04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल




अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल

 

काठमाडौं, १० असोज । कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण छ ।

जसका कारण तरकारी, चिनी, खाद्यान्न, लत्ताकपडालगायतका उपभोग्य वस्तुको मूल्य ह्वात्तै अकासिन पुगेको हो । बजार, यात्रा र वितरण प्रणालीमा सरकारी निकायको उपस्थिति कमजोर हुँदा र कुशासन मौलाउँदा यस्तो अवस्था आएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । बजारमा वस्तुहरूको मूल्य मनलाग्दी बढाइएको छ भने यात्रा गर्दा समेत सर्वसाधारण ठगिने क्रम बढेको छ ।

दसैं नजिकिँदै गर्दा व्यापारीले लत्ताकपडामा समेत अस्वाभाविक मूल्यवृद्धि गर्दा सरकारी निकाय मूकदर्शक बनेको आरोप सर्वसाधारणको छ । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि हँुदा सर्वसाधारणमा सरकारी निकायप्रति आक्रोश बढेको छ । कोभिडका कारण कैयौंको रोजगारी गुमेको छ भने आर्थिक अवस्था पनि दिन प्रतिदिन कमजोर हुँदै छ । आम्दानीका स्रोतहरू सुक्न थालेपछि बिहान बेलुकीको जोहो टार्न धौधौ परिरहेको अवस्थामा दैनिक उपभोग्यका वस्तुको मूल्य एकाएक अकासिन पुग्दा सर्वसाधारण नागरिक अत्यधिक मारमा पर्न थालेका हुन् ।
 
माछापोखरीकी सम्झना राईको परिवारले हिजोआज तरकारी खान छाडेको छ । ज्यालामजदुरी गरेर चार जना परिवारको भरणपोषण गर्दै आइरहेकी राईले तरकारीको मूल्य अत्यधिक बढेपछि दाल र भात मात्रै खाने गरेको बताइन् ।

‘मेरो जस्तो समस्या धेरैलाई परेको छ, तरकारी खान नसक्ने अवस्था आएको छ,’ राईले राजधानीसँग भनिन् । राजधानीकै बालाजुका हरिशरण शर्मा पनि दैनिक उपभोग्य वस्तुको मूल्य अकासिँदा जीवन धान्न नै मुस्किल हुँदै गएको बताउँछन् । पेसाले गाडी चालक रहेका उनलाई पाँच जनाको परिवार धान्न निकै मुस्किल हँुदै गएको छ । भन्छन्, ‘तरकारीको मूल्य चार गुणासम्म बढेको छ, अन्य खाद्य वस्तुको मूल्य पनि त्यसरी नै बढेको छ । बजारमा मनलाग्दी हँुदा समेत सरकारका कुनै निकायलाई केही चासो छैन,’ शर्मा भन्छन्, ‘सरकार के हेरेर बसेको छ ? हाम्रो चुलो बल्नै मुस्किल भइसक्यो ?’ यो समाचार आजको राजधानी दैनिकमा छ । 



Related News


यसमा तपाइको मत


Comments