13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

संसद चुनौती र अवसरको बीचमा छ : सभामुख




संसद चुनौती र अवसरको बीचमा छ : सभामुख

काठमाडौं, १२ मंसिर। सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताएका छन् । शुक्रबारदेखि संघीय संसद भवन नयाँबानेश्वर, काठमाडौंमा शुरु भएको संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संघीय संसद र प्रदेश सभाहरुलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संसदले प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्यमा ध्यान दिनुपर्ने बताए। उनले अहिले संसद चुनौती र अवसरको बीचमा रहेको चर्चा गर्दै यो बेला अवसर नै बढि रहेको बताए । ‘हामीले बढी भन्दा बढी अन्तरक्रिया आयोजना गर्नुपछर्’, संघीयताको औचित्य पूष्टि गर्ने काम हाम्रै हो’ उनले भने ।

सभामुख सापकोटाले संसदका समितिहरु बढी सक्रिय हुनुपर्नेमा जोड दिए । उनले संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निमार्ण हुने धारणा राखे । उनले संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनु निकै महत्वपूर्ण काम भएको चर्चा गरे ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिडका कारण अब संसदका गतिविधि रोक्न नहुने बताए । उनले स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसद लगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले कोभिड १९ अवस्था अनुमानयोग्य नभएको चर्चा गर्दै अब यससँगै अभ्यस्त हुनुपर्ने बताए । लामो समय बन्दाबन्दी हुँदा आर्थिक गतिविधि प्रभावित भएकाले लकडाउन खुल्ला भएको बताउँदै उनले कोभिड नियन्त्रणमा सबैको भूमिका आवश्यक रहेको चर्चा गरे।
संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँदै उहाँले त्यसका लागि तयारी भइरहेको जानकारी दिए । संघले बनाउनुपर्ने कानुन नबन्दा प्रदेशले र प्रदेशले बनाउनुपर्ने कानुन नबनाउँदा स्थानीय तहहरु समस्यामा परेको उनले भने । उनले हिउँदे अधिवेशनमा बाँकी ऐन बनाउने र बनेका ऐन प्रदेश र स्थानीयस्तरमा लैजानुपर्नेमा जोड दिए । यसका लागि कानुन मन्त्रालयले विशेष पहल गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा।शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताउँदै संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि गरिरहेको तयारी प्रति खुसी व्यक्त गरिन् ।

उनले संसदले हाल सम्मका कार्यमा कति प्रगति भयो भनेर समिक्षा गर्नुपर्ने बताउँदै व्यबहार परिवर्तको विषयमा पनि ध्यान दिइनुपर्नेमा जोड दिइन् । उनले ऐनमा भएका विषयलाई अभ्यासमा ल्याउने विषयलाई प्राथमिकतामा राखिनुपर्ने बताइन् ।

‘‘समाजमा देखिएको महिला र पुरुष बीचको विभेद संसदीय अभ्यासमा देखिनु हुँदैन,’ उनले भनिन् । तेजाव आक्रमणको विषयमा सरकारले अध्यादेश मार्फत ऐन ल्याएको चर्चा गर्दै उनले सरकारले महिला महिलामाथि हुने यौनिक हिंसाविरुद्ध पनि कानुन निर्माण गर्न लागेको उल्लेख गरिन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले संसदको यो अवधिमा कति कानुन निर्माण गर्न सक्यौं, सामाजिक न्यायका लागि कति काम गर्न सक्यौं भनेर समिक्षा गरिनुपर्ने बताइन् । उनले पछिल्लो प्रतिवेदनले नेपाललाई भ्रष्टाचारमा अगाडि देखाएको विषयलाई ख्याल राख्दै संघ प्रदेश सबैले सचेत भएर अघि बढ्नुपर्ने धारण राखिन् । संसदबाट बनाइएका कानुन तल्लो तहसम्म कार्यान्वयनमा लैजान सके मात्रै जनतामा राम्रो सन्देश जाने उनको भनाइ छ ।

कार्यक्रमको सुरुमा संघीय संसदका महासचिव डा।भरतराज गौतमले उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यसपछि कार्यक्रमको प्रतिनिधि सभाका सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, संसद सचिवालयका सचिवहरु ध्रुबप्रसाद घिमिरे र सुदर्शन खड्काको सहभागिता रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका सभामुख, उपसभामुख र प्रदेश नं २ का उपसभामुख भर्चुअल माध्यमबाट सहभागी छन् भने अन्य प्रदेशका सभामुख उपसभामुख कार्यक्रममा उपस्थित थिए ।

आज दिनभरको अन्तरक्रियापछि शनिबार कार्यक्रमको समिक्षा र निष्कर्ष प्रस्तुत गरेर कार्यक्रम समापन हुने छ ।




यसमा तपाइको मत


Comments