05 Baishak, 2081 / 17 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अख्तियारमाथि प्रश्नचिन्हः भ्रष्टाचारको अखडा  




अख्तियारमाथि प्रश्नचिन्हः भ्रष्टाचारको अखडा  

काठमाडौं, फागुन ४ । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घुस प्रकरणमा विवाद भएपछि पदबाट राजीनामा दिए ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने आश्वासन दिएर ७८ लाख घूस लिएको सार्वजनिक भएपछि संघीय संसदले पाठकलाई महाअभियोग लगाउने तयारी गरेको थियो । तर महाअभियोग नलाउँदै पाठकले राजीनामा दिए । पाठकले पदबाट दिएको राजीनामा राष्ट्रपतिबाटसमेत स्वीकृत भएको छ ।

संसदबाट महाअभियोग नलाउँदै पाठकले राजीनामा दिएपछि घुस लिएको विषय साम्य भएको छ । तर पाठकले घुस लिएर स्वीकार गरेको भिडियो नै सार्वजनिक भइसकेको छ । उनले विवाद मिलाइदिने भन्दै घुस लिएर पनि काम गर्न नसकेपछि यो विषय छताछुल्ल भयो । सार्वजनिक भएको भिडियोमा पाठकले आफूले घुस लिएर जीवनमै ठूलो गल्ती गरेको स्वीकार गरेका छन् ।

पाठकले घूस लिएर पनि विवाद नमिलाइदिएको भन्दै कलेजको तर्फबाट भएको भेटघाटका क्रममा घुस लिएको स्वीकार गरेको भिडियोमा स्पष्ट छ । यो विषयले गर्दा अरु मात्र होइन, आफ्नै श्रीमतिलेसमेत गाली गर्ने गरेको पाठकले बताएका छन् । भिडियोमा केही आवाजहरु बीचबीचमा काटिएका छन् । गोप्य रुपमा गरिएको रेकर्ड भएकाले भिडियो धमिलो भएपनि पाठकसँगको कुराकानी स्पष्ट छ ।

उक्त सार्वजनिक भएको भिडियोमा पाठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगको प्रमुख आयुक्त बन्नेसमेत दाबी गरेका छन् । त्यसपछि सबैलाई ठीक पार्नेसमेत चेतावनी उनले दिएका छन् । सो भिडियोमा कुराकानी गर्ने ब्यक्तिले पाठकलाई घुस लिएर पनि केही नहुने भन्दै ढुक्क हुन गरेको आग्रहपछि अझै खुशी देखिन्छन् । भिडियोमा कुरा गर्ने ब्यक्ति पनि २ नम्बर प्रदेशकै भएको कुराकानीमै स्पष्ट छ ।

महोत्तरी स्थायी घर भएका पाठकले यसअघि पनि आफू निकटस्थहरूसँग आफूलाई भविश्यको प्रदेश प्रमुखका रुपमा प्रस्तुत गर्ने गरेका थिए । त्यसैको तयारीमा पाठकले दुई नम्बर प्रदेशमा गएर बाटो तथा पुल उद्घाटनसमेत गर्ने गरेका थिए ।

०७१ सालमा आयुक्त बनेर टंगाल प्रवेश गरेदेखि नै पाठकले खुल्लेआम घुस लिने गरेको खुलासा भइसकेको छ । यसअघि पक्राउ गर्नुपर्ने ब्यक्तिसँग पाँच लाख रुपैयाँ घुस लिन अख्तियारमै कार्यरत एक प्रहरी नायव उपरीक्षकलाई निर्देशन दिएको समेत खुलासा भएको छ । पाठकले अनुसन्धान अधिकारीलाई बोलाएर सिधै रकम बार्गेनिङ गर्न लगाउने गर्थे ।

२०१४ साल बैशाखमा महोत्तरीमा जन्मेका पाठक शान्तिनगर, काठमाडौंमा बस्दै आएका छन् । त्रिभुुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका पाठक अख्तियारमा जानुअघिसम्म नजराना लिने सरकारी वकिलका रुपमा परिचित थिए ।

०३९ सालमा शाखा अधिकृतबाट करिअर सुरु गरेका उनी ०४९ सालमा उपन्यायाधिवक्ता बनेका थिए भने ०५४ सालमा सहन्यायाधिवक्तामा बढुवा भई ०६६ सालमा नायब महान्यायाधिवक्तामा बढुवा भएका थिए । भ्रष्टाचार रोक्ने काम गर्ने ब्यक्ति आफै घुस लिएको प्रमाणित भइसक्दा पनि पदबाट राजीनामा दिएर निस्किएपछि छुट दिनुले भविष्य गलत नजिर बस्छ । त्यसैले कानूनसम्मत् नमिल्ने भएमा कानून संशोधन गरेर भए पनि पाठकलाई तत्काल जेल हाल्नुपर्छ ।

अख्तियार प्रमुखदेखि पदाधिकारीहरु आफै भ्रष्टाचारी हुन् भन्ने आलोचकहरुको भनाइलाई तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्की हुँदै एकपछि अर्को प्रकरणले अदुअआमाथि नै प्रश्नचिन्ह खडा भएको छ । अदुअआ भ्रष्टाचार रोक्ने संस्था होइन, भ्रष्टाचार गर्ने अखडा हो भन्ने आलोचकहरुको आरोप पनि मिथ्या भएको छ । अब अदुअवा विघटनतर्फ लैजानुपर्छ । 




यसमा तपाइको मत


Comments