15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खुला ठाउँमा खाना खुवाउन बन्द




खुला ठाउँमा खाना खुवाउन बन्द

काठमाडौं, २ कात्तिक । मंगलबारदेखि खुला ठाउँमा खाना खुवाउन बन्द हुने भएको छ । काठमाडौंको खुलामञ्च तथा सार्वजनिक ठाउँमा निःशुल्क भोजन सेवा सञ्चालन नगरिने भएको हो ।
स्वास्थ्य चुनौती र कोरोना सङ्क्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो । काठमाडौं महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच बन्द संरचनाभित्र व्यवस्थित रूपमा सेवा सञ्चालन गर्ने यसअघि सहमति भएको थियो ।

सहमतिअनुसार अबदेखि भोजन खुवाउन वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने र खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क भोजन खुवाइने छैन । असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिकका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाण्डौ महानगरपालिकाले अनुरोध गरेको छ ।

मानव सेवा आश्रम काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले निःशुल्क भोजन गराउनु पर्नेलाई सेवा दिन तयार रहेको बताए । उनका अनुसार देशका २२ शाखामार्फत झण्डै एक हजार दुई सय जनाले निःशुल्क भोजनको सेवा पाइरहेका छन् ।

काठमाडौ महानगरपालिकाले पनि सबै सामाजिक सङ्घ संस्थालाई बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ । त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग हुने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

महानगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका तर श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने भएको छ । काम गर्न सक्नेलाई रोजगारी दिने तथा शारीरिक र मानसिक रूपमा अशक्तलाई परिवारमा बुझाउने वा त्यो सम्भव नभए लालनपालन, औषधोपचारसहित संरक्षण गर्ने पनि मेयर शाक्यले बताए । 

खुलामञ्चमा गएको चैत १४ गतेदेखि निःशुल्क खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालका संयोजक विमल पन्तले महानगरपालिकासँग समन्वय गरी निःशुल्क भोजन व्यवस्थित रूपमा खुवाउने बताए । 




यसमा तपाइको मत


Comments