11 Mangshir, 2077 / 26 November , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

खोइ त्यो दिब्य आत्मसात ?




खोइ त्यो दिब्य आत्मसात ?

-लक्ष्मण सिटाैला-

अहिले विश्वजगत कोरोनाको संक्रमणबाट अक्रान्त छ। खास गरेर कोरोनाको भयावह सहरी क्षेत्रमा व्यापक फैलिँदै गइरहेको छ । अहिले विश्वका ठूला-ठूला सहरमा बसोबास गर्ने मानिसहरूलाई सहर अभिशाप साबित हुन थालेको छ र उनीहरू बिस्तारै पहाडी जनजीवन नै उत्तम रहेछ भन्ने कुरामा सहमत हुन थालेका छन।

कोरोनाको विश्वब्यापी महामारीपछि विश्व सहरका केही मानिसहरू गाउँतर्फ आकर्षक भैँरहेको खबर प्राप्त हुन थालेका छन्। जहाँ जनघनत्व बढी छ त्यही नै कोरोना लगायत अन्य सरुवा रोगहरु सबैभन्दा धेरै फैलिने पनि सम्भावना रहन्छ।

सयौं वर्ष अगाडिको युरोपेली देशहरूमा फैँलिएको प्लेग भन्ने रोगले युरोपेली सहरका लाखैँ मान्छेलाई सखाप पारेको कुरा इतिहासमा लेखिएका छन्। यस्ता रोगहरुका कारण कहिलेकाँही सहर अभिशाप बन्न जाँदोरहेछ र ग्राम्य जीवन र ग्रामीण बसोबासको महत्व झल्किदोरहे छ ।

सहर आफैँपनि मृत अवस्थामा बाँचेको हुन्छ किनकि त्यहाँ मानवता, बन्धुत्व, सहयोग, भाइचारा, आपसी सद्भावना र माया हुँदैन । सहरले आफ्नो चिन्दैन भने झन पराइ चिन्ने त कुरै भएन। सहरले मानिसको आदिम लयलाई निलम्बित गरेको हुन्छ र त्यसलाइ भौतिकता र यौवनको जलपले छोपेको हुन्छ। सहर आफैँ कृतिम बाँच्छ । सहर आँफै एकलास बाँच्छ। सहर आफैँ दरिद्र बाँच्छ। सहरमा पैसा बाँच्छ तर मानवता मरिसकेको हुन्छ। सहर आँखाको मात्रै झिलिमिली हो। यो झिलिमिली भित्र आँसु र पीडाको नदि बगिरहेको हुन्छ।

सहर तीनै ब्यक्तिहरुको जमघट हो, जहाँ धन बोल्छ मानवता मौन बस्छ । आदर्शले हार्छ अनि नौटन्किले जित्छ। सहर कृतिम अभिनय गर्न जान्नेका लागि मात्रै हो । सहरमा मृत्यु धेरै सस्तो छ। सहरमा तिनै रमाउछन जो कृतिम जिन्दगी ज्युन सिपालु हुन्छन् ।

यस्तै चरीत्र बाँचेका मानिसलाई पनि कहिलेकाही जीव देखि वाक्क लाग्छ । ऊ कतै पर हिमालको नजिक भएर पहाडको काखमा सुस्ताउन खोज्छ। मन बहलाउन खोज्छ। सहरको त्यो बितराग बिर्सेर लाटाे र अन्जान पहाडी भू-भागमा रम्न खोज्छ।

यतिबेला उसलाई ग्रामीण ग्राम्य जीवनको शान्त अनि सरल जीवनको प्यास लाग्छ । वास्तवमा तिनै कलाकारका लागि हो गाउँमा निर्माण हुने सामुदायिक तथा निजि होमस्टे। तिनीहरू त्यँहा शान्ति खोज्न जान्छन्। तिनीहरू त्यँहा ग्राम्यता खोज्न जान्छन् । तिनीहरू त्यँहा सोझा मानिसहरूको आनन्दको सामाजिक जीवन हेर्न बुझ्न अनि आफैँलाई केही समय त्यही ग्राम्य लयमा मिसाउन जान्छन।

