13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चीन–नेपाल मनैदेखि झन नजिक




चीन–नेपाल मनैदेखि झन नजिक

काठमाडौं, ६ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् । स्थानीय एभरेष्ट होटलमा शुक्रबारदेखि शुरु भएको ‘युन्नान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको बताएका हुन्  ।  
उनले चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा  जोड दिए। उनले भने, ‘कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीच मनको निकटता झन् झन् बढेको छ ।’    
सो अवसरमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल र चीनबीच रहेको पुरानो सम्बन्ध र साझा विशेषता रहेको बताए । विनाकुनै समस्याका बीच नेपाल र चीनको सम्बन्ध कायम भएको ६५ वर्ष बितेको तथा दुई देशबीच सम्बन्ध फराकिलो हुँदै गएकामा उनले प्रसन्नता व्यक्त गरे ।
मन्त्री भट्टराईले कोरोना महामारीका कारण नेपालले नेपाल भ्रमण वर्ष २०२०  स्थगन गर्नुपरे पनि अवस्था सहज हुनासाथ नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने आशा व्यक्त गरेका थिए । सरकारले घुमफिरको वातावरणलाई सहज बनाउँदै लगेको मन्त्री भट्टराईको भनाइ थियो । उनले पछिल्लो समय चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालसमेत सहभागी भएको र  यसबाट आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

एक सातासम्म चल्ने तस्वीर प्रदर्शनीको संयोजन नेपाल चाइना मिडिया फोरमले गरेको हो । कार्यक्रममा चिनियाँ सरकार र कम्युनिस्ट पार्टीका नेताहरुले भिडियो कन्फ्रेन्समार्फत कार्यक्रम सफलताको कामना गरेका थिए । फोरमका अध्यक्ष किशोर श्रेष्ठले युन्नानसित नेपालको हजारौँ वर्ष सम्बन्ध रहेको तथा दुवैबीच भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको, नेपालबाट एक हजार ७४७ किमीको मात्र दूरी भई अढाइ घण्टाको मात्र हवाई उडान  रहेको तथा नेपालका राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीहरु युन्नानमा आयोजित विभिन्न कार्यक्रममा  प्रमुख अतिथिका रुपमा रहेको र मिडियाबीचको  सम्बन्ध पनि निकै राम्रो रहेको उल्लेख गरेका थिए । उनका अनुसार युन्नानमा दक्षिण एशियाका मात्र २० हजार  विद्यार्थी अध्ययनरत छन् । सात दिनको प्रदर्शनीमा युन्नानका भूगोल, जनजाति र संस्कृतिसम्बन्धी मनमोहक तस्वीरहरु प्रदर्शन गरिएको थियो ।




यसमा तपाइको मत


Comments