15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दलित महिला स्वास्थ्यको परिधी




दलित महिला स्वास्थ्यको परिधी

-डा.अरुणा उप्रेती-

३४ वर्ष भएछ मैले डाक्टर भएर काम गरेको । पहिलोपल्ट प्रसूतिगृह थापाथलीमा मेडिकल अफिसर भएर काम गर्दा र विभिन्न स्वास्थ्य शिविरमा बिरामी जाँच्दा बिरामीलाई भिटामिन त दिनैपर्छ भन्ने लाग्थ्यो । गर्भवतीका स्वास्थ्य समस्याबारे कुरा गर्दा उनका सबै समस्या आधुनिक औषधिले ठीक पार्छजस्तो लाग्थ्यो ।

धेरै छोरी जन्माएपछि ‘छोरा’ जन्माउन अस्पताल आउने महिलालाई म हकार्थें । ‘किन परिवार नियोजनको साधन प्रयोग नगरेको ? भनेर प्रश्न गर्थें ।

अपशोच ! त्यो वेला मैले बुझेको थिइनँ, उनीहरूलाई सामाजिक बाध्यता, विवशता, धार्मिक रुढिवादले कसरी गालेको छ, उनीहरू किन बारम्बार बच्चा जन्माउन विवश छन् ? काम गर्न सुरु गरेको १० वर्षपछि मात्र मैले बुझेँ कि महिलाको स्वास्थ राम्रो वा नराम्रो हुनु, उनीहरूमा कुपोषण हुनुमा कति धेरै सामाजिक, राजनीतिक कारण रहेछन् ।

मेरा दुई छोरी जन्मिएपछि जब बारम्बार ‘छोरा कहिले पाउने ?’ भनेर समाजले प्रश्न गर्न थाल्यो अनि पो मैले बुझेँ, बच्चा धेरै जन्माएकामा मैले हपारेका गरिब, अशिक्षित महिला कसरी विवशताको सिकार भएर बारम्बार बच्चा जन्माउन विवश भएका रहेछन् । यसरी एकपछि अर्को बच्चा जन्माउँदा उनीहरूको ज्यानै जान सक्ने भए पनि परिवारले वास्ता नगर्ने रहेछन् ।

कसरी सामाजिक अवस्था र दिशाविहीनताले महिलाको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ भनेर बुझ्न प्रत्येक दिन पत्रिकामा छापिएका दुःखद् खबर पढेपछि थाहा हुन्छ ।

२००६ मा गर्भवतीको रक्तअल्पता प्रतिशत ३६ प्रतिशत थियो । स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई रगतको कमी घटाउन आइरन चक्की बाँड्ने कार्यक्रम धुमधामसँग ल्यायो । तर, २०१६ मा आएर सरकारी तथ्यांकले नै देखायो— गर्भवतीमा रक्तअल्पता ४३ प्रतिशत भएछ । अर्थात् झन् बढेछ । यो तथ्यांक त सम्पूर्ण नेपालको भयो, प्रदेश नं २ मा त यो ५५ प्रतिशत छ ।

यदि दलित महिलाबीच मात्र तथ्यांक संकलन गर्ने हो भने सायद ८० प्रतिशत गर्भवतीमा रक्तअल्पता र कुपोषण पाइन्छ । नेपाली महिलाको शरीरमा रगत कम हुनुको अर्थ उनलाई सूक्ष्म पोषक तत्व, प्रोटिन आदिको कमी मात्र होइन, उनको पारिवारिक र सामाजिक अवस्था पनि दयनीय छ भन्ने देखाउँछ ।

दलित महिला गरिब छन्, खाना छैन, शिक्षा छैन ।

श्रीमानले मजदुरी गरेर ल्याएको रकम उसैले प्रायः मद्यपानमा उडाउँछ । दलित महिलाको सानैमा विवाह हुन्छ, धेरै बच्चा जन्मिन्छन् उनको स्वास्थ्य चौकीमा पहुँच छैन । यस्ता धेरै सामाजिक र आर्थिक समस्या छन्, जसले गर्दा सीमान्तकृत महिलाको स्वास्थ्य स्थिति राम्रो छैन । अपागंता भएका महिलाको मानसिक र प्रजनन स्वास्थ्यबारे पनि प्रायः छलफल हुँदैन । दलित र गाउँले महिलामा अपांगता छ भने त उनको स्वास्थ्य अवस्था झनै नराम्रो हुन्छ ।

छोरी भ्रूण भन्ने थाहा पाएपछि गर्भपतन गराउने गलत संस्कारले केही वर्षपछि नेपालमा सामाजिक समस्या निम्त्याउने अवस्था छ ।  कहिले सम्म महिलाको खराब स्वास्थ्यको बारे त्यस मा थि पनि दलित , कुरा गर्नु पर्ने हो नेपालमा ?

उप्रेतीकाे फेसबुकबाट

 



Related News


यसमा तपाइको मत


Comments