एक दुई दिन भएपनि एक स्वस्थ्य मानिस भएर बाँचु भन्ने हेतुले जान्छन् । ग्रामीण पर्यटन हाम्रो नेपालमा मात्रै होइन। विश्वका पुर्ण विकसित देशहरुमा समेत यो व्यवसाय शुरु भैँसकेको छ। सन्सारभरका मुलुकमा ग्रामीण जीवन छ। ग्रामीण जीवन भन्नासाथ हामी आधुनिक भौतिक सभ्यताको छिटो नपरेको एक सरल शान्त सामाजिक सनातनी साँस्कृतिक आदिम भूमीलाई सम्झन्छौँ जहाँका प्रायः सबै मानिस भित्र दया माया मानवता र पवित्र सँस्कार हुन्छ ।

त्यहाँका मानिस अविकसित होइनन् त्यो स्थान पनि अविकसित होइन मात्रै त्यो स्थानलाई आधुनिकताले बलात्कार नगरेको एक शालीन इतिहास सधैंव बाचिरहेको पुन्य भूमी हो । त्यहाँको सरल जीवन हेर्न सँधै केक पिज्जा बर्गर मासु र फास्ट फुड जन्क फुड खाएर सहरमा कृतिम बाँचेका अत्याधुनिक अर्ध मनुष्यहरुका लागि ग्रामीण पर्यटन एक तिर्थ गए जस्तै आनन्दको एउटा यात्रा हो।

अहिले आएर कोरोनाको भयावह अवस्थामा गाउँ र गाउँले परिवेशको झनै महत्व बढ्न थालेको छ ।सहरमा कोरोनाको हाहाकार छ तर गाउँ आफ्नो पुरानै लयमा छ। गाउँम सामाजिक दुरिका लागि बिज्ञापन गर्नै पर्दैन । गाउँमा न मास्क चाहिन्छ न स्यानेटाइज। गाउँमा कसैका घर जोडिएका छैनन् तर सहरमा मानिसका ओछ्यान जोडिएका छन किनकि सहर महँगो छ । सहरमा जमिन छैन।

सुविधाजन्य जीवन भोग्न सहर पसेको मान्छे आज आफैँ रोगी भएको छ । हिजो कसैको बिहेमा जन्त जादा मइन्टाेल बालेर बारिको पाटामा लाइन बसेर धोतीपाटा फेरेर टपरिमा दालको झोल चुहाउँदै र एक चोक्टा काउली भातसँग मुसेर खादाको आत्मीय अपनत्व र स्वर्गीय आनन्दले आज होटेलमा बुफे आफ्नै हातले पस्केर खादाको कृतिम जिन्दगीलाइ धिक्कारी रहेकोे छ।

खोइ त्यो दिब्य आत्मसात ? खैँ त्यो सरलता ? खै त्यो अभिन्न साथित्व र भाइचारा ?। हिजो टपरीबाट दालको झोल चुहिए जस्तै आज आधुनिक मान्छेको आँखाको कोपराबाट आँसुको पिसाब चुहिन्छ । हो, यिनै आँखाको कोपराबाट आसुको पिसाब चुहाउनेहरुलाइ सरल जीवन र ग्रामीण सस्कार केहो भनेर चिनाउन पनि ग्रामीण पर्यटनको बिकास गर्नु अत्यन्तै आवश्यक छ ।

ग्रामीण पर्यटनको विकास र विस्तारका लागि जनस्तरबाट मात्रै पहल भएर पुग्दैन यसमा सरकारको तर्फबाट अनुदान, योजना, तालीम, सेमिनार, गोष्ठी, प्रचारप्रसार, ग्रामिण बाटोको सुधार, द्क्ष जनशक्ति उत्पादन तथा विदेशस्थित नेपाली कुटनीतिक आयोगबाट पनि बिशेष पहल गर्नुजरुरी छ।

नेपालको अधिकांश कृषियोग्य भूमी ग्रामीण भेगमा नै भएकोले त्यहाँ उत्पादन भएका स्थानीय फलफूल, दुध, तरकारी, मासुजन्य पदार्थ अनि खाद्यन्न गाउँमा नै खपत र उपयोग गर्नेगरी ग्रामीण पर्यटनको योजना ल्याउनु अत्यन्तै आवश्यक छ।

सहर विकास भैँसकेको छ । अब गाउँको विकासको लागि ग्रामीण पर्यटन प्रबर्द्धन गर्नु अनिवार्य छ। नेपाल घुम्न आउने भविस्यका पर्यटकलाइ ठमेल होइन गाउँ जाने वातावरण मिलाउनु राज्यस्तरबाट नै पहल हुनुपर्छ । ग्रामीण पर्यटनका लागि विदेशी नै आउनुपर्ने भन्ने जरुरी छैन। सहरमा बसेकाहरु सहरदेखि वाक्क भएर कहिलेकाही हप्तान्त मनाउन पनि गाउँ जान थालेका छन। नेपालको अर्थ ब्यवस्थालाई चलाएमान बनाउन ग्रामीण पर्यटनले महत्वपूर्ण भुमिका खेल्न सक्छ ।

