भएका छैनन् ।
तर विषयगत हिसावले अनुगमन गर्ने र सरकारलाई जिम्मेवारी वनाउने दायित्व भएका आयोगहरुलाई निष्प्रभावी राख्ने कार्यले संविधानको मर्म र भावनामा नै प्रहार भएकोले सबै आयोगमा तत्काल पदाधिकारी नियुक्ति लगायतका विषय माग गरी उक्त रीट निवेदन दायर गरिएको जुरी नेपालले जनाएको छ ।

जुरी–नेपालको तर्फबाट अधिवक्ताहरु विष्णुप्रसाद पोख्रेल, मोहनलाल आचार्य, शशी बस्नेत, बालमाया विश्वकर्मा, सुन्दर बहादुर सेनी र कमल बहादुर बसेलले संयुक्त रुपमा रीट निवेदन दायर गरेका हुन् ।

यसमा संवैधानिक परिषद, संबैधानिक परिषदका अध्यक्ष, संघीय संसद र नेपाल सरकारका मुख्य सचिवलाई विपक्षी बनाइएको छ ।
रीट निवेदनमा मानव अधिकारको प्रत्याभूतिका लागि महत्वपूर्ण भूमिका खेल्ने कार्यादेश पाएका विभिन्न सातवटा आयोगमा नियुक्त हुनुपर्ने ३५ मध्ये ३१ पद लामो समयदेखि रिक्त रहेकोले उक्त सबै पदमा पदाधिकारीहरु नियूक्तिका लागि संबैधानिक परिषदको तर्फबाट अविलम्ब सिफारिस गर्न, त्यसरी नियूक्तिका लागी सिफारिस गर्नुपूर्व राष्ट्रिय मानवअधिकार संस्थाहरुको स्वतन्त्रता, सक्षमता र निष्पक्षतालाई निर्देशित गर्ने पेरिस सिद्धान्तसमेतलाई आत्मसात गर्न, संबैधानिक आयोगको नियुक्तिमा भएको ढिलाईको पुनरावृति नहुने कुरालाई सुनिश्चित गर्न र उल्लेखित संवैधानिक आयोगहरुको प्रभावकारीताका लागि आवश्यक पर्ने जनशक्ति तथा श्रोतसाधन उपलव्ध गराउन आवश्यक प्रवन्ध गर्न परमादेशको माग गरिएको छ ।

प्रारम्भिक सुनुवाइका क्रममा रीट निवेदकको तर्फबाट अधिवक्ता पंकजकुमार कर्णले बहस गरेका थिए ।


नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पुनः पहिरो 

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पुनः पहिरो 



चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेको छ  ।  


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । 


निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । 


 अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन बेपत्ता : ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा

 अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन बेपत्ता : ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा


 वीरगञ्ज, साउन ७ ।  केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।


बाढीबाट रौतहट जिल्लाको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका–३ बस्ने ५० वर्षीया सुकमानी थिङ बेपत्ता भएकी छन् । मङ्गलबार बिहान सो खोलामा पौडी खेल्न भएका थिङलाई खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

यसैगरी महोत्तरीको रातु नदी पार गर्न खोज्दा भङ्गाहा नगरपालिका – ६ सङ्ग्रामपुरका ३५ वर्षीय वीरेन्द्र कापरलाई बगाएको छ । यसैगरी नाम खुल्न नसकेका सर्लाहीका एक जना पौडी खेल्न गएकामा उनी पनि बेपत्ता छन् ।

यस्तै सर्लाहीमा वाग्मती नदीले बगाउँदा दुई जनाको उद्धार गरिएको छ । वाग्मती नगरपालिका–१२ स्थित उक्त नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ । नदीमा दाउरा टिप्न गएका स्थानीयवासी २४ वर्षीय डेटमान गोले र १६ वर्षीय नीरज तितङ खोलाको मध्य भागमा फसेकामा प्रहरीले सकुशल उद्धार गरेको थियो ।

