07 Baishak, 2081 / 19 April , 2024
-लक्ष्मण सिटाैला-
बाटो एउटा यात्रा त हो नि
बाटो आफैँ हिँडिरहेछ सदियौँ देखि
तर कहिले गन्तव्यमा पुगेन उ आफै ।
अनादी देखि हामी हिँडेको होइनौ
वास्तवमा हिँडेको त स्वयं बाटो हो
गन्तव्य पुग्नु र नपुग्नुसग उ कुनै अर्थ राख्दैन
जति हिँडेपनी थाक्तैन उ
कहिले म उसँग हिंड्छु
कहिले उ मसगँ हिंड्छ
हामी दुवै कति टाढासम्म हिँड्यौ।
मसँग कहिले उ कलेज गयो
मसँग कहिले उ काममा गयो
मसँग कहिले उ मन्दिर गयो
मसँग कहिले उ अस्पताल गयो
मसँग कहिले उ मसानघाट गयो
तर कहिले मलाई एक्लै छोडेर
आफू मात्रै फर्केन र मसग रिसाएन
कहिले केही मागेन बाटोले मसग
जता गएपनी कहिले पारेन मलाई एक्लो ।
भोकको अन्धता र शोकको तीर
छातीमा बोकेर एउटा बुढाे जिन्दगी
घिसार्दै छु म सँधैं जवानी बाटोको छातीमा टेकेर
कल्पना गर्नुस्त एकक्षण
कुनै दिन गन्तव्य नपुग्दै
तपाईंलाई बाटोले छोड्यो भने
बाटो बिनाको जिन्दगी कस्तो होला ?
मुटुले छोड्नु र बाटोले छोड्नुमा के फरक छ ?
आखाले छोड्नु र बाटोले छोड्नुमा के अन्तर छ ?
बाटो मात्रै एउटा त्यस्तो असल मित्र हो
जस्ले जस्तो बिपत्तिमा पनि छोडेर कतै भाग्दैन
र एक्लो हुन दिँदैन कहिले पनि
उ कहिले कसैको निन्दा गर्दैन
मलाई थाहा छैन आजसम्म
कसैलाई उस्ले दुत्कारेको
बाटो कहिले आफ्नो बाटो भुल्दैन।
सत्यको पैताला र सतको सुर्य ताप्तै
मसग हिँडिरह्यो हिँडिरह्यो
कतै रोकिएन उ
कतै निदाएन उ
कतै अनिन्द्रा बाँचेन उ
र कहिले बेमानी बाचेन उस्ले
बाटोसगै हिँड्दा हिँड्दा
सधैं उसँग हिँड्ने म बुढो भएछु आज
तर उ कहिले बुढो भएन ।
एउटा जीवनको नाम हो बाटो
एउटा यात्राको नाम हो बाटो
बाटोसँग माग बितेको जवानी
बाटोसँग माग बितेको कहानी
अन्तत एकदिन त्यो समय आउने छ
कि तिमीलाइ छोडेर उ एक्लै फर्किने छ
र फेरि उ आफ्नो बाटो आफैँ हिँडिरहने छ
बाटोको निरन्तरता नै जीवनको परिभाषा हो।