कोरोनाको कारण विदेशीहरु अबको केही बर्ष नेपाल भ्रमणमा आउन सक्ने अवस्था रहनेछैन । नेपाल भ्रमणमा विदेशीनआए पनि हाम्रो आन्तरिक पर्यटनलाई चलाएमान बनाउन सकिने एकमात्र आधार भनेको ग्रामिण पर्यटन नै हो। नेपाल सरकारले आफ्ना कर्मचारीहरुलाइ वर्षको १५ दिन अनिवार्य बिदा दिइ नेपाल भ्रमणका लागि अभिप्रेरित गर्ने हो भने यस्तै सिको अन्य संघसंस्था बैंकिङ क्षेत्र र निजि कम्पनीहरुले पनि गर्नेछन अनि अवस्य पनि नेपालको आन्तरिक पर्यटन मौलाउने छ।

केहो आन्तरिक पर्यटन ?

सामान्य अर्थमा भन्नुपर्दा आफ्नो देशका नागरिकले आफ्नै देशको भ्रमण गर्ने, आफ्नै देशको जनजाती, सामाजिक रितिस्थीती, स्थान, धर्म, तिर्थ , बिकास र भूगोलको बारेमा जानकारी राख्दै गरिने आन्तरिक परिभ्रमण नै आन्तरिक पर्यटन हो ।

आन्तरिक पर्यटन परिभ्रमणबाट स्थानीय स्तरका होटेल होमस्टे र स्थानीय उत्पादन बिक्रीवितरण भै समष्टिगत रूपमा एउटा आन्तरिक पर्यटनको पाटाे अवस्य नै समृद्धि तर्फ उन्मुख हुन्छ। अझ स्थानीय स्तरमा रहेका होटेल रेस्टुरेन्ट खाजा घर तथा होमस्टेमा कार्यरत कर्मचारीहरु पनि बेरोजगार भएर बस्नुको अन्त्य हुन्छ ।

अझैँ भन्नु पर्दा आर्थिक चलायमान सहितको स्थानीय भ्रमणलाई हामी आन्तरिक पर्यटन भनेर पनि भन्न सक्छौँ । आन्तरिक पर्यटनले लुकेर रहेको आफ्नै भूगोलको र स्थानको पनि प्रचारप्रसार हुन्छ। पर्यटन व्यवसायमामा अहिले आइरहेको समस्या र चुनौतीलाई बिस्तारै समृद्धि तर्फ लैजाने हो भने नागरिकलाई आन्तरिक पर्यटनमा अभिप्रेरित गर्नुपर्छ ।

हामी केही प्रतिशत नेपालीहरुले थाइ एयर र नेपाल एयरलाइन्सको हवाई जहाजको टिकट खरिद गरेर बैंकक घुम्न जाने हैसियत बनाइसकेका छौँ । अनि एक पटकको भ्रमणमा दुई चार लाख खर्च गर्न सक्ने अवस्थामा पुगेका छौँ भने किन आफ्नै देशको भ्रमण नगर्ने ? कोरोनाको भयका कारण अहिले शहरी क्षेत्रमा विदेशी पर्यटक नेपाल भ्रमणमा आउने सम्भावना नरहेकोले अब किन हामी कर्मचारी, ब्यापारी,विद्यार्थी राजनीतिककर्मी सामाजिक अभियन्ता तथा समाजका विभिन्न ब्यक्तिहरु फुर्सद मिलाएर आन्तरिक भ्रमणमा नजाने ? अबको इस्वी सम्बत २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा घोषणा गर्न र मनाउन नेपाल सरकारले नीति तथा कार्यक्रम ल्याउनु आवश्यक छ। कोरोना बाट थलिएको पर्यटन ब्यावशायलाइ यो नीति तथा कार्यक्रमबाट अवस्य नै थप उर्जा मिल्ने छ ।

