newsajako.com
न्यूज आजको संवाददाता
काठमाडौं, ३० भदौ । काठमाडौं गोंगबु ५ मा रहेको भिजन गोर्खा बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख अधिकारीले ज्ञान, महत्वकांक्ष र सहकारी चलाउने भिजन नै नभएका कारण पछिल्लो समय सहकारी संस्थाहरु धरासायी बन्दै गएको बताए । यस्तै उनले सहकारीहरुले धेरै निक्षेपकर्ताको बचत डुबाइ रहेको भन्दै समय सापेक्षा रुपमा सहकारी संस्थाहरु चलाउन जरुरी रहेको बताए । त्यसका लागि ज्ञानको आवश्यक रहेको प्रमुख अधिकारीको भनाइ थियो ।
सहकारीका व्यवस्थापन टिमले लेखा कसरी राख्ने, संञ्चित पुँजीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा बुझ्न आवश्यक रहेको उनले बताए । यदि यस बारेमा सिक्न आवश्यक लागेमा टोखा नगरपालिका यसबारे तालिमका लागि समन्वय गर्न तयार रहेको नगरप्रमुख अधिकारीले बताए ।

कार्यक्रममा सहकारीका अध्यक्ष हरिकुमार श्रेष्ठले छरिएर रहेको पुँजी र स्रोत साधनको सदुपयोग गरी आर्थिक, सामाजिक रुपान्तरण गर्न यस सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले सहकारीको वार्षिक साधारणसभामा सहभागी हुने प्रमुख अतिथि, विशेष अतिथि, सञ्चालक समितिका पदाधिकारी, सल्लाहकार, परिवेक्षक समितिका पदाधिकारी, विभिन्न उपसमिति, सेयर सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
२०६४ सालमा स्थापना भएको सहकारीको हाल शेयर पुँजी १ करोड ३२ लाख ४७ हजार पाँच सय रुपैयाँ रहेको छ भने निक्षेप संकलन ३ करोड ६३ लाख ६४ हजार ७ सय १२ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै कर्जा लगानी ४ करोड ५३ लाख १२ हजार ९९ रुपैयाँ रहेको छ ।
यस्तै साधारण सभाले पुनःहरि कुमार श्रेष्ठकै अध्यक्ष रहनेगरी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सहकारीको उपाध्यक्षमा राजेन्द्र पोखरेल, सचिवमा ईन्द्रराज बस्नेत, कोषाध्यक्षमा रुपेन्द्र बिक्रम भण्डारी सर्वसम्मत चयन भएका छन् । संस्थाको सदस्यहरुमा शान्ती श्रेष्ठ, उत्तम अधिकारी, विनोद अधिकारी, सुवास शाक्य र रामचन्द्र रिमाल सर्वसम्मत चयन भएका छन् ।