08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लोकप्रीय


कोरोना अपडेटः विश्वभर दुई लाख सात हजारभन्दा बढीको मृत्यु,  ९ लाख निको भएर घर फर्किए

कोरोना अपडेटः विश्वभर दुई लाख सात हजारभन्दा बढीको मृत्यु,  ९ लाख निको भएर घर फर्किए


जेनेभा, १५ वैशाख- महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन् । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार सोमबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा २४ घण्टाको अवधिमा मृतकको संख्यामा अघिल्ला दिनको तुलनामा केही कमी आएको छ । विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३३० जनाको मृत्यु भएको छ । 

यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५५ हजार ४१५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २२ हजारको हाराहारीमा पुगेको छ । 

कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ८ लाख ८१ हजार ५६१ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५७ हजार ६१३ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ५० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ६४४ जना, स्पेनमा २३ हजार १९० जना, फ्रान्समा २२ हजार ८५६, बेलायतमा २० हजार ७३२ जना, बेल्जियममा ७ हजार ९४ जना, जर्मनीमा ५ हजार ९७६ जना, नेदरल्यान्ड्समा ४ हजार ४७५ जना, स्वीडेनमा २ हजार १९४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६६० जना, आयरल्यान्डमा १ हजार ८७, पोर्चुगलमा ९०३ जना तथा रसियामा ७४७ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ७१० जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार २८६ जना, टर्कीमा २ हजार ८०५ जना, क्यानाडामा २ हजार ५६० जना, मेक्सिकोमा १ हजार ३५१ जना, भारतमा ८८४, इन्डोनेसियामा ७४३ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।  

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति 

क्र।सं।    महादेश         कूल संक्रमित     निको भएका    कूल मृत्यु

     विश्वभर                  २९,९५,६३६    ८,८१,५६१      २,०७,०२०

१।    युरोप                      १२,७७,३४२    ४,३८,७३८     १,२१,९०४
२।    उत्तर अमेरिका        १०,६५,९४५    १,४७,३०४      ६०,०१४
३।    एसिया                   ४,७२,४०७     २,२८,३५५      १७,२४९
४।    दक्षिण अमेरिका       १,३८,२५५      ४९,६६४        ६,३०९
५।    अफ्रिका                 ३२,६७४        १०,०२१          १,४२७
६।    ओसेनिया९अस्ट्रेलिया०    ८,२८९          ६,८३४          १०२

    दक्षिण एसियाली मुलुकहरु            

१।    भारत            २७,९७७    ६,५२३    ८८४
२।    पाकिस्तान      १३,३२८    ३,०२९    २८१
३।    बंगलादेश       ५,४१६    १२२      १४५
४।    अफगानिस्तान    १,५३१    २०७     ५०
५।    श्रीलंका          ५२३       १२०      ७
६।    माल्दिभ्स       २१४      १७         –
७।    नेपाल            ५२       १६        –
८।    भुटान            ७         ४         –


भारतले दक्षिण अफ्रिकालाई औषधी सहयोग गर्ने

भारतले दक्षिण अफ्रिकालाई औषधी सहयोग गर्ने


 काठमाडौ, बैशाख ६  -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाबीच शुक्रबार फोनमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका राष्ट्रपति रामापोसालाइ फोन गर्नुभएको थियो । त्यस फोन सम्वादमा भारतले कोविड १९ सँग सम्बन्धित सबैखाले औषधीको आपूर्ति नरोक्ने जानकारी गराउनुभएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । 

उहाँहरुबीच फोन सम्वादका क्रममा कोविड १९ ले आ–आफ्नो देशका साथै क्षेत्रीय र विश्वमा नै उत्पन्न गरेको चुनौतीपूर्ण परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उहाँहरुबीच आ–आफ्नो देशमा कोविड १९ को संक्रमण नियन्त्रणका लागि अवलम्बन गरेका उपायहरुका साथै देशको अर्थतन्त्रमा पार्ने असरलाई कम गर्नका लागि अपनाइएका उपायहरुका बारेमा पचि चर्चा भएको थियो ।

त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका लागि आवश्यक औषधीसहितको सहायता उपलब्ध गराउने जानकारी दिनुभएको थियो । 
त्यस क्रममा प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाले आफ्नो देशमा पनि कोविड १९ को रोकथामका लागि गर्नुभएका प्रयासहरुको बारेमा प्रसंशा गर्नुभएको थियो । 

दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाले आफ्नो देशका साथै हाल अफ्रिकन युनियनको समेत अध्यक्षका हैसियतले कोविड १९ को संक्रमण रोक्न अफ्रिकी देशहरुमा गर्नुभएको पहलको प्रसंशायोग्य रहेको प्रधानमन्त्री मोदीले बताउनुभएको थियो ।

