07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

२२ वर्षका सीईओ, जसले किसानको जीवनमा परिवर्तन ल्याए




२२ वर्षका सीईओ, जसले किसानको जीवनमा परिवर्तन ल्याए

२ भदौ, काठमाडौं । ०६८ सालतिर एसएलसी दिने तयारीमा रहेका १६ वर्षे पारस कटुवालका बाबु खोजराज एक दशकपछि घर फर्केका थिए । धरानमा बस्दै आएका पारस, उनकी आमा र भाइ बाबुले इजरायलमा खेतीपातीको जागिर छाडेर फर्केकामा खुशी थिए ।

तर, उनी आएको केही दिनमै परिवारमा ठूलै वादविवाद भयो । ‘बुवाले अब हामी कृषिमा लागौँ भन्नु भयो,’ पारस सम्झन्छन्, ‘उहाँमा खेतमा काम गर्न मन नलागेर इजरायल जानु भएको थियो, फर्केपछि त फेरि खेतीमै लाग्ने कुरा गर्नु हुन्छ ।’

खोजराजले के गर्न लागेका हुन् ? न त परिवारले बुझे, न छरछिमेक र इष्टमित्रले नै । ‘केही महिनासम्म छलफल चल्यो, बुवाले हामीलाई कन्भिन्स गराएरै छोड्नु भयो,’ पारस भन्छन् ।

दुःख गरेर कमाएको करिब ६० लाख रुपैयाँबाट खोजराजले बालाजु जीतपुर फेदीमा जग्गा भाडामा लिएर तरकारी खेती थाले । र, ‘इजरायली प्रविधि’को नवीन प्रयोग थाले, नेपालमा ।

पारसलाई अझै चित्त बुझेको थिएन । नेपालका शहरहरूमा पढेका नयाँ पुस्ताकै पदचिन्ह पछ्याउँदै उनले अस्ट्रेलिया पुगेर उतै बस्ने सपना बुन्न थाले । मनमा अस्ट्रेलियाको सपनाले डेरा जमाएको थियो, तन भने बाबुको खेती स्याहार्नमा व्यस्त ।

बाबुले गर्न खोजेको कुरा बुझ्न उनले केही समय पर्खिनु पर्याे । खोजराजले इजरायलमा काम गर्दा ‘थोपा सिँचाइ’ प्रविधिको राम्रो ज्ञान हासिल गरेका थिए । उक्त प्रविधिबाट खेतीमा पानीको खपत घट्नुका साथै दुई सय प्रतिशतसम्म उत्पादन बढाउन सकिने पारसले बुझे ।

सामान्यतया एक वर्षमा मुस्किलले एउटा गोलभेँडाको बोटबाट ५/६ किलो उत्पादन हुन्छ । तर, उनीहरुको खेतमा १२ किलोसम्म फल्यो !

केही समय नबित्दै पारसको अस्ट्रेलिया सपना बिथोलियो । र, बाबुको काममै पूर्ण रुपमा लाग्न थाले । आफ्नो कामबाट किसान दाजुभाइले पनि फाइदा उठाउन् भनेर नेपाल थोपा सिँचाइ प्रालि स्थापना गरे ।

उनको कम्पनीले थोपा सिँचाइमा प्रयोग हुने उपकरण आयात गरेर बिक्री र जडान थाल्यो । हालसम्म १० हजारभन्दा बढी कृषकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफलता पाइसकेका छन्, उनले ।

‘शुरुमा नयाँ–नयाँ कृषक भेट्न म आफैं खेतबारी चहार्थें । कसैले फोन गरे तुरुन्तै दोडिन्थें,’ उनी भन्छन्, ‘थोपा सिँचाइबारे किसान दाजुभाइलाई बुझाउनु थियो ।’ सफलताको ग्राफ उकालो लाग्दै गर्दा उनी अहिले कम्पनीको सीईओ बनेका छन् ।

भन्छन्, ‘हामीले नयाँ कुरा केही गरेका होइनौँ । यो प्रविधि त दशकौंदेखि थियो । त्यसलाई नेपाल ल्याएका मात्रै हौं ।’

बिरुवालाई चाहिने पानी यकिन गर्ने, पाइपमा भएको प्वालबाट बिरुवालाई पानी र मल दिने । उनले यसै गरिरहेका छन् ।

ब्रिटिस कलेजबाट बीबीए उत्तीर्ण पारसलाई बाबु खोजराजले सबै काम सुम्पेका छन्, अहिले ।

उनको कम्पनी गत वर्ष उद्यमीहरुलाई वैदेशिक लगानी भित्र्याउने कार्यक्रम ‘रक्स्टार्ट इम्प्याक्ट’को छनोटमा पर्‍यो  । सयदिने तालिम लिएपछि पारसले आफ्नो व्यवसायलाई उचाइ दिने मनस्थिति बनाए । छिट्टै नेदरल्यान्ड्सका लगानीकर्ताले उनको कम्पनीमा लगानी गर्दैछन् । र, स्वदेशमै बसेर उद्यम गर्ने सपनाले डेरा जमाएको छ, पारसको मनमा अहिले ।

सन् २०१४ मा शुरु भएको रक्स्टार्ट इम्प्याक्ट कार्यक्रम अन्तरगत अहिलेसम्म २१ कम्पनीहरूले वैदेशिक लगानी भित्राउन सफल भइसकेका छन् । यस वर्ष कार्यक्रममा भाग लिन चाहने कम्पनीहरूले आश्विन १९ सम्म मा दरखास्त दिन सक्ने रक्स्टार्टले जनाएको छ ।




यसमा तपाइको मत


Comments