06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नूः स्वास्थ्य मन्त्रालय    

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नूः स्वास्थ्य मन्त्रालय    



काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।     
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताए । उनका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन । उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए ।
 “नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ”, उनले विज्ञप्ति जारी गर्दै भनेका छन् । 
उनका अनुसार उक्त भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट साउथ अफ्रिका तथा एसियाका केही मुलुकमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ ।  मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गई खोप लगाउन पनि अनुरोध गरेको छ ।     
 
 


हरिबोधिनी एकादशी पर्व मनाइँदै

हरिबोधिनी एकादशी पर्व मनाइँदै


काठमाडौं, २९ कात्तिक । हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।
तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् ।
कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नूस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।
किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।


दुई समुदायबीच झडपपछि निषेधाज्ञा

दुई समुदायबीच झडपपछि निषेधाज्ञा



काठमाडौं, २७ कात्तिक । धनुषामा दुई समुदायबीच झडप भएको छ । झडपपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं। २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

छठ पर्वको दिन देवपुरा रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवाद हुँदा भएको झडपमा चारजना हिन्दु समुदायका व्यक्ति घाइते भएका थिए। सोही विषयलाई लिएर शनिबार मुस्लिम र हिन्दु समुदायबीच विवाद हुँदा पुनः उग्ररुप लिएको छ।

झडपमा दुई जना प्रहरीसहित तीन जना घाइते भएका छन्। 


उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकियो

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकियो



काठमाडौं, २५ कात्तिक ।  छठ पर्व आज विहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माणपछि भने यहाँ छठ मनाउन रोक लगाइएको छ । बेहुलीझैँ सिँगारी राजधानीका गौरीघाट गुह्येश्वरी क्षेत्र, कमलपोखरीलगायत स्थानमा छठ मनाइएको छ । यी स्थानमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । बर्तालुले जलाशयमा डुबी सूर्यदेवसहित नदीको पूजा आराधना गरी उदाउँदो सूर्यलाई अघ्र्य दिइएको हो । बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि हजारौँ व्रतालुको भीड लागेको थियो ।
कमलपोखरीमा भने यस वर्ष काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा छठ पर्व सम्पन्न गरिएको छ । 


नेपालमा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । मंगलबार नेपालमा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६६६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पिअिसार परीक्षण गर्दा ५६९ र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको आज देशभर ६२२ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ।


देशभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २१७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  काठमाडौँ उपत्यकामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा १७७, भक्तपुरमा २५ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।  त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७३ हजार ४२७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। 


 सिनामंगलबाट ११ अफगान नागरिक पक्राउ

सिनामंगलबाट ११ अफगान नागरिक पक्राउ


काठमाडौं, ८ कात्तिक । सिनामंगलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो ।
सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।


वडा दशैंको पाँचौ दिन, स्कन्दमाता देवीको पूजा आराधना गरिंदै

वडा दशैंको पाँचौ दिन, स्कन्दमाता देवीको पूजा आराधना गरिंदै


काठमाडौं, २५ असोज । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ ।


३३ किलो सुन प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद फैसला 

३३ किलो सुन प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद फैसला 



काठमाडौं, १९ असोज । ३३ किलो प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’ सहित ८ जनालाई जन्मकैद फैसला भएको छ । 
जिल्ला अदालत मोरङले मंगलबार गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो । गोरेसहित टेकराज मल्ल ठकुरी, ल्हाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको छ । राजनकुमारलाई ३ र माधव भन्ने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । सो सुनकाण्डमा मुद्दामा ७७ जना प्रतिवादी रहेकामा २१ जना अझै फरार छन् । 


काठमाडौंमा कोड वर्ड प्रयोग गर्दै पाकेट मार्ने २०७ पक्राउ

काठमाडौंमा कोड वर्ड प्रयोग गर्दै पाकेट मार्ने २०७ पक्राउ


काठमाडौं, १८ असोज । काठमाडौंबाट प्रहरीले चोरीको आरोपमा दुई सय सात जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।सोमबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो।

दसैं–तिहारमा घर फर्किनेहरूको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको हो।
प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको एसएसपी सिंहले बताए। प्रहरीले यातायात व्यवसायहरूको संयुक्त समन्वयमा अपरेसन गरेको हो।
प्रहरीले १६१ जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाएको सिंहले बताए।
४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। सामान्य धरौटी पनि नतिरी उनीहरू आफैं जेल गएको प्रहरीले जनाएको छ। प्रहरीले फेरि पक्राउ गर्न सक्ने भन्दै उनीहरू जेल गएको सिंहले बताए। प्राय उनीहरूले सार्वजनिक बसमा पाकेट मार्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू दुई÷दुई जनाको दरले ६ जनाको टोली बनाएर बसभित्र जाने गर्थे।

यस्ता छन् चोरले प्रयोग गर्ने ‘कोड भाषा’ :
पैसा – द 
मोबाइल – कान
पकेटमारी पीडित – रामे
पकेटमारी गर्ने (मास्टर) – काशी
पैसा धेरै छ – टानको द  

पैसा थोरै छ – जुटको द
गाडी –कांचा
केटा – छापा
केटी –भद्रि 
पुलिस आयो–ठुल्दाइ आयो 
ड्राइभर – माम
 खलासी– मले 
गाडीबाट झरेर भाग–  टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडि सर – चिछल जा


देशभर खोप अभियान शुरु

देशभर खोप अभियान शुरु


काठमाडौं, ४ असोज । सरकारले आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार   खोप अभियान असोज १४ गतेसम्म चल्नेछ ।
खोप दिनका लागि जिल्लाअनुसार उमेर समूह छुट्ट्याइएको छ । अहिलेको अभियानअन्तर्गत चारवटा उमेर समूहलाई जिल्लाअनुसार खोप दिन शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिन शुरु गरिएको छ ।काभ्रे र चितवनमा ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको छ ।

यीबाहेक अरू ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूवबाहेकका जिल्लामा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी उमेर समूहबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटेल व्यवसायमा काम गर्ने व्यक्तिलाई समेत खोप दिन थालिएको मन्त्रालयले जनाएको छ । सरकारले चैतभित्र सबै नागरिकलाई खोप दिइसक्ने दाबी गरेको छ ।