त्यस क्रममा प्रधानमन्त्री मोदीले कोविड १९ को रोकथामको प्रयासका लागि दक्षिण अफ्रिकाले गरेको प्रयासमाा भारत सरकारको पूर्ण सहयोग रहने धारणा उहाँले राख्नुभएको सो विज्ञप्तिमा जनाइएको छ । भारत र दक्षिण अफ्रिकामा पछिल्लो समयमा कोविड १९ को संक्रमण बढ्दो रुपमा देखिएको छ । भारतमा त यस संक्रमणबाट १४ हजार भन्दा बढी नागरिक विरामी परेका छन् भने ४८० जनाको ज्यान गएको बताइएको छ । 
 


मसी लत्पतिने डरले मतपत्र उल्टो पट्याएँ: माधव नेपाल

मसी लत्पतिने डरले मतपत्र उल्टो पट्याएँ: माधव नेपाल


२ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मतदान गरेपछि मतपेटिकामा खसाल्न लागेको मतपत्र उल्टो पट्याइएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एमाले निकट प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहेका पत्रकार फणि महतले फेसबुकबाट माधव नेपालको तस्वीर सार्वजनिक गर्दै स्टाटस लेखे- ‘रौतहटमा मतदाता शिक्षा पुगेको छैन भन्ने उदाहरण !’

महतले प्रतिकात्मक रुपमा राखेको सो तस्वीर एकाएक भाइरल बन्यो । पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले नजानेर मतपत्र उल्टो पट्याएका हुन् त ? सामाजिक सञ्जालमा यो प्रश्न पनि उठ्यो ।

कतिपयले निर्वाचन आचारसंहिता विपरीत माधव नेपालले सूर्य चिन्हमा मत दिएको देखिने गरी मतपत्र प्रदर्शन गरेको आरोप पनि लगाउन भ्याए ।

रौतहटको गौर नगरपालिकास्थित जानकी कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेर पत्नी गायत्री नेपालसहित बाहिरिएका एमाले नेता नेपालसँग अनलाइनखबरले सम्पर्क गर्दा उनी कार्यकर्ता र जनताकै बीचमा थिए । नेता नेपाल मतदान गरिसकेपछि भोजपुरी भाषामा स्थानीयसँग कुरा गरिरहेका थिए ।

‘तपाईले मतपेटिकामा मतपत्र हाल्दै गरेको फोटो त भाइरल भइसक्यो नि’ अनलाइनखबरले यसो भन्दा पूर्वप्रधानमन्त्री नेपालले प्रश्न गरे- हो र ? किन हो ?

चुनाव चिन्ह देखिने साइडबाट मतपत्र पट्याएको र त्यो उल्टो भएको भन्ने टिप्पणीबारे हामीले सुनाएपछि एमाले नेता नेपालले त्यसबारे प्रष्ट पारे ।

उनले भने- ‘मैले सोचविचार गरेरै त्यसरी पट्याएको हो । सुल्टो पट्याउँदा मसी लत्पतिने अवस्था देखियो । मैले मतदान गरेको ठाउँमा त्यस्तो देखियो ।’

त्यसोभए निर्वाचन आयोगले स्वस्तिक छाप लगाउन प्रयोग गरेको मसीको गुणस्तर कमजोर हो त ? यदि यस्तो हो भने अरुले प्रयोग गरेको मतपत्रमा पनि मसी लत्पतिने पो हो कि ?

पूर्वप्रधानमन्त्री नेपालको अभिव्यक्तिले निर्वाचन आयोगले प्रयोग गरेको मसीको गुणस्तरबारे गम्भीर प्रश्न उब्जिएको छ । आयोगले प्रयोगमा ल्याएको मसी लत्पतिने खालको भएमा यसदे मतपत्र बदर हुने खतरा रहन्छ ।

अहिलेसम्मको मतदाता शिक्षामा मतपत्र पट्याउँदा स्वस्तिक छाप भित्रपटि्ट पर्ने गरी पट्याउनुपर्ने भनिँदै आएको छ । तर, पूर्व प्रधानमन्त्रीले नै मसीमाथि प्रश्न उठाउनुपर्ने अवस्थाले मतदाता शिक्षा र मसीको गुणस्तर दुबैमा प्रश्न उठाएको छ ।

हामीले यसबारे आयोगका प्रवक्ता नवराज ढकालसँग जिज्ञासा राख्यौं ।

प्रवक्ता ढकालले यसबारे अनविज्ञता प्रकट गर्दै ‘त्यस्तो हुनु नपर्ने’ छोटो प्रतिक्रिया दिए ।


२२ वर्षका सीईओ, जसले किसानको जीवनमा परिवर्तन ल्याए

२२ वर्षका सीईओ, जसले किसानको जीवनमा परिवर्तन ल्याए


२ भदौ, काठमाडौं । ०६८ सालतिर एसएलसी दिने तयारीमा रहेका १६ वर्षे पारस कटुवालका बाबु खोजराज एक दशकपछि घर फर्केका थिए । धरानमा बस्दै आएका पारस, उनकी आमा र भाइ बाबुले इजरायलमा खेतीपातीको जागिर छाडेर फर्केकामा खुशी थिए ।

तर, उनी आएको केही दिनमै परिवारमा ठूलै वादविवाद भयो । ‘बुवाले अब हामी कृषिमा लागौँ भन्नु भयो,’ पारस सम्झन्छन्, ‘उहाँमा खेतमा काम गर्न मन नलागेर इजरायल जानु भएको थियो, फर्केपछि त फेरि खेतीमै लाग्ने कुरा गर्नु हुन्छ ।’

खोजराजले के गर्न लागेका हुन् ? न त परिवारले बुझे, न छरछिमेक र इष्टमित्रले नै । ‘केही महिनासम्म छलफल चल्यो, बुवाले हामीलाई कन्भिन्स गराएरै छोड्नु भयो,’ पारस भन्छन् ।

दुःख गरेर कमाएको करिब ६० लाख रुपैयाँबाट खोजराजले बालाजु जीतपुर फेदीमा जग्गा भाडामा लिएर तरकारी खेती थाले । र, ‘इजरायली प्रविधि’को नवीन प्रयोग थाले, नेपालमा ।

पारसलाई अझै चित्त बुझेको थिएन । नेपालका शहरहरूमा पढेका नयाँ पुस्ताकै पदचिन्ह पछ्याउँदै उनले अस्ट्रेलिया पुगेर उतै बस्ने सपना बुन्न थाले । मनमा अस्ट्रेलियाको सपनाले डेरा जमाएको थियो, तन भने बाबुको खेती स्याहार्नमा व्यस्त ।

बाबुले गर्न खोजेको कुरा बुझ्न उनले केही समय पर्खिनु पर्याे । खोजराजले इजरायलमा काम गर्दा ‘थोपा सिँचाइ’ प्रविधिको राम्रो ज्ञान हासिल गरेका थिए । उक्त प्रविधिबाट खेतीमा पानीको खपत घट्नुका साथै दुई सय प्रतिशतसम्म उत्पादन बढाउन सकिने पारसले बुझे ।

सामान्यतया एक वर्षमा मुस्किलले एउटा गोलभेँडाको बोटबाट ५/६ किलो उत्पादन हुन्छ । तर, उनीहरुको खेतमा १२ किलोसम्म फल्यो !

केही समय नबित्दै पारसको अस्ट्रेलिया सपना बिथोलियो । र, बाबुको काममै पूर्ण रुपमा लाग्न थाले । आफ्नो कामबाट किसान दाजुभाइले पनि फाइदा उठाउन् भनेर नेपाल थोपा सिँचाइ प्रालि स्थापना गरे ।

उनको कम्पनीले थोपा सिँचाइमा प्रयोग हुने उपकरण आयात गरेर बिक्री र जडान थाल्यो । हालसम्म १० हजारभन्दा बढी कृषकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफलता पाइसकेका छन्, उनले ।

‘शुरुमा नयाँ–नयाँ कृषक भेट्न म आफैं खेतबारी चहार्थें । कसैले फोन गरे तुरुन्तै दोडिन्थें,’ उनी भन्छन्, ‘थोपा सिँचाइबारे किसान दाजुभाइलाई बुझाउनु थियो ।’ सफलताको ग्राफ उकालो लाग्दै गर्दा उनी अहिले कम्पनीको सीईओ बनेका छन् ।

भन्छन्, ‘हामीले नयाँ कुरा केही गरेका होइनौँ । यो प्रविधि त दशकौंदेखि थियो । त्यसलाई नेपाल ल्याएका मात्रै हौं ।’

बिरुवालाई चाहिने पानी यकिन गर्ने, पाइपमा भएको प्वालबाट बिरुवालाई पानी र मल दिने । उनले यसै गरिरहेका छन् ।

ब्रिटिस कलेजबाट बीबीए उत्तीर्ण पारसलाई बाबु खोजराजले सबै काम सुम्पेका छन्, अहिले ।

उनको कम्पनी गत वर्ष उद्यमीहरुलाई वैदेशिक लगानी भित्र्याउने कार्यक्रम ‘रक्स्टार्ट इम्प्याक्ट’को छनोटमा पर्‍यो  । सयदिने तालिम लिएपछि पारसले आफ्नो व्यवसायलाई उचाइ दिने मनस्थिति बनाए । छिट्टै नेदरल्यान्ड्सका लगानीकर्ताले उनको कम्पनीमा लगानी गर्दैछन् । र, स्वदेशमै बसेर उद्यम गर्ने सपनाले डेरा जमाएको छ, पारसको मनमा अहिले ।

सन् २०१४ मा शुरु भएको रक्स्टार्ट इम्प्याक्ट कार्यक्रम अन्तरगत अहिलेसम्म २१ कम्पनीहरूले वैदेशिक लगानी भित्राउन सफल भइसकेका छन् । यस वर्ष कार्यक्रममा भाग लिन चाहने कम्पनीहरूले आश्विन १९ सम्म मा दरखास्त दिन सक्ने रक्स्टार्टले जनाएको छ ।


गायिका मिलन अमात्यले गरिन् डिभोर्स, कारण- दीपक लिम्बुसँगको अफेयर !

