07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लोकप्रीय


मसी लत्पतिने डरले मतपत्र उल्टो पट्याएँ: माधव नेपाल

मसी लत्पतिने डरले मतपत्र उल्टो पट्याएँ: माधव नेपाल


२ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मतदान गरेपछि मतपेटिकामा खसाल्न लागेको मतपत्र उल्टो पट्याइएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एमाले निकट प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहेका पत्रकार फणि महतले फेसबुकबाट माधव नेपालको तस्वीर सार्वजनिक गर्दै स्टाटस लेखे- ‘रौतहटमा मतदाता शिक्षा पुगेको छैन भन्ने उदाहरण !’

महतले प्रतिकात्मक रुपमा राखेको सो तस्वीर एकाएक भाइरल बन्यो । पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले नजानेर मतपत्र उल्टो पट्याएका हुन् त ? सामाजिक सञ्जालमा यो प्रश्न पनि उठ्यो ।

कतिपयले निर्वाचन आचारसंहिता विपरीत माधव नेपालले सूर्य चिन्हमा मत दिएको देखिने गरी मतपत्र प्रदर्शन गरेको आरोप पनि लगाउन भ्याए ।

रौतहटको गौर नगरपालिकास्थित जानकी कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेर पत्नी गायत्री नेपालसहित बाहिरिएका एमाले नेता नेपालसँग अनलाइनखबरले सम्पर्क गर्दा उनी कार्यकर्ता र जनताकै बीचमा थिए । नेता नेपाल मतदान गरिसकेपछि भोजपुरी भाषामा स्थानीयसँग कुरा गरिरहेका थिए ।

‘तपाईले मतपेटिकामा मतपत्र हाल्दै गरेको फोटो त भाइरल भइसक्यो नि’ अनलाइनखबरले यसो भन्दा पूर्वप्रधानमन्त्री नेपालले प्रश्न गरे- हो र ? किन हो ?

चुनाव चिन्ह देखिने साइडबाट मतपत्र पट्याएको र त्यो उल्टो भएको भन्ने टिप्पणीबारे हामीले सुनाएपछि एमाले नेता नेपालले त्यसबारे प्रष्ट पारे ।

उनले भने- ‘मैले सोचविचार गरेरै त्यसरी पट्याएको हो । सुल्टो पट्याउँदा मसी लत्पतिने अवस्था देखियो । मैले मतदान गरेको ठाउँमा त्यस्तो देखियो ।’

त्यसोभए निर्वाचन आयोगले स्वस्तिक छाप लगाउन प्रयोग गरेको मसीको गुणस्तर कमजोर हो त ? यदि यस्तो हो भने अरुले प्रयोग गरेको मतपत्रमा पनि मसी लत्पतिने पो हो कि ?

पूर्वप्रधानमन्त्री नेपालको अभिव्यक्तिले निर्वाचन आयोगले प्रयोग गरेको मसीको गुणस्तरबारे गम्भीर प्रश्न उब्जिएको छ । आयोगले प्रयोगमा ल्याएको मसी लत्पतिने खालको भएमा यसदे मतपत्र बदर हुने खतरा रहन्छ ।

अहिलेसम्मको मतदाता शिक्षामा मतपत्र पट्याउँदा स्वस्तिक छाप भित्रपटि्ट पर्ने गरी पट्याउनुपर्ने भनिँदै आएको छ । तर, पूर्व प्रधानमन्त्रीले नै मसीमाथि प्रश्न उठाउनुपर्ने अवस्थाले मतदाता शिक्षा र मसीको गुणस्तर दुबैमा प्रश्न उठाएको छ ।

हामीले यसबारे आयोगका प्रवक्ता नवराज ढकालसँग जिज्ञासा राख्यौं ।

प्रवक्ता ढकालले यसबारे अनविज्ञता प्रकट गर्दै ‘त्यस्तो हुनु नपर्ने’ छोटो प्रतिक्रिया दिए ।


२२ वर्षका सीईओ, जसले किसानको जीवनमा परिवर्तन ल्याए

२२ वर्षका सीईओ, जसले किसानको जीवनमा परिवर्तन ल्याए


२ भदौ, काठमाडौं । ०६८ सालतिर एसएलसी दिने तयारीमा रहेका १६ वर्षे पारस कटुवालका बाबु खोजराज एक दशकपछि घर फर्केका थिए । धरानमा बस्दै आएका पारस, उनकी आमा र भाइ बाबुले इजरायलमा खेतीपातीको जागिर छाडेर फर्केकामा खुशी थिए ।