आन्तरिक पर्यटन पुर्वाधारको बिकास
अब बनिने धरहरा जतिसुकै अग्लोहोस्। हाल निर्माण सम्पन्न भएको रानीपोखरी जतिसुकै सुन्दर होस्, सहरम गाडी गुड्ने बाटो जतिनै कालोपत्रे होस, जति नै बलुन बिजुलि झिलिमिली अमेरिकाको न्युयोर्क सहर होस् कि वा नेपालको कान्तिपुर सहर। कोरोनाको त्रासदीले घर्लप्पै निले यी सहरहरुलाई ।

त्यसैले पनि सहर ठिक छैन भन्ने कुराको अभिवाेध र डर अबको केही बर्षसम्म हामी सँगै बाँचिरहेको यो समस्त मानव समुदायलाई भैँरहने छ । अबको पर्यटन गन्तव्य गाउँ हुनेछ । अबको पर्यटन पाइला गाउँ र गाउँमा बाँचिरहेको सामाजिक सास्कृतीक परम्परा रितिरीवाज चाडपर्व र मौलिक ग्राम्य जीवन तर्फको आकर्षक सनातनी जीवन धारातर्फ हुनेछ । त्यसकारण पनि ग्रामीण पर्यटन पुर्वाधारको बिकासका लागि राज्यले निम्न कामहरू गर्नुपर्ने हुन्छ।

  • ग्रामीण तथा आन्तरिक पर्यटन विस्तारका लागि नीति बनाउने
  • पर्यटन व्यवसाय भनेको विदेशी आउनु र डलर कमाउनु मात्रै हो भन्ने भ्रमबाट नेपालका पर्यटन ब्यावशायमा आवद्ध ब्यक्तिहरु अब मुक्त हुनुपर्छ । अब ठमेल बजारको त्यो गुल्जार फर्किन धेरै समय लाग्छ र त्यो बेलासम्म पर्यटन ब्यावशायको परिभाषामा नै परिवर्तन आइसकेको हुनेछ। त्यसैले पनि यो व्यवसायमा आएका थप चुनौती र आउन सक्ने चुनौतीका बारेमा राज्यस्तरबाट नै जिम्मेवारी अभिबोध हुनु आवश्यक छ।
  •  हामी नै पर्यटक हौँ कमसेकम फुर्सद मिलाएर आफ्नै देशको दर्शन गर्न सकियो भने नेपालीको मौलिकता बाँच्न सक्छ। यसका लागि राज्यले समस्त कर्मचारीलाई फोर्स लिभ (आन्तरिक पर्यटनका लागि कम्तीमा १५ दिन अनिवार्य छुट्टी) दिने र घुमेको स्थानका बारेमा रिपोर्ट लिने परम्परा बसल्ने।
  • नेपालको इतिहास सहरमा मात्रै जिवित छैन।इतिहासमा नेपाली वीर सपुतहरुले बनाएका किल्ला कागडा दरबार गडि गाउँमा नि जिवित छन। चाहे गोर्खा जाउ चाहे नुवाकोट जाउ चाहे पश्चिम नेपालका सुदुर किल्लाहरुमा जाउ इतिहास त्यता पनि जिवित छन। पाल्पाको रानी महल होस नुवाकोटको सात तले दरबार होस इतिहास त गाउँतिरै पो बढी छन भनेर हामीले बुझ्नु जरुरी छ र बुझाउने चेत राज्यस्तर बाट पनि हुनुपर्छ ।
  • आन्तरिक पर्यटनका लागि राज्यको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग भनेको गाउँ जहाँ पर्यटन व्यवसाय सञ्चालन गर्न सम्भावना छ त्यहाँ नीति तथा कार्यक्रम ल्याईदिने। होटेल होमस्टे तथा साहसीक पर्यटकलाइ बन्जी जम्प प्यारा ग्लाइडिङ ग्राम्य बाटोको सुधार जस्ता कार्यक्रमका लागि स्थानीय सरकार बजेट ब्यावस्थापन गर्न लगाउने अबको हरेक वर्ष ।

हामी ज्यादै सहर केन्दित भयौँ। सहरले मात्रै मानिसको सपनाहरू पूरा गरिदिन सक्छ भन्ने भ्रम पालेर बाँचेका अहिलेका युवाहरूलाई गाउँ जाने वातावरण मिलाउनु राज्यको दायित्व पनि हो । सधैं खाडि मुलुक जान प्रेरणा दिने सरकार ! अब नेपाली युवाहरूलाई आफ्नै गाउँमा बस्ने योजना ल्याउ !

 

laxmanrajsitaula@gmail.com


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti