16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सांसद संग्रौलाले भनिन्, ‘विदेशमा अलपत्र नेपालीको तत्काल निःशुल्क उद्धार गर’ (विज्ञप्तिसहित)




सांसद संग्रौलाले भनिन्, ‘विदेशमा अलपत्र नेपालीको तत्काल निःशुल्क उद्धार गर’ (विज्ञप्तिसहित)

काठमाडौं, ३१ भदौ । प्रतिनिधिसभा सदस्य डा.डिला सङ्ग्रौलाले विदेशमा अलपत्र परेका श्रमिकहरुको पहिचान गरि तत्काल निःशुल्क उद्धार कार्य सुरु गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । 
डा. संग्रौलाले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई छिटोभन्दा छिटो स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘महंगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुक तथा मलेशियामा झन्डै तीन लाख नेपालीहरु स्वदेश फर्कन पर्खिरहेका छन् । तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् ।’ सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गर्न नसक्नु खेदजनक रहेको पनि उनले विज्ञप्तिमा मार्फत जानकारी गराएकी छन् । 

सङ्ग्रौलाले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली सङ्घका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा श्रम मन्त्रीको पटकपटक ध्यानाकर्षण गराएको विज्ञप्ति मार्फत जानकारी गराएकी छन् । 
‘कोभिड–१९ महामारीका कारण काम गुमाएर लामो समयदेखि खानका लागि पनि अरुको राहतको आशमा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल  निःशुल्क उद्धार गर्ने, दशैँ अगावै स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी सात दिनका लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको व्यवस्था मिलाइयोस्’, विज्ञप्तिमा उल्लेख छ । यस्तै उनले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरे गरेर पटक पटक यो विषयलाई जोडदार रुपमा उठाउँदै आएपनि सत्तारुढ दलको आन्तरिक झगडाकाबीच संसद बैठक हठात अन्त्य गरिएको बताइन् । 

हेर्नुहोस् विज्ञप्ति

प्रेस वक्तव्य

काठमाडौँ, भाद्र ३१ -- कोरोनाको कहरले गर्दा देश भित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खि रहेका लाखौं नेपालीहरुलाई नेपाली हरुको महान चाड विजय दशमी अगावै स्वदेश फर्काउन विशेष योजना संचालन गर्न म नेपाल सरकारसंग माग गर्दछु।

महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुकहरु तथा मलेसियामा झन्डै ३ लाख नेपालीहरु स्वदेश फर्कन पर्खिरहेका छन्। ती मध्ये हजारौं महिला, बेरोजगार तथा असक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन्। सर्वोच्च अदालतको आदेश पछि पनि सरकारले निशुल्क उडान सेवा शुरु गरेको छैन, जुन खेदजनक छ।

नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर आवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक संजालसंग सहकार्य गर्न आग्रह गर्दै मैले सम्माननीय प्रधानमंत्री तथा माननीय श्रम मंत्रीको पटक पटक ध्यानाकर्षण गराएकी छु। त्यस्तै प्रतिनिधि सभामा हामीहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं भने पटक पटक यो विषयलाई जोडदार रुपमा उठाउंदै आएका थियौं। तर सत्तारुढ दलको आन्तरिक झगडाका बीच संसद बैठक हठात अन्त्य गरेर सरकारले जनताको आवाज मुखरित गर्ने मंच पनि बन्द गरिदिएको छ।

यसै सिलसिलामा मैले मंगलबार (भदौ ३० गते) माननीय परराष्ट्र मंत्री प्रदीप कुमार ज्ञवाली, माननीय श्रम मंत्री रामेश्वर राय यादव तथा माननीय पर्यटन मंत्री योगेश भट्टराईलाई छुट्टा छुट्टै फोन गरी विदेशमा अलपत्र परेका नेपालीहरुलाई जति सक्दो चांडो नेपाल ल्याउन आग्रह गरेकी छु। उहांहरुले नेपाल सरकार यो विषयमा गम्भीर रहेको र सक्दो पहल गरिरहेको बताउनु भयो।

तर गएको झन्डै ७ महिना देखि बेखर्ची भएका नेपालीहरु, घरबाट पैसा मगाएस तथा विभिन्न संघसंस्थाको सहयोगमा गुजारा गरिरहेका देशवासीहरुको स्थिति हरेक दिन जटिल बन्दै गएको छ। त्यसैले म नेपाल सरकारसंग तत्काल निम्न कामहरु गर्न आग्रह गर्दछु।

१) कोरोना महामारीका कारण काम गुमाएर लामो समय देखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरि तत्काल निशुल्क उद्धार गरियोस् ।

२) श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्बोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस् ।

३) विदेशमा समस्यामा परि फर्किनै पर्ने अवस्थाका हजारौं श्रमिक दाजुभाइ-दिदिबहिनीहरुलाई दशैं अगावै स्वदेश फर्काउन सके निशुल्क, नसके कम शुल्कको उडानको ब्यबस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरि ७ दिनको लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निशुल्क क्वारेन्टीनको ब्यबस्था गरियोस् ।

४) विदेशको बिकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरि देश बिकासमा उनीहरुको सहभागिता सहितको रोजगारी र स्वरोजगार ब्यापार-ब्यबसाय गर्नेहरुलाई कम ब्याजदरमा सुलभ ऋण र अनुदानको ब्यबस्था गरियोस् ।

५) अहिले कोरोना संकट भन्दा पहिले नै दुखद निधन भएका नेपालीहरुका शव विदेशमा अलपत्र छन् । उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।

डा. डिला संग्रौला

सदस्य, प्रतिनिधि सभा तथा केन्द्रिय सदस्य, नेपाली कांग्रेस



Related News


यसमा तपाइको मत


Comments