गायिका मिलन अमात्यले गरिन् डिभोर्स, कारण- दीपक लिम्बुसँगको अफेयर !


जहिलेम्म संसारमा रहन्छन् घाम जुन तारा..तिम्रै प्रियसी म सदा…

यो मीठो गीत गाएर चर्चामा आएकी गायिका मिलन अमात्य आफ्नै जीवनमा भने सदाका लागि पति मेन्सन अमात्यकी प्रियसी बन्न सकिनन् ।

करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेका छन् ।

केही दिनअघिमात्र नेपाल आइडलमा अतिथी कलाकारका रुपमा उपस्थित भएकी मिलन अमात्यले सहकर्मी गायक दिपक लिम्बुको प्रियसी बन्नका लागि मेन्सनसँगको सम्बन्धलाई बिराम दिएकी हुन् । मिलन र दिपक केही समययता प्रेम सम्बन्धमा रहेको चर्चा छ ।

मिलनले आफ्नो व्यवसायिक जीवनमा मेन्सनले साथ नदिएको गुनासो गर्दै आएकी थिइन् । सांगीतिक यात्रालार्इ अगाडी बढाउन चाहेकाले समझदारीमै डिभोर्स गरेको मिलनले बताएकी छिन । उनी नयाँ पुस्ताकी चर्चित गायिका हुन् ।

अन्तमा उनैले गाएको गीतको यो अंश पनि उनको अबको जीवनमा लागु हुनेछ, जसका लागि उनले मेन्सनलाई त्यागिन् ।

माया गर्नुनै भूल हो कि मायालु..तर तिमी बिना यो मन मान्दैन… ।


देउवा मन्त्रीमण्डल ५६ सदस्यीय, तर बनेन विश्व रेकर्ड !

देउवा मन्त्रीमण्डल ५६ सदस्यीय, तर बनेन विश्व रेकर्ड !


२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थपेका हुन् ।

राप्रपा प्रजातान्त्रिकबाट विराज विष्ट विज्ञान प्रविधि र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका छन् । दुबै राज्यमन्त्रीले सोमबार नै प्रधानमन्त्री देउवासमक्ष पद तथा गोपनियताको सपथ लिए ।

यो विस्तारसँगै देउवा मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ, जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् ।

अर्थहीन विस्तार

माओवादी केन्द्र र फोरम लोकतान्त्रिकको समर्थनसँगै देउवा सरकार बहुमतमा हुन्छ । साथै सुरुमा नै साना दलहरुले पनि उनलाई समर्थन गर्दै आएका छन् ।

देउवा सरकार आफैंले प्रदेश र संसदको चुनाव मंसिर १० र २१ मा गर्ने निर्णय गरिसकेको छ र भदौ १४ बाटै निर्वाचन आचार संहिता समेत लागू भएको छ ।

यस्तो अवस्थामा राप्रपाबाट फुटेको राप्रपा प्रजातान्त्रिकको आन्तरिक व्यवस्थापन मिलाउने नाममा देउवाले गरेको पछिल्लो दुई मन्त्रिपरिषद् विस्तार अर्थहिन छ ।

तर, अझै बनेन विश्व रेकर्ड !

०५२ मा आफैंले बनाएको रेकर्ड तोड्दै जम्बो मन्त्रीमण्डल बनाएको भन्दै देउवाको आलोचना भइरहेको छ । तर, ५६ सदस्यीय हुँदा पनि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ‘जम्बो मन्त्रिपरिषद’को रेकर्ड भने बनाएका रहेनछन् ।

गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा जम्बो मन्त्रिपरिषदको रेकर्ड महेन्द्र राजापाक्षेको नाममा छ । श्रीलंकाको राष्ट्रपति हुँदा उनले २००५ मा ५२ क्याबिनेट मन्त्री नियुक्त गरेका थिए र, यो २००८ मा गिनिज बुकमा रेकर्ड दर्ता भएको छ ।

देउवा सरकारमा भने २६ मन्त्री, ३ उपप्रधानमन्त्री र प्रधानमन्त्री गरी ३० सदस्यीय क्याविनेट छ त्यसैले श्रीलंकको रेकर्ड भने तोडिएको छैन ।