13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सिसडोलवासी आन्दोलित




सिसडोलवासी आन्दोलित


काठमाडौं, ५ मंसिर ।  १८ बुँदे माग राख्दै सिसडोलवासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडकलगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग मङ्सिर २० गतेसम्म पूरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरू आन्दोलित भएका हुन् । 
वैज्ञानिक ढङ्गबाट फोहरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बीमा गर्नुपर्ने, विकास निर्माणका काम नागरिकले भनेअनुसार तत्काल सुरु गर्नुपर्ने उनीहरूको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनास्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ ।

स्थानीय दिनेश कार्कीले बञ्चरे डाँडामा ल्याण्डफिल साइट फोहर फाल्न तयारी अवस्थामा रहे पनि आफ्ना मागहरू पूरा नभएसम्म फोहर फाल्न नदिने बताए । नागरिकको न्यूनतम मागहरू समेत पूरा नगरि फोहर फाल्ने तयारी भएपछि आफूहरू आन्दोलित भएको उनको भनाइ छ ।

यातायात, शिक्षा, स्वास्थ्य, पशु बीमा, बाली बीमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास निर्माणका लागि १६ वर्षदेखि विनियोजन भएको रकमको हिसाब किताब गर्नुपर्ने, ८० शय्याको अस्पताल तत्काल निर्माण गर्नुपर्ने उनीहरूको माग छ । वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढङ्गमा कायम गर्नुपर्ने र फोहरको प्रभावबाट मानिस, पशुपंक्षी, बोटबिरुवा सुरक्षित हुने ग्यारेण्टी गर्नुपर्ने स्थानीयहरूको भनाइ छ । 

स्थानीयले फोहरबाट निस्कने लिचड पदार्थको उचित व्यवस्थापन हुनुपर्ने पनि बताएका छन् । मङ्सिर २० गतेसम्म आफ्ना माग पूरा गर्न अल्टिमेटम दिँदै स्थानीयहरूले मानव बसोबासरहित फोहरमैला व्यवस्थापन गर्दै जग्गा अधिग्रहण गर्नुपर्ने पनि बताएका छन् । फोहरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने ग्यारेण्टी गनुपर्ने उनीहरूको माग छ ।




यसमा तपाइको मत


Comments