तर, उनी आएको केही दिनमै परिवारमा ठूलै वादविवाद भयो । ‘बुवाले अब हामी कृषिमा लागौँ भन्नु भयो,’ पारस सम्झन्छन्, ‘उहाँमा खेतमा काम गर्न मन नलागेर इजरायल जानु भएको थियो, फर्केपछि त फेरि खेतीमै लाग्ने कुरा गर्नु हुन्छ ।’

खोजराजले के गर्न लागेका हुन् ? न त परिवारले बुझे, न छरछिमेक र इष्टमित्रले नै । ‘केही महिनासम्म छलफल चल्यो, बुवाले हामीलाई कन्भिन्स गराएरै छोड्नु भयो,’ पारस भन्छन् ।

दुःख गरेर कमाएको करिब ६० लाख रुपैयाँबाट खोजराजले बालाजु जीतपुर फेदीमा जग्गा भाडामा लिएर तरकारी खेती थाले । र, ‘इजरायली प्रविधि’को नवीन प्रयोग थाले, नेपालमा ।

पारसलाई अझै चित्त बुझेको थिएन । नेपालका शहरहरूमा पढेका नयाँ पुस्ताकै पदचिन्ह पछ्याउँदै उनले अस्ट्रेलिया पुगेर उतै बस्ने सपना बुन्न थाले । मनमा अस्ट्रेलियाको सपनाले डेरा जमाएको थियो, तन भने बाबुको खेती स्याहार्नमा व्यस्त ।

बाबुले गर्न खोजेको कुरा बुझ्न उनले केही समय पर्खिनु पर्याे । खोजराजले इजरायलमा काम गर्दा ‘थोपा सिँचाइ’ प्रविधिको राम्रो ज्ञान हासिल गरेका थिए । उक्त प्रविधिबाट खेतीमा पानीको खपत घट्नुका साथै दुई सय प्रतिशतसम्म उत्पादन बढाउन सकिने पारसले बुझे ।

सामान्यतया एक वर्षमा मुस्किलले एउटा गोलभेँडाको बोटबाट ५/६ किलो उत्पादन हुन्छ । तर, उनीहरुको खेतमा १२ किलोसम्म फल्यो !

केही समय नबित्दै पारसको अस्ट्रेलिया सपना बिथोलियो । र, बाबुको काममै पूर्ण रुपमा लाग्न थाले । आफ्नो कामबाट किसान दाजुभाइले पनि फाइदा उठाउन् भनेर नेपाल थोपा सिँचाइ प्रालि स्थापना गरे ।

उनको कम्पनीले थोपा सिँचाइमा प्रयोग हुने उपकरण आयात गरेर बिक्री र जडान थाल्यो । हालसम्म १० हजारभन्दा बढी कृषकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफलता पाइसकेका छन्, उनले ।

‘शुरुमा नयाँ–नयाँ कृषक भेट्न म आफैं खेतबारी चहार्थें । कसैले फोन गरे तुरुन्तै दोडिन्थें,’ उनी भन्छन्, ‘थोपा सिँचाइबारे किसान दाजुभाइलाई बुझाउनु थियो ।’ सफलताको ग्राफ उकालो लाग्दै गर्दा उनी अहिले कम्पनीको सीईओ बनेका छन् ।

भन्छन्, ‘हामीले नयाँ कुरा केही गरेका होइनौँ । यो प्रविधि त दशकौंदेखि थियो । त्यसलाई नेपाल ल्याएका मात्रै हौं ।’

बिरुवालाई चाहिने पानी यकिन गर्ने, पाइपमा भएको प्वालबाट बिरुवालाई पानी र मल दिने । उनले यसै गरिरहेका छन् ।

ब्रिटिस कलेजबाट बीबीए उत्तीर्ण पारसलाई बाबु खोजराजले सबै काम सुम्पेका छन्, अहिले ।

उनको कम्पनी गत वर्ष उद्यमीहरुलाई वैदेशिक लगानी भित्र्याउने कार्यक्रम ‘रक्स्टार्ट इम्प्याक्ट’को छनोटमा पर्‍यो  । सयदिने तालिम लिएपछि पारसले आफ्नो व्यवसायलाई उचाइ दिने मनस्थिति बनाए । छिट्टै नेदरल्यान्ड्सका लगानीकर्ताले उनको कम्पनीमा लगानी गर्दैछन् । र, स्वदेशमै बसेर उद्यम गर्ने सपनाले डेरा जमाएको छ, पारसको मनमा अहिले ।

सन् २०१४ मा शुरु भएको रक्स्टार्ट इम्प्याक्ट कार्यक्रम अन्तरगत अहिलेसम्म २१ कम्पनीहरूले वैदेशिक लगानी भित्राउन सफल भइसकेका छन् । यस वर्ष कार्यक्रममा भाग लिन चाहने कम्पनीहरूले आश्विन १९ सम्म मा दरखास्त दिन सक्ने रक्स्टार्टले जनाएको छ ।


गायिका मिलन अमात्यले गरिन् डिभोर्स, कारण- दीपक लिम्बुसँगको अफेयर !