अविरल वर्षा र बाढीका कारण प्रदेश २ का विभिन्न जिल्लाका ६९ परिवारका मानिस विस्थापित भएको प्रदेश कार्यालयका प्रवक्ता मकेन्द्र मिश्रले राससलाई बताए । अविरल वर्षा र बाढीको कहरबाट मध्य तराईका अधिकांश जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । बङ्गरी, दूधौरा खोलामा आएको बाढीले प्रसौनी गाउँपालिका–५ र ६ को करीब ३५० बिघा क्षेत्रफलमा लगाइएको धानबाली कटान गर्दा करोडाँैको क्षति भएको छ । पसहा खोलामा आएको बाढीले कलैया उपमहानगरपालिका–२१ को भोडहा र सोनरनिया, खम्बा क्षेत्रमा लगाइएको सय बिघाभन्दा बढी धानबाली नष्ट गरेको छ ।

यसैगरी अविरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ । बाढी र वर्षाले पश्चिमी पर्साका अधिकांश गाउँपालिकाको एकअर्को गाउँपालिकासँग सम्पर्क बिच्छेद भएको छ । हिलाम्य सडकका कारण मानिस तथा सवारी साधनको आवतजावत प्रभावित भएको छ ।

पर्साको सिङ्गाही नदीमा आएको बाढीले पर्सागढी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । तीन दिनदेखि परेको वर्षाका कारण पश्चिमी पर्साका दर्जनौँ गाउँ डुबानमा परेको छ ।


मिथिलामा मधुश्रावनी पर्वको रौनक

मिथिलामा मधुश्रावनी पर्वको रौनक


काठमाडौ, साउन ७ । मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक छाएको छ । धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेका यो पर्वलाई नवविवाहिताले अपार श्रद्धाका साथ उल्लासमय वातावरणमा मनाइरहेका कारणले रौनक छाएको हो ।


मौना पञ्चमी तिथिबाट शुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा विधिवतरुपमा यो पर्व बिहीबार सम्पन्न हुनेछ । यस पर्वका अवसरमा लगातार तेह्र दिनसम्म दाम्पत्य जीवन सुखमय बनाउन र पतिको दीर्घायूको कामनाका साथ विभिन्न देवीदेवताको पूजा गरिन्छ । खासगरी, अराध्यदेव महादेवकी अर्धाङ्गनी गौरीको विशेष पूजा हुने गर्दछ ।

यस पर्वको अवधिमा नवविवाहिताले प्रतिदिन अपराह्नको समयमा टोलमा भ्रमण गरी भोलि गर्ने पूजाका लागि फूल टिप्छन् । सो बासी फूलबाट पूजा गर्ने नियम रहेको छ । नवविवाहिता आआफ्ना सङ्गिनीको साथ फूल टिप्ने गर्छन् । यसलाई ‘फूल लोढ्न’ विधि भनिन्छ । विवाह भएको पहिलो साउन महिनामा मनाइने गरिएको यस पर्वको मुख्य उद्देश्य दाम्पत्य जीवनलाई सुमधुर एवं सुखमय बनाउनुनै हो । यो पर्वको धार्मिक एवं सांस्कृतिक महत्व आफ्नो ठाउँमा जेजस्तो भए पनि पत्नीको जिम्मेवारी, कर्तव्य, ससुरालीमा बसाईको क्रममा निर्वाह गर्नुपर्ने भूमिका र पारवारिक दायित्व साथै पतिव्रत धर्मलगायतका विषयमा जानकारी गराइन्छ ।

धार्मिकग्रन्थमा उल्लेख गरिएका पतिपत्नी, सन्तानको लालनपालन सम्बन्धित कथा सुनाएर सोअनुरुप पारवारिक सम्बन्धलाई प्रगाढरुपमा बलियो बनाउन र जिम्मेवारीको बोध गराउनका लागि एक किसिमको तालीम प्रदान गर्नु नै यस पर्वको मुख्य उद्देश्य देखिन्छ ।

