12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आयुर्वेदिक औषधिले कोरोना जिते: डा. ज्ञवाली




आयुर्वेदिक औषधिले कोरोना जिते:  डा. ज्ञवाली

-डा.प्रकाश ज्ञवाली-

काठमाडौं ।  मलाई अलि अलि टाउको दुखे जस्तो भयो । त्यसको भोलीपल्ट बिहान रुघा पनि लागेको जस्तो भएको थियो । घाँटी झन् खसखस गर्यो । दिउँसो ज्वरो आउन थाल्यो । ज्वरो अघिपछि रुघा लागेको समयमा आउने भन्दा कडा खालको थियो ।

शरीर दुख्ने, कमजोरी भए जस्तो लक्षण देखियो । कोरोनाको जस्तो लक्षण लागेपछि असोज ११ गते गएर पीसीआर परीक्षण गराए । भोलिपल्ट रिर्पोट पोजिटिभ आयो । म बाहेक घरमा श्रीमति, छोराछोरी सबैलाई लक्षण देखिएकोले असोज १२ गते उनीहरुको पनि पीसीआर परीक्षण गरियो । रिर्पोट सबैको पोजिटिभ आयो ।

जति धेरै कुरा कोरोना भाइरसको बारेमा जानेको बुझेको भएपनि पहिलोपटक आफुलाई संक्रमण देखिएको थाहा पाउदाँ निकै डर लाग्ने रहेछ। पोजिटिभ आएपछि सामान्य लक्षण देखिएको र सबै परिवारलाई संक्रमण भएपछि छिमेकी र आफन्तलाई जानकारी गराएर घरमै आइसोलेसनमा बस्यौं ।

आयुर्वेदको चिकित्सक भएकाले पहिलेदेखि नै जडिबुटीहरु मात्रा मिलाएर त खाइरहेका थियौं नै । संक्रमण भएपछि पनि गुडूची (गुर्जो) १ चम्चा २ कप पानीमा पकाएर १ कप बाँकी रहेपछि ४ देखि ५ पत्ता तुलसीको पात राखी छानेर चिया जस्तै गरी खायौ ।

च्यावनप्रास एक/एक चम्चा बिहान र बेलुका, अश्वगन्धा चुर्ण एक/एक चम्चा बिहान बेलुका पनि खाने गर्यौ । यस्टीमधु चुर्ण एक/एक चम्चा र त्रिकटु एक/एक ग्रामका दरले बिहान बेलुका मनतातो पानीसँग खाने गरियो । जसले गर्दा ३ दिनमै सबै लक्षण हराएर गयो । ज्वरो आएको बेला सिटामोल खाइयो । भिटामिन सी, डी र भिटामिन बी कम्पेल्क्स पनि खायौं ।

३ दिनसम्म लक्षण देखियो । त्यसपछि भने सबै लक्षण हराएर ठीक हुँदै गयौं । यस्तो बेला सबै पोजिटिभ भएकोले कसलाई कतिबेला समस्या बढ्ने हो भन्ने चिन्ता हुने रहेछ। घरबाट बाहिर निस्कन नमिल्ने भएकाले आवश्यक सामानका लागि पसलमा फोन गरेर गेट बाहिरसम्म ल्याइदिन भन्यौं । मेरो श्रीमतिको दिदी पनि नजिकै बस्नुहुन्छ । उहाँले नै आवश्यक परेका सरसामानहरु ल्याइदिनुभयो । घरमा बसेको बेला धेरै साथीभाइसँग फोन र मेसेन्जरमा कुरा भयो ।

कतिजनाले घरमा एकजनाको पोजिटिभ आएपछि अरुलाई लक्षण भएपनि जाँच नगरी घरमै आइसोलेसनमा बसेको पनि थाहा पाए। जटिबुटीबारे जानकारी लिन, मलाई यस्तो समस्या भयो । कुन जडिबुटी कसरी खाउँ ? भनेर दैनिक १२ देखि १५ जना नयाँ व्यक्तिले फोन गर्नुहन्थ्यो ।

संक्रमण देखिएपछिको अवस्था अलि फरक हुने रहेछ । यसले मानिसको मनमा कसरी डर जमाएर बसेको छ भन्ने अनुभव पनि भयो ।छिमेकीहरु हामी छतमा गयो भने पनि छतबाट सर्ला झै गरेर डराउनुभयो । त्यसैले हामीमध्ये कोही छतमा जानुपरेमा पनि मास्क लगाएर जाने गथ्यौं । कसैले फोनमा पनि सर्छ कि झैं गरेर कुरा गरेको अनुभव हुँदा भने डरले निकै जरा गाडेको छ भन्ने लाग्यो ।

यो हाम्रो लागि छिमेकी र आफन्त चिन्ने मौका पनि भयो । कति आफन्त त अफ्ट्यारो पर्यो भने सहयोग गर्न पर्न सक्छ भनेर थाहा नपाए जस्तो पनि गरे । कतिले औपचारिकता मात्र निभाए । यसबाट हामी विचलित भएनौ । यो सबै अज्ञानताको परिणाम हो । हामीले पर्याप्त जनचेतना जगाउन सकेका रहेनछौं । हामीले घरमा चना उमारेर झोल बनाएर प्रशस्त खायौं । त्यस्तै ज्वानोको झोल, कुरिलोको झोल पनि खुब खायौं । ५ दिनपछि मासुको झोल बनाएर खान थाल्यौं। शरीरमा पानीको मात्रा कमी हुन दिनु हुँदैन् । पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार छ ।

त्यसैले कहिले काँही जीवनजल बनाएर पनि खायौं । अक्सीमीटरको सहयोगले अक्सिजनको मात्रा नापी राख्यौं । ९४ भन्दा बढीमा मेन्टेन गर्नु पर्ने हुनाले अनुलोम विलोम पनि गर्ने गर्यौ । घाममा बस्ने, एक अर्काको अवस्था जानकारी लिने पनि गर्यौ । यो रोगले हामीलाई दुःख नदिए पनि यो कसै कसैलाई कडा रुपमा पनि आउन सक्छ। कोरोना संक्रमण जहिले जो कोहीलाई पनि देखिन सक्छ । त्यसैले सरकारले भनेका सबै मापदण्ड पालना गरौं । कसैलाई पोजिटिभ देखिएपछि घरमा सबै मापदण्ड पालना गरेर कम्तिमा १४ दिन आइसोलेसनमा बसौं । नियमित रुपमा जडीबुटी सेवन गर्ने, भीडभाडमा नजाने र वुद्धवद्धा र दीर्घ रोगी बचाउने काम गरौं ।

(डा. ज्ञवाली नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष हुन् । )

डा. ज्ञवालीकाे फेसबुकबाट ।



Related News


यसमा तपाइको मत


Comments