गायिका मिलन अमात्यले गरिन् डिभोर्स, कारण- दीपक लिम्बुसँगको अफेयर !


जहिलेम्म संसारमा रहन्छन् घाम जुन तारा..तिम्रै प्रियसी म सदा…

यो मीठो गीत गाएर चर्चामा आएकी गायिका मिलन अमात्य आफ्नै जीवनमा भने सदाका लागि पति मेन्सन अमात्यकी प्रियसी बन्न सकिनन् ।

करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेका छन् ।

केही दिनअघिमात्र नेपाल आइडलमा अतिथी कलाकारका रुपमा उपस्थित भएकी मिलन अमात्यले सहकर्मी गायक दिपक लिम्बुको प्रियसी बन्नका लागि मेन्सनसँगको सम्बन्धलाई बिराम दिएकी हुन् । मिलन र दिपक केही समययता प्रेम सम्बन्धमा रहेको चर्चा छ ।

मिलनले आफ्नो व्यवसायिक जीवनमा मेन्सनले साथ नदिएको गुनासो गर्दै आएकी थिइन् । सांगीतिक यात्रालार्इ अगाडी बढाउन चाहेकाले समझदारीमै डिभोर्स गरेको मिलनले बताएकी छिन । उनी नयाँ पुस्ताकी चर्चित गायिका हुन् ।

अन्तमा उनैले गाएको गीतको यो अंश पनि उनको अबको जीवनमा लागु हुनेछ, जसका लागि उनले मेन्सनलाई त्यागिन् ।

माया गर्नुनै भूल हो कि मायालु..तर तिमी बिना यो मन मान्दैन… ।


देउवा मन्त्रीमण्डल ५६ सदस्यीय, तर बनेन विश्व रेकर्ड !

देउवा मन्त्रीमण्डल ५६ सदस्यीय, तर बनेन विश्व रेकर्ड !


२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थपेका हुन् ।

राप्रपा प्रजातान्त्रिकबाट विराज विष्ट विज्ञान प्रविधि र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका छन् । दुबै राज्यमन्त्रीले सोमबार नै प्रधानमन्त्री देउवासमक्ष पद तथा गोपनियताको सपथ लिए ।

यो विस्तारसँगै देउवा मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ, जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् ।

अर्थहीन विस्तार

माओवादी केन्द्र र फोरम लोकतान्त्रिकको समर्थनसँगै देउवा सरकार बहुमतमा हुन्छ । साथै सुरुमा नै साना दलहरुले पनि उनलाई समर्थन गर्दै आएका छन् ।

देउवा सरकार आफैंले प्रदेश र संसदको चुनाव मंसिर १० र २१ मा गर्ने निर्णय गरिसकेको छ र भदौ १४ बाटै निर्वाचन आचार संहिता समेत लागू भएको छ ।

यस्तो अवस्थामा राप्रपाबाट फुटेको राप्रपा प्रजातान्त्रिकको आन्तरिक व्यवस्थापन मिलाउने नाममा देउवाले गरेको पछिल्लो दुई मन्त्रिपरिषद् विस्तार अर्थहिन छ ।

तर, अझै बनेन विश्व रेकर्ड !

०५२ मा आफैंले बनाएको रेकर्ड तोड्दै जम्बो मन्त्रीमण्डल बनाएको भन्दै देउवाको आलोचना भइरहेको छ । तर, ५६ सदस्यीय हुँदा पनि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ‘जम्बो मन्त्रिपरिषद’को रेकर्ड भने बनाएका रहेनछन् ।

गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा जम्बो मन्त्रिपरिषदको रेकर्ड महेन्द्र राजापाक्षेको नाममा छ । श्रीलंकाको राष्ट्रपति हुँदा उनले २००५ मा ५२ क्याबिनेट मन्त्री नियुक्त गरेका थिए र, यो २००८ मा गिनिज बुकमा रेकर्ड दर्ता भएको छ ।

देउवा सरकारमा भने २६ मन्त्री, ३ उपप्रधानमन्त्री र प्रधानमन्त्री गरी ३० सदस्यीय क्याविनेट छ त्यसैले श्रीलंकको रेकर्ड भने तोडिएको छैन ।