14 Baishak, 2081 / 26 April , 2024
-रुपा थापा-
तिमी मुस्कुराउनु पर्छ
जसरी मुस्कुराउँदै छन्
बिहानीमा झरेर पनि ति पारिजातको फूलहरु
तिमी नमुस्कुराएको घर
कहाँ घर हुन्छ र
त्यो त केवल मसानघाट हुन्छ
मसानघाटको अर्थ तिमिलाई थाहा छ नि
जहाँबाट जीन्दगी शुन्यतामा बिलिन हुन्छ
श्रृष्टिको फूल भित्र
एउटा लाली छर्न पनि त
तिमि मुस्कुराउँनै पर्छ
तिमी अन्धकारमा बस्नु भनेको
सिङ्गो श्रृष्टिनै अन्धकारमा डुब्नु हो
युगौँ देखि तिमीलाई अन्धकारमा राखेर
खै कुन उज्यालो खोज्दैछ यो समाज
म युगौँदेखि यो मुर्तिसँग यसै गरि मुस्कुराइरहेछु
तर युगौ देखि श्रृष्टि धान्ने
नारीहरुको आसुले भिजेको यो धर्तिमा
उन्मुक्त हासो हास्नु यदि अभिश्राप थियो भने
खै के सोच्यो होला त्यो मुर्तिकारले
जसले म हुनुको अर्थलाई बुझाउन
मुस्कुराइरहेको मेरो यो मुर्तिलाई कुद्यो
जुन घरमा प्रतिबन्धित हुन्छ
नारीहरुका सुन्दर मुस्कानहरु
त्यहा बिद्रोहको एउटा झिल्को बल्छ
जुन बिस्तारै बिस्तारै सल्किन्छ
त्यस पछि बाँकि रहेका खरानीका अस्तुहरु
एक तमासले उडिरहन्छ क्षितिजमा
नारीहरु मुस्कुराउन भनेको
सिङ्गो परिवार मुस्कुराउनु हो
परिवार मुस्कुराउनु भनेको समाज मुस्कुराउनु हो
जब समाज मुस्कुराउँछ
तब त सिङ्गो राष्ट्र मुस्कुराउँछ
मुस्कानका ओठहरुबाट मुस्कानहरु हराए भने
अध्यारा ति रातहरूसँगै
यदि मुस्कानहरु बिलिन भए भने
अङ्गारका ति राखहरुले
तिमीलाई जब जलाउनेछ
त्यतिखेर बस्तीबाट केहि गन्धहरु आउनेछन्
जुन बिद्रोहका बारूदका धुँवाहरू बनेर
जलाउनेछन् तीम्रा बस्तिहरूलाई
ति अस्तित्वहरुको बिद्रोहहरुले
तिम्रा आँखामा खरानी बनेर बिझाउनु भन्दा अगाडी
देउ मुस्कुराउन ती नारीहरूलाई
जसरी म मुस्कुराइरहेकी छु यो मूर्तीमा
(बढ्दै गएको महिला हिंसाको अन्त्यको कामना गर्दै नवरात्रीको चौथोदिन नारी प्रति समर्पित थापाको कविता हामीले फेसबुकबाट साभार गरेका हौँ।)