लगातार १३ दिनसम्म चल्ने यस पर्वमा विभिन्न देवीदेवताको कथा सुनाउने गरिन्छ । टोलभरका महिला नवविवाहिताका साथ पूजास्थलमा बसेर कथा सुन्ने गरिन्छ । यस पर्वका विभिन्न कथाको सम्बन्धमा जानकार महिलाले शिक्षिकाको भूमिका निर्वाह गर्दै विधिपूर्वक पूजा गराउनुका साथै कथा उदाहरणसहित श्रवण गराउने गरिएको अमिता झाले बताए ।

यस पर्वको पहिलो दिनमा नवविवाहिताले मौना पञ्चमीको कथा र विसहराको जन्मको कथा श्रवण गर्छन् । सर्पदंशबाट पतिका साथै परिवारको रक्षाका लागि नागनागिनको पूजा गरी पर्वको शुभारम्भ गर्छन् । त्यसपछि, क्रमिकरुपमा दोस्रो दिन महादेवको मानसपुत्री बिहुलाको कथा, बिसहरा कथा, मङ्गला– गौरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथाको सम्बन्धमा विस्तारमा जानकारी गराइन्छ ।

त्यसपछि, चौथो दिन सतिको कथा, कुमरव्रता र पतिव्रता कथा, दन्त्य कथामा आधारित महादेवको पारवारिक कथा, छैँटो दिन गङ्गाकी कथा, गौरीकी जन्म, सातौँ दिन गौरीकी तपस्या र आठौँ दिन गौरीको विवाहको कथा श्रवण गराइन्छ ।

त्यस्तै, नवौं दिन गौरीकी माता मैनाकी मोह भङ्गको कथा, दशौँ दिन कात्तिक र गणेशको जन्म, एघाऔँ दिन सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिव्रता सुकन्याकी कथा, बाह्रो दिन बाल– वसन्त, गोसाउनीको कथा र तेह्रो दिन राजा किरकको कथा र गणेशद्वारा सोहाग मन्थन र वितरणको सम्बन्धमा विस्तृतमा बताइन्छ ।

यो पर्व मनाउनका लागि नवविवाहिताको ससुरालीबाट कोसेलीका साथै पूजाको सामग्री पठाइन्छ । यसका साथै, नवविवाहिताको नयाँ बस्त्र, चामल, मिठाइ, बदामलगायत सामग्रीका साथै पकवान र बिसहरा पूजाका लागि माटोको कलात्मक पञ्चमुखी नागनागिन पनि पठाइन्छ । यसका साथै दुल्हाको घरबाट नवविवाहिताकी आमा, दिदी, बहिनी, काकीलगायत परिवारका सम्पूर्ण महिलाका लागि पनि नवबस्त्र उपहारको रुपमा कोसेलीको रुपमा पठाउने गरिन्छ ।

मधुश्रावनीका दिन गाउँभरका आफ्ना जातका साथै आफन्तलाई दुल्हाका पक्षबाट दुल्हीको घरमा पुगेर आफ्नो तर्फबाट भोज खुवाउने गरिन्छ । सो भोजमा आधिकारिकरुपमा महिलालाई मात्रै निम्तो गरिन्छ । मैथिल समुदायको यो एकमात्र महिलाको अधिकारिक भोजको रुपमा चिनिन्छ । यो पर्व मैथिल समुदायको ब्राह्मण, कायस्थ, व्यास र स्वर्णकार जातिका नवविवाहित महिला अनिवार्यरुपमा मनाउने गरिन्छ । यसका साथै यी जातकी सधवा महिला पनि मधुश्रावणी पर्वका दिन पूजापाठ गरी पतिको दीर्घायूको लागि दिनभर उपवासमा बसेर पर्व मनाउँछन् ।

मधुश्रावणी पर्वका दिन अनिवार्यरुपमा नवविवाहिता आफ्ना पतिका साथ पूजामा बस्ने गर्छन् । पूजा सम्पन्न भएपछि महिलालाई भोज खुर्वापछि विधिवत्रुपमा पर्व सम्पन्न हुन्छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti