06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दुई महिनाको अवधिमा खाडी र मलेसियाबाट २४६ नेपालीको शव ल्याइयो, ७६ नेपालीको शव बाँकी




दुई महिनाको अवधिमा खाडी र मलेसियाबाट २४६ नेपालीको शव ल्याइयो, ७६ नेपालीको शव बाँकी


काठमाडौं, २३ साउन । वैदैशिक रोजगारमा मृत्यु भएका २ सय ४६ नेपालीको शव नेपाल ल्याइएको छ । गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती शुरु भएसँगै शव पनि ल्याउन थालिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार कोरोना महामारी शुरु भएयता विदेशमा ज्यान गुमाएका ४९४ मध्ये २४६ नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।

लकडाउन शुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ४७९ पुरुष गरी ४९४ जना नेपालीको ज्यान गएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द भएर शव ल्याउन नपाएपछि कतिपय मृतकका आफन्तले भने परदेशमै सदगतका लागि अनुमति दिएका छन् । आफन्तको सहमतिमै १७२ जना नेपालीको गन्तव्य देशमै अन्त्येष्टि गरिएको बोर्डले जनाएको छ ।

अब खाडी र मलेसियासहित विभिन्न देशमा ७६ नेपालीको शव बाँकी छ । यो अवधिमा सबैभन्दा धेरै साउदीमा नेपालीको ज्यान गएको छ । साउदीमा मात्रै यो अवधिमा १७३ जना नेपालीले ज्यान गुमाएका छन् । यसमध्ये ७७ जना नेपालीको शव नेपाल ल्याइएको छ ।  ४० जना मृतकका आफन्तले भने साउदीमै अन्त्येष्टिका लागि अनुमति दिएकाले उतै अन्त्येष्टि गरिएको बोडैले जनाएको छ । साउदीमा मात्रै अझै ५६ जना नेपालीको शव स्वदेश ल्याउन बाँकी छ ।

मलेसियामा ज्यान गुमाएका ९२ नेपालीमध्ये ८४ जना नेपालीको शव नेपाल ल्याइएको छ भने ८ जनाको शव उतै अन्त्येष्टि गरिएको छ । 
मलेसियापछि ज्यान गुमाउने नेपालीको सङ्ख्या धेरै यूएईमा छ । यूएईमा यो अवधिमा ८३ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये १८ नेपालीको शव स्वदेश ल्याइएको छ भने ६० जनाको यूएईमै अन्त्येष्टि गरिएको छ । यूएईमा अब ५ जना नेपालीको शव बाँकी छ ।

यूएईपछि ज्यान गुमाउने नेपालीको सङ्ख्या कतारमा धेरै रहेको छ । कतारमा यो अवधिमा ७७ जनाको ज्यान गएको छ । उनीहरुमध्ये ४९ जनाको शव स्वदेश ल्याइएको छ भने २७ जनाको उतै अन्त्येष्टि गरिएको छ । कतारमा अब १ जना नेपालीको शव बाँकी रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कतारपछि खाडीको अर्को देश कुवेतमा २५ नेपालीले यो अवधिमा ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये १० नेपालीको शव स्वदेश ल्याइएको छ भने १३ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ । कुवेतमा अब २ नेपालीको शव बाँकी रहेको छ । खाडीकै अर्को देश बहराइनमा यस अवधिमा ११ नेपालीको विभिन्न कारणले ज्यान गएको छ । यसमध्ये विभिन्न चार्टर्ड उडानले ६ शव स्वदेश ल्याएका छन् भने ४ जनाको बहराइनमै अन्त्येष्टि गरिएको छ । बहराइनमा अब एक शव बाँकी रहेको छ ।

ओमानमा  यो अवधिमा दुई जनाले ज्यान गुमाएका छन् । दुईमध्ये १ जनाको ओमानमै अन्त्येष्टि गरिएको छ भने एक नेपालीको शव स्वदेश ल्याइएको छ । यसैगरी दक्षिण कोरियामा यो अवधिमा ८ नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ५ जनाको कोरियामै अन्त्येष्टि गरिएको छ । एक जनाको शव स्वदेश ल्याइएको छ भने ३ जनाको शव त्यहाँ बाँकी रहेको बोर्डले जनाएको छ ।

रोजगारीका लागि अरु देशमा पुगेका २३ नेपालीले पनि यस अवधिमा ज्यान गुमाएका र उनीहरुमध्ये १४ जनाको सम्बन्धित देशमै अन्त्येष्टि गरिएको छ भने ९ जनाको शव बाँकी रहेको बोर्डले जनाएको छ । खाडीका ६ देश मलेसिया र अन्य विभिन्न देशमा गरी अब ७६ जना नेपालीको शव बाँकी रहेको छ । यी शव पनि नेपाली लिन गएका जहाजले क्रमशः ल्याउने बोर्डले जनाएको छ ।

हेर्नुहोस् 



Related News


यसमा तपाइको मत


Comments