07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सेल्फ मेडिकेसन अर्थात आफुखुसी औषधि सेवन नगरौं : डा. रवीन्द्र पाण्डे




सेल्फ मेडिकेसन अर्थात आफुखुसी औषधि सेवन नगरौं : डा. रवीन्द्र पाण्डे

-डा. रवीन्द्र पाण्डे-

कोरोना महामारी तीब्र गतिमा फैलिएसँगै भ्रम र हल्ला पनि बढिरहेका छन् । महामारीमा मान्छेको मन कमजोर हुन्छ । त्यहि मनोविज्ञानमाथि ब्यापार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । यसले गर्दा गलत औषधिको प्रयोग बढिरहेको छ ।

बिशेषज्ञ चिकित्सकको सल्लाहबिना बजारमा आएका एन्टिभाइरल औषधि, मलेरियाको औषधि, जुका तथा अमिबाको लागि प्रयोग गर्ने औषधि तथा ब्लडप्रेसर एबम उदासीपनमा प्रयोग हुने लगायतका औषधि आफैँले किनेर खानेजस्तो जोखिम काम भइरहेको छ । यी औषधिहरु अस्पताल भर्ना भएको बिरामीलाई सम्बन्धित बिज्ञको निगरानीमा मात्र सेवन गर्नुपर्छ । अन्यथा गम्भीर साइड इफेक्ट भोग्नुपर्ने हुन्छ ।

रुघाको लागि एन्टीकोल्ड, ज्वरोको लागि पारासिटामोल तथा जीउ दुख्नेको लागि फ्लेक्सन ( Ibuprofen + Paracetamol ) यी मध्ये ३ वटा वा २ वटा औषधि खाँदा शरीरको तापक्रम न्यून भएर सिकिस्त हुनेको संख्या पनि धेरै छ । एन्टिकोल्डमा पनि पारासिटामोल ५०० मिग्रा मिसाएको हुन्छ । यी मध्ये एउटा मात्र चिकित्सकको सल्लाहमा आबश्यक भए लिनुपर्छ । आफैँले सेवन गर्नु हुँदैन । त्यस्तै खोकीको प्रकृति अनुसारको मात्र औषधि चिकित्सकसँग परामर्श गरेर खानुपर्छ ।

कोरोना संक्रमणमा द्वितीय संक्रमण नभएसम्म एन्टिबायोटिक सेवन गर्नु हुँदैन । तर युट्युब हेरेर वा पसलमा किनेर आफै कडा एन्टिबायोटिक खाँदा त्यसले काम त गर्दैन नै झन् रोगसँग लड्ने क्षमता घट्दछ । चिकित्सकसँग जाँच गराएर मात्र एन्टिबायोटिक सेवन गर्ने / नगर्ने निर्णय हुन्छ ।

इम्युनिटी पावर बढाउने भनेर अनेक कम्पनीका उस्तै भिटामिन सेवन गर्नेको संख्या धेरै छ । यसले पनि हानी गर्छ । बिभिन्न अध्ययनले देखाएका छन्, सन्तुलित आहार सेवन गर्ने व्यक्तिलाई कुनै सप्लिमेन्ट वा भिटामिनको आबश्यकता हुँदैन । शरीरमा तत्वको कमि भएमा वा संक्रमण भएमा भिटामिन सी, डी, बि १२ तथा जिंकले फाइदा गर्छ ।

इम्युनिटी पावर बढाउन हर्बल सप्लिमेन्ट तथा आयुर्बेद औषधि पनि अन्धाधुन्द प्रयोग गर्नु हुँदैन । जुन औषधिमा इफेक्ट हुन्छ, त्यसको साइड इफेक्ट पनि हुन्छ । आयुर्बेद औषधिमा साइड इफेक्ट कम हुन्छ । यी औषधि सेवन गर्दा मान्यताप्राप्त चिकित्सक / आयुर्बेद स्वास्थ्यकर्मीको सुझाबमा मात्र सेवन गर्नुपर्छ । त्यस्तै औषधि किन्दा औषधि ब्यबस्था बिभागमा दर्ता भएको, उत्पादन मिति र एक्सपायर मिति लेखेको तथा दर्तावाल कम्पनिमा बनेको मात्र सेवन गर्नुपर्छ । यस्ता औषधि सस्तो एबम उपयोगी हुन्छन् । अरुको देखासिकी गरेर दर्तावाल चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी जडिबुटीको सेवन गर्नुहुँदैन ।

प्रेसर, सुगर, थाइराइड, कोलेस्ट्रोल तथा अन्य नियमित खाइरहेका औषधि चिकित्सकको सल्लाहबिना फेरबदल गर्नु हुँदैन \ छोड्नु हुँदैन ।
हरेक औषधि सहि तरिकाले चिकित्सकको सल्लाह बमोजिम सेवन गरे अमृतको काम गर्छन भने आफैले किनेर तथा चिकित्सकको सल्लाहबिना सेवन गर्दा बिषको काम गर्न सक्छन् ।

(डा.पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।)

 


Related News


यसमा तपाइको मत


Comments