13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भान्सा कोठा र कविता




भान्सा कोठा र कविता

-रुपा थापा-

हैन किन तिमीहरुको कवितामा
भान्साको डाडु पन्युहरू कर्याङ कुरुङ गर्छन्
हैन तिमीहरुको कवितामा किन
कसौडिबाट छड्केको भातको बाफ आउँछ
हैन तिमीहरुको कवितामा
किन गुन्द्रुक उम्लिएको अमिलो बास्ना आउँछ

अरे यार युगौँ देखि थमाइदिएको
भान्साको त्यो डाडु पन्युमा हामिलाइ भुलाएर
चोक चोकमा राजनितिक परिवर्तनको कुरा गर्दै
चिया गफको लागि हामिलाइ अनुमति दिएका छौँ र
हाम्रा कवितामा राजनितिको गन्ध आउनु

अ म मेरो कवितामा
कागतिको अमिलो रस निचार्छु र सर्वत बनाउछु
त्यसैले कता कता मेरो कविता
तिमीलाइ अमिलो पनि लाग्न सक्छ

हैन तिमीहरुको कविता किन
तर्कारिका ति खारहरु जस्तै
भान्सा कोठा भित्र मात्रै किन रुमलि रहन्छ ह

अरे यार युगौ देखि हामीलाई
भान्सा कोठामा भुलाएर
तिमी तिम्रो कविताको बिम्व खोज्न
बिहानै त्यो शहरको एक फन्को मारेर फर्किसक्दा
मेरा कविता भने भान्साको
त्यहि तातो चियाको बाफसँगै उडिरहन्छ

तिमीले एक सर्केा चुरोटको धुवासँगै
एक कप तातो चियाको बाफसँगै
तिम्रा कविताका महान दर्शनहरु छाटिसक्दा
फर्किएर फेरि पनि भन्छौँ
तिमीहरुको कविता कविताको दर्शनवाट भड्किएर
किन प्रेसर कुकरको सिठ्ठिसँगै रुमलिरहन्छ

अरे यार तिमी तिम्रो कवितामा
समानताको बिल्ला हान्छौ र
चाहन्छौँ कि तिम्रो कविता तयार नहुन्जेल
तिमीलाई कुने पनि किसिमको अवरोध नहोस् 

फेरि पनि तिमी
मलाइ भने किन भनिरहन्छौ
तिमीहरुको कविताको भुगोल इतिहास अनि वर्तमान
किन त्यहि घरको भान्साबाट सुरु हुन्छ र
त्यहि घरको भान्सासँगै अन्त्य हुन्छ

हो म मेरो कवितामा
थोरै बेसारका पहेला रङहरु छर्छु र
त्यो कराइसँगै परिवर्तन हुने
तर्कारिका रङहरुसँगै मेरो कवितामा पनि
युगाैँदेखि परिवर्तन हुन नसकेका
परिवर्तनका रङहरु भने खोजिरहन्छु




यसमा तपाइको मत


Comments